साउने संक्रान्ति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बिक्रम सम्बतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई 'कर्कट संक्रान्ति' पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ । यो दिन देखि सूर्य उत्तरी गोलार्द्धबाट दक्षिणि गोलार्थ तर्फ प्रवेश गर्ने भएकोले दिनपछि छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ । यद्यपि प्रत्यक्ष सूर्योदय र सूर्यास्तका बीचको समयलाई दिनमान भनिन्छ । सबैभन्दा छोटोदिनबाट उत्तरायण र लामो दिनमान हुने दिनबाट दक्षिणायन शुरु हुनेकुरा विज्ञान सम्मत र शास्त्र सम्मत पनि कुरा हो । यसरी हेर्दा हाल चलन चल्तीको असार ७ गते बाट दिनछोटो हुँदै जाने र पौष ७ गतेबाट दिन लामो हुँदै जाने कुरा प्रमाणित हुन्छ । साउन महिनाले नेपाली खास गरी हिन्दू धर्मसँग सम्बन्धित परम्पराका चाडहरूलाई भित्र्याउने भनाइ छ । नेपालभर स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्यको सुरूवात यहि दिन देखि गरिन्छ । हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दूधर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ । साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ । विवाहित महिलाहरू साउने संक्रान्ति देखि साउन महिनाभर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन् ।

विभिन्न समुदायहरूमा[सम्पादन गर्ने]

साउने संक्रान्ति किराती समुदाय बीच 'सिसेक्पा तङ्नामको नामले मनाईन्छ । किरातीहरूले आफ्नो ईष्ट देवको सम्मानमा साउने संक्रन्तिको दिन नयां पाकेका फलफुलहरू चढाउन डोरिमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ । पूर्वी तराईका आदिवासी धिमालहरूले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानि ल्याएको सिर्जात वा असारे पूजा र धङधङगे मेलाको समापन गर्न विशेष चाडको रूपमा मनाउने गर्दछन् । पश्चिम कर्णालीको जुम्ला जुम्ला तिर देउडा गीत र नाचलाई आफ्नो विशेष सांस्कृतिक निधिको रूपमा मान्ने आइडी जातिहरूले पनि यो साउने सङ्क्रान्ति पर्वलाई आफ्नै तरिकाले बलिरहेको अगुल्टोलाई दक्षिणतिर हानी पठाएर आफ्नै भाषामा देवतालाई सम्बोधन गरी वरिपरिका नराम्रा रोगव्याधहरू सबै हटि जाऊ, दुर्भाग्यको प्रतीक रातो गोरु निस्किजा, शुभ लक्षण वा सौभाग्यको प्रतीक सेतो गोरु भित्र आऊ, अनिकाल जा सहकाल आइज भन्ने भावमा कराउँदै नराम्रो कुराहरू खेदाइ पठाएर साउने सङ्क्रान्ति मान्ने गर्दछन् । यो पर्व प्रायजसो सबै नेपालीको चाड हो । स्वदेश तथा विदेशमा रहने नेपालीहरूले साउने सङ्क्रान्ति पर्व आ-आफ्नै साँस्कृतिक मान्यता र परिस्थितिअनुसार मनाउने गर्दछन्। यसको मौलिक विशेषता के हो भने विभिन्न धार्मिक साँस्कृतिक समुदाय अनुसार साउने सङ्क्रान्ति पर्वलाई बुझ्ने र मनाउने तौर-तरिकाहरू पनि केही भिन्न छन्। ती भिन्नताले भिन्दाभिन्दै किसिमका साँस्कृतिक सन्देशहरू दिन्छन्। यस्ता भिन्नता र समानताहरूलाई सही तवरले बुझ्न नसक्दा चार्डपर्वहरू र यसप्रतिका सकारात्मक सन्देश वा प्रभावहरू पनि एकापसमा बाँझिएर खप्टिन गई विरोधाभासपूर्ण तरिकाले अलमल्लमा परेजस्तो लाग्न सक्छन् । यसर्थ, अबदेखि यस्ता धार्मिक-साँस्कृतिक महत्व राख्ने चार्डपर्वहरूप्रतिको हेराइ, बुझाइ, विश्लेषण वा सम्प्रेषण गराईमा पनि पुनर्संरचना हुन आवश्यक छ । आजसम्म राष्ट्रव्यापीरूपमा आएका साउने सङ्क्रान्तिपर्वप्रतिका अभिलेख तथा सम्प्रेषणहरू केवल एउटै जाति, वर्ग र धार्मिक-साँस्कृतिक समुदायको मान्यता एवम् चिन्तन विशेषमामात्र केन्द्रीत् छन् । अब यी र यस्ता चाडपर्वहरूलाई सबै नेपालीको साझा चाडको रूपमा विकसित गरी धार्मिक, साँस्कृतिक सहिष्णुता कायम गराउने हो भने राष्ट्रिय तहका विभिन्न सञ्चारमाध्यमहरूले विशेष अभियानको रूपमा विभिन्न जाति, वर्ग र समुदायमा गई कुन मुल्य-मान्यताको आधारमा कसरी मानी-बुझिल्याएका रहेछन् भनेर खोजी गरी प्रकाशमा ल्याउनु अपरिहार्य छ ।

