सामग्रीमा जानुहोस्

आयुर्वेद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आयुर्वेद विश्वकै प्राचीन चिकित्साशास्त्र हो। यो अथर्ववेदको उपवेद हो। आयुर्वेद इशापूर्व ३ हजारदेखि ५० हजार वर्ष अगाडि भारतवर्षबाट विकास भएको मानिन्छ।[] मानव स्वास्थ्य शरीर, मनआत्माको सन्तुलनमा निर्भर गर्छ भने रोग त्रि-दोषहरू (वात, पित्त र कफ) को असन्तुलनको कारणले हुने विश्वास आयुर्वेदमा छ। स्वास्थ्यरोगबारे आयुर्वेदको अवधारणाहरूले जडीबुटी मिश्रण, विशेष आहार र अन्य अद्वितीय स्वास्थ्य पद्धतिहरू(योग, पञ्चकर्म, क्षारसूत्र)को प्रवर्तन गर्दछ।

आयुर्वेदका भगवान: धनवन्तरी

धनवन्तरी आयुर्वेदका भगवान हुन्। समुन्द्र मन्थनको समयमा धनवन्तरी अमृत, संख, चक्र र जडीबुटीका साथ प्रकट भएका हुन्। कात्तिक कृष्ण त्रयोदशीका दिन धनवन्तरि जयन्ती मनाउने गरिएको छ। विसं १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस, नरदेवी स्थापना भएदेखि नेपालमा 'धनवन्तरि जयन्ती' मनाउन थालिएको हो। विसं २०५६ सालदेखि धनवन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाउने गरिएको छ। नेपाल, भारत, श्रीलङ्का लगायतका दक्षिण एसियाली मुलुकहरूमा आयुर्वेदको प्रयोग निकै नै बढी छ। हाल विश्वभरी नै आयुर्वेद वैकल्पिक उपचार पद्धतिको रूपमा प्रख्यात हुँदै आइरहेको छ।

व्युत्पत्ति

आयु र वेद शब्दको योगले आयुर्वेद शब्द बन्छ। शरीर, इन्द्रिय, मन र आत्माको संयोगलाई आयु भनिन्छ। वेद शब्द 'विद' धातुबाट प्रत्ययको योगले बन्दछ, जसको अर्थ 'ज्ञान' हो।[] यसप्रकार आयुर्वेद शब्दको अर्थ हुन्छ 'आयुको ज्ञान'। जुन शास्त्रको अध्ययन गर्नाले आयुको सत्ता, आयुसम्बन्धी ज्ञान र पूर्ण आयुका साथ शारीरिक र मानसिक स्वस्थता प्राप्तिको विषयमा ज्ञान हुन्छ, त्यसलाई आयुर्वेद शास्त्र भनिन्छ।[]

आयुर्वेदको इतिहास

आयुर्वेदको रचनाकाल ईस पूर्व ३,००० देखि ५०,००० वर्ष पहले भएको मानिन्छ।[] ब्रह्मा आयुर्वेद ज्ञानका मुख्य स्रोत हुन्। ब्रह्माले यो ज्ञान दक्ष प्रजापतिलाई दिए। प्रजापतिले आयुर्वेदको ज्ञान अश्वनी कुमारहरूलाई प्रदान गरे र अश्वनी कुमारहरूले भगवान इन्द्रलाई। भगवान इन्द्रले यो ज्ञान क-कसलाई प्रदान गरे भन्ने बारे विभिन्न मतहरू रहेका छन। चरक संहिता अनुसार अश्वनी कुमारहरूले आयुर्वेदको ज्ञान भगवान इन्द्र, भारद्वाज र आत्रेयलाई प्रदान गरे।[][][] अत्रेयले आयुर्वेदको विधा आफ्ना ६ शिष्यहरूलाई दिए। उनीहरू थिए – अग्निभेष, भेल, अतुकर्ण, परासर, हारित र क्षारपाणी। सुश्रुत संहिता अनुसार भने भगवान इन्द्रले आफुले प्राप्त गरेको आयुर्वेदको ज्ञान धनवन्तरीलाई प्रदान गरे। धनवन्तरीले यो ज्ञान आफ्ना ७ जना शिष्य – औषधेनव, वैतरण, उरभ, गोपूररक्षित्, पुषकलावत, करविर्य र सुश्रुतलाई प्रदान गरे। कश्यप संहिता अनुसार इन्द्रमार्फत यो ज्ञान कश्यप, वशिष्ठ, भृगु, अत्रिलाई प्राप्त भयो।[] चरक, सुश्रुत, वागभटले आयुर्वेदलाई अथर्ववेदको उपवेद रूपमा मानेका छन भने कश्यपले यसलाई छुट्टै वेदका रूपमा परिभाषित गरेका छन।

