चाणक्य

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
चाणक्य
चाणक्य
जन्म अ. ई पू ३७०
नखुलेको, सम्भवत पाटलिपुत्र, तक्षशिला वा दक्षिण भारत
मृत्यु अ. ई पू २८३
पाटलिपुत्र
वासस्थान पाटलिपुत्र
अन्य नाम कौटिल्य, विष्णुगुप्त
अल्मा मेटर तक्षशिला
पेशा महान सम्राट चन्द्रगुप्त मौर्यका शिक्षक तथा सल्लाहकार
चिनारीको कारण मौर्य साम्राज्यको स्थापना
प्रशिद्ध कार्य अर्थशास्त्र (authorship disputed), चाणक्य नीति
धर्म जैन[१]

चाणक्य वा कौटिल्य (वा कौटल्य) (लगभग ई पू ३७०–२८३)[२] तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए। उनले नदवंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए। उनी राजनीतिकूटनीति का साक्षात् मूर्ति थिए। उनको अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिको महान ग्रन्थ छ। अर्थशास्त्र मौर्यकालीन समाजको दर्पण मानिन्छ। चाणक्य राजसी ठाट-बाट भन्दा टाढा एक सानो कुटिमा रहन्थे। उनको नाममा एक टेलिश्रृङ्खला [३]पनि बनेको थियो।

राजाको निर्माता

चाणक्यले तक्षशिला विश्वविद्यालयमा वेदहरूको गहन अध्ययन गरे। दुनियाँका सबै भन्दा पुराना विश्वविद्यालय, तक्षशिला र नालन्दा भारतीय उपमहाद्वीपमा थिए, ५०० देखि ४०० वर्ष ईसा पूर्व अघि तक्षशिला एक सुस्थापित शिक्षण संस्थान थियो । पाणिनीले संस्कृत व्याकरणको रचना यहीं गरेका थिए। चाणक्य पनि त्यस पछि यहाँ नीतिशास्त्रको व्याख्याता भए र उनी व्यवहारिक उदाहरणहरू देखि पढाउथे। यूनानी मान्छेको तक्षशिलामा लडाई गरेका कारणले त्यहाँ एक राजनैतिक उथल-पुथल मच्चियो र चाणक्यलाई मगधमा आएर बस्नु पर्‍यो। उनलाई नि:सन्देह एक राजाको निर्माताको रूपमा अधिक मानिन्छ। चंद्रगुप्त मौर्य विशेष रूपले उनको सल्लाह मान्थे। शत्रुहरूको कमजोरीलाई चिनेर उसलाई आफ्नो काममा लाउने विशिष्ट प्रतिभाको भएका चाणक्य संधै आफ्नो शत्रुहरू माथि हावी रहे। उनले तीन पुस्तकहरूको रचना गरे- ‘अर्थशास्त्र‘, ‘नीतिशास्त्र' तथा ‘चाणक्य नीति[४]

कौटिलीय अर्थशास्त्र

अर्थशास्त्र ग्रन्थका रचयितालाई कौटल्य कौटिल्य, विष्णुगुप्त, चाणक्य आदि विभिन्न नामले उल्लेख गरिएको पाइन्छ । तर स्वयं रचनाकारले आफ्नो नाम विष्णुगुप्त बताएका छन् । आचार्यको जीवनीकारहरूका अनुसार, नन्दबाट अपमानित भएका र नन्द वंश समाप्त पार्ने शपथ लिएका आचार्य विष्णुगुप्तले चन्द्रगुप्त मौर्यलाई शिष्य बनाई एउटा संगठन खडा गरे । आफूले यो महान कार्य गरेको उल्लेख उनले यसरी गरेका छन्–

