दुर्योधन
| दुर्योधन | |
|---|---|
| जानकारी | |
| उपनामहरू | सुयोधन |
| सम्बद्धता | कौरव |
| हतियार | गदा |
| परिवार | |
| जीवनसाथी | |
| बच्चा |
|
| आफन्त | |
| गृह | हस्तिनापुर, कुरु राज्य |
दुर्योधन, जसलाई सुयोधन पनि भनिन्छ, हिन्दु महाकाव्य महाभारतका मुख्य खलपात्र हुन्। उनी कुरु वंशका राजा धृतराष्ट्र र रानी गान्धारीका सय छोराहरू अर्थात् कौरवहरूमध्येका जेठा छोरा हुन्। उनको जन्म एक चमत्कारिक तरिकाले भएको थियो र उनको जन्मको समयमा अशुभ लक्षणहरू देखिएका थिए। दुर्योधन हस्तिनापुरमा हुर्किएका थिए र पछि त्यहाँका युवराज बनेका थिए। आफ्ना दाजुभाइ—पाँच पाण्डवहरू—प्रतिको जन्मजात स्वार्थ, डाह र शत्रुताका कारण दुर्योधनले उनीहरू विरुद्ध बारम्बार षड्यन्त्र गर्दछन्। यसमा उनलाई उनका मामा शकुनी, वफादार मित्र कर्ण, भाइ दुःशासन र अन्धा तथा मोहग्रस्त पिता धृतराष्ट्रले साथ दिएका थिए।
दुर्योधनको ईर्ष्या कुख्यात जुवाको खेल (पासा खेल) मा चरमोत्कर्षमा पुग्छ, जहाँ उनले पाण्डवकी रानी द्रौपदीको अपमान गर्छन्। यस घटनाले दोस्रो पाण्डव भीमलाई एक दिन दुर्योधनको तिघ्रा फुटाउने प्रतिज्ञा गर्न बाध्य तुल्याउँछ। पछि, शकुनीको सहयोगमा दुर्योधनले पाण्डवहरूलाई छल गरेर उनीहरूको राज्य त्याग्न र निर्वासनमा जान बाध्य पार्छन्। पाण्डवहरूले तेह्र वर्षको वनवास पूरा गरेपछि पनि उनले उनीहरूको राज्य फिर्ता दिन अस्वीकार गरर्छन्, जसले प्रत्यक्ष रूपमा कुरुक्षेत्र युद्ध निम्त्याउँछ।[१][२]
युद्धको समयमा दुर्योधनलाई भीष्म, द्रोण, कर्ण र शल्य जस्ता प्रख्यात योद्धाहरूले समर्थन गरेका थिए। जब सङ्घर्ष चरमोत्कर्षमा पुग्यो र उनका धेरैजसो मुख्य समर्थकहरू मारिन्छन्। दुर्योधन युद्धको मैदानबाट भाग्छन् र एक जादुई शक्तिले सुरक्षित तालभित्र लुकन बाध्य हुन्छन्। पाण्डवहरूले उनलाई फेला पार्छन् र उनी अन्तिम द्वन्द्वका लागि सहमत हुन्छन्। यसरी उनले आफ्ना मुख्य प्रतिद्वन्द्वी भीमलाई रोज्छन्। दुर्योधनसँग उत्कृष्ट युद्ध कौशल भए तापनि भीमले नियम विपरीत उनको तिघ्रामा प्रहार गरेपछि उनी अन्ततः पराजित हुन्छन्। गम्भीर रूपमा घाइते र अपमानित भए पनि दुर्योधन अन्त्यसम्म विचलित नभई आफ्ना मित्र अश्वत्थामालाई बाँकी कौरव सेनाको सेनापति नियुक्त गर्छन्। अश्वत्थामाद्वारा गरिएको अन्तिम प्रतिशोध पछि दुर्योधनको चोटका कारण मृत्यु हुन्छ।[१]
दुर्योधनलाई कलियुगको दानवी स्वरूप कलिको अवतार मानिन्छ (जो देवी काली भन्दा भिन्न हुन्)। उनी आफ्नो वीरता, महत्वाकांक्षा, युद्ध कौशल र क्षत्रिय धर्म (योद्धाको आचारसंहिता) को पालनका लागि परिचित छन्; यद्यपि, महाकाव्यमा उनलाई एक अहङ्कारी, ईर्ष्यालु र कमजोर निर्णय क्षमता भएको व्यक्तिको रूपमा चित्रण गरिएको छ, जसले कृष्णको ईश्वरीय स्वरूपलाई अस्वीकार गर्दछ।[१][२][३] दुर्योधनलाई उरुभङ्ग र 'वेणीसंहार' जस्ता धेरै कृतिहरूमा प्रमुखताका साथ प्रस्तुत गरिएको छ, जहाँ उनको चरित्रलाई कारुणिक र त्रासदीपूर्ण तत्वहरूका साथ विस्तार गरिएको छ।[३]