आयुर्वेदको सिद्धान्त

आयुर्वेदका अनुसार मानव शरीर त्रि-दोष, सप्त धातु र मलबाट निर्मित छ। त्रि-दोषको सिधान्त नै आयुर्वेदको मुख्य आधार हो। बात, पित्त र कफ त्रि-दोषहरू हुन्। प्रत्येक मानिसमा कुनै एक वा दुइ दोषहरू प्रभावशालि हुन्छन्। चिकित्सकहरूले विरामीको दोष अनुसार नै रोग निदान गर्छन।[] सप्त धातुहरू रक्त, रस, मंस, मेद, अस्थी, मज्जा र शुक्र हुन्। त्यस्तै, मानव शरीर पञ्चमहाभूतहरूबाट बनेका हुन्छन्।

आयुर्वेदको उद्देश्य

सिद्धान्तिक हिसाबले आयुर्वेदको प्रमुख दुइ उद्देश्यहरू छन – १. स्वस्थ्य व्यक्तिको स्वस्थ्य रक्षा गर्नु र, २. रोगी व्यक्तिको रोग निर्मूल गर्ने अथवा प्रशमंन गर्नु

आयुर्वेदिक विधि अनुसार शिरमा मालिस गरिदै

प्रयोजन चास्य स्वस्थस्य स्वास्थ्यरक्षणम्। अतुरस्य विकार प्रशमन च।। पहिलो उद्देश्य प्राप्तिको लागि दिनचर्या, रात्रिचर्या, ऋतुचर्या, सद्वृत्त आदिको पालन गर्न सकिन्छ। दोस्रो उद्देश्य प्राप्तिको लागि रोग व्याधिअनुसार विभिन्न चिकित्साका उपायहरू एव विभिन्न द्रव्यहरूको प्रयोगद्वारा गर्न सकिन्छ।

आयुर्वेदका अङ्गहरू

आयुर्वेदका ८ वटा अङ्गहरू छन्। प्रत्येक अङ्गहरूको सङ्क्षिप्त परिचय निम्नानुसार छ-

१. शल्य तन्त्र- शारीरिक र मानसिक कष्टको कारणलाई शल्य भनिन्छ। अर्थात् प्राणी मात्रको शरीरमा काठ, ढुङ्गा, फलाम आदिबाट भएको व्रण, दृष्ट व्रण र गर्भरूप शल्यको निवारणका लागि यन्त्र, क्षार र अग्निको उपयोगद्वारा उपचार गरिने उपायहरूको उपदेश शल्यतन्त्रमा गरिएको छ।

२. शालाक्यतन्त्र- घाँटीभन्दा माथिका अङ्ग जस्तै नाक, कान, आँखा, मुख, घाँटी र शिर आदिमा हुने रोगहरूलाई निको पार्ने तन्त्रलाई शालाक्य तन्त्र भनिन्छ।

३. कायचिकित्सा- कायको अर्थ जठराग्नि हो। त्यसको दोष मन्दाग्नि आदिका कारण उत्पन्न हुने सर्वाङ्गत ज्वर, रक्तपित्त, शोष, उन्माद, अपस्मार, कृष्ठ, प्रमेह, अतिसार आदि शारीरिक मानसिक रोगहरूको निदान र चिकित्साको वर्णन जुन अङ्गमा भएको हुन्छ त्यसलाई कायचिकित्सा भनिन्छ।

४. भूतविद्या- देव, असुर, गन्धर्व, यक्ष, पितृ, मृतात्मा, पिशाच, नाग आदि अदृश्य शक्तिहरूले अनेक रोग उत्पन्न गरी प्राणीहरूलाई शारीरिक र मानसिक कष्ट दिन्छन्। त्यसबाट छुटकारा पाउन शान्तिकर्म, बलि, उपवास, होम आदि उपायहरूको उपदेश दिने तन्त्रलाई भूतविद्या भनिन्छ।

५. कौमारभृत्य- शुक्र र शोणितको शुद्धता, तिनका दोष एवं निवारणको उपाय, गर्भाधान, गर्भरक्षा, गर्भिणी, सूतिका एवं शिशुको परिचर्या, प्रसवपछि सूतिकाको आरोग्यको रक्षण, बालकको पोषण, स्तन्यपान आदि बालकको स्वास्थ्यरक्षामा सहायक उपायहरूको वर्णन तथा बालग्रहादिको कारण बालकहरूलाई हुने रोगहरूको शानितो उपायबारे उपदेश दिने तन्त्रलाई कौमारभृत्यतन्त्र भनिन्छ।

६. अगदतन्त्र- सर्प, कीट, लूता, माकुरा, विच्छी, मुसा आदि जीवहरूको दंशबाट उत्पन्न विष, स्वाभाविक, संयोगज र गर विषको लक्षण, त्यसको निवारण गर्ने विधिको उपदेश दिने तन्त्रलाई अगदतन्त्र भनिन्छ।

७. रसायनतन्त्र- जुन आहार-विहार एवं औषधिको सेवनबाट प्रशस्त मात्रामा रस-रक्तादि धातुहरूको वृद्धि हुन्छ। दीर्घ जीवन, स्मरणशक्ति, धारणाशक्ति, सुस्वास्थ्य, शारीरिक पुष्टि, इन्दि्रय शक्ति, बलवृद्धि र वाक्शक्ति आदिको प्राप्ति हुन्छ। त्यस्ता रसायनहरूको उपदेश दिने तन्त्रलाई रसायनतन्त्र भनिन्छ।

