अर्थशास्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आकार द्वारा संसारमा अर्थशास्त्रको नक्शा[१]

अर्थशास्त्र अर्थ अथवा आर्थिक कारोबार सम्बन्धीको शिक्षा दिने एक विषय (शास्त्र) हो । अर्थशास्त्रको अङ्ग्रेजी समानान्तर शब्द इकोनोमिक्स हो । यो ग्रीक शब्द ओइकोनोमियाबाट बनेको छ । जसको अर्थ हुन्छ– घरेलु प्रबन्ध र व्यवस्थापन गर्नु । तर सन् १७७६ मा यूरोपमा जब यस विषयको जन्म भएको थियो, यस विषयको स्वतन्त्र अस्तित्व र नामकरण समेत भएको थिएन् । वेल्थ अफ् नेशन्स पुस्तकका रचनाकार एडम स्मिथले अर्थशास्त्रलाई राज्यको सम्पत्ति बढाउने तरीका खोजी गर्ने शास्त्र भनेका हुन् । [२] पछि विद्वान्हरूले यस विषयलाई विभिन्न नाम दिने प्रयास गरे । [३] तर पनि अठारौ“ शताब्दीभर यस विषयको नाम राजनीतिक अर्थशास्त्र नै रह्यो । [४] उन्नाइसौँ शताब्दीमा विचारकहरूले के अनुभव गर्न थाले भने राजनीतिक अर्थशास्त्र नामले यस विषयको सम्पूर्ण क्षेत्र समेट्न सक्दैन । यस शास्त्रमा सामाजिक मानिसका आर्थिक सम्बन्ध र त्यसमा भइरहने परिवर्तनहरूको पनि अध्ययन गरिन्छ तर यस्ता कुराहरूको राजनीतिसंग बहुधा कुनै सम्बन्ध हुँदैन । त्यसैले जर्मन अर्थशास्त्रीहरूले यस विषयलाई सामाजिक अर्थशास्त्र भन्नु उचित ठाने ।[५] यसरी वेल्थ अफ् नेशन्सदेखि सोशल इकोनोमिक्ससम्म विविध नामले सम्बोधित गरिएको यस विषयलाई बीसौ शताब्दीमा इकोनोमिक्स अर्थात् अर्थशास्त्र भन्ने प्रचलन भयो । यद्यपि इकोनोमिक्स नामलाई प्रचलन गराउने श्रेय नवशास्त्रीय अर्थशास्त्री प्रोफेसर मार्शललाई जान्छ तर उनी आफैंले भने राजनीतिक अर्थशास्त्र र अर्थशास्त्र दुवैलाई पर्यायवाची मानेका छन् ।[६]

अर्थशास्त्रको शोध प्रस्ताव

शोध अनुसन्धानको प्रारम्भिक कार्य शोध प्रस्ताव प्रस्तुत गर्नु हो । यात्रा सुरु गर्नेले यात्राको संभावित विवरण तयार गरे जस्तै हो शोध प्रस्ताव । यो प्रस्ताव तोकिएको निकायले विधिवत् स्वीकृत गरेपछि मात्र शोध अनुसन्धानको वास्तविक कार्य सुरु हुन्छ । त्यसैले शोधको प्रारम्भिक बिन्दु शोध प्रस्ताव हो भन्न सकिन्छ । त्यसका विभिन्न भागहरू आपसमा अन्तर्सम्बन्धित हुन्छन् । शोध प्रस्ताव तयार गर्दा शोध समस्याको संक्षिप्त परिचय, सम्भावित शोध समस्याको संक्षिप्त कथन, शोधका सम्भावित उद्देश्य, प्राक्कल्पना, पूर्वकार्यको संक्षिप्त समीक्षा, शोध विधि, शोधकार्यको औचित्य वा महत्त्व, शोध सीमाहरु, लागत, र समयावधि उल्लेख गर्न सकिन्छ । हुनत, शैक्षिक शोधमा समयावधि र लागत शीर्षक आवश्यक हुँदैन तर सरकारी, गैर सरकारी अनुसन्धान र लघु अनुसन्धानहरूमा भने यसलाई अनिवार्यतः उल्लेख गर्नु पर्ने प्रावधान हुन्छ ।[७]
यी सबै विषय वस्तुलाई केवल तीन भागमा विभाजन गर्न सकिन्छ[८]

प्रारम्भिक भाग

निम्नलिखित कुराहरू समावेश गर्नु पर्छ

  • शोध शीर्षक,
  • प्रस्तुत गर्नेको नाम
  • प्रस्ताव प्रस्तुत गरेको निकाय
  • मिति
  • संक्षिप्त शब्द सूची,
  • विषय सूची
  • अन्य प्राथमिक कुराहरू

