सामग्रीमा जानुहोस्

उलूपी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उलूपी
अर्जुन र उलूपीको भेट
जानकारी
जातिनाग
परिवारकौरव्य (बुबा)
जीवनसाथी
बच्चाइरावन
आफन्तकुन्ती (सासू),
पाण्डव (देवर/जेठाजु),
द्रौपदी,
चित्राङ्गदा,
सुभद्रा (सौताहरू)

उलूपी (जसलाई उलुचीउलूपिका पनि भनिन्छ) हिन्दु महाकाव्य महाभारत मा उल्लेख गरिएको एक नाग राजकुमारी हुन्। उलूपी नागराज कौरव्यकी छोरी र अर्जुनकी दोस्रो पत्नी हुन्। उनको उल्लेख विष्णु पुराणभागवत पुराण मा पनि पाइन्छ।[]

उलूपी र अर्जुनको भेट र विवाह अर्जुन वनवासमा रहेका बेला भएको बताइन्छ, जसबाट उनीहरूका छोरा इरावनको जन्म भएको थियो। अर्जुनलाई उनका छोरा बभ्रुवाहनले युद्धमा मारेपछि, उलूपीले नै अर्जुनलाई पुनर्जीवित गराई वसुहरूको श्रापबाट मुक्त गराएको श्रेय दिइन्छ।

व्युत्पत्ति र स्वरूप

[सम्पादन गर्नुहोस्]

महाभारतमा उलूपीको बारेमा थोरै मात्र चर्चा गरिएको छ। उलूपीलाई महाभारतमा भुजगात्मजा, भुजगेन्द्रकन्याका, भुजगोत्तमा कौरवी, कौरव्यदुहिता, कौरव्यकुलनन्दिनी, पन्नगनन्दिनी, पन्नगसुता, पन्नगात्मजा, पन्नगेश्वरकन्या, पन्नगी र उरगात्मजा गरी विभिन्न नामहरूले चिनिन्छ।[]

उलूपीलाई आधा कन्या र आधा सर्पको रूप भएकी एक पौराणिक नागकन्या (नाग राजकुमारी) को रूपमा वर्णन गरिएको छ।[]

उलूपी नागराज कौरव्यकी छोरी थिइन्।[][] उनका पिताले गङ्गा नदीको पानीमुनि रहेको नागहरूको राज्यमा शासन गर्दथे।[] उनी एक प्रशिक्षित योद्धा थिइन्।[] महाकाव्यमा उलूपीको परिचय दिँदा यसको उल्लेख नगरिएको भए तापनि, पछि कुरुक्षेत्र युद्धका बेला के खुलासा हुन्छ भने अर्जुनलाई भेट्नुअघि उनको एक पति थिए, जसको सुपर्णसँग लड्दा मृत्यु भएको थियो र उनलाई सन्तान विहीन विधवा छोडेका थिए।[]

अर्जुनसँगको विवाह

[सम्पादन गर्नुहोस्]
उलूपी र अर्जुन

पाण्डवका तेस्रो भाइ अर्जुनलाई पाण्डव दाजुभाइकी साझा पत्नी द्रौपदीसँगको विवाहको सर्त उल्लङ्घन गरेको प्रायश्चित स्वरूप १२ वर्षको तीर्थाटनका लागि राज्यको राजधानी इन्द्रप्रस्थबाट निर्वासित गरिन्छ। ब्राह्मणहरूका साथमा अर्जुन वर्तमान भारतको उत्तर-पूर्वी क्षेत्रतर्फ प्रस्थान गर्छन्।[]

एक दिन, अर्जुन आफ्नो नित्य कर्म गर्नका लागि गङ्गा नदीमा स्नान गर्दै हुन्छन्, नाग राजकुमारी उलूपीले उनलाई समातेर नदीभित्र तान्छिन्।[१०] उनले अर्जुनलाई आफ्नो हातले समातेर आफ्नो इच्छा अनुसार यात्रा गर्न बाध्य पार्छिन्। उनीहरू अन्ततः कौरव्यको निवास स्थान रहेको पानीमुनिको राज्यमा पुग्छन्। अर्जुनले त्यहाँ एउटा यज्ञ कुण्ड देख्छन् र अग्निमा आफ्नो आहुति अर्पण गर्छन्। अर्जुनको निसङ्कोच आहुति अर्पणबाट अग्नि प्रसन्न हुन्छन्।[]

मुस्कुराउँदै अर्जुनले उलूपीको परिचय सोध्छन्, जसमा उनले यसरी जवाफ दिन्छिन्:[११]

