शङ्कराचार्य
शङ्कराचार्य | |
---|---|
![]() राजा रवि वर्माद्वारा शिष्यहरूसँग अद्वैत वेदान्तको प्रतिपादक आदि शंकराचार्यको चित्रकला | |
व्यक्तिगत | |
जन्म | शङ्कर ५०८ ईसा पूर्व (विवादित)[note १]; |
मृत्यु | ४७६ ईसा पूर्व (विवादित) [note १] बदरीनाथ धाम, भारत |
धर्म | हिन्दू धर्म |
परिचित | अद्वैत वेदान्तको विस्तार पूर्वक व्याख्या |
दर्शन | अद्वैत वेदान्त |
पदस्थापना | |
गुरु | गोविन्द भागवतपदा |
सम्मान | जगदगुरु |
आदि शङ्कराचार्य, परिचित नामः शङ्कर भगवद्पादाचार्य, वेदान्तका अद्वैत मतका प्रणेता थिए। उनका विचारोपदेशहरू आत्मा र परमात्माको एकरूपतामा आधारित छन्,जसको अनुसार, परमात्मा एउटै समयमा सगुण र निर्गुण दुई वटै स्वरूपमा रहन्छ। आदि शङ्कराचार्यलाई शिवको अवतार पनि मानिन्छ।
जन्म
[सम्पादन गर्नुहोस्]शङ्कराचार्यको जन्मको वास्तविक तिथिमितिको बारेमा अनेक विवाद छन्। हरेक अवतारी पुरुषको जन्म र मृत्यु दुवै दिव्य मानिन्छ। त्यसैले सुरुमा शङ्करको जन्म मितिको बारेमा खासै खोजी भएन। पछि गरिएका अनुसन्धानहरूबाट उनको जन्म यु.सं. २५९३ (सन् ५०८ ई.पू.) बैशाख शुक्ल तृतीयाको मध्यान्ह कालमा विशिष्टादेवीको गर्भबाट दक्षिण भारतमा भएको जानकारी प्राप्त हुन्छ।[१] उनका पिता शिवगुरू नामपुद्रिको घरमा विवाहका धेरै वर्षसम्म जब कोही सन्तान भएनन्, तब उनले आफ्नी पत्नी विशिष्टादेवीको साथ पुत्र प्राप्तिको कामनाले धेरै समयसम्म चन्द्रमौली भगवान शंकरको कठोर आराधना गरे। अन्तमा प्रसन्न भएर भगवान शङ्करले उनलाई सपनामा दर्शन दिए र भने- "वर माग ।" शिवगुरूले आफ्ना इष्टसित एउटा दीर्घायु सर्वज्ञ पुत्र मागे। भगवान शङ्करले भने- "बाबु, दीर्घायू पुत्र सर्वज्ञ हुँदैन र सर्वज्ञ पुत्र दीर्घायू हुँदैन। भन, तिमी कस्तो पुत्र चाहन्छौ ?" तब उनले धर्मप्राण शास्त्रसेवी शिवगुरूले सर्वज्ञ पुत्रको याचना गए। भगवान शिवले फेरि भने- "बाबु, तिमीले सर्वज्ञ पुत्र पाउनेछौ। म आफैं तिम्रो पुत्रको रूपमा तिम्रो घरमा अवतार लिनेछु।" आठ वर्षमा संन्यास ग्रहण गरी व्यास परम्पराका आचार्य गौडपादको शिष्यत्वमा आफ्ना जीवनका २४ वर्ष निरन्तर हिन्दू धर्मका मूलतत्वको जानकारी दिंदै, आधा एसिया भ्रमण गरेका आचार्यको मृत्यु, ३२ वर्षको उमेरमा बदरीनाथ धाममा भएको मानिन्छ। मृत्यु अघि उनले भ्रमण गरेको महत्त्वपूर्ण तीर्थस्थल मध्ये नेपालको पशुपतिनाथ पनि एक हो, जुन पशुपतिनाथ हिन्दूहरूका लागि महत्त्वपूर्ण तीर्थस्थल रहिआएको छ।
भिक्षाको शिक्षा
