कुरुक्षेत्र युद्धको पहिलो दिन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कुरुक्षेत्र युद्धको पहिलो दिन दुशासनले कौरब सेना र भीमसेनले पाण्डव सेना हाँकेका थिए। युद्धको कोलाहल गुञ्जियो । ढोलहरु, सिँगहरु, शंखहरु र बिकुलहरु खलबल हुने गरी बज्यो । कोलाहलले कान खायो । आकाश थर्कियो। घोडाहरुले चित्कार गरे । उन्मत्त हात्तीहरुले तीखो स्वर गरी बिकुल बजाए। लडाकुहरुले सिंहनाद गरेर आवाज निकाले । बाणहरु उज्वल उल्काहरु जस्तै आकाशबाट बर्सिन थाले । बाबु, छोरा, काका भतिजाहरुले पहिलेको प्रेम र सम्बन्धहरु बिर्सेर आफु-आफुमा काटमार गर्न थाले । प्रचण्ड हत्या काण्ड भए ।

भीष्म-अभिमन्यु युद्ध[सम्पादन गर्ने]

पहिलो दिनको मध्यान्ह कालमा पाण्डव सेनाहरु नराम्रोसँग सिथिल भए । भीष्मको रथ जहाँ-जहाँ गयो त्यहाँ त्यहाँ संहारको नृत्य जस्तै बन्यो। अभिमन्युले सो सहन सकेनन् र उनले भीष्म पितामहलाई आक्रमण गरे । सबभन्दा जेठा र सबैभन्दा कान्छाको बिच युद्ध भएको बेला त्यस द्वन्द युद्ध हेर्न देवताहरु पनि आएका थिए । अभिमन्युको रथमा सुबर्णको कर्णिकार रुख देखिने ध्वजा उज्वल भएर फरफराएको थियो । उनको एउटा बाण कृतबर्मालाई लाग्यो, शल्यलाई पाँच चोटी र भीष्मलाई नै नौ चोटी लागेको थियो । तरबारको धार जस्तो भएको अभिमन्युको बाणहरु मध्य एउटा बाणले दुरमुखको सारथिलाई लाग्यो, उनको छेदन भएको टाउको जमिनमा गुट मुटिएको थियो । अर्को बाणले कृपाचार्यको बाणलाई भाँचि दियो । तमाशा हेर्न आएका देवताहरुले अभिमन्युको पराक्रममा फूल बर्साएका थिए । भीष्म र अन्य वीरहरुले अभिमन्युको प्रशंसा गर्दै ठूलो स्वरले भन्यो –" साँचै नै धनञ्जयको सुयोग्य पुत्र भएको रहेछ" । तद अन्तर कौरब सेनाहरुले त्यस वीर नवयुबक उपर संयुक्त आक्रमण गरे, तर उनीहरु सबैको अगाडि उनी अविचलित भएर बसेका थिए । भीष्मले प्रहार गरेका सबै बाणहरुलाई अभिमन्युले काटेका थिए । उनले ताकेर हानेको एउटा बाणले ताडिको रुख भएको भीष्मको ध्वजालाई पतन गरिदिए । त्यो देखेर भीमसेनले अति हर्ष गरेर बीर भतिजालाई आर्को प्रोत्साहन दिनको लागि सिँहनाद गरेका थिए ।

वीर बालकको बहादुरी देखेर पितामहलाई ठूलो हर्ष भयो । इच्छा नहुँदा नहुँदै पनि त्यस बालकमाथि पूर्ण बल लगाएर भीष्मले आक्रमण गर्नु परेको थियो । त्यस नव-युबक वीर अभिमन्युलाई भरोसा दिन बिराट, उनका छोरा उत्तर, द्रुपदका छोरा धृष्टद्युम्न र भीम आए । सबै मिलेर पितामहलाई आक्रमण गरे र भीष्मको ध्यान अभिमन्युबाट हटाए ।

राजा बिराटका पुत्र राजाकुमार उत्तर र स्वेतको वीरगती[सम्पादन गर्ने]

