चार्वाक दर्शन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

चार्वाक दर्शनएउटा भौतिकवादी नास्तिक दर्शन हो ।

चार्वाकको सिद्धान्त

परिचय[सम्पादन गर्ने]

चार्वाकको अर्थ हुन्छ मिठो बोली– चारु (सुन्दर) र वाक् (बोली) यी दुइ शब्द मिलेर चार्वाक बनेको छ । पछि कुनै कारणले यस शब्दको नकारात्मक प्रयोग हुन थाल्यो । अनि पछि यसको अर्थ हुन थाल्यो– यस्ता व्यक्ति जसले मिठा मिठा कुरा गरेर समुदायलाई झुक्याउंछन् । मानिसहरुलाई बराल्छन् । यस्तो काम गर्नेहरुलाई चार्वाक अनुयायी भन्न थालिएको हुन सक्छ । चार्वाक मतका लागि बृहस्पति अर्थसूत्र, कौटिलीय अर्थशास्त्र र बौद्ध पिटकहरुमा लोकायत शब्दको प्रयोग भएको छ । यसको अर्थ हुन्छ, यस लोकको सुन्दरतामा विश्वास गर्ने दर्शन । जसले स्वर्ग, नर्क र मोक्ष जस्ता कुरामा विश्वास गर्दैन । लोकमा आयत अर्थात् लोकले सुन्न मन पराउने कुरा लोकायत । गीतामा समेत अप्रत्यक्ष रुपमा यस दर्शनबारे संकेत गरिएको छ ।[१] प्रचलनमा भएको लोकाचार पार्ने नेपाली उखानको पनि यस शास्त्रसंग केही सम्बन्ध छ कि? यो एक खोजीको विषय हुन सक्छ ।

लोकायत शास्त्र[सम्पादन गर्ने]

आधुनिक समयमा जुन दर्शनलाई भौतिकवादी दृष्टिकोण भनिन्छ, त्यस दृष्टिकोणलाई पूर्वीय दर्शनकारहरुले लोकायत शास्त्र भनेका छन् । त्यस बेला भौतिकवाद प्रतिष्ठित भइसकेको थिएन । अन्य कुनै पनि वाद प्रतिष्ठित थिएन । प्राचीन समयमा केवल वैदिक र वेदबाह्य दुइ थरी विचार थिए । सर्वदर्शनसंग्रह पछि लोकायतको नाम चार्वाक बढी प्रसिद्ध हुन गयो र वर्तमान जीवनलाई मात्र प्रमुख मान्ने विचारलाई पछि चार्वाक दर्शन भन्न थालियो । वेदबाह्य छ वटा दर्शनमध्ये एक हो चार्वाक र अन्य पांचवटा हुन्– माध्यमिक, योगाचार, सौत्रान्तिक, वैभाषिक र आर्हत । यी दर्शनहरुले आत्माको अनवश्वरतालाई अप्रमाणित विषय मान्दछन् । शंकराचार्यको समयमा पनि चार्वाक मतावलम्बीहरुको सम्प्रदाय थियो भन्ने कुरा बुझिन्छ । आजभन्दा बारह शय वर्ष अघि आदिगुरु शंकराचार्यले चार्वाक, सौगत, क्षपणक, जैन, बौद्ध, कुक्कुरसेवक, विष्वक्सेन उपासक तथा कामदेवता मतावलम्बीहरु संग शास्त्रार्थ गरेको कुरा उनका जीवनीकारहरुले उल्लेख गरेका छन् ।

चार्वाकको उल्लेख[सम्पादन गर्ने]

हुनत, चार्वाक नामको उल्लेख महाभारतमा आएको छ, तर चार्वाक दर्शन त्यहा“ पाईंदैन । रामायणमा चार्वाकको नाम पाईंदैन । तर रामायण अयोध्याकाण्डमा महर्षि जाबालिले रामचन्द्रलाई बनवास छोडेर अयोध्या फर्किने जुन सुझाव दिएका छन्, त्यो यस मतसंग मिल्दो जुल्दो छ । यस दर्शनसंग मिल्दा जुल्दा कुराहरु अनेक ग्रन्थहरुमा छरिएका छन् । यस दर्शनले वैभाषिक जस्तै प्रत्यक्ष प्रमाणबाहेक अन्य कुनै पनि तर्कलाई अस्वीकार गर्छ । जुन कुरा प्रत्यक्ष इन्द्रियले जानिन्छ त्यो मात्र सत्य हुन्छ । यस अनुसार अनुमान विधि ज्ञानका लागि प्रमाण हुन सक्दैन किनभने यसबाट केवल सम्भावना उत्पन्न गर्न सकिन्छ । अनुमान भनेको प्रत्यक्ष ज्ञानलाई भूतकाल वा भविष्यकालमा गरिएको विस्तार मात्र हो । यस्तो विस्तार असम्भव र निरर्थक हुन्छ ।

