आश्रम व्यवस्था

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आश्रमको शाब्दिक अर्थ हो परिश्रमका साथ । आश्रमको अर्थ कुटी वा संस्था पनि हुन्छ जस्तै साबरमती आश्रम । उपनिषदकालमा यसको विकास भएको हो । वैदिक(हिन्दु) समाजका धर्मतत्वका विज्ञ तथा दार्शनिकहरुद्वारा समाजविकासका लागिवर्णव्यवस्था को आवश्यकता मानिए जस्तै व्यक्तिको व्यक्तित्वविकास गरी जीवन र जगत् को वास्तविक रहस्य बुझी सुख,स्वर्ग,तथा मोक्ष प्राप्तिका लागि आश्रम व्यवस्था अनिवार्य मानिएको छ । यसको माध्यमबाट व्यक्तिले पूर्णता र पूर्णसन्तोष प्राप्त गर्न सक्छ भन्ने मानिएको छ ।

चार भागमा विभाजन[सम्पादन गर्नुहोस्]

आश्रम चारवटा बनाइएका छन्– ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र संन्यास । सुरुमा तीन आश्रमको वर्णन पाइन्छ । चारवटा आश्रमको उल्लेख सर्वप्रथम जाबालि उपनिषदमा आएको छ ।।[१] यस अघि केवल तीनवटा ब्रहमचर्य, गृहस्थ, र सन्न्यासको विवरण पाइन्छ बृहदारण्यक उपनिषदमा याज्ञवल्क्य र कात्यायिनीको वार्ताबाट त्यस बेला वानप्रस्थ र सन्न्यासमा अन्तर नभएको बुझिन्छ ।[२] मनुस्मृतिमा एक आर्यको जीवनलाई चार भागमा विभाजन गरिएको छ । जसलाई आश्रम भनिन्छ, ब्रह्मचारी, वा शिष्य अवस्था, गृहस्थ वा घरेलु जीवन, तपस्वी वा वानप्रस्थ आश्रम र यति वा साधु अवस्था ।[३] अमरकोशमा चार आश्रमलाई ब्रह्मचर्य, गृही, वानप्रस्थ, र भिक्षु भनिएको छ । [४]

ब्रह्मचर्य आश्रम[सम्पादन गर्नुहोस्]

सुरुको २५ वर्ष ब्रह्मचर्य आश्रम भनिएको को छ । यस आश्रमा रहंदा विद्यार्थीले नियमित स्वाध्याय, नित्य स्नान, अग्नि सेवा, भिक्षाटनबाट जीविकोपार्जन गर्ने र सधैं गुरूको समीप रहनु पर्ने नियम पालन गर्नु पथ्र्यो । गुरू अनुपस्थित रहेमा गुरूपुत्र वा समान शाखाध्यायीको संगत गर्नु पर्ने नियम पनि बनाइएको थियो । यो नियम दीक्षारम्भ समारोहमा पालन गर्ने प्रतिबद्धता व्यक्त गरिन्थ्यो । जसलाई उपनयन संस्कार भनिन्छ । उपनयनको अर्थ हो गुरु समक्ष लैजानु । गुरूकुल आश्रममा दीक्षान्त समारोह गरी ५० वर्ष उमेरसम्म गृहस्थ आश्रममा बस्ने निर्देश दिई विद्यार्थीहरूलाई घर पठाइन्थ्यो । यस समारोहमा उनीहरूलाई भावी जीवनलाई सुखी गर्नु पर्ने कामको बारेमा निर्देश दिइन्थ्यो । [५] सुरुका २५ वर्षको जीवन ज्यादै कठोर र अनुशासित बनाइएको छ । यसमा आज्ञाकारिता, अध्ययनशीलता, पवित्रताको विकास गरिएको छ ।

चित्र:Gurukul
गुरुकुल

तैत्तिरीयोपनिषदमा ब्रह्मचर्य आश्रमका कर्तव्य यस प्रकार उल्लेख छ[६]
ऋतं च स्वाध्यायप्रवचने च । सत्यं च स्वाध्यायप्रवचने च । तपश्च स्वाध्यायप्रवचने च । दमश्च स्वाध्याय प्रवचने च । शमश्च स्वाध्यायप्रवचने च । अग्नश्च स्वाध्यायप्रवचने च । अग्निहोत्रश्च स्वाध्यायप्रवचने च । अतिथयश्च स्वाध्यायप्रवचने च । स्मानुषं च स्वाध्यायप्रवचने च । प्रजा च स्वाध्यायप्रवचने च । प्रजनश्च स्वाध्यायप्रवचने च । प्रजातिश्च स्वाध्यायप्रवचने च ।

