बाघ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बाघ
Bengal Tiger (P. tigris tigris)
Bengal Tiger (P. tigris tigris)
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: प्राणी
संघ: Chordata
वर्ग: स्तनधारीप्राणी
गण: मांसाहारी
कुल: Felidae
प्रजाति: Panthera प्यान्थरा
जाति: P. tigris
द्विपद नाम
Panthera tigris
(Linnaeus, 1758)
पर्याय
Felis tigris Linnaeus, 1758

Tigris striatus Severtzov, 1858

Tigris regalis Gray, 1867
सिंगापुर जीवबैज्ञानिक उद्यानमा रहेको सेतो बाघ।
बाघहरूको बासस्थान देखाउने नक्सा।

बाघ (Panthera tigris) फेलिडी (Felidae) परिवारको प्यान्थरा (Panthera) वर्ग अन्तर्गत पर्ने "Big cats" समुहको सबैभन्दा ठूलो र शक्तिशाली जङ्गली जनावर हो । कुनै समय पश्चिममा टर्कि, उत्तरमा साइबेरिया देखि दक्षिणमा बालीसम्मको भूभागमा शिर्ष शिकारीको रूपमा राजगरेको यो जनावर अहिले पूर्वी र दक्षिणी एशियाका १३ देशहरूमा मात्र सिमित हुन पुगेको छ । करिब ३.३ मिटर (११ फिट) लामो शरीर, ३०० किलोग्राम (६६० पाउन्ड) तौल र ४ इन्च सम्म लामा तीखा कुकुरदाँत हुने यो जनावर एक भयानक हिंस्रक मांशहारी जनावर हो । विशाल काया र शक्तिका अलावा बाघहरू सेतो वा गाढा सुन्तला रंगको भुत्लाले ढाकेको शरीरमा हुने काला पाटाहरूका कारण पनि हेर्न लायकका हुन्छन् । बाघको शरीरमा हुने यस्ता ठाडा पाटाहरू तलतिर साँघुरिंदै गएका हुन्छन् । बाघको छाला एकदमै आकर्षक हुने भएकोले यसलाई सजावटको सामाग्रिको रूपमा प्रयोग गरिन्छ । यही आकर्षणका कारण पनि छाला र भुत्लाका लागि बाघको चोरी शिकारी बढिरहेको छ । अहिले विश्वमा बंगाली बाघ(Bengal tiger) सबैभन्दा धेरै सङ्ख्यामा पाइन्छ भने सबैभन्दा ठूलो आकार भएको बाघ साइबेरीयन बाघ हो ।

जङ्गली अवस्थामा रहेका बाघहरू १० देखि १५ बर्षसम्म बाँच्ने गर्दछन् भने खोरमा थुनेर पालिएका बाघहरू २० बर्षसम्म पनि जीवित रहने गर्दछन् । एकदमै उच्च वातावरणीय अनुकुलन क्षमता भएको यो जनावर साइबेरीयाको चिसो वातावरण देखि खुल्ला घाँसे मैदान र उष्ण सदाबहार भूभागहरूमा समेत रैथाने जनावरका रूपमा पाइन्छन् ।

बाघहरू साम्राज्यवादी र साधारणतया एक्लै बस्न रुचाउने जनावर हुन् । आफ्नो शिकार आवश्यकतालाई पुरागर्न यिनीहरूले तुलनात्मक रूपमा ठूलो क्षेत्र ओगटेका हुन्छन् । बाघको यही बानीका कारण घना आवादी भएका क्षेत्रहरूका रैथाने जनावरको रूपमा बाघले आफ्नो अस्तित्व कायम गरेको छ । बाघका आधुनिक नौ प्रजाति मध्ये तिनवटा प्रजातिहरू यस संसारबाट लोप भैसके भने अहिले सम्म अस्तित्वमा रहेका ६ प्रजातिहरू पनि लोपोन्मुख जनावरका रूपमा सुचिकृत भएका छन् । यसो हुनुको प्रमुख कारणहरु वासस्थानको विनाश, अवैद्य शिकार र आफ्नो समुहबाट एक्लिदै जानुलाई मान्ने गरिन्छ ।

ऐतिहासिक रूपमा हेर्ने हो भने बाघहरु प्राचिन मेसोपोटामीया र ककेसस् क्षेत्रमा प्रशस्तरूपमा पाइन्थे । हाल बाघको सङ्ख्यामा तिब्ररूपमा गिरावट आएको छ । एकातर्फ बाघ संरक्षणका लागि औपचारिक रूपमा पहल भैरहेको भएपनि चोरी शिकारी, वासस्थानको विनाश र सन्तान उत्पादन क्षमतामा आएको ह्रासका कारण बाघको सङ्ख्यामा अझैपनि अपेक्षाकृत वृद्धि हुनसकेको छैन ।

