बिसु पर्व

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

बिसु पर्व विषेश गरि सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा मनाइन्छ । जसमा अछाम, डाेटी, डडेल्धुरा, बझाङ, बाजुरा र बैतडी पर्दछन् । यो पर्व बैशाख एक गते मनाउने प्रचलन रहेको छ। देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुहरूले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ। देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ। हरेक वर्ष विसु पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ । विशेष गरी देवर–भाउजुबीच सिस्नो लगाउन जुहारी नै चल्छ । तर, पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै गएको छ । विसुको अवसरमा देउडा खेल्ने, विभिन्न प्रतियोगिता सञ्चालन गरी रमाइलो गर्ने गरिन्छ । बिसु पर्वको दिन शरीरमा सिस्नो लाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको छ । बिसु तिहारमा महिलाहरूले पुतला नाच खेल्ने रा पुरुषहरूले बिसु बाघ बनाएर दौडाउने गर्छन्। केही दिनपहिलेदेखि नै अछाम, बाजुरा लगायत जिल्लाका गाउँमा महिलाले पुतला खेल सुरु गरेका थिए। बिसु तिहारकै दिन कुलदेवताको पूजा गरी 'गतानी डुब्का' (स्थानीय खानाको परिकार) पकाएर खाने चलन छ। हिन्दू सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ। सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती छ। नयाँ वर्ष, बिसु तिहारका साथै चैते दशैंसमेत यसै महिना परेकाले नोकरीको सिलसिलामा भारतमा रहेका कतिपय सुदूरपश्चिमेली एक साताअघिदेखि नै घर फर्किने गर्दछन्।[१]

विभिन्न स्थानमा विशुपर्व[सम्पादन गर्ने]

विशुपर्वलाई प्राय हिन्दू धर्म मान्नेहरूको वस्ति भएको प्रत्यक ठाउँमा मनाउने गरेको पाइन्छ । नेपाल लगायत भारतको कतिपय ठाउँहरूमा यो पर्वलाई वैसाखी अथवा बैशाखीको नामले चिनिन्छ । बैशाखीको दिनमा गंगा स्नानको ठुलो महत्व छ । भारतको हरिद्वारमा यस पर्वको दिन नेपाल तथा भारतका विभिन्न स्थानबाट ठुलो संख्यामा स्नानार्थीहरू गंगास्नान गर्नको लागि आउने गर्दछन् । बिशुपर्वलाई कतिपय ठाउँमा विशुसक्रान्ती पनि भनेको सुनिन्छ । त्यस्तै कतिपय ठाउँमा यसलाई बिखतीको तिहार, बिशु पुज्ने दिन पनि भनिन्छ । भारतको आसाम राज्यमा यस पर्वलाई बिहु पर्व भनेर मनाईन्छ । नेपालको पश्चिमी भेगमा यस दिन महिलाहरूले बिशु पूजा गर्दछन् । नयाँवर्षको उपलक्षमा प्रत्यक ठाउँमा विशु पर्वको राती गल्लौडीको जात्रा लगाएर रमाइलो गर्ने प्रचलन पनि रहेको छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. नयाँ वर्षमा नन्ददेवरको सिस्नुपानी भाउजूलाई शिवराज खत्री

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]