८. वाजीकरण- रज, शुक्र एवं मैथुनसम्बन्धी विकारहरूको लक्षण र त्यसको उपचारबारे जुन तन्त्रमा वर्णन गरिन्छ त्यसलाई वाजीकरण तन्त्र भनिन्छ।

मुख्य ग्रन्थहरू

आयुर्वेदका विषयमा लेखिएको सबैभन्दा प्राचीन ग्रन्थ अथर्ववेद र ऋग्वेद हुन्। विभिन्न वेदहरूबाटै साभार गरिएका आयुर्वेदका सिद्धान्तहरू एंव ऋषि-आचार्यहरूको अनुभवलाई मुख्यत: वृहत त्रयी र लघु त्रयीमा सङ्कलन गरिएको छ। वृहत त्रयीमा चरक संहिता, सुश्रुत संहिता र अष्टाङ्ग हृदय पर्छन भने लघु त्रयीमा माधव निदान, शाङधर संहिता र भावप्रकाश पर्छन।

वृहत त्रयी

चरक संहिता

महाऋषि चरक (काल: ई.पू. २००) ले आफ्ना चिकित्सा अनुभवहरूको सुदृढ आधार दिएर काय चिकित्साको सम्बन्धमा चरक संहिताको रचना गरे। चरक संहितामा रोगहरूको विज्ञान, शरीर रचना, आयुर्वेदिय दर्शन सिद्धान्त, प्रसुती, कौमारभृत, अरिष्ठ लक्षण, विरेचन, वमन, वस्ती आदिका बारेमा चर्चा गरिएको छ।

अग्निभेष (ई.पू. १५००-१०००) द्वारा चरक संहिता लेखिएको हो। त्यसैले यसलाई अग्निभेष तन्त्र समेत भनीन्छ। दोस्रो शताब्दीतिर चरकले अग्निभेषको यो कृतिलाई परिमार्जन गरेका हुन् र यसलाई चरक संहिता भनिने थालिएको हो।[१०] चरक संहितामा कुल ८ स्थान (सुत्र, निदान, विमान, शारीर, इन्द्रिय, चिकित्सा, कल्प र सिद्ध) र १२० अध्यायहरू छन्। चरक संहितामा विशेष गरी काय चिकित्साका विषयमा वर्णन गरिएको छ।

सुश्रुत संहिता

धनवन्तवरीका उपदेशहरूको सङ्ग्रह सुश्रुत संहिता हो। यसको प्रथम संसकरण ई.पू. १०००-१५०० तिर सुश्रुतद्वारा रचिएको हो। सुश्रुत संहितामा कुल ६ स्थान (सुत्र, निदान, शारीर, चिकित्सा, कल्प र उत्तर) र १८६ अध्यायहरू छन्। सुश्रुत संहितामा विशेष गरी शल्य चिकित्साका विषयमा वर्णन गरिएको छ।[११] पातमा लेखिएको सुश्रुत संहिता केशर महलको पुस्तकालयमा छ। यसलाई युनेस्कोले विश्वका एतिहासिक ग्रन्थको सूचीमा हालेको छ।[१२]

अष्टाङ्ग हृदय

७ औ शताब्दीमा वागभटले अष्टाङ्ग हृदय रचेका हुन्। यसमा ६ स्थान र १२० अध्यायहरू छन्। [१३]

लघु त्रयी

माधव निदान

माधवाकाराले ७ औ शताब्दीमा माधव निदान रचेका हुन्। यसमा रोग विज्ञानका बारेमा चर्चा गरिएको छ। [१४]

शाङधर संहिता

शाङधरद्वारा १२ औ शताब्दी रचित शाङधर संहिता औषधि विज्ञानसँग सम्बन्धित ग्रन्थ हो। यसमा ३ खण्ड र ३२ अध्यायहरू छन्। नाडी परीक्षाको बारेमा सबै भन्दा पहिला लेखिएको पुस्तक यही हो।

भावप्रकाश

भाव मिश्रले १६ औ शताब्दी तिर द्रव्यगुणका विषयमा भावप्रकाश निघान्तुको रचना गरे।

अन्य आयुर्वेदिक ग्रन्थहरू

काश्यप संहिता

काश्यप संहिता जीविकाद्वारा रचित ग्रन्थ हो। काश्यप संहितामा ८ स्थान र १२० अध्यायहरू छन्। यसमा कौमारभृत्यको बारेमा चर्चा गरिएको छ। यसको पाण्डुलिपी पण्डित हेम राज शर्मासंग उपलब्ध छ।

अष्टाङ्ग सङ्ग्रह

अष्टाङ्ग सङ्ग्रहमा आयुर्वेदका ८ वटा अङ्गको विस्तृत वर्णन गरिएको छ। यसलाई वागभटले सन ५५० मा लेखेका हुन्। अष्टाङ्ग सङ्ग्रहमा ६ स्थान र १५० अध्यायहरू छन्। अष्टाङ्ग हृदय यसकै विस्तृत रुप हो।

