पापाङ्कुशा एकादशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पापाङ्कुशा एकादशी
मितिआश्विन शुक्ल एकादशी

आश्विन महिनाको शुक्ल पक्षमा पर्ने एकादशी तिथीलाई पापाङ्कुशा एकादशी भनिन्छ । यस तिथीलाई नेपालभारत लगायत विभिन्न मुलुकमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत धारण गरेर एक पर्वको रूपमा मनाउने गर्दछन् ।

व्रत कथा[सम्पादन गर्नुहोस्]

धर्मराज युधिष्ठिर प्रश्न गर्छन् - हे भगवान! आश्विन शुक्ल एकादशीको नाम के हो ? अब तपाईँ कृपा गरेर यसको विधि तथा फल भन्नुहोस् । भगवान श्रीकृष्ण भन्न लागे- हे युधिष्ठिर! पापहरूको नाश गर्ने यस एकादशीको नाम पापांकुशा एकादशी हो । हे राजन! यस दिन मनुष्यले विधिपूर्वक भगवान पद्मनाभको पूजा गर्नु पर्दछ । यो एकादशीले मनुष्यलाई मनवांछित फल दिएर स्वर्ग प्राप्त गराउँछ ।[१]

मनुष्यलाई धेरै वर्षसम्म कठोर तपस्याबाट जो फल मिल्दछ, त्यो फल भगवान गरुडध्वजलाई नमस्कार गर्नाले प्राप्त हुन जान्छ । जो मनुष्य अज्ञानवश अनेक प्रकारका पाप गर्दा पनि हरिलाई नमस्कार गर्दछन्, उनिहरू नरकमा जाँदैनन् । विष्णु भगवानका नामको कीर्तन मात्रले संसारका सबै तीर्थहरूका पुण्यको फल मिल्दछ । जो मनुष्य शार्ङ्‍ग धनुषधारी भगवान विष्णुको शरणमा जान्छन्, उनलाई कहिलै पनि यम यातना भोग्नु पर्दैन ।[१]

जो मनुष्य वैष्णव भएर शिवकन र शैव भएर विष्णुको निन्दा गर्दछन्, उनिहरू अवश्य नरकवासी हुन्छन् । सहस्र वाजपेयी र अश्वमेध यज्ञहरूबाट जो फल प्राप्त हुन्छ, त्यो एकादशीका व्रतको सोह्रौँ भागका बराबर पनि हुँदैन । संसारमा एकादशीका बराबर कुनै पुण्य छैन । यसका बराबर पवित्र तीनै लोकहरूमा केही पनि छैन । यस एकादशीका बराबर कुनै व्रत छैन । जबसम्म मनुष्य पद्मनाभका एकादशीको व्रत गर्दैनन्, तबसम्म उनको देहमा पापले वास गर्न सक्छन् ।

हे राजेन्द्र! यो एकादशी स्वर्ग, मोक्ष, आरोग्यता, सुन्दर स्त्री तथा अन्न र धन दिने एकादशी हो । एकादशीको व्रतका बराबर गंगा, गया, काशी, कुरुक्षेत्रपुष्कर पनि पुण्यवान छैनन् । हरिवासर तथा एकादशीको व्रत गर्ने र जागरण गर्नाले मनुष्यलाई सजिलै विष्णु पद प्राप्त हुन्छ । हे युधिष्ठिर! यस व्रतलाई गर्नेहरू दश पुस्ता मातृ पक्ष, दश पुस्ता पितृ पक्ष, दश पुस्ता स्त्री पक्ष तथा दश पुस्ता मित्र पक्षको उद्धार गर्दछन् । उनिहरू दिव्य देह धारण गरेर चतुर्भुज रूप भई, पीताम्बर लगाई, हाथमा माला लिएर गरुडमा चढेर विष्णुलोकमा जान्छन् ।[१]

हे नृपोत्तम! बाल्यावस्था, युवावस्था र वृद्धावस्थामा यस व्रतलाई गर्नाले पापी मनुष्य पनि दुर्गतिलाई प्राप्त नभएर सद्गतिलाई प्राप्त हुन्छन् । आश्विन मासको शुक्ल पक्षको यस पापांकुशा एकादशीको व्रत जो मनुष्यले गर्दछन्, तिनीहरू अन्त समयमा हरिलोक प्राप्त गर्दछन् तथा समस्त पापहरूबाट मुक्त हुन जान्छन् । सुन, तिल, भूमि, गौ, अन्न, जल, छाता तथा जुत्ता दान गर्नाले मनुष्य यमराजलाई देख्दैन ।

जो मनुष्य कुनै प्रकारका पुण्य कर्म गरे बिना जीवनका दिन व्यतीत गर्दछन्, उनीहरू आरनको खलाँती जस्तै स्वास लिने निर्जीवका समान हुन् । निर्धन मनुष्यहरूलाई पनि आफ्नो शक्तिका अनुसार दान गर्नु पर्छ तथा धनवानहरूले सरोवर, बगैचा, घर आदि बनाएर दान गर्नु । यस्ता मनुष्यहरूलाई यमराजको द्वार देख्नु पर्दैन तथा संसारमा दीर्घायु भएर धनाढ्‍य, कुलीन र रोगरहित रहन्छन् ।

भगवान श्रीकृष्णले भने- हे राजन! जो तपाईँले मलाई सोध्नुभो त्यो सबै मैले तपाईँलाई भनें । अब तपाईँको अरु के सुन्नाको इच्छा छ ?[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]