[सम्पादन गर्नुहोस्]दश वर्षका शङ्कराचार्यले सनातन हिन्दु धर्मको समन्वय र पुनरुत्थान गर्ने सङ्कल्प लिएर जब भ्रमण सुरु गरे । सङ्कल्प लिनु अघि उनी अत्यन्त चिन्तित थिए। यत्रो ठूलो अभिभारा कसरी पूरा गर्ने होला ? कन्याकुमारी देखि कश्मीर र गान्धार देखि कामरुपसम्मका अनेक देशहरूमा छरिएका सनातन मतावलम्बीहरूमा एकताको सञ्चार र समन्वय कसरी गर्ने होला ? भनेर उनी एउटा गाउँको बाहिर बरको रुखको छाँयामा सोच मग्न थिए। काम बहुतै ठुलो थियो । उनी एक्लै थिए । राजशक्ति उनको साथमा थिएन। हिन्दूहरू ससाना सङ्कीर्ण मतमा बाँडिएका थिए। उनीहरूलाई एकिकरण गर्न निकै गाह्रो थियो। समस्या समाधानको कुनै उपाय फेला परिरहेको थिएन। चिन्तित शङ्कर दिउँसो भोजनका लागि भिक्षा माग्नका नजिकको गाउँमा पुगे। एउटा घरको ढोकामा उभिएर भिक्षाका लागि आह्वान गरे। त्यस घरकी गृहिणी भित्रबाट धेरै बेरमा आँखा पुछ्दै बाहिर निस्किन् । शायद भित्र रोएकी रहिछन् । निन्याउरो स्वरमा भनिन् : भिक्षु, तपाईं घर बाहिर भिक्षा माग्दै हुनुहुन्छ, तर मैले आफैं पनि खाना नखाएको तीन दिन भयो । ढोकामा उभिएका भिक्षुलाई रित्तै फर्काउन मेरो धर्मले दिंदैन। घरमा यो अमला बाहेक खानेकुरा केही छैन। यो नै भिक्षाको रूपमा ग्रहण गर्नु होस्। यति भनी उसले एउटा अमलाको गेडा भिक्षुलाई दिइन् । शङ्करले त्यो गेडा हातमा समाते। त्यो गेडा पनि चाउरिएको थियो। दुई तीन दिनको । अनि गृहिणीको मुखमा हेरे। भने, माता तपाईंले मलाई एक अमूल्य वस्तु दिनु भएको छ । दुःख नमान्नुहोस् । यसैलाई आधार मानेर मैले हिन्दू धर्मको पुनरुद्धार गर्ने छु। अनि आँखा भरि आँसु लिएर त्यस गाउँबाट बाहिर निस्के।[२]
वाराणसीको अनुभव
[सम्पादन गर्नुहोस्]एक दिनको कुरा हो, आफ्ना शिष्यहरूका साथ नुहाउन शङ्कराचार्य मणिकर्णिका घाटतर्फ जादै थिए। बाटोमा एक स्त्रीले आफ्ना मृत पतिको शिर काखमा राखेर विलाप गर्दै, आफ्ना पतिको दाह संस्कारको सहायताका लागि भिक्षा मागिरहेको देखे। त्यस स्त्रीले मणिकर्णिका घाटमा जाने साँघुरो बाटो छेकेर बसेकी थिई। आचार्यले केही बेर पर्खे। नुहाउन बेर हुन थाल्यो। तर मणिकर्णिका जाने छिर्ने अर्को बाटो थिएन, त्यसैले आचार्यले त्यस स्त्रीलाई भने– आमा, यस शवलाई अलिकति सार्नु भयो भने हामीले नुहाउन जाने बाटो पाउँथ्यौं। स्त्री कति शोक मग्न थिई भने उसले शङ्करले भनेको सुन्दै सुनिन। आचार्यले अलि ठुलो स्वरमा फेरि त्यही कुरा दोहोर्याए। यो सुनेर स्त्रीले भनी– महात्मान्, तपाईंले नै शवलाई सर्न भन्नुस् न ? आचार्यले भने– माता, तपाईं शोकमा अप्रकृतस्थ हुनु भएको छ। शव पनि कहीँ आफैं सर्छ ? त्यसमा सर्न सक्ने शक्ति नै कहाँ हुन्छ र ? त्यस स्त्रीले शङ्करलाई हेर्दै भन्न थाली– यतिवर, तपाईंको सिद्धान्तमा शक्ति निरपेक्ष ब्रह्म नै जगतको कर्ता हो भने शक्ति नभइ आफैं शव किन सर्न नसक्ने ? ब्रह्म पनि शक्तिको सापेक्ष हुन्छ। स्त्रीको ज्ञानपूर्ण वचन सुनेर अचम्म परेका आचार्य विचार मग्न भए। उनले अनुभव गरे कि, जीव र ब्रह्म अभिन्न छन्। निर्विशेष ब्रह्म केवल द्रष्टा मात्र हुन्–जगतको रचना भने महामायाले गरेकी हुन्।
