प्राचीन अर्थशास्त्रीय चिन्तन
परिचय
[सम्पादन गर्नुहोस्]प्राचीन अर्थिक चिन्तनका स्रोतहरु छरिएका छन् । वेद, उपनिषद्, स्मृति, ब्राह्मण ग्रन्थ, नीतिशास्त्र|नीतिग्रन्थ, पुराण, रामायण, महाभारत, ऐतिहासिक शिलालेख, नीतिकथाहरू, प्राचीन मुद्रा, पुरातात्विक सामग्री आदि अनेक ठाउमा प्राचीन आर्थिक विचारहरु छरिएका छन् । विद्वानहरूका अनुसार, जुनबेला कल्पसूत्रहरूको रचना पूर्णावस्थामा पुगेको थियो त्यस बेला राजनीतिलाई निर्देशित गर्ने शास्त्रको रूपमा अर्थशास्त्र एक प्रामाणिक विषय भइसकेको थियो । प्राचीन आर्थिक चिन्तनको रूपमा अर्थशास्त्र प्रतिष्ठित रहेको कुरा बौद्ध जातकहरूको विवरणबाट पनि स्पष्ट हुन्छ । [१] कौटिलीय अर्थशास्त्र यसको सबभन्दा बलियो प्रमाण हो । यस बाहेक याज्ञवल्क्यस्मृति, नारदस्मृति, मत्स्यपुरण र भविष्यपुराणमा पनि आर्थिक चिन्तन सम्बन्धी सामग्री उपलब्ध छ । कौटिलीय अर्थशास्त्रको विषय प्रवेशमा स्पष्ट रूपमा के भनिएको छ भने अर्थको प्राप्ति र आर्थिक प्रगतिका लागि प्राचीन आचार्यहरूद्वारा जे जति सिद्धान्तहरू प्रतिपादन गरिएका छन् ती सबैको अध्ययन र विश्लेषण गरेर यो संक्षिप्त तर सरल अर्थशास्त्र रचना गरिएको हो ।[२]
वेद मानव मात्रलाई उपलब्ध प्राचीनतम साहित्य एवं ज्ञान विज्ञानको अभिलेख हो । यस कुरालाई वि.सं.२०६४ मा विश्व सांस्कृतिक सम्पदा सूचीमा ऋग्वेदलाई संयुक्त राष्ट्र सङ्घ (सं.रा.सं.) ले दर्ता गरेर पुष्टि गरिसकेको छ । वेद चारवटा छन् । ऋग्वेदलाई सबैभन्दा प्राचीन मानिन्छ । चारै वेदहरूमा यस प्रकारका आर्थिक जानकारीहरू उपलब्ध छन्– प्राकृतिक स्रोत, जनसङ्ख्याको पेशागत विभाजन, कृषि, पशुपालन, बजार नियमन, आयात र निर्यात, बजारमा राजकीय एकाधिकार, निजी क्षेत्रको प्रतिस्पर्धात्मक बिक्री, व्यापारिक नियमहरू, ऋण लेनदेन, ब्याज, त्यसको अभिलेख र सम्पत्ति धितोको विवरण । ऋग्वेदमा क्रेता र विक्रेता बीचको अन्तर्क्रियाको जुन प्रसंग छ त्यो आधुनिक मूल्य सिद्धान्तको केन्द्र बिन्दु हो । यजुर्वेदमा अन्नका विभिन्न प्रजातिहरूको उल्लेख छ । अथर्ववेद, कृषि सूक्तका मन्त्रहरूमा खेतीपातीको र गोसूक्त तथा गोष्ठसूक्तमा पशुपालनको विवरण छुट्टा छुट्टै प्रस्तुत गरिएको छ ।[३] ईशावास्योपनिषदमा कस्यस्विद् धनम् को रूपमा प्राकृतिक साधन र त्यसका वितरणको विचार व्यक्त गरिएको छ ।[४] रुसी अर्थशास्त्री अनीकिनले वेदलाई र प्रोफेसर डी फ्युजफील्डले उपनिषद्लाई अर्थशास्त्रको स्रोतको रूपमा लिएका छन्् ।[५]