गृहस्थ आश्रम[सम्पादन गर्नुहोस्]

गृहस्थ आश्रमको अर्थ हो घरेलु जीवन । जीवनको सक्रिय अवस्था अर्थात् २५ देखि ५० वर्षसम्मको उमेरलाई गृहस्थ आश्रम भनिएको छ ।
धर्मशास्त्रहरूमा गृहस्थ आश्रमलाई सबै आश्रमहरूको आधार र सबै भन्दा महत्त्वपूर्ण आश्रम भनिएको छ ।

महत्त्व

मनुस्मृतिमा गृहस्थ आश्रमको महत्त्व यस प्रकार बताइएकोा छ
यथा नदीनदाः सर्वे सागरे यान्ति संस्थितिम् ।
तथैवाश्रमिणः र्वे गृहस्थे यान्ति संस्थितिम् ।।[७]
जसरी समुद्र प्राप्त नहुञ्जेल खोला, नदी घुमिरहनछन् त्यसै गरी अन्य आश्रम गृहस्थ आश्रम वरिपरि नै घुमिरहन्छन् ।
ब्रह्मचर्य आश्रममा सञ्चित ज्ञानलाई यस आश्रममा प्रयोग गरिन्थ्यो । दोस्रो अवस्था, जुन २५ वर्षपछि सुरु हुन्छ, मा विवाहित जीवनका सारा कर्तव्य समावेश हुन्छन् । यसमा व्यक्तिगत र सामाजिक जीवनका जसमा दान दिनु, यज्ञयाग, र कर्मकाण्ड सामेल हुन्छन् ।

दीक्षान्त वाक्य

जीवनका २५ वर्ष ब्रह्मचर्य आश्रममा बिताए पछि गुरुकुलमा दीक्षान्त समारोह गरी विद्यार्थीहरूलाई गृहस्थ आश्रममा गई स्वकर्तव्य पालन गर्ने निर्देश दिइन्थ्यो । तैत्तिरीय उपनिषदमा दीक्षान्त वाक्यहरु यस प्रकार बताइएको छ मातृ देवो भव ।
पितृदेवो भव ।
आचार्यदेवो भव ।
अतिथि देवो भव ।
स्वाधायान्माप्रमद । [८]
[९] यस आश्रमका कर्तव्यमा विवाह, दाम्पत्य सुख, सन्तान उत्पादन र लालन पालन, धन आर्जन, दान, अतिथि सत्कार, मान्य जनको आदर, यज्ञ गर्नु गराउनु तथा शास्त्र चर्चा जस्ता कुरा पर्दछन्। धर्म शास्त्रहरूमा यज्ञको कर्तव्य गृहस्थलाई भनिएको छ सन्न्यासीलाई होइन। सन्तान उत्पादनबाट तीन ऋणमध्ये एक पितृ ऋणबाट मुक्ति हुन्छ भनिएको छ ।

वानप्रस्थ आश्रम[सम्पादन गर्नुहोस्]

गृहस्थ पछिका २५ वर्ष अवधिलाई वानप्रस्थ भनिएको छ । वानप्रस्थ शब्दको अर्थ हो वनतिर प्रस्थान गर्न तैयार भएको अवस्था । वास्तवमा वानप्रस्थ जीवन संन्यास जीवनका लागि अभ्यास हो । शतपथ ब्राह्मण काण्ड १४मा भनिएको छ[१०]
ब्रह्मचार्यश्रमं समाप्य गृही भवेत गृहीं भूत्वा वनी भवेद्वनी भूत्वा प्रव्रजेत ।
ब्रह्मचर्य पछि गृहस्थ, गृहस्थ पछि वानप्रस्थ र त्यस पछि संन्यास लिनु पर्छ ।

संन्यास आश्रम[सम्पादन गर्नुहोस्]

जीवनको अन्तिम समयमा संन्यास आश्रमको व्यवस्था गरिएको छ । यस आश्रममा इन्द्रिय संयम, कुनै उद्योग नगर्नु, अकिञ्चन रहनु,सँग छोड्नु, अनेक घरमा भिक्षा मागेर जीवन पालन गर्नु, वनमा बस्नु, बाहिर र भित्र पवित्र रहनु, हिंसा नगर्नु, सत्य बोल्नु, कसै माथि रीस नगर्नु, क्रूर नहुनु, सहनशील हुनु, यति नियम निर्धारण गरिएको छ । मनुस्मृतिमा चारै आश्रमको लक्षण, कर्तव्य र विधिको सविस्तार वर्णन छ ।