पृथ्वीमा पाइने जनावरहरू मध्ये बाघ एकदमै प्रशिद्ध र परिचित जङ्गली जनावर हो । प्राचिन धर्मग्रन्थहरू तथा लोककथाहरूमा पनि बाघको प्रशंगहरु उल्लेख्यमात्रामा पाइन्छन् भने आधुनिक साहित्य र चलचित्रहरूमा पनि बाघको प्रयोग गर्ने गरिन्छ । धेरै देशका झण्डाहरू, राष्ट्रिय चिह्नहरू र खेलकुदका मस्कटहरूमा बाघको आकृतिको प्रयोग भएको छ भने भारत लगायत धेरै एशियाली देशहरूमा बाघ राष्ट्रिय जनावरको रूपमा परिचित छ ।

स्वरुप[सम्पादन गर्ने]

Tigre d'Asie à robe blanche.jpg

बाघहरू धेरै ठुला र बलिया हुन्छन् । यिनीहरूको गाढा सुन्तला रङ्गको भुत्लामा काला पट्टिहरू हुन्छन् र छाति सेतो हुन्छ । तर अन्य रङ्ग संयोजन पनि हुन्छन् । सेतो भुत्लामा काला पट्टिहरू भएकालाई सेतो बाघ भनिन्छ । केही बाघहरूको भने पूर्ण सेतो भुत्ला पनि हुन्छ । यिनीहरूको आँखा निलो वा हरियो रंगको हुन्छ । सेता बाघहरू सामन्यतया बङ्गाली बाघ|बङ्गाली बाघहरू हुन् ।

बाघको प्रजाति अनुसार आकार पनि फरक फरक हुने गर्दछ । हाल अस्तित्वमा रहेका बाघहरू मध्ये साइबेरियन बाघहरू सबैभन्दा ठूला बाघहरू हुन् । साइबेरीयन बाघहरू वयस्क अवस्थामा ३ मिटर सम्म लामा र ५०० किलोग्राम सम्म तौल भएका हुन्छन् ।

वासस्थान[सम्पादन गर्ने]

बाघ मुख्यतया एसियामा, भारत देखि चीन तथा दक्षीणपूर्वी एशियामा पाईने गर्छ । बाघहरु जंगली जनावर भएकोले यो जंगलमा बसोबास गर्ने गर्छन । यिनीहरु गुफा तथा झाडीमा बस्न रुचाउँछन, जहाँ यिनीहरुको लागि पर्याप्त खाना होस तथा यिनीहरुलाईन शिकार गर्न र लुक्न सजिलो होस ।

वर्गिकरण[सम्पादन गर्ने]

वर्तमान अवस्थामा बाघका ६ प्रजातिहरू मात्र अस्तित्वमा छन्, यसका ३ प्रजातिहरू(†) पृथ्वीबाट लोप भइसकेका छन् ।

बाघका प्रजातिहरू[सम्पादन गर्ने]

आधुनिककालमा बाघका ९ प्रजातिहरू मध्ये तीनवटा बाघका प्रजातिहरू लोप भईसकेका छन् । प्राचिनकाल देखि अहिलेसम्म आइपुग्दा बाघको सङ्ख्यामा अत्यन्तै ठूलोमात्रामा ह्रास आएको छ । प्राचिन कालमा साइबेरीया, इरान, अफगानिस्तान, भारत, चीन र दक्षिण पूर्वी एशियामा इण्डोनेशीयाका केही टापुहरूमा बाघहरूको उपस्थिति प्रशस्त थियो । हाल अस्तित्वमा रहेका बाघहरू मध्ये सङ्ख्याको घट्दो क्रममा तल उल्लेख गरिएको छ ।

