याज्ञवल्क्य

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

याज्ञवल्क्य, वैदिक साहित्यमा शुक्ल यजुर्वेदको वाजसनेयी शाखाका द्रष्टा हुन्। याज्ञवल्क्यको अर्को महत्वपूर्ण कार्य शतपथ ब्राह्मणको रचना हो। बृहदारण्यक उपनिषद महत्वपूर्ण उपनिषद हो जसको प्रमुख ऋषि याज्ञवल्क्य हुन्। यिनको काल लगभग १८०० ई पू मानिन्छ। याज्ञवल्क्यलाई देवरातका पुत्र र वैशम्पायनका शिष्य बताइएको छ । आफ्ना गुरु वैशम्पायनसंग यिनको ठूलो विवाद पर्यो । त्यसपछि उनले वैशम्पायनबाट प्राप्त ज्ञान परित्याग गरेर नया“ ज्ञानको खोजी गरे । साथै के निर्णय गरे भने अब कुनै पनि मानवीय शक्तिलाई गुरु बनाउने छैन । यिनको विवाह कात्यायिनीसंग भएको थियो जसबाट उनका दुई सन्तान थिए । पछि एक असाधारण स्त्री मैत्रेयीसंग पनि यिनको विवाह भएको थियो । मैत्रेयीलाई ब्रह्मवादिनी भनिन्छ । वृहदारण्यक उपनिषदयाज्ञवल्क्य स्मृतिलाई मिथिलामा रचना गरिएको भनिएको छ । त्यसैले याज्ञवल्क्यको आश्रम वर्तमान नेपालको भौगोलिक सीमामा कतै थियो भनेर अनुमान गर्न सकिन्छ । याज्ञवल्क्य वैदिक साहित्यमा शुक्ल यजुर्वेद वाजसनेयी शाखाको द्रष्टा ऋषि हुन् । यस सम्बन्धी पाण्डुलिपि नेपालमा मात्र उपलब्ध छ । शुक्ल यजुर्वेदका माध्यन्दिनीय शाखाको विभाजन यिनको एक महत्त्वपूर्ण योगदान मानिन्छ । यिनको अर्को महत्त्वपूर्ण योगदान शतपथ ब्राह्मण हो । यो यज्ञ र कर्मकाण्ड विधिसंग सम्बन्धित ग्रन्थ भएकोले वैदिक कर्मकाण्ड विधिका प्रवत्र्तक ऋषि पनि याज्ञवल्क्य हुन् भन्न सकिन्छ । वृहदारण्यक उपनिषद्का प्रमुख ऋषि पनि यिनै हुन् । याज्ञवल्क्यले गरेको गायत्री मन्त्रको अर्थ आजसम्म कै सर्वश्रेष्ठ छ । आत्मा, मोक्ष, र ब्रह्मको दर्शनका प्रतिपादक रुपमा पनि याज्ञवल्क्य देखिन्छन् । जनक याज्ञवल्क्य संवादमा मृत्युको अनुभवको बारेमा चर्चा गरिएको छ । याज्ञवल्क्यको काल १८०० वि.पू देखि ७०० वि.पू. अनुमान गरिएको छ । (शुक्ल यजुर्वेद, शतपथ र स्मृतिका याज्ञवल्क्य एउटै हुन् कि तीन जना ? यस बारेमा विद्वान्हरूबीच विवाद छ । तर तीनवटै रचनामा याज्ञवल्क्यको जुन छवि देखाइएको छ त्यो एक आपसमा मिल्छ । याज्ञवल्क्य स्मृतिमा जुन आदेशात्मक स्वर छ त्यो याज्ञवल्क्यको हक्की स्वभाव अनुसार नै छ ।[१] [२])

याज्ञवल्क्य स्मृति[सम्पादन गर्ने]