वानप्रस्थ र संन्यास आश्रममा अन्तर[सम्पादन गर्नुहोस्]

पहिलो र दोस्रो सबैले बुझ्छन् । एउटा अध्ययनको अवस्था हो भने अर्को सामान्य घरेलु जीवन हो । पचास वर्ष पछिको तेस्रो र ७५ वर्ष पछिको चौथो जीवन पवित्रता र त्यागका साथ बिताउने अवस्था हो । दुवै जीवनको मुख्य अन्तर के हो भने एउटामा वन बाहिर बस्ने हो जसमा परिवारसंग जीवन बिताउन सकिन्छ । केटाकेटीको रेखदेख हुनसक्छ । हवन पूजा हुन सक्छ । ती सबै कुरा जुन धर्मशास्त्रमा उल्लेख ती सबै काम गर्न सकिन्छ । अन्तिम जीवनमा एक्लै कसैको सहारा बिना बस्नु पर्छ । सबै कुरा छोडेर बस्नु पर्छ । हुनत, अङ्ग्रेजीमा तेस्रोका लागि हर्मिट hermit र चौथोका लागि एसेटिक ascetic अवस्था भन्न सकिन्छ तर त्यसका लागि स्पष्ट शब्द अङ्ग्रेजीमा छैन । संस्कृतमा यी अवस्थाहरूको अलग अलग नाम उल्लेख पाइन्छ । दुवैको अन्तर के हो भने संसारको सामान्य त्याग वानप्रस्थ हो भने संसारिक तृष्णाको पूर्ण त्याग र सबै कृत्यहरूको परिसमाप्ति, मनमा कुनै चाहना नराख्नु र निश्चित वास स्थान नहुनु संन्यास हो ।[११]

आश्रम, विशेषता र समय[सम्पादन गर्नुहोस्]

चार आश्रमका मुख्य विशेषता र आयुलाई तालिकामा संक्षेपीकरण गर्दै निम्नलिखित प्रकारले देखाउन सकिन्छ–

तालिका. आश्रम, त्यसका विशेषता र आयु

आश्रम कार्य र अवस्था आयु
ब्रह्मचर्य भावी जीवनको तैयारीका लागि अनुशासनमा बस्ने अवस्था सुरुका २५ वर्ष
गृहस्थ उत्पादन र उपभोगको अवस्था २५ देखि ५० वर्ष
वानप्रस्थ ज्ञान र अनुभव सामञ्जस्यको अवस्था ५० देखि ७५ वर्ष
सन्न्यास आत्म–कल्याणको अवस्था ७५ देखि माथि

निष्कर्ष[सम्पादन गर्नुहोस्]

संक्षेपमा जीवनका चार विभाजनलाई यस प्रकार विभाजन गर्न सकिन्छ[१२]

  • १. जिज्ञासा र विकासको अवस्था,
  • २. उद्योग र उपभोगको अवस्था,
  • ३. ज्ञान अनुभवको सामञ्जस्य काल, र
  • ४. आत्म कल्याणको धारणा

यी चार कुराहरूबाट व्यक्तिको व्यक्तित्व विकास भइ मानव जीवन पूर्ण हुन्छ भन्ने हिन्दु मान्यता रहिआएको छ । वर्ण व्यवस्था जस्तै आश्रम व्यवस्था हिन्दु सामाजिक जीवनको महत्तवपूर्ण अङ्ग हो । तर वर्ण व्यवस्थाको बारेमा जनि चर्चा गरिन्छ, आश्रम व्यवस्थाबारे चर्चा गरिंदैन । वर्णाश्रम व्यवस्थाको लक्ष्य भने पुरुषार्थको उपलब्धि मानिएको छ

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. जाबालि उपनिषद
  2. बृहदारण्यक उपनिषद
  3. मनुस्मृति
  4. अमरकोश
  5. तैत्तिरीय उपनिषद
  6. तैत्तिरीयोपनिषद
  7. मनुस्मृति
  8. तैत्तिरीयोपनिषद् १.११.१
  9. खप्तड बाबा, धर्म विचार
  10. शतपथ ब्राह्मण काण्ड १४
  11. रामकृष्ण एन्ड हिज सेईंग्स, म्याक्स मुलर, १८९६
  12. बाबु राम ज्ञवाली, पूर्वीय अर्थशास्त्र – प्राचीनतम तथ्य, नवीनतम जानकारी, ज्ञानज्योति प्रकाशन, रुपन्देही, २०१२, 978-9937-2-5285