तीज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

तीज
तीज
पाशुपत क्षेत्रमा नाचगान गर्दै महिलाहरू
आधिकारिक नामहरितालिका
अन्य नाम(हरू)तीज
समुदायहिन्दु महिला
महत्वश्रीमान्‌को दीर्घायु
पर्वहरूशिवको पूजा, सप्तऋषिको पूजा, नाचगान, बर्त
मिति२०७६मा भाद्र १६

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ। भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन्।

गायिका निसा सुनार तीजको अवसरमा नाच्दै

दरखाने दिन

यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी/चेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा-मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ। यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ। यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ। दरमा ठाउँअनुसार विभिन्न मिठा-मिठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफूल खाने गरिन्छ।

आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो।

मनाउने तरिका

तीजको दिनका अतिरिक्त गणेश चतुर्थीऋषिपञ्चमीलाई पनि तीज पर्वकै रूपमा मनाइन्छ। खास गरी यसमा स्त्रीहरूले पतिको निम्ति निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन्। यो दिन महिलाहरू बिहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरि जल, अन्न ग्रहण नगरी बर्त बस्ने गर्दछन्। बेलुकीपख घर, गाउँ र छिमेकका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ। निर्जला बर्त भनिए पनि आजभोलि महिलाहरू मध्यान्हमै पूजा, आराधनापश्चात् फलफूल ग्रहण गर्ने गर्दछन्। कतिपय महिलाहरू नजिक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाचगान तथा रमाइलो गर्ने गर्दछन्। काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा महिला बर्तालुहरूको ठूलो भिड हुने गर्दछ।

तीजको धार्मिक पृष्ठभूमि

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार बर्त बस्न बसिन्। यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई 'चिताएको कुरा पुगोस्' भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।[१]

बर्त बस्ने दिन

तीज मनाउन नाच्दै नेपाली महिलाहरू

हाम्रो समाजमा तीज महिलाहरूद्वारा मनाइने एउटा पर्व हो। आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराईघरमा जीवन बिताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ। तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ। महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै बर्त बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी बर्त बस्छन्। बर्तको समयमा महिलाहरूले तीजको बर्तकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको बर्त अन्य बर्त भन्दा फरक ढंगले लिइन्छ । यस दिन पानीसम्म पनि नखाई बर्त बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरु महादेवको पुजा आराधना पश्चात फलफूल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।

बर्तकथा

पौराणिक कालदेखि चलिआएको तीजको बर्तकथा यसप्रकार रहेको छ । यो बर्त महात्म्यको कथा भगवान शिवले पार्वतीजीको पूर्वजन्मको स्मरण गराउने उद्देश्यले यसप्रकार भन्नु भएको थियो । हे गौरी ! पर्वतराज हिमालयको घर अर्थात तिम्रो माइतमा बस्दा गंगातटमा तिमीले आफ्नो बाल्यावस्थामा अधोमुखी भई घोर तपस्या गरेकी थियौ । उक्त अवधिमा तिमीले कुनै अन्नपानी नखाई केवल हावाको मात्र सेवन गरेकी थियौ र मात्र सुख्खा पत्ताहरू चबाई दिनहरू काटेकी थियौ । माघको चिसोमा तिमीले निरन्तर जलमा प्रवेशगरी तप गर्यौ, बैशाखको शरीर जलाउने गर्मीमा पञ्चाग्निद्वारा शरीर तपायौ । साउनको मुसलधारे वर्षामा खुल्ला आकाशमुनि बिना अन्नपानी व्यतीत गर्यौ । तिम्रो यो कष्टदायक तपस्या देखेर तिम्रा पिता धेरै दुःखी र चिन्तित हुने गर्दथे । तब एकदिन तिम्रो तपस्या तथा तिम्रा पिताजीको दुःख र चिन्तालाई मनन गरी नारदजीले तिम्रा घरमा आउनुभयो । तिम्रा पिताले नारदजीलाई घर आउनाको कारण सोध्नुभयो र प्रत्युत्तरमा नारदजीले भन्नुभयो “ हे गिरिराज ! म भगवान विष्णुले पठाएर यहाँ आएको हुँ । तपाईँकी छोरीको घोर तपस्याबाट प्रसन्न भई स्वयं भगवान विष्णु उनीसँग विवाह गर्न चाहनुहुन्छ । यसबारे म तपाईंँको राय जान्न चाहन्छु । ” नारदजीका कुरा सुनेर तिम्रा पिताले अति प्रसन्नताकासाथ भन्नु भयो । श्रीमान् यदि स्वयं विष्णु भगवान मेरी कन्याकासाथ वरण गर्न चाहनुहुन्छ भने मलाई कुनै आपत्ति छैन । उहाँ त साक्षात् परब्रह्म हुनुहुन्छ । यो त हरेक अभिभावकको पिताको इच्छा हुन्छ कि उसकी छोरी सुखसंम्पदाले परिपूर्ण पतिका घरकी गृहलक्ष्मी बनून् र आफ्नो जीवनसाथै पति र परिवारको सुखकी कारण बनून् । नारदजीले तिम्रा पिताको स्वीकृति पाएपछि भगवान विष्णुसमक्ष गई विवाह टुङ्गो लागेको समाचार सुनाउनु भयो । तर विष्णुसँग आफ्नो विवाह हुन लागेको थाहा पाएपछि तिमी असाध्यै दुःखित भयौ । तिम्रो दुःखको कुनै ठेगान भएन । अति दुःख, चिन्ता र कष्टमा तिम्रा दिनहरू बित्न थाले ।