मनुस्मृति जस्तै यो ग्रन्थ केवल राज्य मात्र होइन समाज सञ्चालनका दृष्टिले रचना गरिएको छ । नारदस्मृति जस्तै यसको न्याय व्यवस्था आज पनि सामयिक मानिन्छ । शुक्रनीति र कौटिलीय अर्थशास्त्र जस्तै यसमा दण्डनीतिलाई सर्वाधिक महत्त्वपूर्ण बताइएको छ । यस स्मृतिमा ग्रहहरूका आधारमा सातवटा बारहरूको नाम राख्ने विधिको जुन वर्णन गरिएको छ त्यसले समयको नाप र विश्लेषणका विधिहरु याज्ञवल्क्यको समयमा आफ्नो उचाईमा पुगेको अनुमान हुन्छ । याज्ञवल्क्य स्मृतिमा एक हजार श्लोक छन् । यसका तीनवटा संस्करणहरू प्रमुख छन्– निर्णय सागर संस्करण, त्रिवेन्द्रम् संस्करण, र आनन्दाश्रम संस्करण । यो ग्रन्थ तीन खण्ड र ४३ प्रकरणमा विभाजित छ । यसका मुख्य तीन खण्ड यस प्रकार छन्–

१. आचार खण्ड[सम्पादन गर्ने]

यसका १३ प्रकरणहरू मा ३६७ श्लोक छन् । यो सामाजिक, आर्थिक र धार्मिक व्यवस्था निरुपणको खण्ड हो । यसमा विद्याहरुको वर्णन, धर्मका साधन, परिषदको गठन, जीवनका संस्कार, विवाहका प्रकार, पञ्च महायज्ञ, अतिथि सत्कार, सन्तानका प्रकार, पुनर्विवाह, चार वर्णका अधिकार, आचारका दस सिद्धान्त, गृहस्थ जीवन, स्नातकको कर्तव्य, काठ र धातुका भा“डा र उनको शुद्धता, दानका प्रकार, ज्ञान दानको महत्त्व, श्राद्ध विधि, ग्रह शान्ति, राजधर्म र दण्ड निरुपण गरिएको छ ।

२. व्यवहार खण्ड[सम्पादन गर्ने]

यसका २५ प्रकरणहरूमा ३०७ श्लोक छन् । यो न्याय निरुपणको खण्ड हो । न्याय सम्पादन गर्ने विषयमा याज्ञवल्क्य स्मृतिका सिद्धान्तहरूलाई भारतीय विधिसंहितामा आज पनि सम्मान प्राप्त छ । विशेष गरी दायभाग निरुपणका लागि उनका सिद्धान्तहरू कानूनविदहरूले आज पनि सम्मानपूर्वक हेर्छन् । यस अन्तर्गत न्याय परिषदको गठन, न्यायाधीशको योग्यता, न्याय सम्पादनको कार्यविधि, अभियोग, धर्मशास्त्र र अर्थशास्त्रको विरोध परेमा निर्णयका आधार, शपथ ग्रहण, पिता पुत्र विवाद, स्वामी सेवक विवाद, करार भङ्ग, जुआ, पुरस्कार, व्याभिचार, र न्याय पुनरावलोकनका विषयहरू वर्णन गरिएका छन् ।

३. प्रायश्चित खण्ड[सम्पादन गर्ने]

यस खण्डका पाच प्रकरणमा ३३५ श्लोक छन् । यो मुख्यतः संसकार निरुपणको खण्ड हो । यसमा अन्त्येष्टि क्रिया– जलाउनु र गाडनु, मृत्यु पछिका संस्कार, तर्पण, शोक प्रकट गर्ने नियम, जुठो सूतक बार्नु, विपत्तिमा आचार, जीविका वृत्ति, वानप्रस्थ र यतिका नियम, आत्मा र शरीरको सम्बन्ध, सत्त्व, रज, तमका कारण, धार्मिक प्रायश्चित्त, र नियम नमान्नेहरूको निष्कासनको विवरण छ ।

याज्ञवल्क्य स्मृतिको विषयवस्तु[सम्पादन गर्ने]

याज्ञवल्क्य स्मृतिमा विषय वस्तु छरिएको छ । आचाराध्यायको राजधर्म प्रकरण, व्यवहाराध्यायको साधारण व्यवहार, ऋणादान, उपनिधि, र उत्तराधिकारका नियम, वेतनादान, द्यूतसमाह्य, र सम्भूयसमुत्थान प्रकरणहरूमा दण्डनीति र अर्थशास्त्रको दृष्टिकोण स्पष्ट गरिएको छ । यसका विषय वस्तुको संक्षेप यस प्रकार छ–