एतिहासिक तथा धार्मिक पुस्तकहरूमा आयुर्वेद

रामयण, महाभारत, गीता, पुराणहरू, उपनिषदहरूजस्ता हिन्दु धर्मका पुस्तकहरूमा आयुर्वेद चिकित्साशास्त्रका विभिन्न पक्षहरूका बारेमा भिन्ना भिन्नै तरहले चर्चा गरिएको छ। यस्तै बौद्ध धर्मका ग्रन्थहरू – नावनितकम्, विनयपिटक तथा मिलन्दप्रश्नमा पनि आयुर्वेद दर्शनकै सिद्धान्तमा केन्द्रित रहेर रोगहरू तथा त्यसका निदानका प्रक्रियाका बारेमा चर्चा गरिएको छ।[१५]

रामायण

  • रामायणमा अश्विनीद्वयले गौतम ऋषिको श्रापद्वारा ग्रसित इन्द्रमा मेषको वृष्ण प्रतिस्पादन गरेका थिए। यसै कारण इन्द्रलाई मेष वृष्ण समेत भनिन्छ।
  • राजा दशरथको मृत्युहुदाँ भरत नआएसम्मका लागि उनको शवलाई औसधी युक्त तेलमा सुरक्षित गरिएको कुरा रामायणमा छ।
  • सिताको हरण गर्दा रावणले कुटज, अर्जुन, कदम्ब, सप्तकर्ण आदि जस्ता वृक्षहरू अशोकवाटिकामा पुराएका थिए।
  • हनुमानले उठाएको औसधीको पर्वतमा संजीवनी, विशल्यकरणी, सन्धानकरणी आदि जस्ता जडीबुटी उक्त पर्वतमा रहेको कुरा उल्लेख गरिएको छ।
  • रावणको आक्रमणबाट लक्ष्मण घाइते हुदा रामले उनी मृत्यु भईसकेको सोचेको वैद्य सुषेणले विभिन्न लक्षणहरूको भेद गरी उनी जिउदै भएको प्रकाश पार्नु।
  • वैद्य शब्द सर्वप्रथम रामायणबाटै आएको भनिन्छ।[१६]

महाभारत

  • महाभारतको सभा पर्वमा नारद र युधिस्ठीरको सम्वादमा अष्टाङ्ग आयुर्वेदका बारेमा चर्चा गरिएको थियो।[१७]
  • महाभारतमा धनवन्तरीको अवतरणको बारेमा उल्लेख गरिएको छ।
  • विषका दुइ प्रकार – स्थावर (वृक्षबाट हुने) र जागम विष हुने र दुर्योधनले भीमसेनलाई स्थावर विष सेवन गराएको प्रसङ्ग उल्लेख गरिएको छ। स्वथर विष सर्पहरूको डसाईले नष्ट हुने कुरा महाभारतमा गरिएको छ।
  • महाभारतमा विचित्रविर्यलाई राजयक्ष्मा भएको, चन्द्रलाई अधिक स्त्रीसेवनद्वारा शुक्रक्षय भई राजयक्ष्मा भएको, अग्निदेवलाई १२ वर्ष अटुट धृतपान गर्दा अजीर्ण भएको, सान्त्नुका दाजु देवपिलाई कुष्ठ रोग लागेकाले राज्य प्राप्त नभएको जस्ता प्रसङ्गहरू छन।
  • यसैगरी वृहस्पतिपुत्र कचले दैत्य गुरु शुक्रचार्यसंग संजीवननी विधा पांच वर्ष लगाएर सिकेको कुरा महाभारतमा उल्लेख छ। असुरहरू तीन पटक सम्म मारिदा पनि उनी पुन: जीवित भएको प्रसङ्ग छ।
  • महाभारतमै विविन्न आचार्यहरूको नाम तथा उनीहरूको विशेषताका बारेमा चर्चा गरिएको छ। अश्विनीद्वय देववैद्य, शालीहोत्र आश्वविशेषज्ञ, सुश्रुत शल्यविशेषज्ञ, नकुल आश्वविशेषज्ञ, सहदेव गोविशेषज्ञ र कृष्णत्रेया (अत्रेया) चिकित्सक रहेको कुरा यहा उल्लेख गरिएको छ।

श्रीमद्भागवत गीता

श्रीमद्भागवत गीतामा त्रि-गुण – सत्व, रज र तम तथा योगाका विषयमा चर्चा गरिएको छ। पन्चमहाभूतले नै श्रीष्टि तथा प्रत्यक जीवहरू निर्मित रहेको कुरा गीतामा गरिएको छ।[१८]

