माद्री
| माद्री | |
|---|---|
| महाभारतको पात्र | |
राजा रवि वर्मा (सन् १८४८ – १९०६) द्वारा कोरिएको माद्रीको चित्र | |
| व्यक्तिगत विवरण | |
| उपनामहरू |
|
| लिङ्ग | महिला |
| जीवनसाथी | पाण्डु |
| बच्चा | नकुल र सहदेव (अश्विनीकुमारहरूबाट) |
| आफन्त | |
| उत्पत्ति | मद्र |
| वंश | वाह्लिक |
माद्री जसलाई माद्रवतीको नामले पनि चिनिन्छ, प्राचीन संस्कृत महाकाव्य महाभारत की एक पौराणिक पात्र हुन्। उनी मद्र राज्यकी राजकुमारी र कुरु राज्यका राजा पाण्डुकी दोस्रो पत्नी हुन्। उनी पाँच पाण्डव दाजुभाइमध्ये कान्छा जुम्ल्याहा सन्तान नकुल र सहदेवकी आमा हुन्।
माद्री मद्रका राजा (मद्रराज) की छोरी र शल्यकी बहिनी हुन्। कुरु वंशका भीष्मले ठूलो धनराशि (शुल्क) तिरेर पाण्डुसँग उनको विवाहको व्यवस्था मिलाएका थिए। संभोग गरेमा मृत्यु हुने श्राप पाएपछि, पाण्डुले स्वेच्छाले रोजेको वनवासमा माद्री र जेठी पत्नी कुन्तीसँगै गएकी थिइन्। कुन्तीले पाएको दैवी वरदान प्रयोग गरी माद्रीले अश्विनीकुमारहरूलाई आह्वान गरेर आफ्ना जुम्ल्याहा छोराहरू प्राप्त गरेकी थिइन्। पछि, श्रापित पाण्डुले कामवासनामा वश भई माद्रीसँग सामिप्यता राख्न खोज्दा उनको मृत्यु हुन्छ। पश्चात्ताप र शोकमा डुबेकी माद्रीले आफ्ना छोराहरूलाई कुन्तीको हेरचाहमा सुम्पिँदै पतिसँगै प्राण त्याग्छिन्।
माद्रीलाई परम्परागत रूपमा एक पतिव्रता पत्नीको रूपमा हेरिन्छ, जसको सुन्दरता र आकर्षणलाई महाकाव्य र यसका पछिल्ला रूपान्तरणहरूमा विशेष महत्त्व दिइएको छ। माद्रीको मृत्यु (सती) लाई अक्सर सती प्रथाको प्रारम्भिक पाठ्य प्रमाणको रूपमा लिइन्छ; यद्यपि, महाभारतका विभिन्न श्लोकहरूमा रहेका विरोधाभासका कारण विद्वानहरूबीच यसको व्याख्यामा मतान्तर रहेको पाइन्छ।
जीवनी
[सम्पादन गर्नुहोस्]आदि पर्वमा माद्रीलाई धृति (धैर्य) देवीको अवतारको रूपमा उल्लेख गरिएको छ।[१] माद्रीलाई अत्यन्त आकर्षक महिलाको रूपमा वर्णन गरिएको छ र कतिपय ठाउँमा उनलाई 'श्याम वर्ण' (गाढा रङ्ग) को भनेर पनि चित्रण गरिएको छ।[२]
विवाह
[सम्पादन गर्नुहोस्]माद्री मद्र राज्यका राजाकी छोरी र बाह्लिक वंशकी थिइन् भने शल्य उनका दाजु थिए। कुरु राज्यका प्रतिष्ठित राजनेता तथा कुरु वंशका पितामह भीष्मले राजा पाण्डुका लागि माद्रीको हात माग्न मद्र पुगेका थिए। मद्रका राजाले आफ्नो कुलको रीतिअनुसार 'कन्या शुल्क' लिएर मात्र विवाहको सहमति दिएका थिए। भीष्मले सुन, हात्ती र घोडाहरू शुल्कको रूपमा बुझाएर माद्रीलाई कुरुको राजधानी हस्तिनापुर ल्याएका थिए जहाँ पाण्डुसँग उनको विवाह सम्पन्न भएको थियो।[३][४]
पाण्डुकी जेठी पत्नी कुन्ती थिइन्। माद्री र कुन्तीबीच केही आन्तरिक प्रतिस्पर्धा भए तापनि उनीहरूको सम्बन्ध सुमधुर रहेको उल्लेख छ।[५]
वनवास
[सम्पादन गर्नुहोस्]विवाहको केही समयपछि पाण्डु सैन्य विजयका लागि निस्किन्छन्। सफल अभियानपछि उनी आफ्ना दुवै पत्नी कुन्ती र माद्रीलाई लिएर हिमालयको दक्षिणमा रहेको 'तपोवन' तर्फ लाग्छन्। वन विहारका क्रममा उनले मृगको रूप धारण गरेर मैथुन गरिरहेका ऋषि किन्दम र उनकी पत्नीलाई मृग सम्झेर वाण प्रहार गर्न पुग्छन्। उनले यौन सम्बन्ध राख्न खोजेमा उनको तत्काल मृत्यु हुने भनि मर्ने बेलामा ऋषिले पाण्डुलाई श्राप दिन्छन्। यस घटनाबाट पाण्डु, कुन्ती र माद्री निकै दुखी हुन्छन्।[६] पश्चात्तापको भावनाले पाण्डुले राजकाज त्यागेर तपस्वी जीवन बिताउन चाहेता पनि कुन्ती र माद्रीले उनलाई एक्लै छोड्न मान्दैनन्। उनीहरूको आग्रहमा पाण्डुले कडा तपस्वीको सट्टा पत्नीहरूसँगै रहन मिल्ने 'आश्रम' जीवन बिताउने निर्णय गर्छन्। त्यसपछि उनीहरू विभिन्न तीर्थस्थल घुम्दै शतशृङ्ग पर्वतको वनमा ऋषिमुनिहरूको रेखदेखमा बस्न थाल्छन्।[७]