मूल भाग

  • प्रस्तावित शोधको परिचय
  • प्रस्तावित शोध समस्या
  • साहित्यको संक्षिप्त अवलोकन
  • प्रस्तावित शोध विधि,
  • शोध प्रबन्धको सम्भावित रुपरेखा (अध्याय विभाजन),


अन्तिम भाग

सन्दर्भ ग्रन्थ सूची यस भागको महत्त्वपूर्ण सामग्री हो । यस बाहेक परिशिष्ट, अनुक्रमणिका, चित्र वा अन्य सामग्री पनि राख्न सकिन्छ ।

त्रि.वि.वि. अर्थशास्त्र विभागको शोध प्रस्ताव

त्रि.वि.वि. अर्थशास्त्र विभागको शोध प्रस्तावमा निम्नलिखित पांच मुख्य विषय वस्तु स्पष्ट गरिएको हुनु पर्छ[९]

  • शीर्षक छनौट,
  • समस्याको पहिचान,
  • सम्बन्धित साहित्यको समीक्षा,
  • शोध विधि,
  • सन्दर्भ ग्रन्थ

अर्थ शब्दका पर्यायवाची

नेपालीमा भनिने अर्थशास्त्र र अङ्ग्रेजीको इकानोमिक्समा थोरै अन्तर छ । नेपाली विषय अर्थशास्त्र संस्कृत अर्थशास्त्रबाट व्युत्पन्न हो । यस शब्दको पहिलो प्रयोग कौटल्यले गरेका हुन् । अमरकोशमा अर्थ शब्दका १३ वटा पर्यायवाची दिइएको छ– द्रव्य (बहुमूल्य पदार्थ), वित्त (आय स्रोत), स्वापतेय (व्यक्तिगत धन), रिक्थ (उत्तराधिकारमा पाएको धन), ऋक्थ (प्रभाव), धन (आर्थिक वस्तु), वसु (मूल्यवान्, असल), हिरण्य (सुन र सुनले बनेको), द्रविण (बल, सार), द्युम्न (आभा, कीर्ति, उत्साह), अर्थ (तात्पर्य), रा (शान, शौकत), विभव (सम्पन्नता) । [१०] तर आधुनिक अर्थशास्त्र विषय यति विस्तृत छैन । यो निम्नलिखित चार कुरामा आधारित छ–

  1. धन, सम्पत्ति, ऐश्वर्य,
  2. विनिमयको माध्यम,
  3. मूल्यका रूपमा दिइने मुद्रा (जस्तै रुपैया“, डलर, पौण्ड, युरो इत्यादि) वा सुन, चाँदी आदि,
  4. मूल्य निर्धारित द्रव्य ।

संक्षेपमा, अर्थशास्त्र एक सामाजिक विज्ञान हो जस अन्तर्गत वस्तु तथा सेवाहरूको उत्पादन, वितरण तथा उपभोग, देशको आर्थिक विकास र मानिसको आर्थिक कल्याणबारेको अध्ययन गरिन्छ। हुनत, अर्थशास्त्र एक आधुनिक विषयको रूपमा चिनिन्छ, तर कौटिल्य, शुक्र आदि प्राच्य विचारकहरूले अर्थशास्त्र विषयलाई परिभाषित गरेका छन् । यसबाट के स्पष्ट हुन्छ भने यो विषय प्राचीनकालमा पनि विकसित थियो तर त्यसको स्वरुप भने प्राचीनकालमा केही फरक थियो । प्राचीन चिन्तकहरूमध्ये अरिस्टोटलको समकालीन विचारक कौटिल्यले अर्थशास्त्र नाम गरेको विशाल ग्रन्थ नै रचना गरेका छन् । उनले आफ्नो ग्रन्थमा अर्थशास्त्रका दुई जना प्राचीन आचार्य शुक्र र बृहस्पतिको उल्लेख गरेका छन् ।[११][१२]

अर्थशास्त्रको परिभाषा–कौटिलीय

कौटिलीय अर्थशास्त्रमा ‘मनुष्याणां वृत्तिरर्थः भनेर मानिसहरूको वृत्तिलाई पनि अर्थ भनिएको छ । कौटिलीय परिभाषामा प्रयोग गरिएको शब्द पालनले केवल रक्षा भन्ने अर्थ व्यक्त गर्दैन यसको अर्थ होे सतत वृद्धि । यसका साथै ‘मनुष्यवती भूमिरित्यर्थः भनेर श्रमको उत्पादकतालाई आर्थिक सम्पन्नताको बलियो आधार मानिएको छ । श्रमको उत्पादकतामा वृद्धि हुनु भनेको एकातिर उत्पादनको स्तरमा वृद्धि हुनु हो भने अर्कोतिर स्वयं श्रमिकको आयमा पनि वृद्धि हुनु हो ।[१३][१४]