स्मृतिको अर्थ हो स्मरण योग्य । वेदमा निहित आचार–विचार–पद्धतिहरू सम्झेर मनु आदि महर्षिहरूले स्मृति नामले चिनिने धर्मशास्त्र रचेका छन्् । वैदिक सिद्धान्तको व्याख्या सरल लौकिक संस्कृत भाषामा प्रस्तुत गर्ने हुंदा स्मृतिहरू वैदिक धर्मका व्याख्याता ग्रन्थहरू हुन् । यही कुरा महाकवि कालिदासले प्रस्ट्याएका छन् । नारदस्मृतिमा भनिएको छ– वार्ता र दण्डनीतिको विवेकशील प्रयोग गर्ने राज्य व्यवस्थामा जनता सुखी र सम्पन्न हुन्छन् ।[६] नारदले रचना गरेको यो ग्रन्थ विश्वको सर्वाधिक प्राचीन लिखित कानुनको उदाहरण नागन । राजा जयस्थिति मल्लले गरेको नेवारी यसको अनुवाद समेत विश्वमा सबभन्दा पुरानो लिखित विधानको उदाहरण हो ।[७]
पुराणको अर्थ हो पुरानो कुरा । पुराणहरूको रचना ऋषि व्यासको परम्परामा गरिएको छ । अर्थ र धर्मको फल बताउने सन्दर्भमा पुराणहरूले पनि स्मृतिकै अनुसरण गर्दछन् । यसै कारण प्रत्येक संस्कार, पर्व, यज्ञादि कर्महरूमा संकल्प गर्दा श्रुतिस्मृतिपुराणोक्तफलप्रीत्यर्थम् भन्ने गरिन्छ । पुराणको संख्या १८ मानिन्छ । यसमध्ये मत्स्यपुराण र अग्निपुराणमा राजनीति र अर्थशास्त्र सम्बद्ध विषय वस्तु पाइन्छ । जति पुराण छन् त्यति मात्रामा उप पुराण पनि छन् ।[८][९]
बार्हस्पत्य सूत्र वा बृहस्पति अर्थशास्त्रको एक सानो संकलित पुस्तिका पाइन्छ । यसको रचना शैलीका आधारमा विद्वान्हरूले यसलाई प्राचीनतम रचना मान्दछन् । तर मूल बार्हस्पत्य अर्थशास्त्रको यो एक ज्यादै सानो भाग मात्र हुनसक्छ । बृहस्पति स्मृतिको रचनाकाल समय काणेले वि.पू. ३०० देखि ५०० वि.पू.अनुमान गरेका छन् । [१०]
वाल्मीकि रामायणको रचना त्रेता युगमा भएको मानिन्छ । वर्तमान काल गणनाको हिसाबले त्यो समय लगभग आठ लाख वर्ष वि.पू. हुन आउ“छ । जुन अविश्वसनीय मानिन्छ । बेनी प्रसादका अनुसार रामायण महाकाव्यको समय ५०० वि.पू. हुन सक्छ । तर त्यसमा धेरै सामग्री २०० वि.पू. र त्यस पछिका सामग्री थपिएको देखिन्छ । सर मोनियर विलियम्सले रामायणको रचनाकाल ३०० वि.पू. अनुमान गरेका छन् भने कीथले ६०० वि.पू. अनुमान गरेका छन् ।एसियामा अनेक किसिमका राम कथा प्रचलित छन् । सबभन्दा पुरानो वाल्मिकी रामायण भए पनि नेपालमा अध्यात्म रामायण बढी प्रचलित छ । नेपालमा पनि विभिन्न रामकथा प्रचलित छन् । जसमध्ये भानुभक्तीय रामायण नेपाल, भूटान, सिक्क्मि र दार्जिलिङ्, र आसाममा प्रचलित छ ।
रामायणमा आर्थिक चिन्तन
[सम्पादन गर्नुहोस्]रामायणमा आर्थिक र राजनीतिक विशेषज्ञहरूको नियुक्ति गर्दा अर्थशास्त्र र दण्डनीतिको ज्ञातालाई विशेषज्ञ स्थापित गर्नु भनिएको छ ।[११] किष्किन्धाकाण्डमा हनुमानलाई दण्डनीतिको ज्ञाता मानिएको छ । रामायणको अयोध्याकाण्डमा मुख्यतः आर्थिक र राजनीतिक विवरण पाइन्छ । वाल्मीकि रामायणकोे अध्ययनबाट के स्पष्ट हुन्छ भने त्यस बेलासम्म पेशागत विशिष्टताको रूपमा चारवटा वर्णहरूको व्यवस्था समाजमा स्थापित भइसकेको थियो । ब्राह्मणग्रन्थ र श्रौतसूत्र-गृह्यसूत्रहरूमा देखिएको स्पष्ट वर्णाश्रम व्यवस्था वाल्मीकि रामायणमा पनि पूर्णरूपमा अंगिकार गरेको पाइन्छ| यसमा राज्यका सात अङ्गहरू यसप्रकार बताइएका छन्