पाटे बाघ (Royal Bengal tiger) बैज्ञानिक नाम Panthera tigris tigrisले चिनिने पाटे बाघ (बंगाली बाघ)हरू मूलतः भारत र बंगलादेशको रैथाने जनावर हो । बाघहरू विभिन्न प्रकारका वासस्थानमा बस्न सक्छ । घांसेमैदान देखि उष्ण तथा समशितोष्ण सदाबहार जङ्गलहरू र झाडीहरूमा मात्र नभएर मरुभूमी आशपासका पतझर वनहरू, सुख्खा झाडीहरूमा र ओशीला दलदलहरूमा समेत बाघले आफ्नो वासस्थान बनाएको हुन्छ । जङ्गलमा खुल्लारूपमा विचरणगर्ने भाले बाघहरू साधारणतयअ २०५ देखि २२७ किलोग्राम सम्म तौल भएका हुन्छन् भने पोथी बाघहरू औशत रूपमा करिब १४१ किलोग्राम तौलका हुन्छन् । यद्यपी नेपाल तथा उत्तरभारतमा पाइने पाटे बाघहरू दक्षिण भारतमा पाइने बाघहरू भन्दा केही ठूलो शरीरका हुन्छन् जसको भालेको तौल लगभग २३५ किलोग्राम सम्मको हुन्छ । संरक्षणवादीहरूको दावी अनुसार अहिले पाटे बाघहरूको सङ्ख्या २००० भन्दा पनि कम भैसकेको छ । भारत सरकारको राष्ट्रिय बाघ संरक्षण विभागले गरेको पछिल्लो सर्बेक्षण अनुशार विगत १० वर्षमा बाघको सङ्ख्यामा ६०% कमी आएर अहिले करिब १,४११ पाटे बाघहरू अस्तित्वमा रहेको अनुमान गरिएको छ । सन् १९७२ देखि धेरै वन्यजन्तु संरक्षण अभियान सञ्चालन भएकाछन्, बाघ संरक्षणका लागि विभिन्न योजनाहरू सार्वजनिक गरिएका छन् । भारतीय अधिकारीहरूको पहलकदमीका बाबजुद भारतको सरिस्का बाघ आरक्षणबाट बाघ पूर्णरूपमा लोप भैसकेको छ ।

इण्डोचीनिया बाघ (The Indochinese Tiger) यसको बैज्ञानिक नाम Panthera tigris corbetti भएकोले यसलाई कर्बेटको बाघ भनेर पनि चिनिन्छ । यी बाघहरू कम्बोडिया, चीन, लाओस, म्यानमार, थाइल्याण्ड र भियतनाममा पाइन्छन् । यी बाघहरू बंगाली बाघहरू भन्दा केही साना र गाढा रंगका हुन्छन् । इण्डोचीनिया बाघका भालेहरू १५० किलोग्राम देखि १९० किलोग्राम सम्म तौल भएका हुन्छन् भने पोथी बाघको तौल ११० देखि १४० किलोग्राम मात्र हुन्छ । यीनीहरूको प्रमुख वासस्थान हिमाली तथा पहाडी क्षेत्रका जङ्गलहरू हुन् । अहिले करिब १२०० देखि १८००को सङ्ख्यामा इण्डोचीनिया बाघहरू अस्तित्वमा रहेको अनुमान गरिएको छ भने केही सयको सङ्ख्यामा मात्र प्राकृतिकरूपमा जङ्गलमा विचरण गरिरहेका छन् । हाल अस्तित्वमा रहेका इण्डोचीनिया बाघहरू अवैध शिकार अत्यन्तै ठूलो जोखिममा रहेका छन् । यतिमात्र नभएर आहारको अभाव पनि बाघको सङ्ख्यामा कमि आउनुको अर्को प्रमुख कारण हुनपुगेको छ । मानिसहरूले मृग, बदेल लगायतका जनावरहरूको अत्याधिक मात्रामा शिकार गर्नाले बाघहरूलाई आहारको अभाव भएको छ । त्यस्तै सन्तान उत्पादन क्षमतामा आएको कमीले पनि बाघलाई लोपको संघारमा पुर्याएको छ । भियतनाममा मारिने बाघहरू मध्ये तिन चौथाइ बाघहरू चीनमा औषधिजन्य उत्पादनका लागि बेचिन्छन् ।

मलेशियन बाघ (Malayan Tiger) बैज्ञानिक नाम Panthera tigris jacksoniले चिनिने यी बाघहरू मुख्यगरी माले प्रायद्वीपको दक्षिणी भूभागहरूमा पाइन्छन् । अन्य बाघहरू भन्दा धेरै अर्थमा फरक भएका कारण सन् २००४ सम्म यसलाई बाघको प्रजातिको रूपमा सूचिकृत गरिएको थिएन । अमेरिकाको जेनोमिक विविधता अध्ययन प्रयोगशालाले गरेको अध्ययन पश्चात यसलाई बाघको प्रजातिकोरूपमा वर्गिकृत गरियो । ताजा गणना अनुसार करिब ६०० देखि ८००को सङ्ख्यामा यी बाघहरू अस्तित्वमा रहेको तथ्य सार्वजनिक गरिएको छ । सङ्ख्याको दृष्टिकोणले बंगाली बाघ र इण्डोचीनिया बाघ पछिको तेस्रो स्थानमा मलेशियन बाघ पर्दछन् । भाले बाघको तौल करिब १२० किलोग्राम र पोथी बाघको तौल १०० किलोग्राम हुने यी बाघहरू तुलनात्मक रूपमा धेरै साना हुन्छन् । मलेशियन बाघलाई मलेशियाको राष्ट्रिय जनावर मानिएको छ भने राष्ट्रिय चिह्नमा समेत यसले स्थान पाएको छ ।