कौटिलीय अर्थशास्त्रमा प्रयोग गरिएको ‘अर्थशास्त्र शब्दलाई फरक फरक अनुवाद गरेको पाइन्छ । डी डी कोशाम्बीले साइन्स अफ् मेटेरियल गेन [१५], ए एल बैशमले अ ट्रीटाइज अन् पोलिटी [१६], जी पी सिंहले अ साइन्स अफ् पोलिटि [१७], रङ्गराजनले साइन्स अफ् वेल्थ एन्ड वेलफेयर, रोजर बोशेले साइन्स अफ् पोलिटिकल इकोनोमी, हेनरिक जिम्मरले यूनिवर्सल लज् अन् पोलिटिक्स, इकोनोमिक्स, डिप्लोमेसी एन्ड वार [१८] अनुवाद गरेका छन् । आर पी काङ्लेले साइन्स अफ् पोलिटिक्स [१९] तथा अर्थशास्त्री अमत्र्य सेनले इन्स्ट्रक्शन्स अन् मेटेरियल प्रोस्पेरिटी भनी अनुवाद गरेका छन् ।[२०] यस सम्बन्धमा अर्थशास्त्रीहरू सेन र बसुले के भनेका छन् भने अंग्रेजी इकोनोमिक्सको संस्कृत रुपान्तर अर्थशास्त्र हुनसक्छ तर संस्कृत अर्थशास्त्रको अंग्रेजी रुपान्तर इकोनोमिक्स हुन सक्दैन किनभने संस्कृत अर्थशास्त्र शब्दको क्षेत्र, विषय वस्तु र इतिहास यूरोपियन अर्थशास्त्रीहरूको परिकल्पनाभन्दा निकै विस्तृत र प्राचीन छ ।[२१] अर्थशास्त्री बोकाडेका अनुसार, आर्थिक विचारधाराको इतिहासमा कौटिलीय र शुक्रकृत परिभाषा सबभन्दा पुराना र प्रथम दुइ परिभाषाहरू हुन् । [२२] कौटिलीय परिभाषा अर्थशास्त्रको मौलिक स्वरूपमा केही फरक भए तापनि त्यस बेला दिइएका अर्थशास्त्रका जुन परिभाषा छन् तिनीहरु आधुनिक अर्थशास्त्र विषय अनुरुप छन् । कौटिल्यले तन्त्रयुक्ति अध्यायमा अर्थशास्त्रलाई यसप्रकार परिभाषित गरेका छन्– मनुष्याणां वृत्तिरर्थः। मनुष्यवती भूमिरित्यर्थः । तस्याः लाभपालनोपायः शास्त्रमर्थशास्त्रमिति ।

अर्थ– मानिसहरूको वृत्ति–जीविकालाई अर्थ भनिन्छ । मानिसहरू भएको भूमि पनि अर्थ हो । यस्तो वृत्तिको आधार भूमिलाई प्राप्त गर्ने र त्यसको पालनका उपायहरू निरुपण गर्ने शास्त्र नै अर्थशास्त्र हो । [२३]

यस परिभाषाका मुख्य विशेषता यस प्रकार छन्–

  1. मानवीय जीविका नै आर्थिक क्रियाकलाप हो ।
  2. कृषिका लागि प्रयोग गरिने तथा मानिसहरू बसोबास गरिएको भूमि व्यक्ति र राज्यका आयको स्रोत हो ।
  3. अर्थशास्त्रमा विभिन्न स्रोतबाट प्रात गर्ने प्रतिफलको अध्ययन गरिन्छ ।
  4. यसका साथै त्यसका वृद्धिका उपायहरू पनि व्याख्या गरिन्छ ।[२४]

अर्थशास्त्रको परिभाषा– शुक्र

शुक्रनीति ग्रन्थमा अर्थशास्त्र विषयलाई यस प्रकार परिभाषित गरिएको छ श्रुतिस्मृत्यविरोधेन राजवृत्तादिशासनम् ।

सुयुक्त्यार्थार्जनं यत्र ह्यर्थशास्त्रं तदुच्यते ।।

अर्थ– वेदस्मृतिले बताएका नियमहरू अन्तर्गत रही राजकाजको सञ्चालन र उत्कृष्ट विधिले धन आर्जन गर्ने कुरा जुन शास्त्रमा अध्ययन गरिन्छ त्यो नै अर्थशास्त्र हो । [२५]