१. वर्णाश्रम[सम्पादन गर्ने]

यावल्क्य समाज सञ्चालनका दृष्टिले वर्ण र आश्रम व्यवस्थालाई अनिवार्य मानेका छन् । यस अनुसार विभिन्न वर्णले विभिन्न कार्य विभाजन गरिएको छ । आश्रम व्यवस्था अनुसार याज्ञवल्क्यले ब्रह्मचर्यगृहस्थ आश्रमको सम्बन्धमा विस्तृत विवरण प्रस्तुत गरेका छन् । गृहस्थ जीवनको अनुशासनलाई महत्त्व दिंदै यस आश्रमलाई अर्थ र कामको समुचित उपलब्धिको अवस्था मानेका छन् ।


२. राजधर्म[सम्पादन गर्ने]

मनुस्मृतिमा जस्तै याज्ञवल्क्य स्मृतिमा पनि राज्यको सप्ताङ्ग सिद्धान्त स्वीकार गरिएको छ । याज्ञवल्क्यका अनुसार– स्वामी, अमात्य, जन, दुर्ग, कोश, दण्ड, मित्र यी सात राज्यका प्रकृति (मूल कारण) हुन् । (याज्ञवल्क्यस्मृति, सन् २०१५, ।१.३५३।।) याज्ञवल्क्यले शुक्रले जस्तै दण्डनीतिलाई महत्त्व दिएका छन् । राज्यको सुसञ्चालनका लागि राजाले धर्मशास्त्र, अर्थशास्त्र आदिको प्रशिक्षण लिनु पर्ने, विशेष गुणहरू आर्जन गर्नु पर्ने नियम बनाइएको छ । यसका साथै मन्त्रीमण्डलसंग परामर्श गर्नु पर्ने निर्देश दिइएको छ । राज्यको सर्वाधिक प्रमुख कार्य शान्ति सुरक्षाको स्थापना गरी प्रजालाई निर्भय बनाउनु भनिएको छ । यसका लागि स्थानीय निकाय प्रमुखहरूको नियुक्तिर राजकीय चिह्नको व्यवस्था गर्नु पर्छ भनिएको छ [३] घुस खानेहरू प्रति याज्ञवल्क्य निर्मम देखिएका छन् । उनले आदेशपूर्वक भनेका छन्– त्यस्ताको धन खोसेर उनीहरूलाई देशनिकाला गरिदिनु पर्छ [४] याज्ञवल्क्यस्मृतिमा अप्राप्तको प्राप्ति र प्राप्तिको सुरक्षा, अझ बढी आर्थिक उन्नति र भएका धनको उपयोग गर्नु पर्ने राज्यको दायित्व बताइएको छ [५] राज्यको विविध क्षेत्रमा विशेषज्ञको नियुक्ति गर्नु पर्ने निर्देश छ । साथै विशेषज्ञहरूको नियुक्ति गर्दा धर्मशास्त्र र अर्थशास्त्र ज्ञाता छनौट गर्नु पर्ने आदेश छ । योगक्षेमका कार्यहरूमा आवास निर्माण, कोष संकलन र शान्तिसुरक्षाका कामहरू सम्पन्न गर्नु पर्छ भनिएको छ ।।१.३२३।। तर अन्यायपूर्ण तरिकाले राजकोष संकलन गर्नुलाई निषेध गरिएको छ [६]राजाको व्यस्त दिनचर्यालाई मनुस्मृति र कौटिलीय अर्थशास्त्रमा जस्तै याज्ञवल्क्य स्मृतिले पनि महत्त्व दिएको छ । प्रत्येक प्रहरको दिनचर्या स्मृतिले निर्धारित गरिदिएको छ ( [७] व्यापारीहरूको सुरक्षाबापत उनीहरूले राज्यलाई दशभागको एक भाग तिनु पर्छ भनिएको छ [८] यो व्यवस्था मनुस्मृति अनुसार छ । कारोबार करको रुपमा व्यापारीहरूले राज्यलाई २० भागको एक भाग तिर्नु पर्ने व्यवस्था गरिएको छ । कर छल्नेहरूसंग वस्तुको मूल्यको आठ गुना थप लिनु पर्छ भनेर कर छल्नेलाई कारवाही गरिएको छ । डुङ्गा चलाउनेलाई पारि तराएको शुल्क तिर्नु पर्ने व्यवस्था छ । वस्तु हराएमा सम्बन्धित व्यापारीलाई राज्यले सो वस्तु सोधभर्ना दिनु पथ्र्यो तर त्यस सोधभर्नाका निश्चित नियमहरू थिए, जस्तै यो व्यवस्था कारोबार वर्ष भित्रमा सीमित गरिएको छ, यसका यो बीमा सुविधा कर तिरेका वस्तुहरूमा मात्र सीमित थियो [९] यी शर्तहरू पूरा नगर्ने व्यापारीलाई राज्यले वस्तु फिर्ता दिनु पर्ने अनिवार्यता थिएन ।


