अनन्त चतुर्दशी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

भाद्र महिनाको शुक्ल पक्षको चतुर्दशीलाई अनन्त चतुर्दशी भनिन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौंलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पनि मनाईन्छ । भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ । यसरी ठडयाइएको लिङ्गोलाइ 'इन्द्रध्वजोत्थान' पनि भनिन्छ । अनन्त चतुर्दशीका दिन भगवान् अनन्तको पूजा, आराधना र व्रत हुने गर्दछ । यस व्रतको नामैबाट के लक्षित हुन्छ भने यो दिन कहिल्यै अन्त्य नहुने सृष्टिका कर्ता, धर्ता र संहर्ता निर्गुण ब्रह्मको भक्तिको दिन हो । यो दिन भक्तगणले लौकिक कार्यकलापहरूबाट मनलाई हटाएर ईश्वरभक्तिमा अनुरक्त हुने दिन हो। यस दिन वैदिक मन्त्रोच्चारणपूर्वक भक्तिको स्मृतितन्तु अनन्तडोरो बाँधिन्छ । यो व्रत धन पुत्रादिको कामनापूर्तिका निमित्त गर्ने चलन पनि छ । भनिन्छ जब पाण्डवहरूले जुवामा आफ्ना सारा सम्पत्ति र राजपाट हारेर वनमा कष्ट भोग्दै थिए, त्यति बेलै भगवान् श्रीकृष्णले आज्ञा गरेकाले धर्मराज युधिष्ठिरले आफ्ना भाइहरू तथा द्रौपदीका साथ पूर्ण विधि-विधानले यो व्रत लिएर, विधिपूर्वक अनन्तसूत्र धारण गरेका थिए । अनन्त चतुर्दशीको त्यसै व्रतको प्रभावले पाण्डवहरू समस्त सङ्कटहरूबाट मुक्त भए ।[१] यस दिन अनन्तका रूपमा भगवान् हरिको पूजा गरिन्छ । रुवा, रेशमी धागो वा कुशले बनाएको चौधवटा गाँठो भएको अनन्तको निर्माण गरी पुरुषले दाहिने तथा नारीहरूले देब्रे हातमा अनन्त धारण गर्ने चलन छ । कपास वा रेशमको धागो कुङ्कुमको रङ्गद्वारा रंगाउने गरिन्छ । यो सामूहिक रूपमा नगरेर व्यक्तिगत रूपमा गरिने पूजा हो । यस पर्वमा कुनै सामाजिक धार्मिक उत्सव हुँदैन । अग्नि पुराण[२] मा यसको विवरण छ । यस दिन कलशको जलमा स्थापना गरिएको तथा कुशबाट निर्मित भगवान श्रीहरिको प्रतिमाको पूजा गरिन्छ । व्रत सम्पादन गर्ने व्यक्तिले चामलको एक पाथी पिठोबाट तैयार गरिएका रोटीहरू भगवानलाई अर्पण गरी पूजाको समाप्तिपछि त्यस नैवेद्यको आधा भाग ब्राह्मणलाई दान गर्नुपर्दछ भने बाँकी आधा भाग स्वयं आँफैले उपयोग गर्नुपर्दछ ।

व्रतविधि[सम्पादन गर्ने]

यस दिन व्रत सम्पादन गर्ने व्यक्तिले प्रात:कालमा स्नानादि नित्यकर्महरूबाट निवृत्त भएर कलशको स्थापना गर्नुपर्दछ । कलशमाथि एउटा थाली राखी अष्टदल कमलको रचना गरी त्यसको केन्द्रमा कुशबाट निर्मित अनन्त विष्णु भगवानको प्रतिमा स्थापना गर्नुपर्दछ । यस पछि कुङ्कुम, केसरी वा बेसारबाट रंगाएर बनाएको काँचो धागोबाट १४ ग्रन्थियुक्त 'अनन्त'को निर्माण गरी स्थापना गर्नुपर्दछ । त्यसपछि ॐ अनन्तायनम: यस मन्त्रले भगवान् विष्णु तथा अनंतसूत्रको षोडशोपचार-विधिले पूजा गर्नुपर्दछ । यो व्रत नदीको तटमा गर्नुपर्दछ र पूजाको समाप्तिपछि भगवान् हरिका कथाहरू सुन्ने गर्नुपर्दछ । भगवान् हरिलाई यसरी प्रार्थना गर्नुपर्दछ :-