महत्व[सम्पादन गर्ने]

सायद, धेरैजसोले आजसम्म बुझ्ने साउने सङ्क्रान्तिप्रतिको बुझाई 'काण्डरक नामक राक्षसको पूजा गरी असारे हिलामैलोको समयमा छालामा लाग्ने रोग लुतो फाल्ने चाड' हो । तर, नेपालमा आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी/जनजातिहरू पूर्वका किरात लिम्बू, खम्बू तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई केवल त्यही 'लुतो' फाल्ने चाडको रूपमा मात्र मान्दैनन् । किरात समुदायमा 'काण्डरक' नामक राक्षसभन्दा फरक प्रसङ्गमा 'माङहाङ' नामक एक पूर्खा वा राजनेता र उनको जनतामा आइपरेको दैवी प्रकोप तथा सामना गर्नुपरेको अनिकालको कारुणिक काहानीसँग यो साउने सङ्क्रान्ति पर्वले तादात्म्यता राख्दछ । यर्सथ, यो चाडलाई प्रकृतिको पूजा, पूर्खाको सम्झना-सम्मान तथा विगत र वर्तमानको समीक्षा गर्ने र भविष्यको योजना बनाउने पर्वको रूपमा पनि मान्ने गरिन्छ । नेपालको पूर्वीक्षेत्र लिम्बुवान, खम्बुवानतिर साउने सङ्क्रान्तिको दिन बिहानै खेतबारी वा नजीकको वन-जङ्गलतिर गई साउने सङ्क्रान्तिका लागि आवश्यक अन्न, फल, फूल, र पात(च्योङ)हरू सङ्कलन गरी ल्याउने गरिन्छ । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरी घरको मूलढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने चलन रहिआएको छ । सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा जे भएको अन्न, फलफूल र अन्य परिकारको खानापिन खाएर रमाइलो गर्दछन् । साउने सङ्क्रान्तिको दिन साँझपख गाउँघरमा मिठो-मसिनो खानपिन खाइपिइसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासी बन्दुकहरू पड्कन्छन् । थाल, झयाम्टा, नाङ्लो र ढोलहरू बज्छन् । प्रत्येक घरका हिँडडुल गर्नसक्ने बच्चादेखि युवा-युवतीहरूले घरमुली बुढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घरवरिपरिसमेत घुमेर यी सामग्रीहरू बजाउँदै केही खराब तत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकालेका हुन्छन् । यसरी, खराब कुरालाई खेदाइरहेको बेला कुनै भूभप्रेत वा भौतिक शत्रू चोर, डाका आदिलाई खेदाइएका हुँदैनन्। विचरा किसानका छोराछोरीहरूले आफ्नै मातृभाषामा 'सङ्क्रान्ति जाऊ, मङ्ग्रान्ति आऊ; अनिकाल जाऊ, सहकाल आऊ' भन्ने आदि भावमा 'अनिकाल वा दुःख-पीडा'लाई त्यसरी पर्वको रूपमा मनाउँदै खेदाएर रमाएका हुन्छन् । यसैगरी, उनीहरूले घरपरिवारमा रहेको बाझोजुझो, गाउँघरमा रहेको सामाजिक-साँस्कृतिक विकृति-विसंगति र सिङ्गो राष्ट्रमा व्याप्त राजनीतिक अस्थिरता, द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द भावहरू पनि प्रकट गर्दै सङ्क्रान्तिसँगै खेदाउन घरमुलीहरूले आग्रह गरेका हुन्छन् । अर्थात् अब त नयाँ अन्नबाली र फलफूलहरू पाके । यसकारण, अब हामी कम्तीमा ६ महिना माघे सङ्क्रान्तिसम्म बाँच्ने भयौं भनेर रमाएका हुन् रे उनीहरू । त्यस्तै संयोगवस, नेपालमा पुरानो आर्थिक वर्ष समाप्ती र नयाँ आर्थिक वर्ष शुभाराम्भ पनि यही साउने १ गतेबाट हुने हुनाले अब सामाजिक-साँस्कृतिक रूपमै कहाँ, के कति राजनीतिक रूपमा राम्रा काम र नरम्रा भ्रष्टाचार भए भनेर समीक्षा गर्ने पर्वको रूपमा पनि यो चाडलाई विकसित गरेर लान सकिन्छ । वैज्ञानिक मतमा साउने सङ्क्रान्तिको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । यो दिन सूर्य दक्षिणायनतिर सङ्क्रमण भई कर्कट रेखामाथि पुग्ने हुनाले साउने सङ्क्रान्तिको दिनलाई कर्कट क्रान्ति/सङ्क्रान्ति (Tropic of Cancer, or Northern tropic) पनि भन्ने गरिन्छ । यही कारण यो दिनमा वर्षको सबैभन्दा लामो दिन र छोटो रात पनि हुने विश्वास गरिन्छ । आज भोली यस्तो दिन असार ७ गते पर्न जान्छ ।