यस परिभाषाका मुख्य विशेषता यस प्रकार छन् :-

  1. अर्थशास्त्र मानवीय व्यवहारको अध्ययन हो ।
  2. परम्परागत ज्ञान (वेद) तथा प्रचलित कानुन (स्मृति) मा विरोध नपर्ने गरी आर्थिक क्रियाकलाप सम्पन्न गर्नु पर्छ ।
  3. अर्थशास्त्र राजकीय प्रशासनसंग पनि सम्बन्धित छ ।
  4. आदर्शतम स्तरको उत्पादन प्राप्त हुने गरी क्रियाकलाप सम्पन्न गर्नु पर्छ ।

यस प्रकार शुक्रको परिभाषाले युक्तिपूर्वक आदर्शतम उत्पादन गर्न जोड दिएको छ ।

अर्थशास्त्रका आधुनिक परिभाषाहरू

अर्थशास्त्र विषयका परिभााषाहरूलाई सर्वप्रथम फ्रेजरले वर्गीकरण गरेका हुन् ।[२६] रबिन्सले परिभाषाको आधुनिकीकरण गरे पछि परिभाषाहरूलाई तीन भागमा विभाजन गर्ने प्रचलन सुरु भयो– १. धनसम्बन्धी परिभाषा– एडम स्मिथ र उनका समर्थक २. भौतिक कल्याण सम्बन्धी परिभाषा– अलफ्रेड मार्शल र उनका समर्थक ३. दुर्लभता सम्बन्धी परिभाषा– लियोनल चाल्र्स रबिन्स र उनका समर्थक

१.धनसम्बन्धी परिभाषा– एडम स्मिथ र उनका समर्थक

एडम स्मिथ (सन् १७२३–१७९०) र उनका अनुयायीहरु- जे बी से, एफ ए वाकर, जे एस मिल इत्यादिले अर्थशास्त्रलाई धनको विज्ञान मानेका छन् । स्मिथका प्रसिद्ध अनुयायी एवं आफ्नो युगका एक महान् शास्त्रीय (क्लासीकल) अर्थशास्त्री जे एस मिलले अर्थशास्त्रलाई यसरी परिभाषित गरेका छन्– अर्थशास्त्रले धनको प्रकृति तथा त्यसको उत्पादन र वितरणका नियमहरू, जसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ती सबै कारणहरूका प्रभावहरू पनि समावेश छ । यसबाट मनुष्य जाति वा कुनै मानव समाजको समृद्धिमा वृद्धि वा कमीको अध्ययन गर्दछ ।

२.भौतिक कल्याण सम्बन्धी परिभाषा– मार्शल र उनका समर्थक

मार्शल(सन् १८४२–१९२४)को परिभाषालाई आधुनिक परिभाषा भनिन्छ । मार्शलले अर्थशास्त्रलाई यसरी परिभाषित गरेका छन्– ‘राजनीतिक अर्थव्यवस्था वा अर्थशास्त्र सामान्य जीवनका व्यावसायिक क्रियाकलापको अध्ययन हो । यसले व्यक्ति र मानव समाजका क्रियाकलापको त्यस भागको विश्लेषण गर्दछ, जुन भौतिक कल्याणका साधनको प्राप्ति र त्यसको उपयोगस“ग घनिष्ठरूपमा सम्बद्ध छ । [२७] पीगू, क्यानन, पेन्सन इत्यादिले यस परिभाषाको समर्थन गरेका छन् । आज पनि आदर्शवादी अर्थशास्त्रका समर्थकहरूले यस परिभाषालाई उचित ठान्दछन् । मार्शलको परिभाषाका विशेषता यस प्रकार छन्–

  1. अर्थशास्त्र सामाजिक व्यक्तिका क्रियाकलापको अध्ययन हो ।
  2. मानिसको सामान्य क्रियाकलाप नै जीविकोपार्जनको आधार हो ।
  3. यो भौतिक कल्याणका साधनसँग सम्बन्धित छ ।

३.दुर्लभता सम्बन्धी परिभाषा– रबिन्स र उनका समर्थक

चार्ल्स लियोनेल रबिन्स (सन् १८९८–१९८४) ले दिएको परिभाषालाई अर्थशास्त्रको आधुनिक परिभाषा मानिन्छ । यस अनुसार– अर्थशास्त्र त्यो विज्ञान हो जसमा अनन्त आवश्यकता र वैकल्पिक प्रयोग हुने दुर्लभ साधन बीच मानवीय व्यवहारको अध्ययन गरिन्छ । [२८] मिल्टन फ्राइडम्यान, स्टोनियर, हेग, स्टिगलर आदि वास्तविक अर्थशास्त्रका समर्थक अनेक आधुनिक अर्थशास्त्रीहरूले रबिनसको परिभाषालाई समर्थन गरेका छन् । रबिन्सको परिभाषाका विशेषता यस प्रकार छन्–