सुमात्रा बाघ (The Sumatran Tiger) इण्डोनेशियाको सुमात्रा टापुमा मात्र पाइने यो प्रजातिको बाघहरूको बैज्ञानिक नाम Panthera tigris sumatrae हो । यो प्रजातिका बाघहरू अहिले अत्यन्तै लोपहुने अवस्था पुगेका छन् । यी बाघहरू हालसम्म अस्तित्वमा रहेका बाघका प्रजाति मध्ये सबैभन्दा साना बाघहरू हुन् । यो प्रजतिका वयस्क भालेहरू १०० देखि १४० किलोग्राम र पोथीहरू ७५ देखि ११० किलोग्राम सम्म तौल भएका हुन्छन् । यीनीहरू बस्ने सुमात्राका घना झाडीयुक्त जङ्गलहरू र यीनीहरूले आहारका लागि शिकार गर्ने साना आकारका जनावरसंगको अनुकुलनका कारण सुमात्रा बाघको आकार सानो भएको वैज्ञानिकहरूको विस्वास छ । अहिले करिब ४०० देखि ५००को हाराहारीमा सुमात्रा बाघहरू अस्तित्वमा रहेको अनुमान गरिएको छ, जसमध्ये प्रायजसो यस टापुको राष्ट्रिय निकुन्ज क्षेत्रमा भेटिन्छन् । भर्खरै गरिएको जिनको अध्ययनबाट यो प्रजातिका बाघहरूको बारेमा एउटा अनौठो तथ्य पत्तालागेको छ । यदि लोप भएर नजाने हो भने सुमात्रा बाघहरू पछि गएर कुनै अर्को नयाँ प्रजातिकोरूपमा विकशित हुने अनुमान उक्त अध्ययनले गरेको छ । यस तथ्यका कारण पनि यस प्रजातिका बाघहरूको विषेश प्राथमिकताका साथ संरक्षण गर्नु आवश्यक भएको अध्ययनकर्ताहरुको सुझाब छ । वासस्थानको विनाश यसको अस्तित्वको लागि प्रमुख चुनौतिको रूपमा रहेको भनिएपनि सुमात्रा बाघहरू चोरी शिकारीको प्रकोपमा समेत परेका छन् । संरक्षणका लागि प्रयास जारीरहेको भनिएपनि सन् १९९८ देखि २००० सम्म ६६ वटा सुमात्रा बाघहरु गोलिको शिकार भएकाछ्न् ।

साइबेरियन बाघ (The Siberian tiger) मन्चुरियन, कोरियन, अल्टाइक तथा उत्तर चीनिया बाघ आदि नामले चिनिने यो बाघको वैज्ञानिक नाम Panthera tigris altaicaहो । बाघको यो प्रजाति पृथ्वीको सबै भन्दा उत्तरी क्षेत्रमा पाइने बाघको प्रजाति हो । साइबेरियाको सुदूर् पूर्वी क्षेत्रमा यसलाई संरक्षित गरिएको छ । साइबेरियन बाघहरू हाल पृथ्वीमा अस्तित्वमा रहेका बाघहरू मध्ये सबै भन्दा ठूलो आकारका हुन्छन् । यो प्रजातिका पोथी बाघहरूको लम्बाइ १६० देखि १८० सेन्टिमिटर र भाले बाघहरूको लम्बाइ १९० देखि २३० सेन्टिमिटर सम्मको हुन्छ । यसका अतिरिक्त करिब ६० देखि ११० सेन्टिमिटर सम्मको सानदार पुच्छारले यसको लम्बाइ २७० देखि ३३० सेन्टिमिटर सम्मको बनाउछ । यो प्रजातिका वयस्क भालेहरूको औशत तौल २२७ किलोग्रामसम्म हुन्छ । साइबेरियन बाघहरू बाक्लो भुत्लाका लागि प्रख्यात छन्, हल्का सुनौलो रंगको हुने यीनीहरूको भुत्लामा अन्य प्रजातिको भन्दा पातलो पाटाहरू हुन्छन् । अहिलेसम्मको तथ्याङ्क अनुसार प्राक्रितिकरूपमा पाइएको सबैभन्दा ठूलो साइबेरियन बाघ ३८४ किलोग्राम तौल भएको पाइएको छ । साइबेरियन बाघको छ महिनाको डमरु एउटा वयस्क चितुवा जतिकै ठूलो हुन्छ । सन् १९९६ देखि २००५ सम्मको गणना अनुसार ४५० देखि ५००को सङ्ख्यामा साइबेरियन बाघहरू अस्तित्वमा रहेको अनुमान गरिएको छ । सन् २००९मा गरिएको जिनको अध्ययनका अनुसार साइबेरियन बाघ र सन् १९५०को अन्त्यमा लोप भइसकेको क्याश्पियन बाघ एउतै प्रजाति भएको तथ्य सार्वजनिक गरिएको छ ।