पुराणहरू

अग्निपुराण

  • मनुष्य, आश्व तथा हस्तीका रोगक चिकित्सा अग्निपुराणमा गरिएको छ।
  • हस्ती शास्त्रविद् पालकाव्यले अङ्गराज सोमपादलाई उपदेश दिएको, धनवन्तवरी एव शालोहोत्रको आयुर्वेद सम्बन्धी व्याख्या, तर्पण र अतर्पण, पाच कल्पनाहरू (फणित, शीत, कल्क, स्वरस, शृत) को विषयमा वर्णन गरिएको छ।
  • विभिन्न रोगहरू ज्वर, अर्श, अतिसार, कुष्ठ, प्रेमह, श्वास, करस, शोथ, वातरोग, शिरोरोगका बारेमा औषधिहरूको टिपोट गरिएको छ।
  • रोगका चार वर्गका समेत अग्निपुराणमा बयान गरिएको छ।
  • यस्तै ऋतुहरूअनुसार रस र धातुहरूको वृद्धि, त्रिदोषको संचय, प्रकोप एवं प्रशंमन, विपाक, आदिको बारेमा पनि अग्नि पुराणमा उल्लेख गरिएको छ।
  • सर्पदंशको प्रकार, दंशको स्थान, सर्प दंशले मानिसमा ल्याउने लक्षणहरूका बारेमा सर्वप्रथम अग्निपुराणमै चर्चा गरिएको छ।

गरुणपुराण

रक्तपित्त, कास, श्वास, हिकाम राजयक्ष्मा, वमन, अरोचक, अर्श, ग्रहणी, प्रमेह, कुष्ठ, ज्वर, अतिसार, स्त्री रोग, गर्भ सम्बन्धि रोगको चिकित्साबारेमा गरुण पुराणमा चर्चा गरिएको पाइन्छ।

व्रह्मवैवतपुराण

  • ब्रह्माले प्रजापतिलाई आयुर्वेदको ज्ञान प्रदान गरेको र प्रजापतिले भास्कर हुँदै यो विभिन्न आचार्य, ऋषिहरूसम्म कसरी आइपुग्यो भन्नेबारे सङ्क्षिप्त जानकारी यस पुराणमा पाइन्छ।
  • यस पुराणमा सम्पूर्ण रोगहरूको कारण ज्वरोलाई मानिएको छ। ज्वरोको उत्पतिको कारण मन्दाग्नी र मन्दाग्नीको उत्पतिको कारण त्रिदोषलाई दिईएको छ।
  • यसरी यहा वात, पित्त, कफ र त्रिदोषज् गरी ४ प्रकारका ज्वरोको वर्णन यस पुराणमा गरिएको छ।
  • पण्डु, कमला, शोथ, पिल्हा, ज्वर, अतिसार, ग्रहणी, कास, मुत्रकृच्छ, गुल्म, सन्नीपात, विशुची आदि जस्ता ६४ प्रकारका रोगको वर्णन यहा गरिएको छ।

विष्णुधर्मोत्तर पुराण

  • ज्वरमा लधंन, शिरो रोगमा स्निग्धशीत भोजन, कर्णसुलमा शुद्ध तेल, नेत्ररोगमा त्रिफलाको प्रयोग जस्ता सुझावहरू यस पुराणमा पाइन्छ।
  • मह एंव धृतसँग त्रिफलाको सेवनले आरोग्य मिल्ने कुरा यहा बताईएको छ।
  • विष निवारणको विषयमा जांगमय विषमा स्थावर बिष र स्थावर बिषमा जांगमय विषको सेवन गर्ने निर्देशन दिइएको छ।

उपनिषदहरू

छ्न्दोग्य उपनिषद

  • शरीरमा हुने अन्नपाचन प्रक्रियाको तुलना इक्षुबाट गुड हुने प्रकृयाको रूपमा व्याख्या गरिएको छ। पाचन प्रकृयाको समयमा अन्न: स्थुल, सुक्ष्म र अतिसुक्ष्म पाकको रूपमा परिणत हुने कुरा यसमा गरिएको छ।
  • लुतोको चिकित्साको बारेमा पनि यसै उपनिषदमा बताईएको छ। [१९]

वृहदारणयक उपनिषद

हृदयको परिभाषा, हृदयको क्रिमाको बारेमा वृहदारणयक उपनिषदमा व्याख्या गरिएको छ।[२०]

चाणक्य अर्थशास्त्र

चौथो शताब्दीमा चाणक्य (अ. ई पू २८३) द्वारा रचित अर्थशास्त्र मा सुश्रुत संहितामा बताइएको ३२ तन्त्रयुक्ति, गर्भविज्ञान, विषविज्ञान तथा योगाका बारेमा बताईएको छ। जस्तै, राम्रो सन्तानको लागि शुक्रशोणीत साथै गर्भशायको शुद्धता आवश्यक हुने, वैद्यको उपस्थितिमा प्रसव गराउनु पर्ने जस्ता सुझावहरू चाणक्य अर्थशास्त्रमा पाइन्छ।[२१]