येन शास्त्रं च शस्त्रं च नन्द राजगता च भूः ।

अमर्षेणेद्धृत्यांन्याशु तेन शास्त्रमिदं कृतम् ।

दृष्ट्वा विप्रतिपत्तिं बहुधा शास्त्रेषु भाष्यकारणाम् ।

स्वयमेवविष्णुगुप्तश्चकार सूत्रं च भाष्यं च ।।

(जसले असह्य भएर शस्त्र, शास्त्र, र नन्दको हातमा परेको भूमि (राज्य व्यवस्था) उद्धार गर्यो, उही चाणक्य विष्णुगुप्तद्वारा विभिन्न शास्त्रहरुका मतभेदहरु अध्ययन गरेर यो शास्त्र रचना गरिएको हो ।)[५] चन्द्रगुप्त मौर्य राजा भएपछि एक विशाल र बलियो साम्राज्य स्थापना भयो जसको राजधानी पाटलिपुत्र थियो । यस राज्य विस्तारलाई छोरा बिन्दुसार र नाति सम्राट अशोकले निरन्तरता दिएका हुन् । लगातार तीन पुस्ता (३००–१८० वि.पू.) सम्म निष्कण्टक सञ्चालित रहेको यो विशाल साम्राज्य कौटिलीय अर्थशास्त्रका नीतिहरूको जगमा स्थापित भएको थियो भन्नुमा अत्युक्ति हुने छैन । यद्यपि अटोस्टीन जोली, विन्टरविट्ज, कीथ आदि केही विद्वानहरुले यसको प्राचीनतामा शंका गर्दै कौटिल्य तथा अर्थशास्त्र दुवै वास्तविक होइनन् र कुनै काल्पनिक रचनाकारले पा“चौ“ शताब्दीमा रचना गरेको बताउ“छन् । तर के पी जायसवाल, रुद्रपत्तनम् श्यामशास्त्री, गणपति शास्त्री, फ्लीट, स्मिथ, र अमत्र्य सेन, सोमनाथ शर्मा, नयराज पन्त आदि विचारकहरूले प्रमाणपूर्वक के भनेका छन् भने कौटिल्यको अस्तित्व थियो त्यसैले आलोचकहरूका तर्कहरू महत्त्वहीन छन् । त्यसैले आधुनिक समयमा विद्वान्हरुले कौटिल्यको ऐतिहासिकता असंदिग्ध मान्दछन् । [६]

ग्रन्थको पुनरुद्धार एवं अनुवाद

दक्षिण भारतको एक ब्राह्मणले वि.सं. १९५९ मा भट्टस्वामीका टीका सहितको एक हस्तलिखित ग्रन्थ मैसूर राज्यको ओरिएन्टल लाइब्रेरीका अध्यक्ष श्याम शास्त्रीलाई बुझाएको थियो । जसले मैसूरका राजा बोडियारको सहयोगले यसको शुद्धता साथ सम्पादन, अंग्रेजी अनुवाद र प्रकाशन गरे । यस पछि गणपतिशास्त्री, काङ्ले, गैरोला, रङ्गराजनले पुनः सम्पादन, अनुवाद र विश्लेषण गरे । जर्मन, इटालियन र अन्य यूरोपेली भाषामा कौटिलीय अर्थशास्त्रको अनुवाद प्रकाशित भयो । यसरी लगभग दुइ हजार वर्ष अघि रचना गरी बीचमा हराएको एक महŒवपूर्ण ग्रन्थ सार्वजनिक जानकारीमा आयो । यी अनुवादहरूले प्राचीन हिन्दु संस्कृतिमा अर्थशास्त्र, राजनीतिशास्त्र, कूटनीति, युद्धकला, र सैन्य संचालनका क्षेत्रमा गरिएको मौलिक, व्यावहारिक, र वस्तुगत चिन्तनबारे विश्वलाई जानकारी भयो । कौटिलीय अर्थशास्त्रको पहिलो पूर्ण नेपाली अनुवाद भने वि.सं. २०२४ सालमा नेप्रप्र (नेराप्रप्र) बाट प्रकाशित भएको हो । यसमा लगभग ९०० पृष्ठ छन् । यसका अनुवादक केशवराज अर्याल र सम्पादक सोमनाथ शर्मा हुन् । यसको प्रशंसा बालकृष्ण समले पनि गरेका छन् ।[७] कौटिलीय अर्थशास्त्र १५ खण्डमा विभाजित छ । जसलाई अधिकरण नाम दिइएको छ । अधिकरणहरू अनेक अध्याय र प्रकरणमा विभाजित छन् । यस ग्रन्थको विषय वस्तु संक्षेपमा यस प्रकार छ–