३. दानको महत्त्व[सम्पादन गर्ने]

प्राचीन समयमा दानलाई राष्ट्रिय आय हस्तान्तरण गर्न, आय असमानतामा कमी ल्याउन र योग्य व्यक्तिहरुलाई पुरस्कार प्रदान गर्नका लागि दान क्रियाको उपयोग हुन्थ्यो । त्यसैले याज्ञवल्क्य स्मृतिमा ज्यादै महत्त्व दिइएको छ । त्यसमा पनि गाई दानलाई सर्वाधिक फलदायक बताइएको छ । धन दान गर्दा पारिवारिक सरसल्लाह गर्नुपर्ने निर्देश दिंदै भनिएको छ– आफ्ना कुटुम्बले विरोध नगर्ने गरी मात्र दान दिनु पर्छ भनिएको छ । [१०]

४.मौद्रिक व्यवस्था एवं परिवत्र्य दर[सम्पादन गर्ने]

विभिन्न मुद्राहरू तथा उनीहरूको आपसी विनिमय दरको व्यवस्थाको विवरणले याज्ञवल्क्यको समयमा प्रभावपूर्ण मौद्रिक व्यवस्था भएको बुझिन्छ । यस परिवत्र्य दर अनुसार पाच कृष्णलको एक माष, र सोह्र माषको एक सुवर्ण हुन्छ भनिएको छ । त्यसै गरी चार वा पाच सुवर्णको एक पल हुन्छ भनिएको छ । दुई कृष्णलको एक चा“दीको मास र सोह्र चा“दीका माषको एक धरण बताइएको छ । दस धरणको एक शय माने पल हुन्छ । चार सुवर्ण र एक निष्क आपसमा बराबर हुन्छन् भनिएको छ । एक कर्ष (पलको चौथो भाग) बराबर तामाको एक सिक्का हुन्छ भनेर बताइएको छ [११]

५.व्यावसायिक क्रियाकलाप[सम्पादन गर्ने]

याज्ञवल्क्य स्मृतिमा क्रेता र विक्रेताको क्रियाकलाप, त्यस सम्बन्धी नियम, मूल्य निर्धारण, नाफाको नियमन, ब्याज दरको निर्धारणका विाष्य वस्तु विषयक वस्तु पनि पाइन्छ । मूल्य निर्धारणमा राजकीय हस्तक्षेप स्पष्ट गरिएको छ । त्यस मूल्यमा किनबेच गर्नु पर्ने अनिवार्यता गरिएको छ । स्वदेशी वस्तुमा नाफाको दर पा“च प्रतिशत र विदेशी वस्तुमा दश प्रतिशतमा सीमित गरिएको छ । यसभन्दा बढी नाफामा कारावही गनेृ नियम बनाइएको छ । ब्याज दर पनि स्मृतिमा निर्धारण गरिएको छ । यस अनुसार न्यूतनम ब्याज दर १० प्रतिशत र अधिकतम २० प्रतिशत मानिएको छ [१२]

६. सम्पत्ति उत्तराधिकार[सम्पादन गर्ने]