उपचार पद्धतिहरू

जडीबुटी

मुख्य लेख: जडीबुटी

विभिन्न रोगहरूको निदानको निम्ति आयुर्वेदमा जडीबुटीको प्रयोग गरिन्छ। जस्तै, कामला रोगमा भुइँअमला, कुटकी, कालमेघ; मधुमेहमा करेला, विजयसार, चिराइतो, जामुनबीज; मूत्रकृच्छमा वरुण, पाषणभेद, पुनर्नवा, गोक्षुर; चर्मरोगमा तीतेपाती, चक्रमर्द, नीम; स्तनपायी महिलामा स्तन्यवर्धनका लागि शतावरी; अतिसारमा बेल, कुटज (इन्द्रजौ) आदि जस्ता जडीबुटीहरूको प्रयोग गरिन्छ।[२२] नेपालमा नेपालगन्जलाई जडीबुटीको राजधानी भनिन्छ।[२३]

योग

मुख्य लेख: योग

स्त्री रोग अल्पात्तर्व, कष्टात्तर्व एंव गर्भासय सम्बन्धि रोगहरूको लागि लाभप्रद पवन मुक्तासन गर्दै। अम्लपित्त, हृदयरोग तथा गठिया रोगमा समेत यो आसन हितकारी हुन्छ।

योगको अर्थ आफ्नो चेतना वा अस्तित्वको बोध हो। यो शारीरिक, मानसिक तथा आध्यात्मिक अनुशासन हो जसले शरीर र मनलाई सकरात्मक परिवर्तन गर्दछ। आयुर्वेदमा महाऋषि पतञ्जलीद्वारा व्याख्या गरिएको अष्टाङ्ग योग सुत्रको विशेष प्रभाव रहेको छ। जस्तै कमर दुखाइ, सियाटिक, स्रवाईकल सपोंड़ोलाईटिस आदि जस्ताबाट पिडित बिरामीहरूलाई मर्कट आसन, मकरासन, कटि उत्तानासन, भुजगासन, धनुरासन, श्लभासन जस्ता योग आसन गर्ने सल्लाह दिईन्छ।[२४]

सन २०१४ डिसेम्बर ११ का दिन संयुक्त राष्ट्रसङ्घको १९३ सदस्य सम्मेलनले अङ्ग्रेजी महिनाको जुन २१ मा 'अन्तराष्ट्रिय योगा दिवस' मनाउने निर्णय गरेको छ।[२५]

पञ्चकर्म

मुख्य लेख: पञ्चकर्म

पञ्चकर्म एक शोधन चिकित्सा हो। वमन, विरेचन, शिरोधरा, अनुवासन वस्ती र निरुहहरू पन्चकर्म हुन्। यसले शरीरमा जम्मा भएका विकारहरूलाई हटाउछ। आयुर्वेदिक मान्यताहरू अनुसार कुनै पनि प्रकारका औषधिहरू सेवन गर्नु पूर्व पन्चकर्म गर्नु पर्छ।

क्षारसूत्र

विविन्न क्षारहरूको प्रयोग गरी पाइल्स, फेस्टुला, साइनस, दुष्टव्रण, ट्युमर र कुष्ठरोग लगायतका रोगको निदानको निम्ति क्षारसूत्र निकै प्रभावकारी मानिन्छ। क्षारसूत्रको प्रयोग शल्यतन्त्रका पिता सुश्रुत ले गरेका हुन्। यो विधिमा औषधि तत्त्वयुक्त धागो प्रयोग गरिन्छ। पाइल्स वा फेस्टुला काटिएर र्झछन् र फेस्टुलाको घाउ बिनाकुनै अतिरिक्त मलमपट्टी स्वतः भरिन्छ। फेरि घाउ बल्झीदैन।

क्षारसूत्र क्षार (अल्कली) तथा सूत्र वा धागो (बारबोलिन थ्रेड)बाट बनाइएको हुन्छ। क्षारसूत्र बनाउनका लागि स्नुहीको दूध, अपामार्ग क्षार र बेसारको धूलो आवश्यक पर्छ। सबैभन्दा पहिले धागोलाइ ११ पटक स्नुही दूधको लेप लगाएर सुकाइन्छ। अनि सातपटक स्नुही दूध र अपामार्ग क्षारको लेप लगाइन्छ। अन्तमा फेरि स्नुही दूध र बेसारको धूलोको लेप तीन पटक लगाए सुकाइन्छ। २१ पटकको लेपमा क्षारसूत्र तयार हुन्छ। [२६]

वर्तमान अवस्था

नेपाल

नेपालमा आयुर्वेद चिकित्सा पद्दतिको निकै लामो इतिहास रहेको छ।[२७] नेपालमा झन्डै ८० प्रतिशत मानिसहरू प्राथमिक उपचारका निम्ति आयुर्वेद चिकित्साशास्त्रको प्रयोग गर्छन।[२८]

नेपाल सरकारले १०० शेयको १ केन्द्रीय आयुर्वेदिक अस्पताल – नरदेवी अस्पताल, ३० शेयको १ क्षेत्रीय अस्पताल – दाङ अस्पताल, ७५ वटा जिल्लामा आयुर्वेद औषधालय, र ३०० भन्दा बढी गाविसमा आयुर्वेद प्राथमिक स्वास्थ्य चौकीहरू सञ्चालनमा ल्याएको छ।[२९]

