उत्तरा
| उत्तरा | |
|---|---|
युद्धमा जानुअघि अभिमन्युले उत्तरालाई सान्त्वना दिँदै, एस.एन. दासको चित्रण | |
| जानकारी | |
| परिवार | विराट (पिता) सुदेष्णा (माता) उत्तर (भाइ) शङ्ख (भाइ) |
| जीवनसाथी | अभिमन्यु |
| बच्चा | परीक्षित |
| उत्पत्ति | मत्स्य देश |
उत्तरा प्राचीन हिन्दु महाकाव्य महाभारतकी एक पात्र हुन्। उनी मत्स्य देशकी राजकुमारी तथा राजा विराट र रानी सुदेष्णाकी छोरी थिइन्। महाकाव्यका मुख्य पात्र पाण्डवहरूले आफ्नो वनवासको क्रममा एक वर्षको गुप्तवास विराट राजाको दरबारमा बिताएका थिए। सोही समयमा उनले तेस्रो पाण्डव अर्जुनबाट सङ्गीत र नृत्य सिकेकी थिइन् र पछि अर्जुनका छोरा अभिमन्युसँग उनको विवाह भएको थियो। कुरुक्षेत्र युद्धको क्रममा उत्तरा सानै उमेरमा विधवा भएकी थिइन्। युद्धमा पाण्डवहरूको विजयपछि, उनी र उनको गर्भमा रहेको सन्तानमाथि अश्वत्थामाले आक्रमण गरेका थिए, जसलाई कृष्णको दैवीय हस्तक्षेपले बचाएका थिए। उनको छोरा परीक्षितले कुरु वंशलाई विनाश हुनबाट बचाउँदै पछि उनी महाभारत र श्रीमद्भागवत् पुराण दुवैमा चर्चित सम्राट बनेका थिए।[१]
जीवनी
[सम्पादन गर्नुहोस्]महाभारतका अनुसार, उत्तराको जन्म मत्स्य देशका राजा विराट र उनकी रानी सुदेष्णा (केक्यका सुत राजाकी छोरी) बाट भएको थियो। उनका दुई दाजुहरू—उत्तर र शङ्ख—र एक सौतेनी भाइ श्वेत थिए।[२]
उत्तराको प्रवेश महाकाव्यको चौथो पुस्तक विराट पर्वमा हुन्छ, जसमा पाँच पाण्डव र उनीहरूको साझा पत्नी द्रौपदीको अज्ञातवासको अन्तिम वर्षको वर्णन गरिएको छ। उनीहरू मत्स्य देशमा विभिन्न भेष बदलेर विराट राजाको दरबारमा बसेका थिए। तेस्रो पाण्डव अर्जुन बृहन्नला नामको नपुंसक (नर्तक) बनेर बसेका थिए र उनलाई उत्तराको शिक्षक नियुक्त गरिएको थियो। उनले उत्तरालाई स्वर्गका अप्सराहरूबाट सिकेको नृत्य, वाद्यवादन र गायन कला सिकाएका थिए। अर्जुनले उत्तरालाई अत्यन्त प्रतिभाशाली छात्राको रूपमा प्रशंसा गरेका छन्। अज्ञातवास समाप्त भएपछि पाण्डवहरूले विराट राजासामु आफ्नो वास्तविक पहिचान खुलाए। विराटले तुरुन्तै उत्तराको हात अर्जुनलाई विवाहका लागि प्रस्ताव गरे, तर अर्जुनले अस्विकार गरे। उनले तर्क गरे कि एक शिक्षक र विद्यार्थीको सम्बन्ध आमाबाबु र सन्तानको जस्तै हुन्छ। बरु, अर्जुनले उत्तरालाई आफ्ना छोरा अभिमन्युसँग विवाह गराई आफ्नी बुहारी बनाउने सुझाव दिए। दुवै पक्षको सहमतिमा उत्तरा र अभिमन्युको विवाह समारोह उनीहरूका आफन्त र सहयोगीहरूको उपस्थितिमा उपप्लव्य शहरमा सम्पन्न भयो।[१][३] उपप्लव्यमा बस्दा एक गरिब ब्राह्मणले उत्तरालाई देखेर भविष्यवाणी गरेका थिए कि जब कुरु वंश समाप्त हुनेछ, तब उनले एक छोरालाई जन्म दिनेछिन् र सोही कारणले उनको नाम परीक्षित (अर्थात् 'जसको परीक्षा लिइएको छ') रहनेछ।[४]
महाभारतका पछिल्ला पर्वहरूमा पाण्डव र उनीहरूका भाइ कौरवहरूबीच भएको कुरुक्षेत्र युद्धको वर्णन गरिएको छ, जसमा मत्स्य देशले पाण्डवहरूलाई साथ दिएको थियो। युद्धको क्रममा उत्तराले आफ्ना पिता, भाइहरू र सम्पूर्ण मत्स्य सेना गुमाउँछिन्। उनी सानै उमेरमा विधवा हुन्छिन् जब मात्र १६ वर्षका अभिमन्यु युद्धमा मारिन्छन्। आफ्नो पतिको शव देखेर शोकमा डुबेकी उत्तरालाई उनका ससुराका भाइहरू र दिव्य अवतार कृष्णले सान्त्वना दिन्छन्। पतिको शव देखेर उनले गरेको विलापको चित्रण स्त्री पर्वमा कौरवकी आमा गान्धारीद्वारा गरिएको छ।[१][५][६]
