पुत्रदा एकादशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुत्रदा एकादशी
मितिश्रावण शुक्ल एकादशी

हिन्दू धर्ममा एकादशीको व्रतले महत्त्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । अधिकमास अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ । श्रावण शुक्ल एकादशीको नाम पुत्रदा एकादशी हो । यसको नाम सुन्दा मात्र वाजपेयी यज्ञको फल मिल्छ भन्ने पौराणिक कथा मा उल्लेख गरिएको छ । यसैले नेपाल तथा भारत लगायत सबै ठाउँमा बसोवास गर्ने हिन्दूहरूले पुत्रदा एकादशीलाई पर्वको रूपमा मनाउने गर्दछन् ।

कथा[सम्पादन गर्नुहोस्]

एक पटक राजा युधिष्ठिर भगवान कृष्णसँग भन्न लागे हे भगवान! श्रावण शुक्ल एकादशीको नाम के हो ? व्रत लिने विधि तथा यसको माहात्म्य कृपा गरेर भन्नुहोस् । मधुसूदन भन्न लागे यस एकादशीको नाम पुत्रदा हो । अब तपाईँ शान्तिपूर्वक यसको कथा सुन्नुहोस् । यसलाई सुन्नाले मात्र वायपेयी यज्ञको फल मिल्दछ ।[१]

द्वापर युगको आरम्भमा महिष्मति नामको एक नगर थियो, जसमा महीजित नामका राजा राज्य गर्दथे, तर पुत्रहीन हुनाको कारण राजालाई राज्य सुखदायक लाग्दैन थ्यो उनको भनाई थियो कि जसको सन्तान छैन, त्यसको लागि यो लोक परलोक दुबै दु:खदायक हुन्छन् । पुत्र सुखको प्राप्तिको लागि राजाले अनेक उपाय गरे तर राजालाई पुत्र प्राप्ति हुन सकेन ।

वृद्धावस्था आएको देखेर राजाले प्रजाका प्रतिनिधिहरूलाई बोलाएर भने- हे प्रजाजनहरू! मेरो खजानामा अन्यायले उपार्जन गरेको धन छैन । न मैले कहिल्यै देवताहरू तथा ब्राह्मणहरूको धन खोसेको छु । कसैको धरोहर पनि मैले लिएको छैन, प्रजाजनहरूलाई पुत्रका समान पालें । म अपराधिहरूलाई पुत्र तथा बान्धवहरूको झैं दण्ड दिन्थें । कहिल्यै कसैलाई घृणा गरेन । सबैलाई समान मानें । सज्जनहरूको सधैं पूजा गर्थें । यस प्रकार धर्मयुक्त राज्य गर्दा पनि मेरा पु‍त्र छैनन् । त्यसैले म अत्यन्त दु:ख पाइरहेको छु, यसको के कारण होला ?

राजा महीजितको यस कुराको विचार गर्नको लागि मन्त्री तथा प्रजाका प्रतिनिधिहरू वनमा गए । त्यहाँ ठुला-ठुला ऋषिमुनिहरूको दर्शन गरे । राजाको उत्तम कामनाको पूर्तिको लागि कुनै श्रेष्ठ तपस्वी मुनिलाई खोज्दै-डुल्न थाले । एक आश्रममा उनले एक अत्यंत वयोवृद्ध धर्मका ज्ञाता, ठुला-ठुला तपस्वी, परमात्मामा मन लगाएर निराहार, जितेंद्रीय, जितात्मा, जितक्रोध, सनातन धर्मका गूढ तत्वहरूलाई जान्ने, समस्त शास्त्रहरूका ज्ञाता महात्मा लोमश मुनिलाई देखे, जसको कल्प व्यतीत भएर एक केश (रोम) झरेको थियो ।

सबै गएर ऋषिलाई प्रणाम गरे । उनीहरूलाई देखेर मुनिले सोधे कि तपाईँहरू कुन कारणले आउनुभयो ? नि:संदेह म तपाईँहरूको हित गर्नछु । मेरो जन्म केवल अर्काको उपकारको लागि भएको हो, यसमा संदेह नगर्नुहोस् ।