मनाउने तरिका[सम्पादन गर्ने]

परम्परागत रूपमा, एक हिसाबले, यो साउने सङ्क्रान्तिको दिनबाट वर्षायामको अन्त भई हिउँदको प्रारम्भ हुन्छ भन्ने मान्यता रहिआएको छ । विशेषगरी हिन्दू सम्प्रदायमा साउने सङ्क्रान्तिको दिन नासपाती, कागती, निबुवा, अम्बा, अनार, फलफूल आदि चर्ढाई काण्डरक राक्षसको पूजा गरेमा दाद, लुतो, खटिराजस्ता विभिन्न रोगहरूबाट मुक्त भइन्छ भन्ने विश्वास छ । साथै, कुकुरडाइनो (Smilax mycrophylla), कागभलायो (Rhus insignis), कुरिलो (Asparagus Racemosus), सिस्नो, पानीसरो, देवीसरो, पुरेनी र गलेनीजस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पतिको आगो बालेर ताप्ने तथा आ-आफ्ना घर आँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ। यही साउन महिनालाई हिन्दू महिलाहरूले विशेष पर्वको रूपमा मनाउने गर्दछन् । महिलाहरूले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको लागि शिवजीको ब्रत बस्ने र हातमा मेहन्दी लगाई साउनभरि हरियो चुरा लगाए पतिको सुरक्षा हुने विश्वास पनि गरिन्छ । तर, यो मान्यता आदिवासी समुदायमा त्यति पाइँदैन । कृषिप्रधान राष्ट्र नेपालमा कृषकहरू दिनरात माना खाएर मुरी उब्जाउने काममा लागिरहेको बेला सरकारले कुनै सहयोग वा राहतहरू त दिएको पाइँदैन । तर, यही बीचमा पनि हिमाल, पहाड र तर्राई सबैतिरका किसानहरूले यो साउने सङ्क्रान्तिलाई एकदिन भए पनि पर्वको रूपमा मनाई अलिक सुविस्तामा सबै परिवार एकसाथ भई मिठा खानेपिन खाएर रमाइलो गर्ने गर्दछन् । त्यसैले, यो साउने सङ्क्रान्ति नेपाली किसानहरूको महान चाड हो पनि भन्न सकिन्छ । यो साउने सङ्क्रान्ति पर्वलाई आजकल स्वदेशमा मात्र नभएर विदेश हङकङ, युके, यु एस ए, अष्ट्रेलिया, मलेसिया, दुवई, साउदी, कतार आदि ठाउँमा पनि आफ्नो सुविधा र परिस्थिति अनुसार नेपालीहरू एक भई पार्टी वा वनभोजको आयोजना गरी हर्षोल्लासका साथ आफ्नो संस्कृति र मातृभूमि नेपालको सम्झना गर्दै मनाउने गर्दछन् । नेपालभित्र, मगरहरूले साउने सङ्क्रान्ति र माघे सङ्क्रान्तिलाई महान पर्वको रूपमा मनाउने गर्दछन् । साउने सङ्क्रान्तिलाई 'हिउँद लाग्यो, अब बाँचिन्छ र राम्रो हुन्छ' भनी मनाउँछन् भने माघे सङ्क्रान्तिलाई 'वर्षा लाग्यो अब मरिन्छ कि बाँचिन्छ' भनी मनाउने गर्दछन् । अथात् माघे सङ्क्रान्ति मरिन्छ कि