मोहिनी एकादशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोहिनी एकादशी
मितिबैशाख शुक्ल एकादशी

हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई भनिन्छ। यो तिथि महिनामा दुई पल्ट पूर्णिमापछि र औंसी पछि पर्छ । पूर्णिमा पछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्या पछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ। यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन सम्प्रदायमा धेरै महत्त्व छ । यस्तै बैशाख महिनाको शुक्लपक्षको एकादशीलाई मोहिनी एकादशी भन्दछन् । यस्तो विश्वास गरिन्छ कि यो तिथी नै सबै पापहरूलाई मेटाउने तथा उत्तम तिथी हो । यस दिन जसले व्रत राख्दछन्, व्रतको प्रभावले ति मनुष्यहरू मोहजाल तथा पातक समूहबाट छुटकारा पाउछन् ।

व्रत कथा[सम्पादन गर्नुहोस्]

यस तिथि र व्रत को विषयमा एक कथा छ, जो यस प्रकार रहेको छ ।:- सरस्वती नदीको रमणीय तटमा भद्रावती नामको सुन्दर नगर थियो । त्यहाँ चन्द्रवंशी धृतिमान नामक राजा राज्य गर्दथे । त्यसै नगरमा एक वैश्य बस्दथ्यो जो धनधान्यले परिपूर्ण समृद्धिशाली थियो, उसको नाम धनपाल थियो । उ सधैं पुण्यकर्ममा नै लागि रहन्थ्यो । अरुका लागि पँधेरा, कुवा, मठ, बगैचा, पोखरी र घर बनाउने गर्दथ्यो । भगवान विष्णुको भक्तिमा उसको हार्दिक अनुराग थियो । उसका पाँच पुत्र थिए । सुमना, द्युतिमान, मेधावी, सुकृत तथा धृष्ट्बुद्धि । धृष्ट्बुद्धि कान्छा थिए, उनी सधैं ठुला- ठुला पापहरूमा संलग्न रहन्थे । जुवा आदि दुर्व्यसनहरूमा उनको ठुलो आसक्ति थियो । उनी वेश्याहरूलाई भेट्नको लागि लालायित रहन्थे र अन्यायको मार्गमा हिंडेर पिताको धन बरबाद गर्दथे । एक दिन उनका पिताले तंग आएर उनलाई घर निकाला गरिदिए र उनी ठाउँ ठाउँ बरालिन लागे । यसै प्रकार बरालिदै भोक-प्यासले व्याकुल उनी महर्षि कौँन्डिन्यको आश्रममा पुगे । शोकको भारले पीडित उनी मुनिवर कौँन्डिन्यको नजिक गएर हाथ जोडेर भने : 'ब्राह्मण ! द्विजश्रेष्ट ! म माथी दया गरेर कुनै यस्तो व्रत बताउनुहोस्, जसको पुण्यका प्रभावले मेरो मुक्ति होस् ।' कौँन्डिन्यले भने : वैशाखको शुक्ल पक्षमा 'मोहिनी' नामले प्रसिद्ध एकादशीको व्रत गर । 'मोहिनी' को उपवास गर्नाले प्राणिहरूका अनेक जन्ममा गरिएका मेरु पर्वत जस्ता महापाप पनि नष्ट भएर जान्छन् ।' मुनिको यो वचन सुनेर धृष्ट्बुद्धिको चित्त प्रसन्न भयो । उनले कौँन्डिन्यको उपदेशले विधिपूर्वक मोहिनी एकादशीको व्रत गरे यो व्रत गरेर उनी निष्पाप भए र दिव्य देह धारण गरी गरुडमा आरूढ भइ सबै प्रकारका उपद्रवहरू रहित श्रीविष्णु धाम गए । यस प्रकार यो 'मोहिनी' को व्रत निकै उत्तम छ । यसलाई पढ्नाले र सुन्नाले सहस्त्र गोदानको फल मिल्दछ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]