परिचय र विधि

अधिकरण एक र अधिकरण १५ ग्रन्थको विषय वस्तु परिचय र शोध विधिस“ग सम्बन्धित छ । अधिकरण एकका तीन अध्यायहरूमा ग्रन्थको सम्पूर्ण विषय वस्तुको क्रम तथा आन्वीक्षिकी, त्रयी, वार्ता र दण्डनीति विषयको निरुपण गरिएको छ । पन्ध्रौ“ अधिकरणमा अर्थशास्त्रको परिभाषा यस प्रकार गरिएको छ :- मनुष्याणां वृत्तिरर्थः। मनुष्यवती भूमिरित्यर्थः । तस्याः लाभपालनोपायः शास्त्रमर्थशास्त्रमिति ।

अर्थ– मानिसहरूको वृत्ति–जीविकालाई अर्थ भनिन्छ । मानिसहरू भएको भूमि पनि अर्थ हो । यस्तो वृत्तिको आधार भूमिलाई प्राप्त गर्ने र त्यसको पालनका उपायहरू निरुपण गर्ने शास्त्र नै अर्थशास्त्र हो । यस परिभाषाका मुख्य विशेषताहरु यस प्रकार छन् :-

  1. मानवीय जीविका नै आर्थिक क्रियाकलाप हो ।
  2. मानिसहरू बसोबास गरिएको भूमि नै राजकीय आयको आधार हो ।
  3. अर्थशास्त्रमा भौतिक सम्पत्तिको प्राप्ति र त्यसमा वृद्धि गर्ने उपायहरू व्याख्या गरिन्छ ।

त्यसबेला प्राकृतिक र सामाजिक विज्ञानहरूमा गरिने अनुसन्धान विधिको परिचय यस अधिकरणबाट प्राप्त हुन्छ । सोही क्रममा अर्थशास्त्र ग्रन्थ रचना गर्ने क्रममा प्रयोग गरिएको ३२ युक्तिहरु उदाहरणसहित प्रस्तुत गरिएको छ । जसले यस ग्रन्थलाई शोध ग्रन्थको स्वरुप प्रदान गर्छ ।

राज्य संयन्त्र र यसको सञ्चालन

प्रथम अधिकरणको अध्याय ४ देखि अध्याय २० सम्मका अध्यायहरूमा राजकाजको दृष्टिले शासकका व्यवहार र कर्तव्य, मन्त्री, पुरोहित, राजकीय पदाधिकारी, राजदूत र गुप्तचर नियुक्ति सम्बन्धी विषयको विवरण दिइएको छ । अधिकरण दुईको सुरुका चारवटा अध्यायमा जनपदहरुको स्थापना, किल्ला निर्माण, राजकीय पदाधिकारीका चालचलनको परीक्षा र अध्याय ६ देखि ३५ सम्मका अध्यायहरुमा राजकीय कोष, सेना, कृषि, उद्योग आदिका प्रमुख अधिकारीहरूको काम र कर्तव्यका बारेमा उल्लेख छ । अध्याय ३६ मा नागरिकको कर्तव्य उल्लेख छ । अधिकरण पा“चका छवटा अध्यायहरूमा सुगठित र अनुशासित आन्तरिक प्रशासन सम्बन्धी विषयहरूको वर्णन छ । यो अधिकरण असजिलो समयमा राजकीय प्रशासन र निर्णय दृष्टिले महत्त्पूर्ण छ । अधिकरण छ र आठमा राज्यका प्रकृतिहरूलाई आदर्श बनाउने विधिहरू वर्णित छन् । अधिकरण सात, नौ, १०, ११, १२, १३, र चौधमा वैदेशिक सम्बन्ध, शत्रु र मित्र राष्ट्रस“गको कूटनैतिक व्यवहारबारे वर्णन छ ।