दक्षिण चीनिया बाघ (The South China Tiger) वैज्ञानिक नाम Panthera tigris amoyensisले चिनिने यो प्रजातिका बाघहरू अमोनी बाघ तथा जियामेनी बाघका नामले पनि चिनिन्छन् । हाल अस्तित्वमा रहेका बाघहरू मध्ये सबैभन्दा संबेदनशील अवस्थामा रहेका दक्षिण चीनिया बाघलाई अत्याधिक खतरमा परेका दश जनावरको सूचीमा सूचीकृत गरिएको छ । दक्षिण चीनिया बाघ सानो आकारका बाघहरू हुन्, जसका भाले तथा पोथी दुबैको लम्बाई २.२ मिटर देखि २.६ मिटर मात्र हुनेगर्दछ । यो प्रजातिका भालेहरूको तौल १२७ किलोग्राम देखि १७७ किलोग्राम सम्म र पोथीहरूको तौल १०० किलोग्राम देखि ११८ किलोग्राम सम्म हुन्छ । सन् १९८३ देखि २००७ सम्म एउटा पनि दक्षिण चीनिया बाघ देखिएनन् तर सन् २००७मा एक किसानले देखेको भन्दै केही तस्विर समेत सार्वजनिक गरिएको थियो । तर अहिले सम्म पनि ती तस्विरहरू विवादमा छन् ।

सन् १९७७मा चीनिया सरकारले बाघको शिकारमा प्रतिबन्ध लगाउने कानूनको व्यवस्था गरेपनि उक्त कानून दक्षिण चीनिया बाघ संरक्षणका लागि मरेपछिको औषधि सावित भयो । हाल यो प्रजातिको एउटा पनि बाघ प्राकृतिकरूपमा जङ्गलमा नरहेको विस्वास गरिन्छ । संरक्षितरूपमा ५९ दक्षिण चीनिया बाघहरू यस संसारमा रहेका छन् । तर यी बाघहरू मात्र ६ वटा बाघहरूबाट उत्पादन भएका हुनाले यीनिहरूमा कुनै प्रजातिलाई निरन्तरता दिन आवश्यक जिनको विविधता नभएकोमा संरक्षणकर्ताहरू चिन्तित छन् । हाल यो बाघलाई पुन: जङ्गली अवस्थामा फर्काउनको लागि यीनिहरूको सङ्ख्या बढाउने तर्फ संरक्षणकर्ताहरू लागेका छन् ।

बाघ र मानव[सम्पादन गर्ने]

विभिन्न मानवीय क्रियाकलापका कारण अहिले दिनप्रतिदिन बाघको सङ्ख्या घटिरहेको छ । आकर्षक भुत्ला तथा छालाको लागि हुने चोरी शिकारी र वनविनाशका कारण बाघ पृथ्वीबाट नै लोप हुने अवस्थामा पुगेको छ । भारत, मलेशिया, चीन, बंगलादेश, इण्डोनेशीया लगायत पूर्वी र दक्षिणी एशियाका १३ देशहरूमा मात्र सिमित बाघहरुमध्ये अहिले सबैभन्दा धेरै बंगाली बाघहरू करिब ३५००को सङ्ख्यामा र सबैभन्दा कम दक्षिण चीनिया बाघ २० देखि ३०वटा मात्र बाँकि रहेको अनुमान छ ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. Cat Specialist Group (2002). Panthera Tigris. 2006 IUCN Red List of Threatened Species. IUCN 2006. Retrieved on 10 May 2006. Database entry includes justification for why this species is endangered.
Wikispecies-logo.svg
प्रजातीहरूको डाइरेक्ट्रि, विकिप्रजाती भित्र Panthera tigris को बारेमा हेर्नुहोस्।