हे वासुदेव, यस अनन्त संसाररूपी महासमुद्रमा डुबेका मानिसहरूको रक्षा गर्नुहवस् तथा तिनलाई अनन्तका रूपको ध्यान गर्नमा संलग्न गराउनुहवस्, अनन्तरूप भएका हजुरलाई नमस्कार ।[३]

यस मन्त्रले हरिको पूजा गरेर तथा आफ्नो हातको माथिल्लो भागमा(पाखुरामा) वा गलामा मन्त्रोच्चारणपूर्वक अनन्त भनी प्रतिष्ठा गरिएको धागो बाँधेर वा झुन्ड्याएर व्रत सम्पादन गर्ने व्यक्तिले अनन्त चतुर्दशीको व्रत समापन गरी प्रसन्नता प्राप्त गर्ने चलन विश्वास छ । यस धागोमा अनन्तले भगवान हरिको र सूत्रमा विद्यमान चौधवटा गाँठाले हरिद्वारा उत्पन्न १४ वटा स्वर्गादि लोकहरूको द्योतन गर्दछन् । पूजाको अन्त्यमा अनन्त भगवानको स्मरण गर्दै प्रार्थना गर्नुपर्दछ । [४] यो व्रत लिने व्यक्तिले अलिनो भोजन ग्रहण गर्नुपर्दछ।

हेमाद्रिमा[५] अनन्त व्रतको विवरण विशद रूपले प्रस्तुत गरिएको छ, त्यसमा कृष्णद्वारा युधिष्ठिरलाई बताइएको कौण्डिन्य ऋषि र तिनकी पत्नी शीलाको गाथा वर्णित छ । भगवान श्रीकृष्णको कथन छ - 'अनन्त' उनका रूपहरूमध्ये एउटा रूप हो, जसलाई काल भनिन्छ । अनन्त चतुर्दशीको व्रत धुप, दीप, चन्दन, अक्षता, पुष्प, नैवेद्यादि उपचारहरूका माध्यमले सम्पादन गरिन्छ । यस व्रतको महात्म्य उल्लेख गर्दै के भनिएको छ भने[६] यदि यस व्रतलाई १४ वर्षसम्म लिने हो भने व्रत सम्पादन गर्ने व्यक्तिले सजिलै विष्णुलोक प्राप्त गर्न सक्दछ ।[७] यस व्रतलाई सम्पादन गर्ने सन्दर्भमा उपयुक्त तिथि र दिन निर्धारणका विषयमा मतमतान्तर छन् । माधव[८] का मतमा यो व्रत मध्याह्नकालमा सम्पादन नगरेर सूर्योदयबाट गणना गरी प्रातःकालमा तीन मुहर्तसम्म अनन्त व्रतका लागि सर्वोत्तम मानिन्छ । तर निर्णयसिन्धुले[९] यस मतको खण्डन गरेको छ । यसमा उदय तिथिको प्रयोग नै उपयोगी मानिन्छ र मध्याह्नकालसम्म चतुर्दशी तिथि हुँदा अझ राम्रो मानिन्छ ।

कथा[सम्पादन गर्ने]