तिम्रो चिन्तित र दयनीय मुहार देखेर तिम्री एउटी सखीले तिम्रो दुःखको कारण सोद्धा तिमीले भन्यौ -'मैले मनैदेखि भगवान शिवलाई वरण गरेकी छु, तर मेरा पिताले मेरो विवाह विष्णुजीसँग गरिदिने निधो गर्नुभयो । म विचित्र धर्मसङ्कटमा छु । अव मैले प्राण त्याग्नुबाहेक कुनै उपाय र विकल्प देखेकी छैन । ' तिम्री ती सःगिनी अति नै चङ्ख र समझदार थिइन् । उनले तिमीलाई भनिन् - 'प्राण नै त्याग गर्नुपर्ने यहाँ के नै कारण छ र? संकटको घडिमा धैर्यताका साथ काम गर्नुपर्दछ । हिन्दूनारीको जीवनको सार्थकता नै केमा छ भने जसलाई मनैले पतिका रूपमा एक पटक वरण गरिन्छ, उसैसँग निष्ठापूर्वक जीवन निर्वाह गर्नुपर्दछ । दीगो आस्था र एक निष्ठाका सामु त स्वयं भगवान पनि असहाय र किंकर्तविमुढ बन्न पुग्नुहुन्छ । तसर्थ म तिमीलाई घनघोर वनमा लैजान्छु जुन साधनास्थल पनि हो र त्यहाँ तिम्रा पिताले समेत तिमीलाई खोजेर पाउनुहुन्न । मलाई पूर्ण विश्वास छ ईश्वरले अवश्य तिम्रो सहायता गर्नुहुनेछ । ' अनि तिमीले तिम्री सहेलीले भने झैँ गर्यौ । यता तिम्रा पिता तिमीलाई घरमा नदेखेपछि धेरै चिन्तित र दुःखी हुनुभयो । उहाँ सोच्न थाल्नुभयो - 'मैले त मेरी पुत्रीको भगवान विष्णुसँग विवाहको निधो गरेको थिएँ, भगवान विष्णु विवाहका निमित्त जन्ती लिएर आउनुभएका बखतमा कन्यालाई घरमा नभेट्दा अनर्थ हुन जानेछ, विष्णुलाई मैले के जवाफ दिने?' यती विचार गरी तिम्रा पिताले चारैतिर तिम्रो खोजीको कार्य शुरु गराउनुभयो । यता तिम्रो धुमधामसँग खोजीकार्य भइरह्यो उता तिमी आफ्नी सहेलीका साथ नदीका तटमा एउटा गुफामा आराधनामा लीन भयौ । भाद्रपद शुक्लको तृतीया तिथि, अनि त्यस दिन हस्ता नक्षत्र थियो, त्यसदिन तिमीले बालुवाको शिवलिङ्ग निर्माण गर्यौ । रातभरि मेरा स्तुतिमा गीत गाउँदै जागरण गर्यौ । तिम्रो यो कठोर तपस्याको प्रभावले मेरो आसन हल्लिन पुग्यो र शीघ्र तिम्रा सामूमा पुगेँ र तिमिलाई वर माग्न भनेँ ।