अर्जुनका यी शब्दहरू सुनेर उलूपीले जवाफ दिइन्,

'ऐरावतको वंशमा जन्मेका कौरव्य नामका एक नाग छन्। हे राजकुमार, म तिनै कौरव्यकी छोरी हुँ र मेरो नाम उलूपी हो।

हे पुरुषहरूमा श्रेष्ठ, तपाईंलाई आफ्नो नित्य स्नान गर्नका लागि नदीमा ओर्लिएको देखेपछि म कामदेवद्वारा विवेकहीन बनाइएकी छु।

हे निष्पाप, म अझै अविवाहित छु। तपाईंको कारणले गर्दा म कामदेवद्वारा पीडित छु, हे कुरु वंशका सन्तान, आज आफूलाई ममा समर्पित गरेर मलाई प्रसन्न पार्नुहोस्।'

व्यास, महाभारत, अर्जुन-वनवास पर्व, खण्ड २१६

यद्यपि, अर्जुनले आफ्नो तीर्थयात्राको ब्रह्मचर्यको कारण देखाउँदै उनको प्रस्ताव अस्वीकार गर्छन्। उलूपीले उनको ब्रह्मचर्यको सर्त केवल अर्जुनकी पहिलो पत्नी द्रौपदीका लागि मात्र सीमित रहेको तर्क दिन्छिन्।[१२] उनको तर्कबाट विश्वस्त भई अर्जुनले उनीसँग विवाह गर्छन् र नागको महलमा रात बिताउँछन् र भोलिपल्ट बिहान सूर्योदयसँगै बिदा हुन्छन्।[१३] पछि, उनीहरूबाट इरावन नामका छोराको जन्म हुन्छ।[] अर्जुनसँग प्रसन्न भएर उलूपीले उनलाई एउटा सबै जलचर प्राणीहरू निसन्देह उनीद्वारा पराजित हुन सक्षम हुनेछन् भनि वरदान दिन्छिन्।[१०][१४]

उलूपीले आफ्नो छोरा इरावनलाई कुरुक्षेत्र युद्धमा गुमाउँछिन्, जहाँ उनी आफ्ना बुबाको पक्षबाट लड्दै मारिन्छन्।

पाण्डवहरूको सन्न्यास

[सम्पादन गर्नुहोस्]

कलियुगको सुरुवातसँगै, पाण्डवहरू द्रौपदीका साथमा सन्न्यास लिई आफ्नो सिंहासन उनीहरूका एक मात्र उत्तराधिकारी – अर्जुनका नाति परीक्षितलाई सुम्पिएर हिँडेका थिए। आफ्ना सबै धनसम्पत्ति र सांसारिक बन्धनहरू त्यागेर उनीहरूले एउटा कुकुरका साथ हिमालयतर्फको आफ्नो अन्तिम तीर्थयात्रा सुरु गरेका थिए। उलूपी भने गङ्गा नदीमा रहेको आफ्नो राज्यमा फिर्ता भएकी थिइन्।[१५]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Chakravarti, Bishnupada (२००७-११-१३), Penguin Companion to the Mahabharata (अङ्ग्रेजीमा), Penguin UK, आइएसबिएन 978-93-5214-170-8
  2. Vettam 1975, पृष्ठ 806.
  3. Wheeler, James Talboys (१८६७), The History of India from the Earliest Ages: The Vedic period and the Mahá Bhárata, N. Trübner, पृ: ५७२।
  4. Vogel 1926, पृष्ठ 208.
  5. Vettam 1975, पृष्ठ 19.
  6. 1 2 3 Debroy 2010, sec.Arjuna-vanavasa Parva.
  7. Chandramouli 2012, chpt. Seprent Princess.
  8. Brodbeck, Simon Pearse (२०१७-०३-०२), The Mahabharata Patriline: Gender, Culture, and the Royal Hereditary (अङ्ग्रेजीमा), Routledge, पृ: 184, आइएसबिएन 978-1-351-88630-7
  9. Vettam 1975, पृष्ठ 96.
  10. 1 2 Vettam 1975, पृष्ठ 332.
  11. www.wisdomlib.org (२०१०-१२-२७), "Section CCXVI [Mahabharata, English]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-१४
  12. Vettam 1975, पृष्ठ 54.
  13. Bhanu, Sharada (१९९७), Myths and Legends from India – Great Women, Chennai: Macmillan India Limited, पृ: ७, आइएसबिएन 0-333-93076-2
  14. Thadani 1931, पृष्ठ. 185–186.
  15. Ganguli, Kisari Mohan (१८८३–१८९६), "SECTION 1", The Mahabharata: Book 17: Mahaprasthanika Parva, Internet Sacred Text Archive, अन्तिम पहुँच ३ अप्रिल २०१६


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]