लोमश ऋषिका यस्ता वचन सुनेर सबै भन्न थाले- हे महर्षे! तपाईँ हाम्रो कुरा जान्नमा ब्रह्मा भन्दा पनि अधिक समर्थ हुनुहुन्छ । अत: तपाईँ हाम्रो यस संदेहलाई दूर गर्नुहोस् । महिष्मति पुरीको धर्मात्मा राजा महीजित प्रजालाई पुत्र समान पालन गर्दछन् तर उनी पुत्रहीन हुनुका कारण दु:खी छन् ।

उनिहरूले अगाडि भने हामीहरू उनैका प्रजा हौं । अत: उनका दु:खले हामी पनि दु:खी छौं । तपाईँको दर्शनले हामीलाई पूर्ण विश्वास छ कि हाम्रो यो संकट अवश्य दूर हुनेछ किनकी महान पुरुषहरूको दर्शन मात्रले अनेक कष्ट दूर हुन्छन् । अब तपाईँ कृपा गरेर राजाको पुत्र हुने उपाय बताउनुहोस् ।

यो वार्ता सुनेर ऋषिले केही समयको लागि नेत्र बन्द गरे र राजाको पूर्व जन्मको वृत्तान्त जानेर भन्न लागे यो राजा पूर्व जन्ममा एक निर्धन वैश्य थियो । निर्धन भएका कारण यसले धेरै नराम्रो कर्म गर्यो । यो एक गाउँबाट अर्को गाउमा व्यापार गर्न जाने गर्थ्यो । एक समय ज्येष्ठ मासको शुक्ल पक्षको द्वादशीको दिन मध्याह्नको समयमा दुई दिनदेखि भोको-प्यासो त्यो बनिया एक जलाशयमा पानी खान गयो । उसै स्थानमा एक तत्कालै ब्याएकी प्यासी गाई पानी खाइरहेकी थिइन् ।

राजाले त्यस प्यासी गाईलाई पानी खान नदिएर धपाई दिए र आफू पानी खान लागे , यसैले राजालाई यो दु:ख सहनु पर्यो । एकादशीको दिन भोको रहेकाले त्यो राजा भयो र प्यासी गाईलाई जल पिंदा धपाएका कारण पुत्र वियोगको दु:ख सहनु परेको छ । यो सुनेर सबै भन्न लागे हे ऋषि! शास्त्रहरूमा पापहरूको प्रायश्चित पनि लेखेको छ । अत: जुन प्रकार राजाको यो पाप नष्ट हुन्छ, तपाईँ यस्तो उपाय बताउनुहोस् ।

उद्देश्य[सम्पादन गर्नुहोस्]

लोमश मुनि भन्न लागे श्रावण शुक्ल पक्षको एकादशीलाई पुत्रदा एकादशी भनिन्छ, तिमी सबैले व्रत गर र रात्रिमा जागरण गर यसले राजाको पूर्व जन्मको पाप अवश्य नष्ट हुनेछ, साथै राजालाई पुत्रको अवश्य प्राप्ति हुनेछ । लोमश ऋषिका यस्ता वचन सुनेर मन्त्रिहरू सहित सबै प्रजाहरू नगरमा फर्केर आए । जब श्रावण शुक्ल एकादशी आयो ऋषिको आज्ञानुसार सबैले पुत्रदा एकादशीको व्रत र जागरण गरे ।

यस पश्चात द्वादशीका दिन यसको पुण्यको फल राजालाई दिईयो । त्यस पुण्यका प्रभावले रानीले गर्भ धारण गरिन् र प्रसवकाल समाप्त भएपछी उनको एक बडो तेजस्वी पुत्र उत्पन्न भयो ।[१]

महिमा[सम्पादन गर्नुहोस्]

यसैले हे राजन! यस श्रावण शुक्ल एकादशीको नाम पुत्रदा पर्नगयो अत: सन्तान सुखको इच्छा हासिल गर्नेले यस व्रतलाई अवश्य गरौं यसको माहात्म्यलाई सुन्नाले मनुष्य सबै पापहरूबाट मुक्त हुन्छ र यस लोकमा सन्तान सुख भोगेर परलोकमा स्वर्गको सुख प्राप्त गर्दछ ।[१]

पुत्रदा एकादशी पौष शुक्लमा पनि पर्दछ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ गिता प्रस गोरखपुर द्वारा प्रकाशित हिन्दी पुस्क एकादशी महिमा तथा व्रतकथा

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]