भनेर मनाउने हो भने साउने सङ्क्रान्ति लौ बाँचियो भनेर मनाउने हो । थकाली आदिवासी जनजातिको परम्परागत धर्म-सङ्गठन मुखियाप्रणाली हो । यो सामाजिकि संस्थाले पनि साउने सङ्क्रान्तिको दिनमा एक दिन त्यो समुदायलाई चाड मान्ने र जूवातास खेल्नसमेत छुट दिने गरेको छ । तर, अरु दिनमा पनि जूवातास खेलिएमा त्यही संस्थालेनै दण्ड वा जरिवाना गर्ने चलनसमेत रहेको छ । त्यसैगरी, तमु-गुरुङ, बरामु, माझी, जिरेल, छन्त्याल, याक्खा, सुनुवार आदि जातिले पनि आफ्नै तरिकाले साउने संक्रान्ति मनाउने गर्दछन् । पूर्वी तर्राईका आदिवासी धिमालहरूले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानिल्याएको सिर्जात वा असारे पूजा र धङधङगे मेलाको समापन गर्न विशेष चाडको रूपमा मनाउने गर्दछन् । पश्चिम कर्णालीको हुम्ला, जुम्लातिर देउडा गीत र नाचलाई आफ्नो विशेष साँस्कृतिक नीधिको रूपमा मान्ने आइडी(Aidy) जातिहरूले पनि यो साउने सङ्क्रान्ति पर्वलाई आफ्नै तरिकाले बलिरहेको अगुल्टोलाई दक्षिणतिर हानी पठाएर आफ्नै भाषामा देवतालाई सम्बोधन गरी 'वरिपरिका नराम्रा रोगव्याधहरू सबै हटिजाऊ, दुर्भाग्यको प्रतीक रातो गोरु निस्किजा, शुभलक्षण वा सौभाग्यको प्रतीक सेतो गोरु भित्र आऊ, अनिकाल जा, सहकाल आइज' भन्ने भावमा कराउँदै नराम्रो कुराहरू खेदाइ पठाएर साउने सङ्क्रान्ति मान्ने गर्दछन् । पृथ्बीको निश्चित भूभागमा प्राकृतिक तथा मौसमी परिवर्तनका विशेष समय वा दिनलाई त्यहाँका सबै मानव समुदायले आ-आफ्नै तरिकाले बुझेर ग्रहण गरिल्याएका हुन्छन् । त्यही मौलिक बुझाइ र ग्रहण गराइअनुसार नै त्यस घटना वा विशेष समयप्रतिको मान्यताहरू विकसित गरी ल्याएका हुन्छन् । कतिपय, तिनै मान्यताहरूले नै सामुहिक मान्यताको रूपधारण गर्दै विशेष चाड वा पर्वको मान्यता पाउँदछन् । यसमा सापेक्ष वैज्ञानिकता र सत्यताको खोजीसँगै एकापसमा राम्रो वा नराम्रो जे जस्तो लागे पनि सबैलाई समान मान्यता र अवसर दिएर संरक्षण गर्दै लैजाने कर्तव्य र जिम्मेवारी सम्वद्धजाति, धार्मिक वा साँस्कृतिक समुदाय र सरकारकोसमेत हुन्छ। साउने सङ्क्रान्तिको हकमा, यो सबै जाति, वर्ग, समुदाय र क्षेत्रको साझा चाड भएकोले यसलाई सबै नेपालीको साझा पर्वको रूपमा स्वीकार गरी नेपाल सरकारले र्सार्वजनिक विदा घोषणा गरेर यसको सम्मान र सम्बोधन गर्नुपर्दछ ।

