पुरुषार्थ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

परिचय[सम्पादन गर्ने]

पुरुषार्थको अर्थ हो जुन कुराले मानिसको जीवन सार्थक हुन जान्छ । वेद उपनिषद, पुराण, र स्मृतिग्रन्थहरुले सामाजिक जीवनका तीन स्तम्भहरु बताएका छन्– चार पुरुषार्थ, चार वर्ण र चार आश्रम । चार वर्ण भनेको ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र हो । चार आश्रम भनेको ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र संन्यास हो । चार पुरुषार्थको अर्थ हो– धर्म, अर्थ, काम, र मोक्ष । यी तीनवटै कुराहरु आपसमा सम्बन्धित छन् ।[१]

पुरुषार्थ प्राप्तिका लागि साधन[सम्पादन गर्ने]

वर्ण व्यवस्थाआश्रम व्यवस्था आपसमा कति जोडिएका छन् भने यसलाई वर्णाश्रम व्यवस्था भनिन्छ । यी दुवै व्यवस्था पुरुषार्थ प्राप्तिको मार्गका साधन बताइउका छन् ।

  • सामाजिक व्यवस्था

चार वर्ण सामाजिक व्यवस्था हो । समाजको प्रत्येक वर्गलाई श्रम विभाजनको आधारमा विशिष्टिता प्रदान गर्नु यस विभाजनको उद्देश्य रहेको छ । ज्ञानार्जनमा लाग्नेहरूलाई ब्राह्मण, शक्ति आर्जनमा लाग्नेहुरूलाई क्षत्रिय, धनार्जनमा लाग्नेहरूलाई वैश्य र शिल्प व्यवसाय गरी अन्य तीन वर्णहरूको सेवामा लाग्नेलाई शूद्र भनिएको छ । वैदिक सनातन वर्णाश्रम(हिन्दु)धर्म दर्शनको यो चातुर्वर्ण्य विभाजनको यो दर्शन वातावरण र वंशानुक्रमको अद्भुतसंयोगको रुपमा व्यक्त भएको छ किनभने यो दर्शन केवल जन्ममा आधारित नभएर जन्म+कर्ममा आधारित थियो | हाल यो सिद्धान्त विकृतप्राय भैसकेको छ | ।

  • आश्रम व्यवस्था

समाज विकासका लागि वर्ण व्यवस्थाको आवश्यकता मानिए जस्तै प्राचीन दार्शनिकहरूले व्यक्तिको व्यक्तित्व विकासका लागि चार आश्रम ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थसंन्यास पनि उत्तिकै अनिवार्य र महत्वपूर्ण मानेका छन् । "जीवेम शरदःशतम्" भन्ने वेदको उक्ति अनुरुप मानिसको आयुलाई १०० वर्षको मानेर मानवजीवनलाई चार भाग लगाई चार आश्रमको समय प्रत्येकको २५-२५ वर्ष तोकिएको छ । प्रथम आश्रम ब्रह्मचर्य हो । यस आश्रम अन्तर्गत व्यक्तिले गुरुको आश्रममा रहेर कठोर अनुशासन पालन गर्दै वेदविद्याध्ययन गर्नु पर्दथ्यो । ब्रह्मचर्य समाप्त भए पछि गृहस्थ आश्रम प्रारम्भ हुन्थ्यो । विद्याध्ययन पूरा भए पछि ब्रह्मचर्य आश्रमको समाप्ति र गृहस्थ आश्रमको प्रारम्भ हुन्थ्यो । गृहस्थ आश्रमको आरम्भ २५ वर्षको उमेर पछि मानिएको छ । यस आश्रममा धर्मानुकूल उपायहरुद्वारा जीविकोपार्जन गर्नु,सवर्ण तथा असगोत्र परिवारसंग विवाह सम्बन्ध गा“स्नु पर्वभिन्न तथा ऋतुकालमा स्त्री समागम गर्नु,वेदोक्त रीतिले नित्य स्नान सन्ध्या गरी आशौच न परेका बखत नित्य पञ्चयज्ञ(देवयज्ञ,पितृयज्ञ,भूतयज्ञ, अतिथियज्ञ) गरी भृत्य (कर्मचारी, सेवक) हरूलाई आश्रय दिएर आफुले जीविका चलाउनु जस्ता नियम पालन गर्नु पथ्र्यो । वानप्रस्थीको स्वधर्ममा– ब्रह्मचर्यव्रत पालन, भुईंमा सुत्नु, जटा-मृगचर्म धारण गर्नु, नित्य स्नान गर्नु, प्रातः मध्याह्न सायं स्नान सन्ध्या अग्निमा होम गर्नु,वलिवैश्वदेव,पितृ र अतिथिको पूजा गर्नु, वनमा हुने कन्द मूल फल आहार गर्नु तीर्थाटन जस्ता नियमहरू बनाइएको छ । जीवनको अन्तिम समयमा संन्यास आश्रमको व्यवस्था गरिएको छ । यस आश्रममा इन्द्रिय संयम,नित्यस्नान सन्ध्याोपासनाका रूपमा ब्रह्मात्मैकत्व (जगद्कारण ब्रह्म र आत्माको एकताको विचार )गर्नु ,पुत्रैषणा,लोकैषणा, वित्तैषणा आदि कुनैको वशमा न आउनु,कुनै उद्योग नगर्नु, अकिंचन रहनु, संग छोड्नु, अनेक घरमा भिक्षा मागेर जीवन पालन गर्नु, एकान्त स्थलमा बस्नु, बाहिर र भित्र पवित्र रहनु, हिंसा नगर्नु, सत्य बोल्नु, कसै माथि रीस नगर्नु, क्रूर नहुनु, सहनशील हुनु,जस्ता यतिका नियम निर्धारण गरिएको छ । संन्यास आश्रम केवल मोक्षको आकांक्षीलाई मात्र जरुरी बताइएको छ । अन्य पुरूषार्थीहरूलाई यो आश्रम स्वैच्छिक छ ।

उपसंहार[सम्पादन गर्ने]

वर्ण र आश्रमको उद्देश्य पुरुषार्थ प्राप्ति हो । वर्ण सामाजिक पुरुषार्थका लागि र आश्रम व्यक्तिगत पुरुषार्थका लागि साधन बताइएका छन् । जीवनमा तीन (धर्म, अर्थ, र काम) वा चारवटा (धर्म, अर्थ, काम, र मोक्ष) मध्ये एउटाको पनि उपलब्धि नहुने जीवनलार्य निरर्थक भनिएको छ । उत्कृष्ट सामाजिक जीवन भनेको त्रिवर्ग हो । त्यस पुरुषार्थलाई उत्कृष्ट भनिएको छ जसमा धर्म, अर्थ र कामको सन्तुलन हुन्छ। यस अवधारणालाई सर्वप्रथम वैदिक सनातन वर्णाश्रम(हिन्दु)धर्मका विचारकहरूले प्रस्तुत गरेका हुन्, त्यसैले यसलाई वैदिक(हिन्दु)धर्म अनुरुप सन्तुलित नामकरण गरिएको हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. ज्ञवाली, बाबु राम (२०१२). पूर्वीय अर्थशास्त्र – प्राचीनतम तथ्य, नवीनतम जानकारी. रुपन्देही: ज्ञानज्योति प्रकाशन. ISBN 978-9937-2-5285Check ISBN .