शिरुवा पर्व

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
शिरुवा पर्व
मितिबैशाख १ गते

शिरुवा पर्व नेपालका थारू समुदायमा मनाइने एक पर्व हो । यो पर्व थारूहरूकै मात्र नभई हिन्दू धर्माम्वलम्बीकै ठूलो पर्व हो। यो पर्व नयाँ वर्षको खुशियालीमा मनाइन्छ। शिरुवा पर्वको शाब्दिक अर्थ-शीर्षस्थ अर्थात् वर्षको सबै भन्दा पहिलो पर्व हुन्छ। यो वर्षको सबैभन्दा पहिले हुने हुनाले थारू भाषामा शिरुवा पर्व (Shiruwa Pawain) अर्थात् वर्ष भनिएको हो। थारू समाजमा "फगुवा उसारे आ शिरुवा पसारे" भन्ने भनाइ -उखान) प्रचलित छ। यसको अर्थ हुन्छ- पर्वको शुरुवात शिरुवाबाट हुन्छ र यसको अन्त्य फगुवा वा फागु पर्व पछि हुन्छ। यो पर्व बैशाखमा मनाइने हुनाले यसलाई वैशाखी (Vaishakhi) वा "बाईस पर्व" वा "जुड शीतल पर्व" (Jud Shital) पनि भनिन्छ। यो पर्व एउटा भए पनि यसका अनेक नाम छन्।

परम्परा[सम्पादन गर्ने]

पर्वको नायक बिछु धामी नामक देवता हुन्। शिरुवा पर्व ठीक विस्केटसँग मिल्दोजुल्दो देखिन्छ। यो चाड थारू जातिको एउटा विशिष्ट चाड हो। यो चाड थारूहरूका साथै राजवंशी, ताजपुरिया र बांतरहरूले समेत भव्यतासाथ मनाउँछन्। यो पर्वको साइनो समस्त भारतको वैशाखी, डोटी-बैतडीको बिसु पर्वआसामको विहुसम्म जोडिएको पाइन्छ। यसो भए पनि शिरुवा अथवा विच्छु महोत्सव भन्नासाथ थारू समाजमा प्रचलित अति प्राचीन धामीहरूका आभास गराउँछ। यो धामीवाद नेपालका पहाडको मस्टोवादसित पनि अनेक दृष्टिले तुलनीय हुन पुगेको देखिन्छ। यो पर्वको तयारीमा मानिसहरू १० दिन पहिलेदेखि नै लागि अˆना घर आँगन लिपपोत र साफासुग्घर गर्दछन्। शिरुवाको अघिल्लो दिन अर्थात् चैत्र मसान्तको दिन सातु र गुँड आफ्नो कूल देवतालाई चढाइन्छ। आँपको टिकला पनि आफ्ना गृहदेवतालाई थारूहरूले चढाउँछन्। साथीभाइसँग परस्परमा रंग अबीर पनि खेल्छन्। बेलुका पुरी, वरी, खवौनी, डुवौवा सोहारी, सोहारी, कचौरी, बैगनी तथा अन्य किसिमका तरुवा भुजुवाका परिकारहरू बनाएर सानो-ठूलोको भेदभाव नगरी खाइन्छ। त्यस दिन भोलिका लागि पनि पुग्ने किसिमले परिकारहरू बनाइएका हुन्छन्। किनभने "चैतके रान्हल वैशाखमे खाना" अर्थात् चैत्रमा बनाई वैशाखमा खाने भन्ने लोकोक्ति बमोजिम सतवानीको दिन बनाइएका परिकार शिरुवाका दिन खाने चलन पूर्वाञ्चलका थारू समाजमा निकै प्रचलित छ। शिरुवाका दिन -वैशाख १ गते) बिहानै घरका जेठा व्यक्तिले आˆना गृहदेवता, ग्रामदेवता र अन्य देवताहरूमा पवित्र जल चढाइ अन्य कुटुम्वहरूलाई पनि जलले टाउकोमा थप्थपाई आर्शीवाद दिने चलन छ। सानाले भने ठूलालाई खुट्टामा जल चढाई ढोग्ने चलन छ। देवतालाई जल चढाउँदा वर्षभरिको समय सुखद रहोस् भन्ने कामना गर्दै आशीर्वाद माग्दछन्। यस कि्रयालाई नै थारूहरूले आफ्नो भाषामा जुडी शितल भन्ने गर्छन्। मोरंग जिल्ला थारूहरू हिलो र गोबर एकार्कालाई छ्यापी जुडी शितल पनि खेल्ने गर्दछन्।