  1. अर्थशास्त्रमा मानवीय व्यवहारको अध्ययन गरिन्छ ।
  2. यो असीमित आवश्यकता र सीमित साध्यका बीचको सम्बन्धको अध्ययन हो ।
  3. यसमा दुर्लभ साधनको किफायतपूर्ण उपयोगको अध्ययन गरिन्छ ।

अर्थशास्त्रको क्षेत्र विस्तार

आधुनिक समयमा अर्थशास्त्रीहरूले परिभाषा सम्बन्धी विवाद गर्दैनन् । किनभने यस विषयको विषयवस्तु ज्यादै विस्तृत भइसकेको छ । नयां नयां क्षेत्रहरूको प्रवेशले गर्दा आज अर्थशास्त्रलाई परिभाषित गर्नु अनावश्यक मानिन्छ । रबिन्सलाई परिभाषाको अन्तिम विवादको रूपमा स्याम्युएल्सन (सन् १९१५–२००९) ले पनि स्वीकार गरेका छन् । अहिले अर्थशास्त्र, शिक्षा, चिकित्सा, प्राकृतिक विज्ञान, इञ्जिनीयरिङ्ग लगायतका विषयहरूमा समेत अध्ययन अध्यापन गरिन्छ ।[२९]

अर्थशास्त्रका विषयवस्तुहरू

सामान्यतया अर्थशात्रका मुख्य विषयवस्तुहरू निम्न प्रकार रहेकाछन् ।

उत्पादन
अर्थशास्त्रले कुनै पनि वस्तुको उत्पादन कसरी गर्ने, उत्पादन गर्नमा श्रम र पुंजीको कसरी लगानी गर्ने, उत्पादन क्षमतामा ह्रास र वृद्धी कसरी हुनसक्छ, भन्ने विषयमा राम्रो अध्यायन गराउँछ यसैले उत्पादनलाई अर्थशास्त्रको मुख्य विषयवस्तु मानिएको छ ।
उपभोग
अर्थशास्त्रले श्रम र पुंजीको लगानीबाट उत्पादन गरिएको वस्तुलाई उपभोग गर्ने तरिका, उपभोगका आवस्यकता, आवस्यकताका प्रकार, आवस्यकताका नियम, उपभोग गर्दा देखा पर्ने उपयोगिताका नियमहरू, आदीको बारेमा गहिरो अध्यायन गराउँछ । यसैले उपभोगलाई पनि अर्थशास्त्रको मुख्य विषयवस्तु मानिएको छ ।
विनिमय
अर्थशास्त्रले हरेक वस्तुको विनिमय दर, विनमय तरिका, मुद्रा विनिमय, बजार व्यवस्थापन, मुल्य निर्धारण, आदि विनिमय कार्यहरूको विषयमा गहन अध्यायन गराउँछ । यसैले विनिमय अर्थशास्त्रको अर्को मुख्य विषय वस्तु हो ।
वितरण
अर्थशास्त्रले वस्तुको विनिमयचका साथ साथ वितरण तरिका, वितरण हुने स्रोत, वितरण गरिने वस्तु, वितरण गर्ने व्याक्ति वस्तु आदिको बारेमा राम्रो जानकरी गराउँछ ।
राजस्व
अर्थशास्त्रले राज्वस्व संकलनका तरिकाहरू, राज्वस्व उपयोग, राज्वस्वको लगानी आदि राजस्व सम्बन्धी सम्पूर्ण जानकारीहरूको गहिरो अध्यायन गराउने भएकाले राजस्व पनि अर्थशात्रका विषत वस्तु अन्तर्गत पर्दछ ।
आर्थिक विकास
अर्थशास्त्रले आर्थिक विकासमा उत्पन्न हुने समस्या, आर्थिक विकासका पाटाहरू आदि आर्थिक विकासका बारेमा गहिरो जानकारी गराउँछ । तसर्थ आर्थिक विकास अर्थशास्त्रको एक अर्को विषयवस्तु हो ।

अर्थशास्त्रका प्रकार

आर्थिक विचारको इतिहास अध्ययन गर्नेहरूले यस विषयलाई पूर्वीय अर्थशास्त्र, पाश्चात्य अर्थशास्त्र, वणिककादी अर्थशास्त्र, प्रकृतिवादी अर्थशास्त्र, क्लासिकल शास्त्रीय अर्थशास्त्र, नवक्लासिकल अर्थशास्त्र, उपयोगितावादी अर्थशास्त्र, गणितीय अर्थशास्त्र, संस्थानिक अर्थशास्त्र, समाजवादी अर्थशास्त्र आदि अनेक भागमा विभाजन गर्छन् । तर प्रसिद्ध अर्थशास्त्री रैगनार फ्रिश (सन् १९६९) ले नै सर्वप्रथम यस विषयलाई माइक्रो र म्याक्रो दुई भागमा विभाजन गरेका हुन् भौतिक विज्ञानको यो शब्दावली अर्थशास्त्रमा ज्यादै लोकप्रिय बनेको छ–

