हाब्रे

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
हाब्रे
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
संघ: Chordata
वर्ग: स्तनधारी प्राणी
गण: Carnivora
कुल: Ailuridae
वंश: Ailurus
F. Cuvier, 1825
प्रजाति: A. fulgens
द्विपद नाम
Ailurus fulgens
F. Cuvier, 1825
Subspecies

A. f. fulgens
A. f. refulgens syn. A. f. styani[२]

Red panda range

हाब्रे अर्थात् रातो पाण्डाको वैज्ञानिक नाम ऐलुरस फुल्जेन्स(Ailurus fulgens ) हो । खासगरी उच्च हिमाली तथा पहाडी भागमा पाइने यो प्राणी अति नै सुन्दर उभयभक्षी प्राणी हो । विशेषगरी बाँसका पात र तामा खाने यो स्तनधारी जीवलाई चम्किलो बिरालो -साइनिङ क्याट)को नामले पनि चिनिन्छ किनकि शारीरिकरूपमा यो घरेलु बिरालो जस्तै हुन्छ र केही ठूलो आकारको हुन्छ । रातो पाण्डा नेपाल, चिन, वर्मा, भुटानलगायतका देशमा पाइने भए पनि यिनीहरूको सङ्ख्या दिनानुदिन घट्दै गएको छ । हाल विश्वभरिमा जम्माजम्मी केवल २५०० रातो पाण्डा रहेको अनुमान गरिन्छ ।


रातो पाण्डा दसदेखि २५ डिग्री सेल्सियस तापक्रम भएको र वाषिर्करूपमा कमै मात्र तापक्रम घटबढ हुने १८०० देखि ४८०० मिटर उचाइका क्षेत्रहरूमा पाइने गर्छ । यो खासगरी गुराँस र बाँस प्रशस्त भएको समशितोष्ण पतझड र कोणधारी जङ्गल क्षेत्रहरूमा पाइने गरिएको छ । हाब्रेको शरीर करिब एक मिटरसम्म लामो हुन्छ । यसको पुच्छर धेरै लामो हुन्छ जसको लम्बाई ६० सेन्टिमिटरसम्म पनि पुग्ने गर्छ । भाले हाब्रे पोथीभन्दा केही ठूलो हुन्छ, भालेको तौल ६ किलोसम्म हुन्छ भने पोथीको तौल साढे चार किलोसम्म हुन्छ । यसको शरीरको माथिल्लो भागमा रातो खैरो रङ लामा रौहरूले ढाकेको हुन्छ भने शरीरको तल्लो भुँडीपट्टीको भागमा काला रौले ढाकिएको हुन्छ । अनुहारमा भने सेतो रङको हुन्छ आँखाको छेउछाउमा आँसुले भिजेको जस्तो कालो रौ रहेका हुन्छन् । पुच्छर लामो, झ्याङ्गिएको हुन्छ, जसमा पहेँलो, रातो रङका छवटा ब्याण्डहरू हुन्छन् । यसको पाइतालामा समेत बाक्ला रौहरू हुन्छन् जसले हिउँ जमेको स्थानमा समेत चिसोबाट बचाउने गर्छ र यसका शिकारी जीवका जस्ता लामा नङ्ग्रा हुन्छन् ।

रातो पाण्डाको बानी व्यहोरा[सम्पादन गर्ने]

हाब्रे

रातो पाण्डा धेरै सिपालु जीव हो र यो प्रायः रूखमै चढेर बस्ने गर्छ । एक रूखबाट अर्कोमा उफ्रने र शत्रुबाट बच्नको लागि यो छिटो दौडन सक्छ । हाब्रेका मुख्य सत्रु भनेकै मानिस र हिउँ चितुवालाई लिने गरिन्छ । हाब्रेहरू खासगरी आफ्नो निश्चित आधार क्षेत्रमा समूहमा बस्ने गर्छन् तर कहिलेकाहीँ एक्लै, कहिलेकाहीँ जोडी बनाएर र कहिलेकाहीँ परिवारमा समेत बस्ने गर्छन् । खासगरी यो जीव राति खाना खोज्न निस्कने गर्छ । यसले प्रायः निगालो, बाँस खाने भएकाले हाब्रे सामान्यतया शाकाहारी हो कि भन्ने पर्न सक्छ तर होइन यसले कहिलेकाहीँ शिकार पनि गर्ने गर्छ । यसले चराचुरुङ्गीका बच्चा तथा फुल र कीरा फट्याङ्ग्रासमेत खाने गर्छ । महìवपूर्ण कुरा त के छ भने यसले एकपटकमा आफ्नो शरीरको तौलको ४० प्रतिशत तौलसम्मको बाँसको पात खान सक्छ । यसले एकदिनमा करिब दुई लाख बाँसका पात खान सक्छ । यसले विशेष गरी मुख्य खानाको रूपमा लिने बाँसका पातहरू धेरै पौष्टिक नहुने र हाब्रेले पूर्णतया पचाउन पनि नसक्ने भएकाले यसको शरीरमा बढी श्रम गर्न आवश्यक शक्तिको अभाव रहन्छ त्यसैले यो जीव दिउँसोभरि रूखमा चढेर सुत्ने गर्छ त्यसैले यसलाई अल्छी जीव पनि भन्ने गरिन्छ । हाब्रे कस्तुरीको जस्तो गन्ध निकाल्ने गर्छ जसबाट उसले आˆना साथीहरू र आफ्नो आधार क्षेत्रको पहिचान र रक्षा गर्ने गर्छ ।