एक पटक महाराज युधिष्ठिरले राजसूय यज्ञ गरे । त्यस समय यज्ञ मण्डपको सुन्दर ढङ्गले निर्माण त गरिएकै थियो, अझ त्यो मण्डप अद्भुत पनि थियो । त्यो यज्ञ मण्डप यत्ति मनोरम थियो कि जल र स्थलको भिन्नता नै प्रतीत हुँदैनथ्यो । जलमा स्थलको र स्थलमा जलको जस्तो प्रतीत हुन्थ्यो । साँच्चै सावधानी गर्दा पनि धेरै व्यक्तिहरू त्यस अद्भुत मण्डपमा झुक्किएका हुन्थे । एक पटक कतैबाट घुमघाम गर्दै दुर्योधन पनि त्यस यज्ञ-मण्डपमा आए र एक तलाउलाई स्थल मानेर त्यसमा लडे । द्रौपदीले यो देखेर 'अन्धाको छोरो अन्धो' भनेर उनको उपहास गरिन् । यसबाट दुर्योधन चिढिए । यो कुरो तिनको हृदयमा बाण झैं बिज्न थाल्यो । उनको मनमा द्वेष उत्पन्न भयो र उनले पाण्डवहरूलाई द्यूतक्रीडामा हराएर त्यस अपमानको बदला लिने विचार गरे । अनि हस्तिनापुरमा बोलाएर कल, छल र बलले उनले पाण्डवहरूलाई जुवामा पराजित गरे । जुवामा हारेपछि प्रतिज्ञानुसार पाण्डवहरूले बाह्र वर्षसम्म वनवासमा बस्नुपर्यो र किसिमकिसिमका कष्ट सहनु पर्यो । वनवासमा रहेका बेला भगवान् श्रीकृष्ण पाण्डवहरूलाई भेट्न आउँदा युधिष्ठिरले उनीसित आफ्नो दुःख सुनाए र दुःख हटाउने उपाय सोधे । त्यसपछि श्रीकृष्णले आज्ञा गर्नुभयो -'हे युधिष्ठिर! तिमीले विधिपूर्वक अनन्त भगवानको व्रत गर, यसबाट तिम्रो समस्त सङ्कट नष्ट हुनेछ र तिम्रो गुमेको राज्य पुन: प्राप्त हुनेछ ।' यस सन्दर्भमा श्रीकृष्णले एउटा कथा सुनाउँदै बताउनुभयो- प्राचीन कालमा सुमन्त नामको एक जना तपस्वी ब्राह्मण थिए । तिनको पत्नीको नाम दीक्षा थियो । तिनकी एउटी परम सुन्दरी धर्मपरायण तथा ज्योतिर्मयी कन्या थिइन्, जसको नाम सुशीला थियो। सुशीला किशोरी अवस्थाकी हुन नपाउँदै उनकी माता दीक्षाको मृत्यु भयो । पत्नीको मरणोपरान्त सुमन्तले गर्कशा नामक अर्की स्त्रीसित दोस्रो विवाह गरे । उता छोरी सुशीलाको विवाह ती ब्राह्मणले कौडिन्य ऋषिका साथमा गरिदिए । विदाइमा दाइजो पठाउने सिलसिलामा सुशीलाकी सौतेनी आमा गर्कशाले केही ईंटा र ढुङ्गाका टुक्रा बाँधेर दिइन् । ससुरालीले दिएको पोको लिई कौडिन्य ऋषि दुखी हुँदै नवविवाहिता पत्नीका साथ आफ्नो आश्रम प्रस्थान गरे, बाटैमा रात पर्यो । ऋषि कौडिन्य नदीका तटमा सन्ध्या गर्न बसे । त्यसै नदीको अर्को छेउमा धेरै स्त्रीहरू सुन्दर वस्त्र धारण गरी कुनै देवताको पूजा संलग्न रहेको दृश्य सुशीलाले देखिन् । सुशीलाले ती स्त्रीहरू भए ठाउँमा गएर आफ्नो जिज्ञासा राख्दा तिनीहरूले विधिपूर्वक अनन्त व्रतको महत्ता बताए। संयोगले त्यही दिन अनन्त चतुर्दशी थियो, त्यसैले सुशीलाले त्यहीं त्यस व्रतको अनुष्ठान गरिन् र चौधवटा गाँठा भएको डोरो हातमा बाँधिन् । उनीहरू घर पुगे । यस व्रतको फलस्वरूप माइतिले दाइजोमा दिएका ईंटा र ढुङ्गा हिराजवाहिरात भए तथा केही दिनमा नै तिनीहरूको घर पनि