अर्थव्यवस्था

पहिलो अधिकरणको अध्याय २ र ३, दोस्रो अधिकरणका सबै अध्याय, अधिकरण तीनको अध्याय १० देखि १४, अधिकरण चारको अध्याय १ र २ तथा अधिकरण पा“चको अध्याय २ र ३ को विवरणले के स्पष्ट गर्छ भने राजकीय अर्थव्यवस्था विषयमा प्राचीन कालमा उत्कृष्ट लेखन कार्य उपलब्ध थियो । कृषि, पशुपालन, वाणिज्य, राजकीय वित्त, राजकीय र निजी उद्यम व्यवस्था, आर्थिक प्रशासन इत्यादि अनेक आर्थिक क्षेत्रको विस्तृत र वैज्ञानिक विश्लेषण यी अध्यायहरुमा गरिएको छ । अधिकरण दुईमा राज्यका ३६ विभागीय प्रमुखको काम र कर्तव्यको बारेमा उल्लेख छ । यस अधिकरणमा आन्तरिक र वैदेशिक व्यापारका साथै भूमि व्यवस्था, पू“जी लगानी इत्यादिद्वारा राष्ट्रिय आयमा वृद्धि गर्ने विषय उल्लेख छ । कर संकलन गर्ने शौल्किक, कर विभाग प्रमुख तथा करारोपणका नियमको बारेमा सूक्ष्म विवरण दिइएको छ । बढी कोषको आवश्यकता पर्दा लिनु पर्ने राजकीय निर्णयहरुको बारेमा अधिकरण पांचमा बताइएको छ । राजकीय कोष लेखाङ्कनका विधि, फाइलिंग प्रणाली र नियमहरूका बारेमा अक्षपटलाध्यक्ष अध्यायमा विवरण दिइएको छ । अधिकरण तीनमा ज्याला, ब्याज र नाफाका सैद्धान्तिक र कानूनी समाधानहरू प्रस्तुत गरिएको छ । अधिकरण पांचमा राजकीय कर्मचारीहरूको ज्याला निर्धारणका नियमहरू बनाइएको छ ।

सामाजिक कल्याण र शान्ति सुरक्षा

सामाजिक कल्याणका लागि कौटिलीय अर्थशास्त्रमा शान्ति सुरक्षालाई सर्वाधिक महŒवपूर्ण बताइएको छ । अधिकरण तीन, चार र पांचमा आन्तरिक सुरक्षाका लागि स्थानीय निकाय, सेना, रक्षक, र गुप्तचर निकायहरूको व्यवस्था गरिएको छ । धर्मस्थीय अधिकरणमा धर्मशास्त्रमा आधारित विधि संहिताको विवरण दिइएको छ । कण्टकशोधन अधिकरणमा नाफामुखी व्यापारी, अशान्ति मच्चाउने अपराधी, प्रजापीडक कर्मचारी आदि समाजलाई कण्टक तŒवहरूलाई दण्डित गरी तह लगाउने नियमहरूको वर्णन छ । यी दुवै अध्यायमा प्रजाको कल्याणका उपायहरु स्पष्ट शब्दमा व्याख्या गरिएको छ । अधिकरण सातमा परराष्ट्र सम्बन्धमा राज्यले पालन गर्नु पर्ने नियम बताइएको छ । अधिकरण आठमा सबै प्रकारका राजकीय संकट र तिनीहरूलाई नियन्त्रण गर्ने उपाय वर्णित छन् । अधिकरण नौ र दसमा युद्ध अभियानको तैयारी र युद्ध संचालन गर्दा पालन गर्नु पर्ने नियम, व्यूह रचना, शत्रुमाथि आक्रमण आदिको विवरण छ । अधिकरण ११ मा संघराज्यहरूमा फूट पार्ने तथा आफ्नो केन्द्रीय राज्यमा मिलाउने विधिहरूको प्रतिपादन गरिएको छ । अधिकरण १२ दुर्बल राज्यले बलिया राज्यस“ग गर्नु पर्ने कूटनैतिक व्यवहार र सावधानीको वर्णन छ । अधिकरण १३ मा शत्रुको दुर्ग जितेपछि कब्जा गर्ने र त्यसमा आधिपत्य कायम गर्ने विधिहरूको वर्णन गरिएको छ । अधिकरण १४ मा शत्रु माथि प्रयोग गरिने विष, टुना मुना र मन्त्रहरूको प्रयोग विधि बताइएको छ । जुनसुकै अधिकरण, अध्याय र प्रकरणमा प्रजा कल्याणलाई सर्वाधिक महत्त्व दिइएको छ ।[८][९][१०]

