सामग्रीमा जानुहोस्

अर्जुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्जुन
पाण्डवको सदस्य
बालीमा अवस्थित अर्जुनको मूर्ति
अन्य नामहरू
  • कौन्तेय
  • पार्थ
  • फाल्गुन
  • जिष्णु
  • किरीटी
  • श्वेतवाहन
  • बीभत्सु
  • विजय
  • कृष्ण
  • सव्यसाची
  • धनञ्जय
आबद्ध
अस्त्रगाण्डीव (धनुष) र वाणहरू
युद्धहरूविराट युद्ध, कुरुक्षेत्र युद्ध
धर्मग्रन्थहरू
लिङ्गपुरुष
वंशावली
जन्म
शतशृङ्ग वन
मृत्यु
अभिभावकहरू
भाइबहिनीहरू (सौतेनी भाइहरू)
जीवनसाथी
सन्तानहरू
वंशचन्द्रवंश

अर्जुन प्राचीन हिन्दु महाकाव्य महाभारतका मुख्य पात्रहरूमध्ये एक हुन्। उनी पाँच पाण्डव भाइहरूमध्ये साइँला हुन् र उनीहरूमध्ये सबैभन्दा विशिष्ट योद्धाका रूपमा चिनिन्छन्। उनी देवताहरूका राजा इन्द्रकुरु वंशका राजा पाण्डुकी पत्नी कुन्तीका पुत्र हुन्—जसले गर्दा उनलाई एक अर्धदेव नायक मानिन्छ। अर्जुन आफ्नो असाधारण धनुर्विद्या र दिव्य अस्त्रहरूमा निपुणताका लागि प्रसिद्ध छन्। महाकाव्यभरि अर्जुनको आफ्ना मामाका छोरा कृष्णसँग घनिष्ठ मित्रता रहेको देखिन्छ, जसले उनको आध्यात्मिक मार्गदर्शकको रूपमा काम गर्छन्।[]

अर्जुन महाकाव्यमा धेरै वीर कार्यहरूका लागि चर्चित छन्। सानै उमेरदेखि उनले सम्मानित योद्धा-ऋषि द्रोणाचार्यको रेखदेखमा एक असाधारण छात्रको रूपमा आफूलाई प्रमाणित गरेका छन्। आफ्नो युवावस्थामा अर्जुनले धनुर्विद्या प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पाञ्चालकी राजकुमारी द्रौपदीलाई प्राप्त गर्छन्। पछि, पाण्डव भाइहरू बीचको सम्झौता उल्लङ्घनका कारण भएको अस्थायी निर्वासनका क्रममा उनले तीन राजकुमारीहरू: उलूपी, चित्राङ्गदासुभद्रासँग विवाह गर्छन्। यी सम्बन्धहरूबाट उनका चार छोराहरू: श्रुतकर्म, इरावन, बभ्रुवाहनअभिमन्यु जन्मिन्छन्। अर्जुनले आफ्ना दाजु युधिष्ठिरको सार्वभौमसत्ता स्थापित गर्न, धेरै राज्यहरूलाई वशमा पार्न र खाण्डव वन दहन गर्न प्रमुख भूमिका खेलेका हुन्छन्। ईर्ष्यालु कुरु वंशका भाइहरू कौरवद्वारा पाण्डवहरूलाई धोकापूर्ण रूपमा निर्वासित गरिँदा अर्जुनले कर्णलाई मार्ने प्रतिज्ञा गर्छन् जो कौरवका मुख्य सहयोगी र अर्जुनका प्रमुख प्रतिद्वन्द्वी हुन्छन् (पछि उनी अर्जुनका जेठा सौतेनी दाजु भएको खुल्छ)। निर्वासनको समयमा अर्जुनले दिव्य अस्त्रहरू प्राप्त गर्न यात्रा गर्दै भगवान शिवको कृपा प्राप्त गर्छन्। युद्ध कौशलका अतिरिक्त अर्जुन सङ्गीत र नृत्यमा पनि निपुण हुन्छन् जसले गर्दा उनलाई निर्वासनको अन्तिम वर्ष (अज्ञातवास)मा मत्स्य राज्यकी राजकुमारी उत्तराको नपुंसक शिक्षक (बृहन्नला)को रूपमा भेष बदल्न मद्दत पुग्छ। यसै अवधिमा उनले एक्लै सम्पूर्ण कुरु सेनालाई पराजित गर्न सफल हुन्छन्।

कुरुक्षेत्र युद्ध अघि, अर्जुन आफ्नै आफन्त र सम्मानित गुरुहरूलाई विपक्षी कौरव पक्षमा उभिएको देखेर अत्यन्तै विचलित हुँदै उनीहरूलाई मार्ने विचारले चिन्तित बन्छन्। गहिरो नैतिक द्विविधामा परेपछि उनी आफ्ना सारथि कृष्णको शरणमा पुग्छन् जहाँ कृष्णले उनलाई योद्धाको रूपमा उनको कर्तव्य (धर्म), कर्मभक्ति मार्फत मोक्षका बारेमा भगवद्गीताको ज्ञान दिन्छन्।[] युद्धका क्रममा दिव्य धनुष गाण्डीव धारण गरेका अर्जुन एक प्रमुख योद्धाको रूपमा उभिँदै भीष्म र कर्ण लगायत धेरै शक्तिशाली शत्रुहरूको पतनका लागि जिम्मेवार रहन्छन्। युद्धपछि उनले युधिष्ठिरलाई अश्वमेध मार्फत आफ्नो साम्राज्य सुदृढ गर्न सहयोग गर्छन् र यसै क्रममा अर्जुन आफ्नै छोरा बब्रुवाहनद्वारा मारिँदा पनि उलूपीको हस्तक्षेपले उनी पुनर्जीवित हुन्छन्। कलियुगको सुरुवात हुनुअघि अर्जुनले कृष्ण र अन्य यादवहरूको अन्तिम संस्कार गर्छन्। त्यसपछि उनी आफ्ना भाइहरू र द्रौपदीसँग हिमालयको अन्तिम यात्रामा निस्किन्छन् जहाँ अन्ततः उनको मृत्यु हुन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Arjuna | Mahabharata, Pandava, Warrior | Britannica", www.britannica.com (अङ्ग्रेजीमा), २०२५-०४-१४, अन्तिम पहुँच २०२५-०६-०३
  2. Davis, Richard H. (२६ अक्टोबर २०१४), The Bhagavad Gita (अङ्ग्रेजीमा), Princeton University Press, आइएसबिएन 978-0-691-13996-8, अन्तिम पहुँच ६ सेप्टेम्बर २०२०

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

अर्जुन इन्साइक्लोपिडिया ब्रिटानिकामा