त्यससमय आफ्नो तपस्याको फलका प्रभावले प्रकट भएको म महादेवलाई आफूसमक्ष देखेर तिमीले भन्यौ - 'मैले हजुरलाई साँचो मनले पतिका रूपमा वरण गरिसकेकी छु । यदि तपाई साँच्चै नै मेरो तपस्याबाट प्रसन्न भई यहाँ प्रकट हुनुभएको हो भने मलाई आफ्नी अर्धाङ्गिनीका रूपमा स्वीकार गर्नुहोस् । त्यसपछि “तथास्त्” भनेर म कैलाश पर्वततर्फ फिर्ता भएँ । भोलिपल्ट उज्यालो हुने बितिक्कै तिमीले पूजाका समस्त सामग्री नदीमा सेलाई आफ्नी सहेलीसहित बर्तको समापन गर्यौ । त्यही समय तिम्रा पिता गिरिराज आफ्ना बन्धुबान्धवसहित तिमीलाई खोज्दै खोज्दै त्यहीँ पुग्नुभयो । तिम्रा पिताले तिम्रो अवस्था देखेर अत्यन्त दुःखी हुँदै तिम्रो त्यो कठोर तपस्याको कारण सोध्नुभयो । तिमीले भन्यौ - 'पिताजी ! मैले आफ्नो जीवनको अधिकांश समय कठोर तपस्यामा विताएँ । मेरो यो तपस्याको एकमात्र उद्देश्य माहादेवलाई पतिका रूपमा प्राप्त गर्नु थियो । आज म आफ्नो तपस्याको परीक्षामा सफल भएकी छु । म आफ्नो आराध्यको खोजीमा घरबाट निस्किएर हिँडेकी हुँ । अब मैले हजुरसँग घर नै फर्कनु पर्छ भने महादेवका साथ मेरो विवाह गरिदिने भए मात्र म घर फर्कन्छु । तिम्रा कुरा सुनेर पिता हिमालयले तिम्रो इच्छा स्वीकार गर्नुभयो र तिमीलाई घर फिर्ता लिएर जानुभयो । केहीसमय पछि उहाँले पुरा विधिविधान सहित हाम्रो विवाह गरिदिनु भयो । भगवान शिवले अझ भन्नुभयो - हे पार्वती ! भाद्रपदको शुक्ल तृतीयामा तिमीले मेरो आराधना गरी जुन बर्त बसेकी थियौ, त्यसैको परिणामस्वरूप हामी दुईको विवाह सम्भव भएको हो । यो बर्तको महत्व यसकारणले पनि महत्वपूर्ण छ । जसले यो बर्त निष्ठापूर्वक पालन गर्दछ, त्यसलाई मनोवाञ्छित फल प्राप्त हुनेछ । यो बर्तलाई हरितालिका भन्नुको अर्थ पनि पार्वतीलाई साथीहरूले पिता र आफ्नो प्रदेशबाट हरण गरी जंगलमा लगेको प्रसङ्गसँग जोडिन्छ । हरितालिका शब्दमा रहेका हरिता र आलिका यी दुई शब्दको अर्थ पनि क्रमशः हरण गरिएकी र सथीहरू भन्ने हुन्छ । भगवान शिवले पार्वतीजीलाई भन्नुभयो - यस बर्तलाई विधिविधानपूर्वक जसले लिन्छ, त्यसले तिम्रोजस्तै सुयोग्य र अचल श्रीमान् प्राप्त गर्दछ ।

महत्त्व

हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै बर्त बसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी बर्त बस्छन । बर्तको समयमा महिलाहरूले तीजको बर्तकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ ।

ऋषिपञ्चमी

पशुपतिमा तीजको अवसरमा दीप प्रज्वलन

शास्त्रअनुसार १२ महिनाको रजस्वलामा अन्जानवस कति कुरा छोइएको हुन सक्छ । उक्त पापबाट मूक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन तोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरू छन । तर मूलतः ३६५ वटा दतिवनका डाँठ टाेकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अंगहरू सुद्ध गर्नु, चाल्नीमा गनौती (गनिएका तिलचामल र जौ) राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा सुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ । ३६५ वटा दतिवन दिनकाे एउटा ३६५ दिनसम्म टाेकेर तीजमा पञ्चमीको दिन खाेलामा बगायाे भने पनि रजस्वला हुँदाकाे समयमा भएकाे पापबाट माेक्ष भइने पनि विश्वाश छ । वास्तवमा भन्ने हो भने तीज आफैंमा एक सुन्दर पर्व हो र यसलाई बर्तमा परिणत भएको भए पनि फलफूल ग्रहण गरेर दिनभरि बस्नमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ । नारीहरूले रातो टीका रातो कपडा, रातो चुरा, पोते आदि सबै रातै रंगमा सजिनु तीज पर्वको रंग हो । नारीहरू त्यस दिन नाचगान गर्दै हर्षोल्लासका साथ दिनभरि भोकै बसी श्रीमानको दिर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देश मानिन्छ ।

तीज बर्तको दिन घरको कामकाजलाई चटक्क छोडेर नेपाली महिलाहरू स्वतन्त्र तथा हषिर्त भएर घर बाहिर निस्कन्छन् । उनीहरूको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुराहरू समेटिएका हुन्छन् । यसले महिलाहरूलाई सशक्त बनाउँछ । यी कुराहरू तीजको सकरात्मक पक्ष हो ।

हाल विदेशमा रहेका नेपाली महिलाहरूले पनि यो चाड बडो धुमधामकासाथ मनाउने गरेको पाइन्छ । [२]

अट्वारि बर्त :-यो पर्व विशेषगरी नेपालको पश्चिमी क्षेत्रमा बस्ने दङौरा थारूहरूको समुदायमा मनाउने गरिएको छ । यो पर्वमा पुरुषहरूले बर्त बस्ने र भिमको पुजा आराधना गर्ने गर्दछन् । आइतबारको दिनमा मात्र मनाइने हुनाले पनि यसको नाम अट्वारि रहन गएको हो ।

सन्दर्भ सामग्रीहरू

  1. कृष्णप्रसाद कोइराला, उप-प्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल
  2. महिलाहरूको स्वतन्त्र र दमनको समिश्रण पर्व तीज बर्त- दीपा एवाई राई bagaicha.com

बाह्य लिङ्कहरू


यो पनि हेर्नुहोस्