राजा,
अमात्य,
जनपद,
कोष,
पुर,
दण्ड,
सेना र
मित्र
यसमा उल्लेख गरिएको कोषको व्यवस्थाले आर्थिक व्यवस्थाको विकास र स्थिरताका लागि एउटा छुट्टै महत्त्वपूर्ण अङ्ग स्थापित भइसकेको स्पष्ट हुन्छ ।
महाभारतको मूल सामग्री ज्यादै प्राचीन भएको विश्वास गरिन्छ । लगभग १५० वि.पू. यसको अधिकांश भाग निश्चित भइसकेको थियो भनी विद्वान् हरूले बताएका छन् । खप्तड बाबाले महाभारतको रचना ३१०० वर्ष अघि भएको अनुमान गरेका छन् । महाभारतका मूल रचयिता कृष्णद्वैपायन व्यासलाई मानिएको छ । व्यासले यसको रचना गर्दा पुस्तकको नाम जय थियो र त्यसबेला श्लोक संख्या ८८०० थियो ।[१२] वैशम्पायनले यसलाई बढाएर भारतसंहिता र सौतिले पूर्ण परिवर्धन गरेर यसलाई महाभारत बनाएको मानिन्छ ।[१३] राजा विक्रमादित्यको समयमा बीस हजार र राजा भोजको समयमा तीस हजार श्लोकको महाभारतको उल्लेख पाइन्छ । लगभग १०० वर्ष पूर्व भण्डारकर ओरिएन्टल इन्स्टिच्यूट, पुणेले विभिन्न ठाउमा छरिएका महाभारतका पाण्डुलिपिहरू सङ्कलन गरी लगभग एक लाख श्लोकको पुस्तक प्रकाशित गरे पछि महाभारतको वर्तमान स्वरुप निर्धारित भएको हो । उक्त संस्करण तयार पार्दा नेपालमा पाइएका पाण्डुलिपिहरूलाई पनि निकै महत्त्व दिइएको थियो । जायसवालका अनुसार, शान्तिपर्वको विषयवस्तु ४०० वि.पू. देखि वि.सं. ५५७ सम्ममा आफ्नो वर्तमान स्वरूपमा पुगेको छ ।[१४]
महाभारतमा आर्थिक चिन्तन
[सम्पादन गर्नुहोस्]आधुनिक अर्थशास्त्रका दृष्टिकोणले महाभारतमा निम्नलिखित विषयहरू माथि चिन्तन गरिएको छ–
- १.राष्ट्रको रक्षा र आर्थिक उन्नतिका लागि राज्य संयन्त्रको महत्त्व
- ३.सम्पत्तिको रक्षा र वृद्धि गर्ने उपाय
- ४.राज्यको उत्पत्ति र आवश्यकता
- ५.नागरिकको कर्तव्य र सुशासन
- ६.धनको सदुपयोग
- ७.करारोपणका सिद्धान्त
- ८.ऋण लेनदेन तरिका
- ९.व्यापारीको रक्षा
- १०.अर्थ, काम, र धर्मको महत्त्व
नेपाली भाषामा महाभारतका गद्य र पद्यका अनेक संस्करण पाइन्छन् । गद्यमा चक्रपाणि चालिसेको संक्षिप्त भारत बढी लोकप्रिय कृति हो ।
शुक्रनीतिको रचना मानव, वशिष्ठ, तथा पराशर स्मृतिग्रन्थ– धर्मशास्त्रभन्दा पछि र बौद्धकालभन्दा अगाडि भएको हो ।
शुक्रनीतिमा आर्थिक चिन्तन
[सम्पादन गर्नुहोस्]आधुनिक अर्थशास्त्रका दृष्टिले शुक्रनीतिमा निम्नलिखित विषय वस्तुहरू विवेचना गरिएको छ –
- १. आर्थिक क्रियाकलापको विवरण
- २. कोषको आवश्यकता र संकलनका विधि
- ३. धनार्जनको उपयोग
- ४. मूल्य निर्धारणको तरिका
- ५. कर सङ्कलन
- ६. कोषाध्यक्षको योग्यता
- ७. मिसावटको रोकथाम
- ८. लेखा हिसाब राख्नु
- ९. व्यापारिक क्रियाकलाप
- १०. ऋण लेनदेनका नियम
कौटिल्य र उनको अर्थशास्त्र