यसका अलावा त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आइ.ओ.एम्) अन्तर्गतको आयुर्वेद क्याम्पसले क्रितिपुरमा वि.स. २०६५ देखि आयुर्वेद टिचिङ अस्पतालको समेत सुरुआत गरेको छ। आयुर्वेदिक औषधिहरूको निर्माणको निम्ति सिहदरबार बैद्यखानाको समेत सञ्चालन गरेको छ। यो प्रताप मल्लको समय देखि सुरु भएको हो।[३०] प्राइभेट कम्पनीहरू जस्तै आरोग्य भवन, अनमोल, मकालु, पशुपति, गोरखा, गोरखनाथ मनकामना, सिद्ध, फ्लुर, हिमाल, भास्कर, चिरायु, सगरमाथा, सूर्य, श्रीकृष्ण औषधालय, कुनफेन, डाबर नेपाल लगायत उद्योगले जडिबुटीबाट औषधि, खाद्य र सौन्दर्य प्रसाधनका सामग्री उत्पादनमा सक्रिय छन्।[३१]

नेपालमा सर्वप्रथम पढाइ भएको पहिलो प्राविधिक विषय आयुर्वेद हो। हाल त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आइ.ओ.एम्) अन्तर्गतको आयुर्वेद क्याम्पस र नेपाल संस्कृत विश्वविद्यालय मार्फत स्नातक तहको चिकित्सक तहको अध्यापन गराइन्छ। नेपाल आयुर्वेद मेडिकल काउन्सिलले आयुर्वेद कलेज, आयुर्वेद चिकित्सकको नियमन गर्ने गरेको छ।

भारत

भारतमा पनि आयुर्वेद निकै पुरानो चिकित्सा पद्दति हो। नेपालमा जस्तै भारतमा पनि झन्डै ८० प्रतिशत मानिसहरू आयुर्वेद चिकित्साशास्त्रमा निर्भर छन। भारतमा आयुर्वेद, योगा, युनानी, सिधा र होमियोप्याथिकको लागि छुट्टै ‘आयुष’ मन्त्रालयको गठन गरिएको छ। डाबर, वैद्यनाथ, दिव्य फार्मेसी, पतञ्जली आयुर्वेद, झण्डु आदि जस्ता कम्पनीहरूले आयुर्वेदिक औषधिहरूको उत्पादन गर्छन र विश्व भरी नै निर्यात गर्छन। केन्द्रीय भारतीय औषधि परिषदले आयुर्वेद अध्यापन गराउने विश्वविद्यालय र कलेजहरूको नियन्त्रण निकाय हो।

