सामग्रीमा जानुहोस्

वाहलिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वाहलिक
कुरुक्षेत्र युद्ध अघिको सभामा बाह्लिक (सबैभन्दा बायाँ, सेतो लुगामा) चित्रण गरिएको पहाडी लघुचित्र
जानकारी
परिवार
बच्चा
आफन्त

वाहलिक जसलाई वाह्लिक वा बल्हिक पनि भनिन्छ, हिन्दु साहित्य, विशेष गरी महाभारत मा वर्णित बाह्लिक राज्यका राजा थिए। उनी चन्द्र वंशका राजा प्रतीपका माहिला छोरा र शान्तनुका दाजु थिए। शान्तनु पछि कुरु राज्यका राजा र भीष्मका पिता बनेका थिए। बाह्लिक कौरव वंशका एक प्रमुख ज्येष्ठ सदस्य थिए र उनले कुरुक्षेत्र युद्ध र त्यसअघिका घटनाहरूमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।

राज्याभिषेक

[सम्पादन गर्नुहोस्]

बाह्लिक हस्तिनापुरका राजा प्रतीप र उनकी पत्नी सुनन्दाका तीन छोराहरूमध्ये माहिला छोरा थिए। जेठा छोरा देवापिले राज्यको उत्तराधिकार पाउने निश्चित भएपछि, प्रतीपले आफ्ना माहिला छोरालाई केही भर्खरै जितेका भूमिहरू उपहारस्वरूप दिएका थिए (यद्यपि कथाका केही संस्करणहरूमा, यो जराजन्धले बाह्लिकलाई मगध विरुद्धको युद्धमा पाञ्चाललाई साथ नदिने सर्तमा उपहार दिएको भूमि हो भनिएको छ)।[] सो भूमिको नाम पछि बाह्लिक राखियो।

यद्यपि, कुष्ठरोगका कारण प्रतीपका जेठा छोरा देवापिले सिंहासनमा बस्न अस्वीकार गरेका थिए र तपस्या गर्न वनतिर लागेका थिए। त्यसपछि बाह्लिकको आशीर्वादमा शान्तनु युवराज बनेका थिए भने प्रतीपको मृत्युपछि हस्तिनापुरका राजा बनेका थिए।[]

बाह्लिकका सोमदत्त नामका एक छोरा थिए, जसका भूरिश्रवा, भूरि र शाल लगायतका धेरै छोराहरू थिए।[] हरिवंश का अनुसार, बाह्लिककी एक छोरी पनि थिइन्—पौरवी (जसलाई रोहिणी पनि भनिन्छ)। उनले यादव वंशका वसुदेवसँग विवाह गरेकी थिइन्। रोहिणीलाई बलरामसुभद्राकी आमाका रूपमा चिनिन्छ। पौरवीका छोराहरूमा अवगाह र नन्दक थिए। सोमदत्तकी छोरीको विवाह काशीका राजा अभिभूका साथ भएको थियो, जसले पछि कुरुक्षेत्र युद्धमा कौरव पक्षबाट लडेका थिए।


कुरुक्षेत्र युद्धअघि

[सम्पादन गर्नुहोस्]

बाह्लिक कुरु वंशका महत्त्वपूर्ण घटनाहरूमा उपस्थित थिए, जसमा कुरु राजकुमारहरूद्वारा गरिएको शस्त्रविद्याको प्रदर्शन र युधिष्ठिरको युवराजका रूपमा गरिएको राज्याभिषेक समावेश छ। युधिष्ठिरको राजसूय यज्ञ का क्रममा बाह्लिकले उनको अधिकारलाई स्वीकार गरेका थिए र उनलाई एउटा सुनौलो रथ उपहारस्वरूप प्रदान गरेका थिए। उनी पाण्डवहरूको वनवासको कारण बनेको कुख्यात पासा खेलमा पनि सहभागी थिए।[]

पछि, बाह्लिकले कौरव र पाण्डव दुवैलाई युद्धमा संलग्न नहुन र भरतवंशीहरूबीच शान्ति कायम राख्न आग्रह गर्दै सम्झाउने प्रयास गरेका थिए। यद्यपि, जब युद्ध निश्चित र शत्रुता सुरु भएको थियो, उनी कौरवहरूको पक्षमा उभिएका थिए।[]

कुरुक्षेत्र युद्धको समयमा

[सम्पादन गर्नुहोस्]

युद्धको समयमा बाह्लिक र उनको राज्यले दुर्योधनको पक्षबाट लडेका थिए। भीष्मले उनलाई एक 'अतिरथी' मानेका थिए।[]

पहिलो दिन बाह्लिकले धृष्टकेतु विरुद्ध युद्ध गरेका थिए। नवौँ दिनमा भीमले बाह्लिकको रथ ध्वस्त पारिदिएका थिए। यद्यपि, उनलाई लक्ष्मण कुमारले बचाएका थिए। तेह्रौँ दिनमा, उनी अभिमन्युको वधमा सहभागी थिए (उनलाई सक्रिय सहभागीका रूपमा उल्लेख गरिएको छैन र एक मौन दर्शकका रूपमा मानिन्छ)। चौधौँ दिनमा, उनले उपपाण्डवहरू र शिखण्डीसँग एकैसाथ लड्दै उनीहरूको प्रतिरोध गरेका थिए।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Purwadi. Mahabharata. Yogyakarta: Media Abadi, 2004. Print.
  2. Muir, J. Original Sanskrit Texts on the Origin and History of the People of India. New Delhi: Oriental Publishers and Distributors, 1976. Print.
  3. 1 2 3 Mani, Vettam (२०१५-०१-०१), Puranic Encyclopedia, Motilal Banarsidass, आइएसबिएन 978-81-208-0597-2
  4. Debroy, Bibek (जुन २०१५), The Mahabharata, Volume 4, Penguin UK, पृ: 810, 790।
  5. Debroy, Bibek (जुन २०१५), The Mahabharata, Volume 4, Penguin UK, पृ: ८२७।
  6. Ganguly, Kisari, "The Mahabharata of Krishna-Dwaipayana Vyasa", अन्तिम पहुँच ६ जुन २०१७