उपसंहार

कौटिल्यबारे उपलब्ध ऐतिहासिक तथ्यले के स्पष्ट हुन्छ भने उनी प्लेटो र एरिस्टोटल जस्तै राजधर्मका प्रणेता, एडम स्मिथ जस्तै आर्थिक दर्शनका प्रतिपादक, तथा माक्र्स जस्तै सामाजिक दर्शनकार पनि हुन् । उनी तक्षशिला विश्वविद्यालयमा अर्थशास्त्रका प्रमुख आचार्य मात्र होइनन् उनी आर्य संस्कृतिको रक्षा गर्न तथा शस्त्र एवम् शास्त्र दुवैको उद्घार गर्न एक सैनिक र एक सेनापति जस्तै कैयांै पटक जीवन जोखिममा हालेर काम गर्ने एक कार्यकर्ता पनि हुन् । आफूले प्रतिपादन गरेका सिद्घान्तको उनले सफल प्रयोग पनि गरेका थिए त्यसैले कौटिलीय अर्थशास्त्र एक व्यावहारिक विज्ञान एवं संपरीक्षण गरेको शास्त्र पनि हो । [११]जसको व्यावहारिक सफलताको ऐतिहासिक प्रमाण चन्द्रगुप्त मौर्यदेखि सम्राट अशोकका सन्तानहरू सम्मको लगभग १५० वर्षको सुदृढ अर्थप्रणाली हो । कौटिलीय अर्थशास्त्रको आर्थिक दर्शनका योगदानबारे प्रशंसा गर्दै रोजर बोशेले लेखेका छन्– ‘ओक्लाहोमा फांटको एक्लो हिमालय शिखर टक्क उभिए झैं हिन्दु दर्शनको फा“टमा कौटिलीय अर्थशास्त्र एक्लै सगरमाथा झैं सिर ठडाएर उभिएको प्रतीत हुन्छ किनभने यस दर्शनको सामान्य लक्ष्य राजनीति र शक्ति सञ्चय गर्नु होइन, मोक्ष प्राप्त गर्नु हो...।’ [१२] राज्य सञ्चालनका लागि धनका महत्त्वको यस्तो उच्चकोटिको व्याख्या एडम स्मिथभन्दा २००० वर्ष अघि नै गरिसक्नु कौटिलीय अर्थशास्त्रको मौलिक, क्रान्तिकारी र दूरदर्शी विचार भन्न सकिन्छ । रोजर बोशेले यस अवधारणाको प्रशंसा गर्दै के भनेका छन् भने जोन लक र एडम स्मिथभन्दा धेरै वर्ष अघि अर्थको महत्त्वलाई यसरी व्यक्त गर्ने कौटिल्य केवल एक जना मात्र विचारक हुन् । यहा स्मरणीय के छ भने पाश्चमहत्त्य अर्थशास्त्रको उद्गम मानिने प्लेटोले धनसम्बन्धी चिन्तनलाई हीन चिन्तन भनेर त्यसलाई कम महत्तव दिएका छन् । कौटिलीय अर्थशास्त्रको आर्थिक र वित्तीय विचारधाराबाट सालेटोर कति प्रभावित छन् भने उनले ग्रन्थकारलाई विश्वको सबभन्दा ठूलो प्रथम वित्तीय विचारक भन्न पुगेका छन् । राजकीय उद्योग संचालन गर्ने जुन दर्शन कौटिलीय अर्थशास्त्रमा धेरै व्यक्त गरिएको छ मार्क्स र हब्सको राजकीय उद्योग सम्बन्धी धारणा त्यही प्रकारको छ भन्ने बोशेको निष्कर्ष छ।[१३] म्याक्सवेबरका अनुसार कौटिलीय अर्थशास्त्रको सिद्धान्त वस्तुगत मेकियावेली जस्तै सम्पूर्ण र प्रभावशाली छ । यसको दाजोमा बरू मेकियावेलीय सामान्य होला ।[१४]