बिराटको छोरा उत्तरले हात्तीमा आरोहण गरेर शल्य माथि भयानक आक्रमण गरे । शल्यका रथका घोडाहरु मरे। त्यसो भए पछि शल्यले उत्तरलाई गदाले प्रहार गरे। गदा उत्तरको छातिमा नै लाग्यो । उत्तरको गदा हातबाट खस्यो र उनि लडेर मर्यो । तर हात्ती हटेर गएन । त्यसले हमला गर्दै रह्यो । तर शल्यले त्यसको सूँढ काटी शरीरको धेरै ठाउँहरुमा बाणहरुले प्रहार गरे । अनी त्यो हात्ती ठूलो स्वरले करायो र मर्यो । शल्यले कृतबर्माको रथ चढेका थिए ।

बिराटको जेठो छोरा श्वेतले आफ्नो भाइ उत्तर मरेको देखे । घ्यु होमेको आगो जस्तै उनको क्रोध उठ्यो । उनले शल्य तिर रथ बढायो । तुरुन्तै शल्यको सहायता गर्न रथ चढी सात जना वीरहरु आइपुगे । चारैतिरबाट उनिहरुले शैल्यको रक्षा गरेका थिए। श्वेत उपर उनीहरुले बाणहरु वर्षा गराए। शस्त्रहरु बादलमा बिजुलि चम्के जस्तै चम्केका थिए । अपूर्ब सित श्वेतले आफ्नो रक्षा गरेका थिए । श्वेतले शत्रुका सबै बाणहरु बिचैमा रोकिदिएका थिए । उनि माथि प्रहार गरेका गदाहरु पनि सबै काटीदिएका थिए । श्वेतले देखाएको कार्यकुशलतामा दुबै पक्षका योद्धाहरु छक्क परेका थिए । सो बेला दुर्योधनले कुनै समय गुमाएन । शल्यलाई बचाउन फौजहरु पठाएदिए । त्यहाँ धुनधानको युद्ध भयो । हजारौँ सिपाहीहरुको नाश भयो । ध्वस्त भएका रथहरु र मरेका हात्ती घोडाहरु अनगिन्ति थिए । दुर्योधनका मानिसहरुलाई भगाउन शवेत सफल भए । अघि बढेर भीष्मलाई आक्रमण गरे । श्वेतले भीष्मको झण्डा खसालिदिए । भीष्मले पनि श्वेतको घोडा र सारथिलाई मारिदिए । त्यस पछि तिनीहरुले परस्परमा गदा प्रहार गरी युद्ध गरे । श्वेतले गदा रिङ्ग्याएर भीष्ममाथि प्रहार गरे। रथ चूर्ण भयो । तर पितामह भीष्म गदा रथमा लाग्नु अगाडि नै त्यसो हुन्छ भनेर जानेर रथबाट हाम्फालेका थिए । जमिनबाटै धनुष कानसम्म खिचेर भीष्मले श्वेतलाई सांघातिक बाणले हमला गरे । श्वेतलाई सो बाणले लाग्यो र ढली मर्यो । दुशासन सिँग फुकेर खुशि भै नाचे । त्यस पछि भीष्मले पाण्डव सेना माथि ठूलो आक्रमण गरे ।

सुर्यास्त पछी[सम्पादन गर्ने]

पहिलो दिनको समाप्तिमा पाण्डव पक्षको भारी हानि भयो। प्रथम दिनको युद्धमा पाण्डवहरुको फौजले ठूलो दु:ख पाएको थियो। यता युधिष्ठिरलाई ठूलो चिन्ता लागेको थियो भने उता दुर्योधनको खुशिको सिमाना थिएन । यस दिन पाण्डवले हुने पनि मुख्य कौरव वीरलाई मार्न सकेनन् ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. महाभारत-गीताप्रेस गोरखपुर,भीष्मपर्व

यो पनि हेर्नु होस[सम्पादन गर्ने]