सन्दर्भ सामग्रीहरू

  1. "देवताका डाक्टर धन्वन्तरी", स्वास्थ्य खबर, Swasthyakhabar, अन्तिम पहुँच १४ जनवरी २०१५, "पुरातत्वविद्का अनुसार आयुर्वेदको रचना इशापूर्व ३ हजारदेखि ५० हजार वर्षमा भएको हो।"  वेब्याक मेसिन अभिलेखिकरण २४ जनवरी २०१५ मिति
  2. पण्डित कृष्ण प्रसाद कोइराला, हिन्दु चिन्तन (शास्त्रीय सामान्य ज्ञान) 
  3. आचार्य विश्वनाथ दिवेषी, औषधि विज्ञान शास्त्र 
  4. डा. रविदत्त त्रिपाठी, आयुर्वेद इतिहास एंव परिचय 
  5. आचार्य प्रियव्रत शर्मा, आयुर्वेदको वैज्ञानिक इतिहास 
  6. गिरिन्द्रनाथ मुखोपाध्यय, हिस्ट्री अफ इन्डियन मेडिसिन 
  7. पण्डित शिव शर्मा, आयुर्वेदिक मेडिसिन-पास्ट एण्ड प्रिजेन्ट 
  8. पण्डित हेमराज शर्मा, काश्यप संहिताको उपोद्घात, पृ: ३३५। 
  9. शर्मा, डा. विनोद (२००७), कार्य क्षेमता के लिए आयुर्वेद और योग, भारत: राजकमल प्रकाशन, पृ: १८६, आइएसबिएन 978-81-8361-143-5, अन्तिम पहुँच ८ जनवरी २०१५ 
  10. प्रो. ज्योतिमीत्र आचार्य, चरक एवं सुश्रुतको दार्शनिक विषयको अध्ययन 
  11. गजानन शास्त्री, सानक्य तत्व कौमादी 
  12. "युनेस्को सूचीमा दुई दुर्लभ नेपाली पाण्डुलिपिहरूको", दि हिमालयन टाइम्स, Nagarik, अन्तिम पहुँच ११ जनवरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण २ अक्टोबर २०२२ मिति
  13. अरुणदत्त, अष्टाङ्ग हृदय 
  14. ड़ा. जी.जे. मेउलन्वेलद, माधव निदान र यसको मुख्य टिका (इतिहास दर्शाउने पाठहरू सहित) 
  15. डा. ज्योति मित्र, बौद्ध साहित्यमा आयुर्वेदिक सामग्रीको एक मूल्यांकन 
  16. ड़ा.ओ.पी जग्गी, प्राचीन वैज्ञानिक 
  17. डा. रविन्द्रनाथ त्रिपाठी, महायान ग्रन्थमा निहित आयुर्वेदिक सामग्री 
  18. आचार्य प्रियव्रता शर्मा, भागवत वेवेचना 
  19. डा. श्रीकणठमुर्ति, भागवत ल्युमिनरीज अफ इन्डियन मेडिसिन 
  20. वैद्य सूरमचन्द्र, आयुर्वेदका इतिहास 
  21. आचार्य इश्वरनाथ पाध्य, कौटिल्य अर्थशास्त्रमा के छ? 
  22. "आयुर्वेद र जडीबुटी सम्पदाको सदुपयोगद्वारा बहुपक्षीय लाभ", राजधानी, Rajdhani, अन्तिम पहुँच १३ जनवरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण २९ मार्च २०१९ मिति
  23. "जडीबुटी निकासीमा आधा कमी", कान्तिपुर, Kantipur, अन्तिम पहुँच १३ जनवरी २०१५, "जडीबुटी 'हब' का रूपमा चिनिएको नेपालगन्जबाट चालू आर्थिक वर्षको ६ महिनामा झन्डै १४ करोडको जडीबुटी भारत निकासी भएको छ।" [स्थायी मृत कडी]
  24. स्वामी रामदेव, योग शाधन एंव योग चिकित्साको रहस्य 
  25. "राष्ट्रसङ्घद्वारा जुन २१ लाई अन्तराष्ट्रिय योगा दिवस घोषणा", अनलाईनखबर, Onlinekhabar, अन्तिम पहुँच १४ जनवरी २०१५, "संयुक्त राष्ट्रसङ्घले जुन २१ तारिखलाई अन्तराष्ट्रिय योगा दिवस घोषणा गरेको छ। प्रस्ताव राख्दा १३० देशले समर्थन गरेका थिए भने १७५ देशको समर्थनमा प्रस्ताव पारित भएको छ।" 
  26. "फेस्टुला र पाइल्समा क्षारसूत्र", कान्तिपुर, Kantipur, अन्तिम पहुँच ८ जनवरी २०१५, "पाइल्स र फेस्टुलाको उपचार अन्तर्गत एलोप्याथिक चिकित्सा पद्घति अपनाएर दुईदेखि पाँचपटकसम्म शल्यक्रिया गराएका अन्य धेरै रोगी पूर्णतः निको भएका छन्।"  वेब्याक मेसिन अभिलेखिकरण २६ जुलाई २०११ मिति
  27. "दक्षिण एसिया र नेपालमा आर्य जातिको झलक", हाँक, Haank, अन्तिम पहुँच १४ जनवरी २०१५, "नेपालमा आर्यमूलका मानिसहरू ऋग्वेदकालभन्दा अगाडिदेखि नै आएर बसोबास गरी वेद, उपनिषद्, स्मृति, दर्शन, योग, आयुर्वेद, कृषि, पशुपालनलगायत विविध प्राविधिक विकासमा योगदान गर्दै आएको स्पष्ट हुन्छ।"  वेब्याक मेसिन अभिलेखिकरण ४ मार्च २०१६ मिति
  28. "आयुर्वेद उपचारमा आकर्षण", कान्तिपुर, Kantipur, अन्तिम पहुँच ८ जनवरी २०१५, "ग्रामीण क्षेत्रका बासिन्दामा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको छ।" [स्थायी मृत कडी]
  29. "२४ करोडको आयुर्वेद शिक्षण अस्पताल", कान्तिपुर, Kantipur, अन्तिम पहुँच ८ जनवरी २०१५, "बेलझुन्डीमा २४ करोड लगानीमा आयुर्वेद शिक्षण अस्पताल निर्माण सुरु भएको छ।"  वेब्याक मेसिन अभिलेखिकरण ८ डिसेम्बर २०१३ मिति
  30. "प्रविधि अभावले आयुर्वेद्ध ओरालो", नागरिक, Nagarik, अन्तिम पहुँच ८ जनवरी २०१५, "वैद्यखानाले आयुर्वेद औषधि उत्पादन र बिरामीको सामान्य उपचारमा करिब चार शताब्दीदेखि काम गर्दै आएको छ।" 
  31. "उपभोक्ताको आकर्षण बढ्दो, उद्योग थपिँदै", कान्तिपुर, Kantipur, अन्तिम पहुँच ८ जनवरी २०१५, "मुलुकमा आयुर्वेदिक औषधिको व्यावसायिक उत्पादनमा लामो समयदेखि सरकारी स्वामित्वको सिंहदरबार वैद्यखाना सञ्चालनमा छ।"  वेब्याक मेसिन अभिलेखिकरण २७ अक्टोबर २०१३ मिति

बाह्य कडीहरू