चार्वाक मतका केही भनाईहरु[२][सम्पादन गर्ने]

चार्वाक मतमा भनिएका केही प्रचलित भनाईहरु यस प्रकार छन्–
यदि यज्ञमा बलि चढाइएको पशु स्वर्ग जान्छ भने यजमानले आफ्ना बाबु आमालाई किन मार्दैन ? यज्ञमा जुन पशुबलि हुन्छ यसले यज्ञलाई धर्म होइन अधर्म सिद्ध गर्छ ।
चार्वाकको विचारमा सुख दुख सबै यसै संसारमा भोगिने कुरा हुन् । दुख छ भनेर यस संसारको सुख छोडेर कल्पित सुख र स्वर्गको खोजी गर्ने मूर्ख हुन् । यस दर्शनले प्रश्न गरेकोछ– माछामा कांडा छन् भनेर माछा खांदै नखाने ? गाईवस्तुले खेती खाइदिन्छ भनेर खेती गर्नै छोडिदिने ? जब यस संसार बाहेक अन्यत्र स्वर्ग नर्क छैन भने धर्मको फल भन्नु फजुल कुरा हो ।
चार्वाक मतमा केवल चार तत्त्व प्रमुख छन्– पृथ्वी, जल, तेज, र वायु । यी चार तत्त्व स्थूल हुन्छन् । आकाश तत्त्वलाई चार्वाक मतले अस्वीकार गर्छ । किनभने त्यसलाई देखाउन सकिंदैन । बौद्ध दर्शन जस्तो यसले अरु सबैलाई शून्य मान्छ । चार महाभूत किन र कसरी उत्पत्ति हुन्छन् ? यिनीहरुको उत्पत्तिको कारण के हो भन्ने कुरा यस दर्शनमा स्पष्ट गरिएको छैन ।
यस दर्शन अनुसार आत्मा भन्ने वस्तुको अस्तित्व छैन । चेतना शरीरको गुण हो । यो शरीर नै आत्मा हो । यसलाई सिद्ध गर्ने तीन तरीकाहरु चार्वाक मतमा छन्– तर्क, अनुभव र आयुर्वेद प्रमाण ।
तर्कका आधारमा यस दर्शनले के मान्दछ भने शरीर रहुञ्जेल आत्मा हुन्छ । त्यस पछि सबै समाप्त हुन्छ । केही पनि हुंदैन । आफैंले प्रत्यक्ष बताउने अनुभव के छ भने म दुर्बल छु, म गोरो छु इत्यादि ।
यी सबै शरीरका अनुभव हुन् । यो पनि एक प्रकारको स्थूल जानकारी हो । स्थूलता, दुर्बलता आदि शरीरका धर्म हुन् । म भनेको त्यही शरीर हो । तेस्रो प्रमाणलाई आयुर्वेद प्रमाण भन्न सकिन्छ । यो रासायनिक प्रक्रियाको सिद्धान्त हो । मिश्रण वा यौगिक निर्माण हुने सिद्धान्त । जसरी गुंड, चामल, र महुआको संयोगले स्वतः मदिरा तैयार हुन्छ अथवा पान, चूना, कत्था र सुपारी मिसाउंदा आफैं रातो रंग उत्पन्न हुन्छ । त्यसै गरी भूमि, जल, तेज र वायु यी चार कुराको संयोगले शरीरमा चेतना आफैं उत्पन्न हुन्छ । यसलाई आयुर्वेद प्रमाण भनिन्छ । तर यस सिद्धान्तले के स्पष्ट गर्दैन भने यी तत्त्वहरुलाई विशिष्ट मात्रामा नै मिश्रण गर्नु पर्ने कारण के हो ? यसबारे यो दर्शन मौन छ ।
चार्वाक मतमा राजा भनेको यस लोकको स्वामी हो । उसको नियम सबैले मान्नु पर्छ । त्यसैले प्रत्यक्ष ईश्वर भनेको त्यही राजा हो । किनभने उसले असल र खराबको निर्णय गरी दण्ड र पुरस्कार दिन्छ ।
सुख र धर्म तथा दुख र अधर्मको सम्बन्धलाई कोइली र कागको बोलीबाट स्पष्ट गरिएको छ । जसरी कोइलीको बोली प्रभाव मधुर हुन्छ र कागको बोली प्रभाव कर्कश हुन्छ । धर्म र अधर्मको प्रभाव स्वाभाविक हो । प्राकृतिक हो ।
जुन कामले शरीरलाई सुख पुर्याउंछ । इन्द्रिय तृप्त हुन्छ । त्यो गर्नु पर्छ । इन्द्रिय आनन्द लिन जुन कुरा बाधक हुन्छ त्यसलाई समाप्त गर्नु पर्छ । चार्वाक दृष्टिमा अर्थ र काम नै पुरुषार्थ हो । स्त्री, पुत्रादिबाट प्राप्त सुख मात्र सुख हो । त्यसैको प्राप्ति पुरुषार्थ हो ।