[सम्पादन गर्नुहोस्]अर्थशास्त्र ग्रन्थका रचयितालाई कौटिल्य, विष्णुगुप्त, चाणक्य आदि अनेक नामले उल्लेख गरिएको पाइन्छ । तर अर्थशास्त्र ग्रन्थको तन्त्रयुक्ति अध्याय अनुसार रचनाकारको नाम विष्णुगुप्त हो । कौटिल्यलाई तक्षशिलामा अर्थशास्त्र विषयको आचार्यको रूपमा उल्लेख गरिएको छ । नन्द वंश समाप्त पार्ने शपथ लिएका आचार्य विष्णुगुप्त चाणक्यले चन्द्रगुप्त मौर्यलाई शिष्य बनाई एउटा सङ्गठन खडा गरे । नन्दलाई पराजित गरी चन्द्रगुप्तलाई मगधको राजा बनाए तथा मगध राज्यको विस्तार गरी तक्षशिला देखि दक्षिण भारतसम्म चक्रवर्ती राज्य स्थापना गरे । चन्द्रगुप्त मौर्य राजा भएपछि एक विशाल र बलियो साम्राज्य स्थापना भयो जसको राजधानी पाटलिपुत्र थियो । यस राज्यको सीमा पूर्वमा आसामदेखि, पश्चिममा अफगानिस्तानसम्म र उत्तरमा कश्मीरदेखि दक्षिणमा कलिंग (वर्तमान तमिलनाडु) सम्म फैलिएको थियो ।चन्द्रगुप्तका प्रधानमन्त्री एवं सलाहकारको रूपमा राज्य सञ्चालन गर्ने आचार्य चाणक्य आफू एक कुटीमा सामान्य जीवन व्यतीत गर्थे भन्ने उल्लेख पाइन्छ ।
कौटिलीय ग्रन्थ अर्थशास्त्र एक विशाल ग्रन्थ हो । जसमा राज्य सञ्चालन र अर्थव्यवस्थाका विविध पक्ष बारे सविस्तार उल्लेख गरिएको छ । यो विभिन्न खण्ड, अध्याय र प्रकरणमा विभक्त छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट अनूदित र प्रकाशित संस्करण अनुसार कौटिलीय अर्थशास्त्रको बनावट यस प्रकार छ–
- १. अधिकरण वा खण्ड संख्या १५
- २. अध्याय संख्या १७८
- ३. प्रकरण संख्या १८०
कौटिलीय अर्थशास्त्रमा आर्थिक विषय वस्तु
[सम्पादन गर्नुहोस्]कौटिलीय अर्थशास्त्रमा व्यक्त आर्थिक विषय वस्तुलाई तल लेखिए अनुसार विभाजन गर्न सकिन्छ –
- १. राज्यको उत्पत्ति
- २. राज्यका सात अङ्ग
- ३. भौतिक धनको प्रकृति र उद्देश्य
- ४. कृषिको महत्त्व
- ५. सार्वजनिक वित्त
- ६. मूल्यको नियमन
- ७. सामाजिक सुरक्षा
कौटिलीय विचार अनुसार समाजलाई मात्स्य न्यायबाट बचाउन राज्यको उत्पत्ति भएको हो । राज्यका सात अङ्ग हुन्छन्– स्वामी, अमात्य, कोष, दुर्ग, दण्ड, जनपद र मित्र । उनको विचारमा पदार्थ, वित्त, सार्वजनिक वा व्यक्तिगत सम्पत्ति, सुन, चा“दी संचित गरिएको अर्थ, श्री अर्थात् समृद्धि, भोग गर्न सकिने कुरा, विनिमय र हस्तान्तरीय वस्तु यी सबै भौतिक धन हुन् । राष्ट्रलाई आर्थिक रूपमा सम्पन्न तुल्याउन उनले कृषि, पशुपालन र वाणिज्यलाई निकै महत्त्व दिएका छन् ।