सन्दर्भ सामग्रीहरू

  1. Helmuth von Glasenapp (1 January 1999), Jainism, Motilal Banarsidass Publ., p. 42, ISBN 978-81-208-1376-2, retrieved 21 May 2013 
  2. S. K. Agarwal (1 September 2008), Towards Improving Governance, Academic Foundation, p. 17, ISBN 978-81-7188-666-1, <http://books.google.com/books?id=1nIkFqh_TmEC&pg=PA17>. Retrieved on ६ जुन २०१२ 
  3. निर्माता निर्देशक, चन्द्र प्रकाश, द्विवेदी, चाणक्य १–४७, हिन्दी धारावाहिक, सन् २००६ ।
  4. आचार्य, तुलसीराम (अनु.), चाणक्य नीति दर्पण, वाराणसी ः दुर्गा साहित्य भण्डार
  5. कौटिल्यको अर्थशास्त्र (कौटिलीये अर्थशास्त्रे), वि.सं.२०२४,अनु. केशवराज अर्याल, सं.पं.सोमनाथ शर्मा, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
  6. ज्ञवाली, बाबु राम (२०१२), कौटिल्य र शुक्रको राजनैतिक अर्थशास्त्र, रुपन्देही: ज्ञानज्योति प्रकाशन, pp. १–३, ISBN 978-9937-2-7362-6 
  7. कौटिल्यको अर्थशास्त्र (कौटिलीये अर्थशास्त्रे), वि.सं.२०२४,अनु. केशवराज अर्याल, सं.पं.सोमनाथ शर्मा, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
  8. Babu Ram, Gewali, 2013, Economics of Kautilya, Shukra, and Brihaspati, Gyanjyoti Prakashan, Tupandehi, Nepal.Economicsofkautilyashukraandbrihaspati/pathshala.com
  9. अग्रवाल, कमलेश (सन् १९९७), कौटिल्य अर्थशास्त्र एवं शुक्रनीति की राज्य व्यवस्थाए“, नई दिल्ली: राधा पब्लिकेशन्स 
  10. अनु. केशवराज अर्याल, सं.पं.सोमनाथ शर्मा (वि.सं.२०२४), कौटिल्यको अर्थशास्त्र (कौटिलीये अर्थशास्त्रे), काठमाडौं: नेराप्रप्र 
  11. स्मिथ, एल आर (सन् २००६), अर्थशास्त्र एन्ड हिन्दु इक्विलिब्रियम, इकोनोमिक्स इन अर्थशास्त्र, न्यु देल्ही: दीप एन्ड दीप, p. पृ..६४–११५ 
  12. बोशे, रोजर (सन् २०००), द फस्र्ट ग्रेट पोलिटिकल रियलिस्ट– कौटिल्य एन्ड हिज अर्थशास्त्र, न्यूयोर्क: लेक्सिंगटन बुक्स, p. पृ. १०५ 
  13. सालेटोर, आर एन (सन् १९७५), अर्ली इन्डियन इकोनोमिक हिस्ट्री, लन्दन: कर्जन प्रेस, p. पृ. ७३ 
  14. वेबर, म्याक्स (सन् १९७८), वेबर सेलेक्ंशन्स इन् ट्रान्सलेशन, लन्दन: क्याम्ब्रिज युनिवर्सिटी प्रेस, p. पृ. २२० 

यो पनि हेर्नुहोस्