लुतो फाल्ने[सम्पादन गर्ने]

वर्तमान समयमा प्रचलनमा रहेको मेषादि निरयण १२ राशिचक्र मध्ये चौथो साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ ।यस अन्तर्गत कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरू चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिन्छ भन्ने विश्वासका साथ सांझमा कुकुर डाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि औषधीजन्य वनस्पतिहरू जलाएर घर-घरका आंगनबाट चारै दिशामा फ्यांकिन्छ, यसैलाई नै तुतो फ्यांकेको भन्ने चलन छ। लुतो फ्यांक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म घरको ढोका बन्द गर्ने प्रचलन समेत रहिआएको छ ।

सिसेक्पा तङ्नाम[सम्पादन गर्ने]

साउने संक्रान्ति किराती समुदाय बीच सिसेक्पा तङ्नामको नामले मनाईन्छ । किरातीहरूले आफ्नो ईष्ट देवको सम्मानमा साउने संक्रन्तिको दिन नयां पाकेका फलफुलहरू चढाउन डोरिमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ । नेपालको पूर्वमा लिम्बुवान, खम्बुवानतिर साउने सङ्क्रान्तिको दिन बिहानै खेतबारी वा नजीकको वन-जङ्गलतिर गई साउने सङ्क्रान्तिका लागि आवश्यक अन्न, फल, फूल र पात (च्योङ्हरू) सङ्कलन गरी ल्याउने गरिन्छ । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुन्ड्याउने चलन रहिआएको छ । सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा जे भएको अन्न, फलफूल र अन्य परिकारको खानपिन खाएर रमाइलो गर्दछन् । साउने सङ्क्रान्तिको दिन साँझ पख गाउँघरमा मीठो-मसिनो खानपिन खाइ पिइसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासि बन्दुकहरू पड्कन्छन्। थाल, झ्याम्टा, नाङ्लो र ढोलहरू बज्छन् । प्रत्येक घरका हिँडडुल गर्न सक्ने बच्चादेखि युवा-युवतीहरूले घरमुली बुढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्रीहरू बजाउँदै केही खराब तत्वलाई घर भित्रबाट बाहिरतिर खेदाएर निकालेका हुन्छन् । [१] [२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]