सम्पत्ति उत्तराधिकारका बडो स्पष्ट र वैज्ञानिक नियम याज्ञवल्क्यले बनाएका छन्। उदाहरणका लागि उनले के स्पष्ट गरेका छन् भने पिताको मृत्यु पश्चात् सबै सन्तानलाई बराबर सम्पत्ति भाग लागउनु पर्छ तर एक बराबर भाग उनीहरुकी आमालाई पनि लगाउनु पर्छ भनिएको छ । यस भनाईले याज्ञवल्क्य महिला अधिकारका पक्षपाती देखिन्छन् ।

७. लगानी र ब्याज[सम्पादन गर्ने]

याज्ञवल्क्यले व्यापारीको नाफा वा हानिलाई प“ूजीको लाभदायकसंग सम्बन्धित गरेर ठीक त्यस प्रकारको विचार व्यक्त गरेका छन् जुन विचार केन्सले पू“जीको सीमान्त उत्पादकतामा उल्लेख गरेका छन् । याज्ञवल्क्यका अनुसार, लगानी गरे पछि जति द्रव्य लगाइएको छ त्यसको आधारमा नाफा वा हानि तय गर्नु पर्छ [१३] यदि लगानी गरे जति मात्र उत्पादन प्राप्त हुन्छ भने शून्य नाफाको अवस्था हुन्छ तर यदि लगानीभन्दा केही बढी प्राप्त हुन्छ भने नाफा र लगानीभन्दा केही कम प्राप्त हुन्छ भने हानि हुन्छ । आधुनिक समयमा लगानी भन्नासाथ त्यसमा प्रचलित ब्याज पनि समावेश हुन्छ त्यसैले आधुनिक अर्थशास्त्रीहरूले ब्याज दरसंग पूजीको प्रत्याशित लाभदायकता तुलना गरेर लगानी फाइदाजनक छ कि छैन भन्ने कुराको अनुमान गर्छन् । यस अनुसार यदि ब्याज दर र पूंजीको प्रत्याशित लाभदायकता बराबर छ भने लगानीको सन्तुलन हुन्छ । यदि ब्याजभन्दा प्रत्याशित लाभदायकता कम छ भने हानि र बढी भएमा नाफा हुन्छ भनेर विश्लेषण गरिन्छ ।

उपसंहार[सम्पादन गर्ने]

याज्ञवल्क्यस्मृति मनुस्मृति जस्तै राज्य सञ्चालनको ग्रन्थ हो । तर यसले राज्यभन्दा पनि समाज सञ्चालनमा बढी ध्यान केन्द्रित गरेको छ । यसको रचना मिथिला (वर्तमान जनकपुर) मा गरिएको स्पष्ट उल्लेख छ । न्याय सम्पादनका दृष्टिले यो ग्रन्थ आजसम्म सान्दर्भिक मानिन्छ ।

सन्दर्भ[सम्पादन गर्ने]

  1. याज्ञवल्क्यस्मृति, (सन् २०१५), गंगासागर राय, (सम्पा. एवं व्या.), दिल्ली ः चौखम्बा संस्कृत प्रतिष्ठान ।
  2. आचार्य, पं. श्रीरामशर्मा, सन् २०११
  3. याज्ञवल्क्यस्मृति, सन् ।।१.३२३।।)
  4. याज्ञवल्क्यस्मृति, सन् २०१५,।।१.३३९।।
  5. ।।१.३१७।।
  6. याज्ञवल्क्यस्मृति, सन् २०१५,) ।।१.३४०–४१।।
  7. याज्ञवल्क्यस्मृति, सन् २०१५,।।१.३२८–३३३।।
  8. याज्ञवल्क्यस्मृति, सन् २०१५,।।२.२६०।।
  9. ।।२.१७३।।
  10. याज्ञवल्क्यस्मृति, सन् २०१५,।२.१७५।।
  11. याज्ञवल्क्यस्मृति, सन् २०१५,।।१.३६४–६५।।
  12. याज्ञवल्क्यस्मृति, सन् २०१५,।।२.३७।।
  13. याज्ञवल्क्यस्मृति, सन् २०१५,।।२.२५९।।