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]जन्म
[सम्पादन गर्नुहोस्]आदि पर्वका अनुसार, दुर्योधनको जन्म कलहको प्रतिमूर्ति कलिको अंशबाट भएको हो। दुर्योधन र उनका उनान्सय भाइहरूको जन्म एक असाधारण प्रक्रियाबाट भएको थियो। ऋषि व्यासबाट आशीर्वाद पाएपछि, गान्धारी गर्भवती हुन्छिन् तर दुई वर्षसम्म पनि सन्तान जन्मिन सक्दैन। यसै अवधिमा, धृतराष्ट्रका भाइ पाण्डुका जेठा छोराका रूपमा स्वीकृत युधिष्ठिरको जन्म हुन्छ। चिन्ता र ईर्ष्यामा परेर गान्धारीले आफ्नो गर्भ तुहाउने प्रयास गर्छिन्, जसको परिणामस्वरूप मासुको एउटा ठूलो पिण्ड जन्मिन्छ।
व्यासले सो मासुको पिण्डलाई औँलाको आकारका एक सय भागमा विभाजन गरी घिउले भरिएका घैँटाहरूमा राख्न निर्देशन दिए। एउटा सानो अंशलाई छुट्टै सुरक्षित राखिन्छ। दुई वर्षपछि ती घैँटाहरूबाट एक सय छोराहरू र एक छोरी, दुःशला, जन्मिन्छन्। तीमध्ये दुर्योधन सबैभन्दा जेठाका रूपमा निस्किन्छन्।[४][२]
दुर्योधनको जन्मको समयमा धेरै अशुभ लक्षणहरू देखिएका थिए। उनी गधाको स्वरमा रोएका थिए, जसको जवाफमा राजदरबारका तबेलाका गधाहरू पनि कराउन थालेका थिए। स्यालहरू कराउन, गिद्ध र कागहरू चिच्याउन थालेका थिए र देशभर भीषण आँधीबेहरी चलेको थियो। यी सङ्केतहरूबाट डराएर धृतराष्ट्रले भीष्म, विदुर र अन्य विद्वानहरू लगायत आफ्ना सल्लाहकारहरूसँग परामर्श गर्छन्। ती चिन्हहरूको व्याख्या गर्दै उनीहरूले दुर्योधनको जन्मले राज्य र प्रजाको विनाश निम्त्याउने चेतावती दिन्छन् र उनलाई त्यागिदिन सल्लाह दिए। यद्यपि, धृतराष्ट्रले सन्तानप्रतिको मोहका कारण उनीहरूको सल्लाह मान्न अस्वीकार गर्छन्, जसले अन्ततः कुरुक्षेत्र युद्धको आधार तय गर्दछ।[५][४] [२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 3 Buitenen & Fitzgerald 1973, पृष्ठ 617.
- 1 2 3 4 The Illustrated Encyclopedia of Hinduism (2 Vol Set)
- 1 2 Gitomer, David (१९९२), "King Duryodhana: The Mahābhārata Discourse of Sinning and Virtue in Epic and Drama", Journal of the American Oriental Society 112 (2): 222–232, आइएसएसएन 0003-0279, जेएसटिओआर 603702, डिओआई:10.2307/603702।
- 1 2 Mani, Vettam (१९७५), Puranic encyclopaedia : a comprehensive dictionary with special reference to the epic and Puranic literature, Robarts - University of Toronto, Delhi : Motilal Banarsidass, पृ: Duryodhana, आइएसबिएन 9780842608220।
- ↑ "The Mahabharata, Book 1: Adi Parva: Sambhava Parva: Section CXV", Sacred-texts.com, अन्तिम पहुँच २०१४-०८-१५।
