गोरु जुधाइ मेला
| गोरु जुधाइ मेला | |
|---|---|
| मिति | माघे संक्रान्ति |
गोरु जुधाइ मेला नेपालको नुवाकोट जिल्लाको तारुका गाविसको चन्दनी पाटा तथा बेत्रावतीमा आयोजना गरिने प्रतिस्पर्धात्मक मेला हो । हरेक वर्ष माघ १ गते माघे संक्रान्तिको अवसरमा भव्य रूपमा गोरु जुधाइ मेला आयोजना हुने गर्छ । ऐतिहासिक परम्पराको रूपमा रहेको गोरु जुधाइ मेला एउटा भिन्न प्रकारको परम्परागत मेला हो । मनोरञ्जनको हिसावले मनाइने गोरु जुधाइ मेलालाई व्यवस्थित गर्न गोरुजात्रा मेला व्यवस्थापन समितिको गठन गरिएको छ ।गोरु जुधाइ आयोजना गर्न मैदानको गाविस, जिविस र स्थानीयवासीको सहयोगमा साढे १० लाखमा गोरु जुधाउने मैदानको समेत व्यवस्था गरिएको छ। तारुकाको ऐतिहासिक परम्परा जोडिएको यस मेलामा दर्शकहरूको थप सुविधाको लागि गोरु दर्ता, बिचबिचमा सांस्कृतिक चेतनामूलक कार्यक्रम विजयी गोरु धनीलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । [१]
बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह तारुकामा मामाघर जाँदा उनलाई मनोरञ्जन दिलाउन गोरु जुधाइ मेलाको सुरुवात गरिएको किम्बदन्ति रहेको छ । सिंह विसं १९७८ सालमा नुवाकोटको तारुका-५ चन्दनीस्थित मामाघर आउँदा भानिजलाई मनोरञ्जन दिन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा आयोजना गराएका थिए । यही परम्परा अन्ततः वरपरको गाँउलेहरूको लागि पनि मनोरञ्जनको माध्यम र खेल जात्रा बनेको हो । मेला अवलोकनका लागि काठमाडौँ, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, चितवन लगायतका जिल्लाबाट सर्बसाधारण आउने गर्दछन ।
आलोचना
[सम्पादन]पशु अधिकारको दृष्टिकोणबाट पशुहरूलाई मनोरञ्जनका लागि आपसमा लडाउने काम पूर्ण रूपमा क्रूर, असंवेदनशील र असुरक्षित हो। (पशु अधिकार) पशुप्रतिको क्रूरता हो। मनोरञ्जनका लागि मूक प्राणीहरूलाई आपसमा लडाएर शारीरिक पीडा दिइन्छ। सबै जीवलाई डर, पीडा र बाँच्ने अधिकार हुने भएकाले परम्पराको नाममा हिंसालाई बढावा दिनु हुन्न भन्ने तर्क गरिन्छ।
उत्तेजित भिड र आक्रामक पशुका कारण दर्शक तथा पशु दुवैलाई चोटपटक लाग्ने खतरा रहन्छ।