कुरुक्षेत्र युद्धको समाप्तिपछि, कौरव सेनाका सेनापति द्रोणाचार्यका छोरा अश्वत्थामाले आफ्नो पराजयको बदला लिन बाँकी रहेका पाण्डव सेनाको सामूहिक हत्या गर्ने प्रयास गर्छन्। यो घटना [[सौप्तिक पर्व]'मा उल्लेख छ। अश्वत्थामालाई अर्जुनले रोक्ने प्रयास गरेपछि उनले शक्तिशाली दिव्य अस्त्र ब्रह्मशिर प्रयोग गर्छन्। जवाफमा अर्जुनले पनि ब्रह्मशिर अस्त्र प्रहार गर्छन्। नारद र व्यास जस्ता हिन्दु पौराणिक कथाका सम्मानित ऋषिहरूले हस्तक्षेप गरी दुवै योद्धालाई आफ्ना अस्त्रहरू फिर्ता लिन निर्देशन दिन्छन्। अर्जुनले आज्ञा पालन गर्दै अस्त्र फिर्ता लिन्छन्, तर अश्वत्थामासँग सो अस्त्र फिर्ता लिने क्षमता थिएन। प्रतिशोधको भावनाले अन्धो भएका अश्वत्थामाले यदि आफूले पाण्डवहरूलाई मार्न नसके पनि उनीहरूको वंश समाप्त पारिदिने निर्णय लिन्छन्। उनले उत्तराको गर्भमा रहेको सन्तानलाई लक्षित गरी ब्रह्मशिर अस्त्र प्रहार गर्छन्, जसले गर्दा गर्भमै शिशुको मृत्यु हुन्छ। यद्यपि, कृष्णले सो सन्तानलाई बचाउने आश्वासन दिन्छन्। एक अजन्मे शिशुमाथि हतियार प्रहार गरेकोमा क्रुद्ध भई कृष्णले अश्वत्थामालाई हजारौँ वर्षसम्म एक्लै, रोगले ग्रस्त भएर र आफ्नै घाउको गन्धले विरक्त भएर बाँच्नुपर्ने श्राप दिन्छन्।[४][७][८][९] अश्वमेधिका पर्वमा परीक्षितको जन्मको बारेमा वर्णन गरिएको छ। जब उत्तरा सुत्केरी भइन्, शिशु मृत जन्मिएको थियो। कृष्णले आफ्नो दिव्य शक्ति प्रयोग गरी मृत शिशुलाई जीवित पारिदिन्छन्, र सो बालकको नाम परीक्षित राखिन्छ।[१][८]
महाभारतमा उत्तराको अन्तिम उपस्थिति आश्रमवासिक पर्वमा छ। युद्धको १५ वर्षपछि कुरु वृद्धहरू धृतराष्ट्र, गान्धारी, कुन्ती र विदुर वनतर्फ प्रस्थान गर्छन्। उत्तरा र राजपरिवारका अन्य सदस्यहरू उनीहरूलाई केही टाढासम्म पुर्याउन गएका थिए। महाकाव्यको अन्त्यमा, जब पाण्डवहरूले संसार त्यागेर स्वर्ग प्रस्थान गर्छन् उत्तराकी सासू सुभद्रालाई बालक परीक्षितको हेरचाह गर्ने जिम्मा दिइन्छ, जसलाई हस्तिनापुरको नयाँ राजा बनाइन्छ। उत्तराले आफ्नो बाँकी जीवन राजमाताको रूपमा बिताएको हुन सक्छ।[१०]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 3 4 Mani, Vettam (१९७५), Puranic encyclopaedia : a comprehensive dictionary with special reference to the epic and Puranic literature, Robarts - University of Toronto, Delhi : Motilal Banarsidass, पृ: उत्तरा, आइएसबिएन 978-0-8426-0822-0।
- ↑ Mani, Vettam (१९७५), Puranic encyclopaedia : a comprehensive dictionary with special reference to the epic and Puranic literature, Robarts - University of Toronto, Delhi : Motilal Banarsidass, पृ: Virāṭa, आइएसबिएन 978-0-8426-0822-0।
- ↑ "The Mahabharata, Book 4: Virata Parva: Go-harana Parva: Section LXXII"।
- 1 2 Mani, Vettam (१९७५), Puranic encyclopaedia : a comprehensive dictionary with special reference to the epic and Puranic literature, Robarts - University of Toronto, Delhi : Motilal Banarsidass, पृ: Aśvatthāmā, आइएसबिएन 978-0-8426-0822-0।
- ↑ "Mahabharata, Book 20: Section 20", Wisdom Library, १७ अगस्ट २०२१।
- ↑ "The Mahabharata, Book 11: Stri Parva: Stri-vilapa-parva: Section 20", sacred-texts.com, अन्तिम पहुँच २०२४-०७-०२।
- ↑ "The Mahabharata, Book 10: Sauptika Parva: Section 15"।
- 1 2 "The Mahabharata, Book 14: Aswamedha Parva: Anugita Parva: Section LXX"।
- ↑ "The Mahabharata, Book 10: Sauptika Parva: Section 16"।
- ↑ "The Mahabharata, Book 17: Mahaprasthanika Parva: Section 1"।