  1. माइक्रो अर्थशास्त्र,
  2. म्याक्रो अर्थशास्त्र

माइक्रो अर्थशास्त्र

माइक्रो अर्थशास्त्रलाई व्यष्टि अर्थशास्त्र वा सूक्ष्म अर्थशास्त्र भनिन्छ । व्यष्टिको अर्थ हुन्छ सबभन्दा सानो पूर्ण एकाई । त्यसर्थ जुन अर्थशास्त्रमा व्यष्टि आर्थिक चलराशि जस्तै व्यक्तिगत उपभोक्ताको व्यवहार, व्यक्तिगत फर्मको व्यवहार र यससंग सम्बन्धित समस्याहरूको अध्ययन गरिन्छ । यसमा वस्तु तथा साधनहरूको मूल्य निर्धारण गरिने भएकोले यसलाई मूल्य सिद्धान्त वा फर्मको सिद्धान्त पनि भनिन्छ ।

माइक्रो अर्थशास्त्रको विषय वस्तु

१. वस्तु मूल्य निर्धारण

२. साधनको मूल्य निर्धारण

३. आर्थिक कल्याण

म्याक्रो अर्थशास्त्र

म्याक्रो अर्थशास्त्रलाई समष्टि अर्थशास्त्र वा वृहद अर्थशास्त्र भनिन्छ । समष्टिको अर्थ हुन्छ व्यष्टि संरचनाहरूको योगको रूपमा निर्मित एक वृहद संरचना । त्यसर्थ म्याक्रो अर्थशास्त्रमा समष्टि चलराशिहरू तथा तिनीहरुका व्यवहारको अध्ययन गरिन्छ । समष्टि चलराशिमा अर्थव्यवस्थाको कुल माग, कुल पूर्ति, कुल उपभोग, कुल लगानी, सरकारी खर्च, आयात र निर्यातसंग सम्बन्धित विषयहरू पर्दछन् । समष्टि अर्थशास्त्रमा मुख्यतः कुनै देशको आय, उतपदन वा रोजगारको निर्धारणको बारेमा अध्ययन गरिने भएकोल यसलाई आय सिद्धान्त वा रोजगार सिद्धान्त पनि भनिन्छ । म्याक्रो अर्थशास्त्रको विषय वस्तु

