उत्पत्तिका एकादशी
उत्पत्तिका एकादशी |
---|
हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ। यो तिथि महिनामा दुई पल्ट आउँछ। पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्या पछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ। यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन सम्प्रदायमा धेरै महत्त्व छ।
उत्पत्तिका एकादशी व्रतको व्रतकथा
[सम्पादन गर्नुहोस्]मार्गशीर्ष महिनाको कृष्ण पक्षमा एकादशीको उत्पत्ति भएको हुनाले यस व्रतको अनुष्ठानको प्रारम्भ यसै दिनबाट गर्नुपर्दछ। पद्मपुराणमा धर्मराज युधिष्ठिरद्वारा भगवान श्रीकृष्ण सँग पुण्यमयी एकादशी तिथिको उत्पत्तिका विषयमा जिज्ञासा राख्दा भगवानले बताउनुभयो- सत्य युगमा मुर नामक भयंकर दानवले देवराज इन्द्रलाई पराजित गरेर जब स्वर्गमथि आफ्नो आधिपत्य जमायो, तब सबै देवता महादेवको शरणमा पुगे। महादेव देवगणलाई साथमा लिई क्षीरसागर जानुभयो। त्यहां शेषनागको शय्यामा योग-निद्रामा लीन हुनु भएका भगवान विष्णुलाई देखेर देवराज इन्द्रले वहाँको स्तुति गरे। देवताहरूको अनुरोधमा श्रीहरिले त्यस अत्याचारी दैत्यउपर आक्रमण गर्नुभयो। असंख्य असुरहरूको संहार गरेर नारायण बदरिकाश्रम जानुभयो। त्यहां गई भगवान बाह्र योजन लामो सिंहावती गुफामा निद्रालीन हुनुभयो। दानव मुरले भगवान विष्णुलाई मार्ने उद्देश्यले गुफामा प्रवेश गर्यो र प्रवेश गर्नासाथ श्रीहरिको शरीरबाट दिव्य अस्त्र-शस्त्रले युक्त एउटी अति रूपवती कन्या उत्पन्न भईन। ती कन्याले आफ्नो केवल हुंकारले मात्र दानव मुरलाई भस्म बनाइन। नारायण जागा भएपछि दानव मूरको मृत शरीर देखेर विस्मित भई सोद्धा ती कन्याले भगवानलाई आतातायी त्यस दैत्यको वध आफूले गरेको कुरा बताइन। कन्याको यस्तो अद्भूत पराक्रमबाट प्रसन्न भएर भगवान विष्णुले एकादशी नामक ती कन्यालाई मनोवांछित वरदान दिई उसलाई आफ्नो प्रिय तिथि घोषित गरिदिनुभयो। श्रीहरिद्वारा अभीष्ट वरदान पाएर परम पुण्यप्रदा एकादशी असाध्यै खुसी भइन। जो मनुष्यले जीवनपर्यन्त एकादशीको उपवास गर्दछ, त्यो मरणोपरान्त वैकुण्ठ पुग्दछ। एकादशी समान पापनाशक व्रत अर्को कुनै पनि छैन। एकादशी-माहात्म्य सुन्नाले मात्र सहस्र गोदानको पुण्यफल प्राप्त हुन्छ। एकादशीमा उपवास गरेर रात्रि-जागरण गर्नाले व्रत लिने व्यक्ति श्रीहरिको अनुकम्पाको भागीदार हुन पाउछ। उपवास गर्न असमर्थ व्यक्तिले पनि एकादशीका दिन कमसेकम अन्नको परित्याग गर्नुपर्छ। एकादशीमा अन्नसेवन गर्नाले पुण्य नाश हुन्छ तथा ठूलो दोष लाग्छ। यस्ता मानिसले एकादशीका दिन एक समय फलाहार गर्न सक्नेछन। एकादशीको व्रत समस्त प्राणिहरूका लागि अनिवार्य मानिएको छ।