धनधान्यले भरिपूर्ण भयो । एकदिन कौण्डिन्य मुनिको दृष्टि आफ्नी पत्नीको देब्रे हातको पाखुरामा बाँधिएको अनन्त सूत्रमा पुग्यो । त्यस धागोलाइ देखेर ऋषि भ्रमित भए र उनले पत्नीसित सोधे - होइन तिमीले मलाई वशमा राख्न यो सूत्र बाँध्यौ कि कसो? कौडिन्यले सुशीलासित त्यसरी पाखुरामा बाँधिएको डोराका बारेमा प्रश्न र जिज्ञासा राख्दा सुशीलाले विनम्रतापूर्वक आफूले भर्खरै थाहा पाएका यावत् वृत्तान्त बताई दिइन् । ऐश्वर्यको मातमा अन्धा भएका कौण्डिन्य ऋषिलाई त्यस डोरोप्रति विश्वास भएन र उनले आफ्नी पत्नीको सही कुरालाई पनि गलत ढङ्गले बुझे । अनन्त सूत्रलाई जादुमन्त्रबाट सिद्ध गरिएको वशीकरण गर्ने डोरो ठानेर चुँडाल्दै त्यसलाई आगोमा हाल्दिए । यस जघन्य कर्मबाट भगवान् अनन्तको अपमान भयो । परिणामत: शीघ्र नै तिनको सारा सम्पत्ति नष्ट भयो । यस दरिद्रताका सम्बन्धमा उनले आफ्नी पत्नीसित कारण सोद्धा सुशीलाले अनन्त भगवानको डोरो डढाएको प्रसङ्ग कोट्याइन् । ऋषिलाई पछुतो भयो र उनी अनन्त डोरो खोज्दै वनमा गए । वनमा धेरै दिनसम्म भौंतारिदै निराश भएर निर्बल हुन पुगेका ऋषि एक दिन जमीनमा पछरिए । त्यसपछि अनन्त भगवान् प्रकट भएर भन्नुभयो - 'हे कौडिन्य! तिमीले मेरो तिरस्कार गरेका थियौ, त्यसैले तिमीले यत्तिका दुःख र कष्ट भोग्नुपर्यो । तिमी दुःखी भयौ । अहिले तिमीले पश्चाताप गरेका छौ, त्यसैले म तिमीसँग प्रसन्न छु । अब तिमीघर गएर विधिपूर्वक अनन्त व्रत गर । चौधवर्षसम्म प्रतिवर्ष विधिविधानपूर्वक यो व्रत सम्पादन् गर्यौ भने तिम्रा समस्त दुःख नष्ट हुनेछन्, तिमी धनधान्यबाट सम्पन्न हुनेछौ । कौडिन्यले भगवन् अनन्तले बताएबमोजिम गरे र उनले सारा क्लेशहरूबाट मुक्ति प्राप्त गरे ।' भगवान् श्रीकृष्णको मुखारविन्दबाट यो कथाप्रसङ्ग सुनेपछि युधिष्ठिरले पनि अनन्त भगवानको व्रत लिए र व्रतका प्रभावले पाण्डवहरू महाभारतको युद्धमा विजयी भए तथा चिरकालसम्म राज्य गर्ने अवसर प्राप्त गरे ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. कृष्णप्रसाद कोइराला, उपप्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल
  2. अग्नि पुराण १९२/७-१०
  3. अनन्तसागरमहासमुद्रेमग्नान्समभ्युद्धर वासुदेव। अनंतरूपे विनियोजितात्मा ह्यनन्तरूपाय नमो नमस्ते॥ अग्नि पुराण १९२/९
  4. प्रार्थना गर्ने मन्त्र : अनन्तं विप्रवर्गञ्च तथा कुङ्कुमवर्णकम् । फणासहस्रसंयुक्तं तं देवं प्रणमाम्यहम् ।। सदा भूयात् प्रसन्नो मे भक्तानामभयङ्कर:॥"
  5. हेमाद्रि, व्रतखण्ड, भाग २, पृ0 २६-३६
  6. हेर्नोस् - वर्षक्रियाकौमुदी (पृ० ३२४-३३९), तिथितत्त्व (पृ० १२३),कालनिर्णय (पृ० २७९), व्रतार्क आदि
  7. हेमाद्रि, व्रत, भाग २, पृ० ३५
  8. कालनिर्णय २७९
  9. निर्णयसिन्धु पृ० १४२

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]