शरीर हुञ्जेल कष्ट हुन्छ । शरीर सिद्धिए पछि कष्ट हराउंछ । त्यो हराउनु नै मोक्ष वा मुक्ति हो ।
बीउबाट वृक्ष बन्नुमा ईश्वरीय चमत्कार देख्नु हास्यास्पद छ । त्यो केवल भूमि, जल, तेज इत्यादिको संयोगले उत्पन्न हुने कुरा हो ।
मेरो शरीर भन्ने कुरालाई चार्वाक दर्शनमा एक प्रकारको भाषिक अपवाद मानिन्छ । यस दर्शनले उदाहरणका लागि राहु र केतुलाई प्रस्तुत गरेको छ । सबैले राम्ररी जानेको कथा के हो भने राहु र केतु एउटै राक्षसका दुइ भाग हुन् । टाउकोलाई राहु र टाउको देखि तलको भागलाई केतु भनिन्छ । तर बोल्दा राहुको टाउको भनिन्छ । त्यस्तै मेरो शरीर भनिएको हो । म भनेको र मेरो शरीर भनेको एउटै कुरा हो ।
चार्वाक दर्शनमा शरीरभन्दा पृथक जीवको अस्तित्व हुंदैन । शरीर विनाश हुंदा जब दाहसंस्कार गरिन्छ, त्यो जीव भन्ने वस्तु पनि नष्ट हुन जान्छ । धर्म, अधर्म, पाप पुण्य सबै समाप्त हुन्छन् ।
बार्हस्पत्य अर्थशास्त्रमा स्पष्ट लेखिएको छ– सर्वथा लौकायतिकमेव शास्त्रमर्थसाधन काले । बृहस्पति सूत्र ।।२.५।। अर्थ साधनका लागि एक मात्र शास्त्र लोकायत शास्त्र हो । यसबाट बृहस्पतिको समयमा यो शास्त्रको रुपमा प्रतिष्ठित थियो भन्ने स्पष्ट हुन्छ । तर बृहस्पति सूत्र लेख्ने बृहस्पति कुन हुन् ? उनको समय कुन हो ? यो स्पष्ट गर्न सकिंदैन । कसै कसैले लोकायत दर्शनका प्रतिपादक आंगिरस बृहस्पति हुन् भन्ने तर्क गर्छन् । अहिले यो शास्त्र रुपमा वा ग्रन्थ रुपमा उपलब्ध पनि छैन । बृहस्पति सूत्र नै छिन्न भिन्न अवस्थामा छ । यसका दुइ दर्जन सूत्रहरु कौटिलीय अर्थशास्त्रमा पाइन्छन् ।[३]
कौटिल्यले केही फरक मत राखेका छन् । कौटिल्यका अनुसार– सांख्य, योगो लोकायतं चेत्वान्वीक्षिकी ।[४] अर्थात् सांख्य, योग, र लोकायत यी तीनवटा दर्शन हुन् । आन्वीक्षिकी शास्त्र हुन् । यी तीनवटा दर्शनको अध्ययन गरे पछि वेदमा भएका धर्म– अधर्म, वार्ता शास्त्रमा भएका अर्थ– अनर्थ र दण्ड नीतिमा भएका सुशासन– दुःशासन बुझ्न सकिन्छ । त्रयी आदि विद्याहरुको प्रधानता– अप्रधानता अर्थात् बलाबललाई भिन्न भिन्न युक्तिहरुले निर्धारित गर्दै यी तीन दर्शनले लोक कल्याणको बाटो प्रशस्त गर्छन् । सुखदुखबाट बुद्धिलाई स्थिर गराउंछन् । फलस्वरुप विचार गर्ने, विश्लेषण गर्ने, बोल्ने र काम गर्ने शक्ति प्राप्त हुन जान्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. ज्ञवाली, बाबु राम, वि.सं.२०७२, जीवनको दोस्रो पाना (श्रीमद्भगवद्गीता दोस्रो अधयायको विश्लेषणात्मक अध्ययन, रुपन्देही ः ज्ञानज्योति प्रकाशन, पृ.१२
  2. सर्वदर्शनसंग्रह
  3. बृहस्पति अर्थसूत्र, सन् १९२६, अनुवादक एफ डब्लु थोमस, लाहौर ः लाहौरा बुक डिपो ।
  4. कौटिलीय अर्थशास्त्र, वि.सं.२०३१, अनु. केशव प्रसाद अर्याल सं. पं. सोमनाथ शर्मा, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]