राजकीय कोषलाई आचार्यले एक संवैधानिक अङ्गको स्थान प्रदान गरेका छन् । राजकीय कोष वृद्धिका विविध उपायहरूको व्यावहारिक विश्लेषण कौटिलीय अर्थशास्त्रमा सर्वाधिक प्राथमिकता साथ गरिएको छ । यस ग्रन्थमा उनले करारोपणका केही सिद्धान्त प्रतिपादन गरेका छन् । प्रजाको हितका लागि राजकीय व्ययको अधिकतम सदुपयोग गर्न कौटिलीय अर्थशास्त्रमा राजकीय लेखाङ्कनको सुझाव दिइएको छ । मूल्य स्थिरताका लागि कौटिलीय अर्थशास्त्रमा मूल्य निर्धारण र मूल्य नियमनका विधिहरू प्रतिपादन गरिएको छ । यसका साथै कौटिलीय अर्थशास्त्रमा सामाजिक सुरक्षाको रूपमा सबै गरीब र असहाय मानिसहरूको रेखदेख गर्नु राज्यको दायित्त्वको रूपमा लिइएको छ ।
कौटिलीय अर्थशास्त्रमा ग्रन्थ रचना गर्ने शोध र तर्कको विधि समेत सविस्तार वर्णन छ ।[१५][१६]
कौटिलीय अर्थशास्त्रमाथि अनेकौ“ विद्वान् हरूले ग्रन्थ रचना गरेका छन् । काङ्लेले तेस्रो खण्डमा आफ्नो पुस्तक प्रकाशनको समय (वि.सं.२०२२) सम्म उपलब्ध अध्ययन, शोध ग्रन्थ, र लेखमालाहरूको १० पृष्ठ लामो सूची प्रस्तुत गरेका छन् । यसबाट कौटिलीय अर्थशास्त्रमाथि विद्वान् हरूको रुचि स्पष्ट हुन्छ । वेब साइटमा समेत कौटिलीय अर्थशास्त्रलाई आधार बनाएर गरिएका नया“ नया“ अध्ययन र ग्रन्थ रचनाको प्रशस्त विवरण उपलब्ध छ । तर केवल शुक्रनीतिलाई आधार बनाएर रचना गरिएका लेख, पुस्तक अथवा अध्ययन प्राप्त गर्न सकिएन ।
कौटिल्य अघिका अर्थशास्त्रकार
[सम्पादन गर्नुहोस्]उपर्युक्त विवरणबाट के स्पष्ट हुन्छ भने कौटिल्य अघि अर्थशास्त्रका अनेक विचारक थिए र उनीहरूले यस विषयका ग्रन्थ रचना गरेका थिए । याज्ञवल्क्यस्मृतिमा मनु, अत्रि, विष्णु, हारीत, याज्ञवल्क्य, उशना, अङ्गिरा, यम, आपस्तम्ब, संवर्त, कात्यायन, बृहस्पति, पराशर, व्यास, शंख, लिखित, दक्ष, गौतम, शतातप र वशिष्ठ गरी २० जना नीतिकारको नाम उल्लेख छ ।[१७] । कौटिल्यले अर्थशास्त्र ग्रन्थ रचना गर्दा पूर्ववर्ती जुन जुन अर्थशास्त्रविद् आचार्यबाट विचार ग्रहण गरेका छन् तिनीहरूको नामावली तल प्रस्तुत गरिएको छ ।
केही प्राचीनतम अर्थशास्त्रकार
१. आम्भी | २. कर्णिकाभारद्वाज | ३. कात्यायन |
४. किंजल्क | ५. कौणपदन्त | ६. गौतम |
७. घोटमुख | ८. चारायण | ९.पराशर |
१०. पालकाप्य | ११. पिशुन | १२.पिशुनपुत्र |
१३. बाहुदन्तीपुत्र | १४. बृहस्पति | १५. भारद्वाज |
१६. मनु | १७. वातव्याधि | १८. विदेहराज |
१९. शुक्र | २०. कौटिल्यले समर्थन गरेका अर्थशास्त्रकार | २१. कौटिल्यले समर्थन नगरेका अर्थशास्त्रकार |
तालिकामा उल्लिखित बाहेक पनि अर्थशास्त्रकारको नाम पाइन्छ । उदाहरणका लागि अश्वलायन गृह्यसूत्र ३.१३.१६ मा आदित्य नाम गरेका ग्रन्थकारको उल्लेख पाइन्छ ।
कौटिल्य पछिका अर्थशास्त्रकार