१. आय र रोजगार निर्धारण

२. मूल्य स्तरको सिद्धान्त

३. आर्थिक वृद्धिको सिद्धान्त

ग्रन्थ सूची

  1. स्मिथ, एडम,सन् १९३७,एन् इन्क्वायरी इन्टु द नेचर एन्ड कजेज अफ् द वेल्थ अफ् नेशन्स, क्याननन्स एडिशन, न्युयोर्क : मोडर्न लाइब्रेरी ।
  2. सेठ, एम एल, सन् १९९२,प्रिन्सिपल्स अफ् इकोनोमिक्स, आगरा लक्ष्मी नारायण अग्रवाल।
  3. शर्मा, गोपाल सन् १९६८, सामाजिक विज्ञानों की पारिभाषिक शब्दावलीका समीक्षात्मक अध्ययन, दिल्ली : एस चन्द एण्ड कम्पनी ।
  4. म्याकमिलन,सन् १९५४, इन्साइक्लोपीडिया अफ् द सोशल साइन्सेज, न्युयोर्क म्याकमिलन कम्पनी ।
  5. मार्शल, अल्फ्रेड, १९४९, प्रिन्सिपल्स अफ् इकोनोमिक्स, लन्दन: म्याकमिलन।
  6. अमरकोश, सं. पं. कुलचन्द गौतम, वाराणसी : पं. बालकृष्णचार्य, यशोदा पुस्तकालय, मिति ?
  7. ज्ञवाली, बाबु राम, २०१२, पूर्वीय अर्थशास्त्र – प्राचीनतम तथ्य, नवीनतम जानकारी, रुपन्देही,नेपाल: ज्ञानज्योति प्रकाशन, ISBN 978-9937-2-5285
  8. वैश्य, एम सी, १९९३, आर्थिक विचारोंका इतिहास, आगरा: विनोद प्रकाशन मन्दिर ।
  9. जायसवाल, के पी, १९७८, हिन्दु पोलिटी (फिफ्थ एडिशन ed.), बेंगलोर: द बेंगलोर प्रिटिंग एन्ड पब्लिशिंग कम्पनी लि.।
  10. शुक्रनीति,सन् २०००, सम्पा.उमेशपुरी ज्ञानेश्वर, हरिद्वार : रणधीर प्रकाशन ।
  11. कोशाम्बी, डी डी,१९६५,द कल्चर एन्ड सिभिलाइजेशन अफ् एन्शेन्ट इन्डिया, लन्दन राउटेल्ज एन्ड केगन पाल ।
  12. बैशम, ए एल,२००४, द वन्डर द्याट वाज इन्डिया, लन्डन, पिकाडोर, ISBN 0-330-43909-X
  13. सिंह, जी पी, सन् १९९३, पोलिटिकल थट इन एन्शेंट इन्डिया,न्यु देल्ही डी के प्रिन्टवुड ।
  14. जिम्मर, हेनरिक, सन् १९६७, फिलोसोफीज अफ् इन्डिया, प्रिन्स्टन न्युजर्सी ।
  15. द कौटिलीय अर्थशास्त्र,सन् २००६, भो.१-३, अनु. आर पी काङ्ले, बनारस : मोतीलाल बनारसी दास ।
  16. सेन, आर के एन्ड आर एल बसु,सन् २००६, इकोनोमिक्स इन् अर्थशास्त्र, न्यु दिल्ली : दीप एन्ड दीप ।
  17. बोकाडे, एम जी, सन् २००९, हिन्दु इकानोमिक्स्, एम जी बोकाडे फाउन्डेशन, पुणे ।
  18. कौटिल्यको अर्थशास्त्र (कौटिलीये अर्थशास्त्रे), वि.सं.२०२४,अनु. केशवराज अर्याल, सं.पं.सोमनाथ शर्मा, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
  19. कौटिलीय अर्थशास्त्रम्,सन् १९६७, अनु.वाचस्पति गैरोला, वाराणसी : चौखम्बा विद्याभवन, सन् २००९ ।
  20. कौटिलीयम् अर्थशास्त्रम् खण्ड १–३, सं. रघुनाथ सिंह, वाराणसी : चौखम्बा संस्कृत सीरीज, ।
  21. ज्ञवाली, बाबु राम, सन् २०१२, इकोनोमिक्स अफ् कौटिल्य, शुक्र एन्ड बृहस्पति, रुपन्देही : ज्ञानज्योति प्रकाशन, ISBN 978-9937-2-7363 ।
  22. झिंगन, एम एल (१९७५), उच्चतर व्यष्टिगत आर्थिक सिद्धान्त, भारत: विकास पब्लिशिंग हाउस ।
  23. अलफ्रेड मार्शल, प्रिन्सिपल्स अफ् इकोनोमिक्स, एट्थ एडिशन,लन्दन : म्याकमिलन, सन् १८९०।
  24. लियोनेल रबिन्स, नेचर एन्ड सिगनिफिकेन्स अफ् इकोनोमिक साइन्स, लन्दनः म्याकमिलन एन्ड कम्पनी, सन् १९४५ ।