कार्यक्रम[सम्पादन गर्ने]

यस दिन ठाउँठाउँमा धूमधामसित मेला लाग्छ। परिवारका सबै सदस्यहरू आफन्त, इष्टमित्र र छरछिमेकीसँग मिली हुलमूलका जमात लिएर नयाँ नयाँ वस्त्र धारण गरेर मेला हेर्न जान्छन्। दिउँसो देवस्थलमा बलि दिइन्छ। साथै धामीले नम्होनी -देवता काम्ने) पनि खेल्दछन् र कष्ट हुनेले विन्तीगोचर चढाउँदा कष्टबाट मूक्ति पाउने उपाय बताउनुका साथ निवारण हुने आशीर्वाद समेत प्रदान गरिन्छ। शिरुवा पर्वको अघिल्लो रात अर्थात् सतुवाइनको राति धामीले नम्होनी खेल्छन्, गाऊँका भगतीयाहरूले गाऊँका भद्र मानिसहरूको उपस्थितिमा रातभरि हरिनाम किर्तन अर्थात् भगत गाई जाग्रम बस्दछन् र ग्रामदेवतालाई मनाउने काम गर्दछन्। हरिनाम किर्तन थारू भाषामै हुन्छन्।

पूजा[सम्पादन गर्ने]

शिरुवा पर्वमा देश देशावरमा रहेका आआˆना सँगीसाथी तथा हितैषी र कुटुम्बलाई नयाँ वर्ष मुवारक लेखी पत्र पनि पठाउने गर्दछन्। यो प्रचलन अन्य जातिमा पनि रहेको देखिन्छ। यो पर्व खास गरी वैशाख एक गते प्रारम्भ भई महिना भरिनै चल्दछन्। यो पर्वको पूर्व तयारीको रूपमा थारूहरूले आफ्नो ग्राम देवताको पूजा चैत महिनामै सक्छन्। ग्रामदेवताका रूपमा नाथ थानको पूजा गर्ने चलन छ। नाथ थानमा गोरखनाथ सम्प्रदायकै कुनै अंशको पूजा गरिन्छ। सुनसरी जिल्लाको दक्षिणी क्षेत्रमा विशेष गरी भष्मनाथको पूजा गरी भष्मलाई पूजाको प्रसादीका रूपमा टीका लगाउने चलन रहेको छ। नाथको पूजा नगरी मूलथानको पूजा गर्न वर्जित मानिन्छ। थारूहरूको वस्तीमा विच्छु वा त्यस परिवारका अन्य ऐतिहासिक व्यक्तिहरू सुब्बई, कारो, मन्नो, शोभा, जिम्दार आदि धामीहरूको पूजा गरिन्छ। यो पूजाको आयोजनाको तिथि परापूर्वकालदेखि उनीहरूको कुलवंश एवं श्रेणीको आधारमा गर्ने गरिन्छ। आफ्नो कूलका ऐतिहासिक पुरुषहरूलाई पूजा गर्ने चलन ऐतिहासिक मात्र होइन, वर्तमान समयमा समेत उत्तिकै महìव पूर्व रहेको छ। नयाँ दिनको प्रारम्भ राम्रोसँग गरियो भने वर्षभरिकै दिन सुखद हुने विश्वासका साथ मनाइने यो पर्व सामाजिक सद्भाव बढाउनका साथै सांस्कृतिक चलनलाई समेत निरन्तरता दिन सफल छ

स्रोत[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]