रातो पाण्डाले वर्षमा एकचोटि मात्रै बच्चा जन्माउने गर्छ । खासगरी डिसेम्बरदेखि मध्ये फेब्रुअरी महिना नै हाब्रेले बच्चा जन्माउने मुख्य समय हो । करिब डेढ सय दिनको गर्भावस्थापछि पोथीले एकदेखि चारवटासम्म बच्चा जन्माउने गर्छ । जुन शिशु अन्धो हुन्छ र आँखा पूर्णत विकाश भइसकेका हुँदैनन् । बच्चा जन्माउनुभन्दा केही दिन अघि हाब्रेले सुकेको घाँस, काठलगायतका वस्तु जम्मा गरेर रूखको प्वालमा गुँड बनाउने गर्छ । करिब एक महिनापछि मात्रै शिशु हाब्रेका आँखा पूर्णतः विकशित हुन्छन् । करिब बाह्र हप्ताको गुँड बसाइँपछि बच्चा हाब्रे बाहिर निस्किन्छ र आमासँगै हिँड्न थाल्छ । बच्चाले आठ महिनासम्म आमाको दूध खाने गर्छ । करिब १८ महिनापछि बच्चा हाब्रे प्रजननका लागि सक्षम बन्छ । हाब्रेको औषत आयु आठ देखि दस वर्षसम्म रहने गर्छ ।

हाब्रेको वर्तमान अवस्था[सम्पादन गर्ने]

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ आईयुसीएनले रातो पाण्डालाई सन् १९९६ देखि सङ्कटापन्न जीवको सूचीमा राखेको छ । विभिन्न्न कारणहरूले गर्दा हाब्रेको सङ्ख्या दिनानुदिन घटिरहेको छ । यसको प्राकृतिक वासस्थानको निरन्तरको विनाश, निगालो र बाँसजन्य जङ्गलको अभाव, कम प्रजनन क्षमता, कम जन्मदर तर उच्च मृत्युदर, अत्यन्तै कमजोर शरीर, चोरी-शिकारी, डढेलोलगायतका कारणहरू हाब्रेको लागि चुनौती बनिरहेका छन् । तीव्ररूपमा भइरहेको वनजङ्गलको विनाश र अवैध चोरी-शिकारीको कारणले गर्दा हाब्रे सङ्कटमा परिरहेको छ । हाब्रेको शिकार निषेधित भए पनि तस्करहरूले यसको लुकिछिपी शिकार गर्ने गर्छन् । हाब्रेको रौ र यसको रोमाञ्चक पुच्छर धेरै महìवपूर्ण र मूल्यवान् मानिन्छ । यसको पुच्छरबाट बनेको टोपी सौभाग्यको प्रतीक मान्ने संस्कार रहेको छ र त्यसलाई विवाह समारोहमा उपहार दिने चलन चिन तथा नेपालको उत्तरी भेगहरूमा रहेको छ । पछिल्लो ५० वर्षमा चिनमा रातो पाण्डाको सङ्ख्या ४० प्रतिशतले घटेको एक अध्ययनले देखाएको छ । अझ नेपालको हिमालय क्षेत्रमा पाइने रातो पाण्डाको अवस्था भने झनै चिन्ताजनक रहेको सो अध्ययनले बताएको छ । नेपालमा हाब्रेको निश्चित सङ्ख्या अझैसम्म पत्ता नलागे पनि केही समयसम्म हाब्रे रहेको बताइएको छ । नेपालको लाङटाङ राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्र, सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज र कञ्चनजङ्घा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा हाब्रे पाइएका छन् । नेपालको राष्ट्रिय कानूनले पनि हाब्रेलाई संरक्षित जीवको रूपमा सूचीकृत गरेको छ ।


सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. Wang, X., Choudhry, A., Yonzon, P., Wozencraft, C., Than Z. (2008), "Ailurus fulgens", IUCN Red List of Threatened Species. Version 2012.2, International Union for Conservation of Nature 
  2. Wozencraft, W. Christopher (16 November 2005), "Order Carnivora (pp. 532-628)", in Wilson, Don E., and Reeder, DeeAnn M., eds, Mammal Species of the World: A Taxonomic and Geographic Reference (3rd ed.), Baltimore: Johns Hopkins University Press, 2 vols. (2142 pp.), ISBN 978-0-8018-8221-0, OCLC 62265494, <http://www.bucknell.edu/msw3/browse.asp?id=14001690>