सन्दर्भ सामग्रीहरू

  1. "GDP (Official Exchange Rate)", World Bank, अन्तिम पहुँच अगस्ट २४, २०१५ 
  2. एडम स्मिथ, एन् इन्क्वायरी इन्टु द नेचर एन्ड कजेज अफ् द वेल्थ अफ् नेशन्स, क्याननन्स एडिशन (न्युयोर्क : मोडर्न लाइब्रेरी, सन् १९३७
  3. एम एल सेठ, प्रिन्सिपल्स अफ् इकोनोमिक्स, (आगरा लक्ष्मी नारायण अग्रवाल, सन् १९९२), पृ. १
  4. गोपाल शर्मा, सामाजिक विज्ञानों की पारिभाषिक शब्दावलीका समीक्षात्मक अध्ययन, (दिल्ली : एस चन्द एण्ड कम्पनी, सन् १९६८), पृ. २२०
  5. इन्साइक्लोपीडिया अफ् द सोशल साइन्सेज, (न्युयोर्क म्याकमिलन कम्पनी, सन् १९५४
  6. मार्शल, अल्फ्रेड (१९४९), प्रिन्सिपल्स अफ् इकोनोमिक्स, लन्दन: म्याकमिलन, पृ: १। 
  7. कुमार, रंजित, सन् २००५, रिसर्च मेथोडोलोजी– अ स्टेप बाइ स्टेप गाइड फर बिगिनर्स, लन्दन, न्यु दिल्ली : सेज पब्लिकेशन्स लिमिटेड ।
  8. राय, पारसनाथ, सन् १९९१, अनुसन्धान परिचय, आगरा : लक्ष्मीनारायण अग्रवाल ।
  9. opic Selection, Matter Collection and Literature Review in a Scientific Research, Butwal Multiple Campus, Butwal, Mrch 12, 2006
  10. अमरकोश, द्वितीय काण्ड, पंक्ति १८८६–८७
  11. ज्ञवाली, बाबु राम (२०१२), पूर्वीय अर्थशास्त्र – प्राचीनतम तथ्य, नवीनतम जानकारी, रुपन्देही,नेपाल: ज्ञानज्योति प्रकाशन, पृ: १-१३, आइएसबिएन 978-9937-2-5285 |isbn= मान जाँच (सहायता) 
  12. वैश्य, एम सी (१९९३), आर्थिक विचारोंका इतिहास, आगरा: विनोद प्रकाशन मन्दिर, पृ: ५४६। 
  13. जायसवाल, के पी (१९७८), हिन्दु पोलिटी (फिफ्थ एडिशन संस्करण), बेंगलोर: द बेंगलोर प्रिटिंग एन्ड पब्लिशिंग कम्पनी लि.। 
  14. शुक्रनीति, सम्पा.उमेशपुरी ज्ञानेश्वर, (हरिद्वार : रणधीर प्रकाशन, सन् २०००), ४.३७
  15. डी डी कोशाम्बी, द कल्चर एन्ड सिभिलाइजेशन अफ् एन्शेन्ट इन्डिया, (लन्दन राउटेल्ज एन्ड केगन पाल, १९६५) पृ. १४
  16. ए एल बैशम, द वन्डर द्याट वाज इन्डिया,
  17. जी पी सिंह, पोलिटिकल थट इन एन्शेंट इन्डिया (न्यु देल्ही डी के प्रिन्टवुड, सन् १९९३
  18. हेनरिक जिम्मर, फिलोसोफीज अफ् इन्डिया, (प्रिन्स्टन न्युजर्सी : सन् १९६७), पृ. ३६
  19. द कौटिलीय अर्थशास्त्र–३, पूर्ववत्, पृ. ३
  20. विकीपीडिया,
  21. आर के सेन एन्ड आर एल बसु, इकोनोमिक्स इन् अर्थशास्त्र, ( न्यु दिल्ली : दीप एन्ड दीप, सन् २००६), पृ. १
  22. बोकाडे, एम जी, सन् २००९, हिन्दु इकानोमिक्स्, एम जी बोकाडे फाउन्डेशन, पुणे, पृ. ९०
  23. कौटलीय अर्थशास्त्र, १५.१.१८०
  24. बाबु राम ज्ञवाली, इकोनोमिक्स अफ् कौटिल्य, शुक्र एन्ड बृहस्पति, (रुपन्देही : ज्ञानज्योति प्रकाशन, सन् २०१२), पृ. १८
  25. शुक्रनीति, ४.३.५६
  26. झिंगन, एम एल (१९७५), उच्चतर व्यष्टिगत आर्थिक सिद्धान्त, भारत: विकास पब्लिशिंग हाउस। 
  27. अलफ्रेड मार्शल, प्रिन्सिपल्स अफ् इकोनोमिक्स, एट्थ एडिशन (लन्दन : म्याकमिलन, सन् १८९०) पृ. १
  28. लियोनेल रबिन्स, नेचर एन्ड सिगनिफिकेन्स अफ् इकोनोमिक साइन्स, (लन्दनः म्याकमिलन एन्ड कम्पनी, सन् १९४५), पृ. १६
  29. Micro Economy

यो पनि हेर्नुहोस्

  • अर्याल, मदन प्रसाद, विदुर, चाणक्य र भर्तृहरिका नीतिहरू, काठमाडौँ : रमादेवी अर्याल, वि.सं.२०६३ ।
  • उबाना, नरेन्द्रजी, कौटल्यकी अनूठी नीतिया“, कल्याण, नीतिसार अङ्क, गोरखपुर : गीताप्रेस, वि.सं २०५९ ।
  • कामन्दकीय नीतिसार, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, वि.सं.२०२९ ।
  • चाणक्य नीति दर्पण, (अनु.) तुलसीराम आचार्य, वाराणसी : दुर्गा साहित्य भण्डार, नेपाली खपडा, मिति ? ।
  • जायसवाल, के पी, हिन्दु पोलिटी, (फिफ्थ एडिशन), बेंगलोर : द बेंगलोर प्रिन्टिंग एन्ड पब्लिशिंग कम्पनी लि. सन् १९७८ ।

बाह्य कडीहरू

  • Marshall, Alfred
  • Robbins, Lionel
  • Boeche, Roger