नकुल र सहदेवको जन्म
[सम्पादन गर्नुहोस्]
श्रापका कारण पाण्डु आफैँले सन्तान जन्माउन असमर्थ थिए। उत्तराधिकारी नहुँदा धार्मिक कर्तव्यमा बाधा पुगेपछि उनले कुन्तीलाई 'नियोग' प्रथा मार्फत सन्तान प्राप्त गर्न आग्रह गर्छन्। कुन्तीले आफूसँग कुनै पनि देवतालाई आह्वान गरेर सन्तान प्राप्त गर्न सक्ने दुर्वासा ऋषिको वरदान रहेको कुरा सुनाउँछिन्। पाण्डुको बारम्बारको अनुरोधपछि कुन्तीले धर्मराज, वायु र इन्द्रलाई आह्वान गरी युधिष्ठिर, भीम र अर्जुनलाई जन्म दिन्छिन्।[७]
माद्रीले आफू सन्तानहीन भएकोमा पाण्डुसँग दुःख व्यक्त गर्छिन्। उनले कुन्तीसँग सीधा मन्त्र माग्न हिचकिचाएकाले पाण्डुलाई कुन्तीसँग कुरा गरिदिन आग्रह गर्छिन्।[९] पाण्डुको अनुरोधमा कुन्तीले माद्रीलाई एक पटक मन्त्र प्रयोग गर्न अनुमति दिन्छिन्। माद्रीले दुई अश्विनीकुमारहरूलाई आह्वान गर्छिन् जसको फलस्वरूप नकुल र सहदेव जुम्ल्याहा छोराहरूको जन्म हुन्छ।[९] कुन्तीका छोराहरूलाई 'कौन्तेय' र माद्रीका छोराहरूलाई 'माद्रेय' भनिए तापनि उनीहरू सबैलाई संयुक्त रूपमा 'पाण्डव' भनिन्थ्यो।
पछि माद्रीले पुन: सन्तान प्राप्तिको इच्छा राख्दा कुन्तीले अस्वीकार गर्छिन्। कुन्तीले माद्रीले एकै पटकमा दुई छोराहरू प्राप्त गरेर आफूलाई 'धोका' दिएको महसुस गर्दै भविष्यमा माद्रीका सन्तान आफ्नोभन्दा धेरै हुन सक्ने डरले पुन: मन्त्र सिकाउन मान्दिनन्।[१०]
मृत्यु
[सम्पादन गर्नुहोस्]
वर्षौँपछि, एक वसन्त ऋतुमा शतशृङ्गको वनमा विहार गरिरहँदा पाण्डु माद्रीको सौन्दर्य र पातलो वस्त्रले मोहित बन्न पुग्छन्। माद्रीले बारम्बार रोक्न खोज्दाखोज्दै पनि पाण्डुले कामवासनाको आवेगमा उनलाई अँगाल्छन्। श्रापका कारण पाण्डुको माद्रीकै काखमा तत्कालै मृत्यु हुन्छ।[७]
यो घटनापछि कुन्तीले सुरुमा माद्रीलाई पाण्डुलाई मोहित पारेको आरोप लगाउँछिन् तर माद्रीले यो दैवी नियति भएको बताउँछिन्। कुन्ती जेठी पत्नी भएकाले पाण्डुसँगै सती जान चाहन्थिन्, तर माद्रीले पाण्डुको अन्तिम इच्छा उनीसँगै अतृप्त रहेकाले उनी नै परलोकमा पाण्डुको साथ जानु उचित हुने तर्क गर्छिन्। साथै, माद्रीले कुन्तीलाई आफ्ना छोराहरू (नकुल र सहदेव) लाई पनि कुन्तीकै छोरा सरह समान माया र हेरचाह गर्ने विश्वासका साथ सुम्पिन्छिन्। अन्ततः माद्री पाण्डुको बलिरहेको चितामा हाम फालेर सती जान्छिन्।[११]
यद्यपि, महाभारतको अर्को प्रसङ्गमा ऋषिहरूले पाण्डु र माद्रीका शवहरूलाई हस्तिनापुर लगेको र त्यहाँ कुरु वृद्धहरूको उपस्थितिमा राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको उल्लेख छ।[१२] महाभारतको अन्तिम पुस्तक 'स्वर्गारोहण पर्व' अनुसार, मृत्युपछि माद्रीको आत्मा इन्द्रको स्वर्गलोकमा निवास गर्दछ।[७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Brodbeck & Black 2007, पृष्ठ 181, 136.
- ↑ Walker 2019, पृष्ठ 202.
- ↑ Buitenen 1973, पृष्ठ 241-2.
- ↑ Brodbeck 2017, पृष्ठ 169.
- ↑ Ghosh 2016, पृष्ठ 28.
- ↑ Hiltebeitel 2011, पृष्ठ 393.
- 1 2 3 4 Mani 1975, पृष्ठ 564, 565.
- 1 2 Brodbeck 2017, पृष्ठ 63-65.
- 1 2 Buitenen 1973, पृष्ठ 258.
- ↑ Buitenen 1973, पृष्ठ 259.
- ↑ Buitenen 1973, पृष्ठ 262.
- ↑ Chakrabarti & Bandyopadhyay 2017, पृष्ठ 35.