[सम्पादन गर्नुहोस्]वि.सं. १५४१ मा सोमदेव सूरीद्वारा रचना गरिएको नीतिवाक्यामृत भन्ने पुस्तकमा कौटिल्य पछिका लगभग ३० जना टीकाकारको विवरण छ जसमध्ये २० जना अर्थशास्त्रका विद्वान् भनिएको छ । विचारकहरुका अनुसार, १० औ शताब्दी देखि १४ औ शताब्दीसम्म अर्थशास्त्र विषयक विशेष ग्रन्थ उपलब्ध हु“दैन । त्यसपछि १४औ शताब्दीदेखि १८औ शताब्दीसम्म यस सम्बन्धी ग्रन्थहरू पाइन्छन्, उदाहरणको रूपमा यी ग्रन्थ प्रस्तुत गर्न सकिन्छ– युक्तिकल्पतरु, राजनीति रत्नाकर, राजनीति कल्पतरु, राजनीति कामधेनु, वीरमित्रोदय, र राजनीति मयूख । राजनीतिरत्नाकर ग्रन्थमा चण्डेश्वरले अर्थशास्त्र विषयको परम्परामा अमरसिंह, कात्यायन, कामन्दक, कुल्लुक भट्ट, कौटिल्य, नारद, मनु, याज्ञवल्क्य, लक्ष्मीधर, वशिष्ठ, विष्णु, बृहस्पति, व्यास, शुक्र, श्रीकर, र हारीत १६ जना विद्वान तथा तीनवटा ग्रन्थ भागवत, रामायण, र महाभारतको नाम उल्लेख गरेका छन् । यस ग्रन्थमा कौटिलीय अर्थशास्त्रमा उल्लेख नभएका तीन जना विद्वानहरूको नाम पाइन्छ– कुल्लुक भट्ट, श्रीकर, र लक्ष्मीधर ।[१८]
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ कौटिलीय अर्थशास्त्रम्, अनु. वाचस्पति गैरोला, (वाराणसी : चौखम्बा भवन, सन् २००९), पृ. ७१
- ↑ द कौटिलीय अर्थशँस्त्र–१, अनु. आर पी काङ्ले, (बनारस : मोतीलाल बनारसीदास, सन् २००६), १.१.१९ ।
- ↑ प्रपन्नाचार्य, वि.सं.२०५१, वेदमा के छ, काठमाडौँ : साझा प्रकाशन ।
- ↑ देवकोटा, माधव प्रसाद, वि.सं.२०३१, नौ उपनिषद्, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
- ↑ ए अनिकीन, अ साइन्स इन इट्स यूथ, (मस्को : प्रोग्रेस पब्लिशर्स, सन् १९७५), पृ. १
- ↑ नारद–स्मृति, अनु. राम कुमार वर्मा शास्त्री, (मेरठ : डायनेमिक पब्लिकेशन्स, मिति ?) ४.१८.६१
- ↑ प्रकाश वस्ती, कानुन निर्माण, विश्वमै अगाडि, (काठमाडौ“ : हिमाल, पूर्णांक १०८, वि.सं. २०६०)
- ↑ गीता प्रेस, मत्स्य पुराण, वि.सं. २०६५, गोरखपुर : गीताप्रेस, GPPN 583 ।
- ↑ गीता प्रेस, अग्नि पुराण, वि.सं. २०६५, गोरखपुर : गीताप्रेस. GPPN 584 ।
- ↑ Gewali, Babu Ram, (2013), Economics of Kautilya, Shukra and Brihaspati, GyanJhyoti Prakashan Rupandehi, 978-9937-2-7363, (www.yumpu.com.economicsofkautilyashukraandbrihaspati)
- ↑ वाल्मीकि रामायण, ६३. १४. १६
- ↑ जयो नामेतिहासो । महाभारत आदिपर्व २.१३
- ↑ चतुर्विंशति सहस्रीं चक्रे भारतसंहिताम् । महाभारत आदि पर्व १.१०२
- ↑ जायसवाल, के पी, सन् १९७५, हिन्दु पोलिटी, द बेंगलोर पब्लिशिंग हाउस ।
- ↑ ज्ञवाली, बाबु राम, सन् २०११, मेथोडोलोजीकल इस्युज इन ओरिएन्टल इकोनोमिक्स, स्वतन्त्रता १(१) बुटवल : डेमोक्रेट टीचर्स एसोसिएशन अफ् बुटवल मल्टिपल क्याम्पस, पृ. ९–१३ ।
- ↑ विद्याभूषण, एस सी, सन् २००२, द हिस्ट्री अफ इन्डियन लजिक– एन्शेन्ट, मेडिएभल, एन्ड मोडर्न स्कूल्स, देल्ही : मोतीलाल बनारसीदास, च्याप्टर १ ।
- ↑ याज्ञवल्क्य स्मृति १.४.५
- ↑ ज्ञवाली बाबु राम २०१२ कौटिल्य र शुक्रको राजनीतिक अर्थशास्त्र ज्ञानज्योति प्रकाशन, रुपन्देही नेपाल 978-9937-2-7362-6, p12-15