सत्यवती
| सत्यवती | |
|---|---|
राजा रवि वर्माले बनाएको शन्तनु र सत्यवतीको चित्र | |
| व्यक्तिगत विवरण | |
| उपनामहरू |
|
| जीवनसाथी | शन्तनु |
| बच्चा | |
| आफन्त |
|
| गृह | हस्तिनापुर |
सत्यवती हिन्दु धर्मग्रन्थ महाभारतमा वर्णित एक पौराणिक पात्र हुन्। हस्तिनापुरका राजा शन्तनुसँग विवाह गरेकी सत्यवती उक्त राज्यकी रानीका साथै पाण्डव र कौरव राजकुमारहरूकी बुढी हजुरआमा हुन्। उनी महाकाव्यका लेखक ऋषि व्यासकी पनि आमा हुन्। उनको कथा महाभारत, हरिवंश पर्व र देवीभागवत पुराणमा पाइन्छ जहाँ उनलाई कुरु वंशको विस्तार र सुरक्षाको लागि मुख्य सूत्रधारको रूपमा वर्णन गरी एक अत्यन्त प्रभावशाली, दृढ र दूरदर्शी पात्रको रूपमा उभ्याइएको छ।
एक पौराणिक कथा अनुसार यमुना नदीको किनारमा सामान्य व्यक्तिको रूपमा हुर्किएकी सत्यवती माझी दशराजाकी छोरी हुन्। अर्को कथा अनुसार उनी चेदी राजा उपरिचर वसु र श्राप पाएर माछामा परिणत भएकी अप्सरा अद्रिकाकी जैविक छोरी हुन्। माछाका राजा दासले उनलाई उनका जुम्ल्याहा भाइसँग अद्रिकाको पेटबाट निकालेका हुन्। राजा बसुले छोरालाई आफूसँग राखी सत्यवतीलाई माझीकहाँ दान गरेका थिए।[१] उनका भाइ मत्स्यराज नामक धार्मिक राजा बने। उनको शरीरमा तीव्र माछाको गन्ध भएको कारण उनका अर्को नाम 'मत्स्यगन्ध' थियो। यसैले कसैले पनि उनका नजिक जान चाहदैनथे। त्यसैले पालक पिताको निर्देशनमा उनी जमुनाको किनारमा डुङ्गा चलाउँथिन् र माझीको रूपमा काम गर्थिन्।
युवा महिलाका रूपमा सत्यवतीले यात्रारत ऋषि (सन्त) पराशरलाई भेटिन् जसबाट अविवाहित अवस्थमै उनीहरूको व्यास नामक छोराको जन्म भयो। ऋषिले उनलाई एउटा गन्धयुक्त सुवास पनि दिए जसकारण उनीलाई योजानगन्धा र गन्धवती जस्ता नामहरू प्राप्त गरिन्। व्यासको जन्मपछि उनी पुनः कुमारी अवस्थामा फर्किएकी थिइन्।
पछि राजा शन्तनुले उनको सुवास र सुन्दरताबाट प्रभावित भएर सत्यवतीलाई प्रेम गर्न थाले। राजा शन्तनुले सत्यवतीसँग विवाहको प्रस्ताव उनको बुबासँग राख्दा बुबा दशराजले "सत्यवतीबाट जन्मेको छोरा नै हस्तिनापुरको उत्तराधिकारी हुनुपर्छ" भनी एक कठिन शर्त राखे। शन्तनुका जेठा छोरा भीष्म जीवितै भएकोले यो शर्त पूरा गर्न कठिन थियो। आफ्नो पिताको सुखका लागि भीष्मले राज्य त्यागी आजीवन ब्रह्मचारीको पालनका लागि 'भीष्म प्रतिज्ञा' गरे।[२] त्यसपछि मात्र सत्यवती र शन्तनुको विवाह भयो।[३] सत्यवतीबाट चित्रङ्गद र विचित्रवीर्य गरी दुई छोरा जन्मिए। शन्तनुको मृत्युपछि दुवै छोराहरू निसन्तान भएर मृत्युवरण गरे। कुरु वंश समाप्त हुने खतरा देखेपछि सत्यवतीले आफ्ना जेठा छोरा व्यासलाई बोलाएर नियोग विधिद्वारा विचित्रवीर्यका दुई रानीहरूबाट (अम्बिका र अम्बालिका) सन्तान उत्पत्ति गराइन् जसबाट धृतराष्ट्र र पाण्डुको जन्म भयो।
सत्यवतीको तत्कालै निर्णय गर्ने क्षमता, दृढता र दूरदर्शिताको प्रशंसा हुने गरेको भएतापनि आफ्नो लक्ष्य प्राप्त गर्न उनले अपनाएको बेइमानीपूर्ण उपाय र अन्धो महत्त्वाकाङ्क्षाको आलोचना गरिन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Bhattacharya, Pradip (मे–जुन २००४), "Of Kunti and Satyawati: Sexually Assertive Women of the Mahabharata", Manushi (142): 21–25।
- ↑ Ganguli, Kisari Mohan (१८८३–१८९६), "SECTION C", The Mahabharata: Book 1: Adi Parva, Sacred texts archive।
- ↑ "Women of substance: Satyavati : Blind ambition", The Week (Indian magazine) 24 (48): ५०, २९ अक्टोबर २००६।