यस्तै, अर्को दिनको कुरा हो, शङ्कराचार्य नुहाउन जाँदै थिए। उनले बाटोमा के देखे भने, एउटा चाण्डाल आफ्ना कुकुर सहित बाटो छेकेर बसेको छ। यो देखेर शङ्करले भने– ए चाण्डाल, बाटो छोड, म नुहाउन जाँदैछु। चाण्डालले संस्कृत श्लोकमा भन्यो– ए साधु, तिमीले कसलाई बाटो छोड भनेका छौ ? शरीरलाई कि आत्मालाई ? यदि आत्मालाई हो भने, त्यो शुद्ध सर्वव्यापी र निष्क्रिय छ। यदि शरीरलाई हो भने, त्यो मूढो हो । बाटो छोड्न सक्दैन। तिमीले ब्रह्म ज्ञानको मिथ्या अभिमान मात्र गरेको रहेछ। वास्तवमा तिमीलाई ज्ञान भएको रहेनछ। गङ्गा जलमा देखिने सूर्य छाँया र मदिरामा देखिने सूर्यको छाँयामा केही अन्तर छ ? के यही हो तिम्रो ब्रह्म ज्ञान ?[३]
उभय भारतीसँग शास्त्रार्थ
[सम्पादन गर्नुहोस्]शङ्कराचार्यले आफ्नो दिग्विजय अभियान काशीका महा विद्वान मण्डन मिश्रको शास्त्रार्थबाट थालनी गरेका हुन्। जसले शास्त्रार्थमा हार्छ, उसले अर्काको शिष्यत्व ग्रहण गर्ने शर्त साथ लामो शास्त्रार्थ भयो जसमा उनले मण्डनलाई निरुत्तर बनाए। यस दृश्यको मूल्याङ्कन कर्ता भएर बसेकी उभय भारतीले भनिन्– "मेरा पतिको पूर्ण पराजय भइसकेको छैन। शास्त्रार्थहरूमा पत्नीलाई पतिको अर्धांगिनी बताइएको छ। मलाई शास्त्रार्थमा पराजित गरेर मात्र मेरा पतिको हार मानिने छ। मलाई थाहा छ, तपाईं सर्वज्ञ हुनुहुन्छ। तथापि तपाईंसँग शास्त्रार्थका लागि पतिका तर्फबाट मैले आफुलाई प्रस्तुत गर्दछु।" स्त्रीसँग शास्त्रार्थ गर्न शङ्कराचार्य तयार थिएनन्। एक छिन उनको वाक्य फुटेन। केही बेरको मौनता पछि आचार्यले भने– "देवी, यशस्वी पण्डितजन कहिल्यै पनि स्त्रीसँग वाद गर्दैनन् । तपाईंको यो इच्छा उचित भएन ।" उभय भारतीले केही चर्को स्वरमा भनिन्– "तपाईंले स्त्रीलाई तुच्छ किन ठान्नु हुन्छ ? महर्षि याज्ञवल्क्यले गार्गीसँग र राजर्षि जनकले सुलभा नामक नारीसँग शास्त्रार्थ गर्नु भएकै हो। तपाईंले मसँग शास्त्रार्थ गर्न किन नहुने ? यदि तपाईं मसँग शास्त्रार्थ गर्न सक्नु हुन्न भने, आफ्नो पराजय स्वीकार गर्नुहोस्।" उभय भारतीका स्पर्धापूर्ण वचन सुनेर आचार्य शास्त्रार्थ गर्न बाध्य भए। उभय भारतीले आफ्ना पतिका कुराहरू पुनः प्रारम्भ गरिन्। उभय भारतीको सूक्ष्म भन्दा सूक्ष्मतर हुँदै प्रश्न गर्ने शैली देखेर आचार्य विस्मित भए। दिन प्रतिदिन शास्त्रार्थ हुँदै गयो। कुनै पनि पक्ष शास्त्रार्थमा गलेन। प्रत्येक दिन बिहानै शास्त्रार्थ प्रारम्भ भई मध्यान्ह सम्म सञ्चालित रहन्थ्यो र फेरि अर्को दिन पुनः प्रारम्भ हुन्थ्यो। यसरी यो शास्त्रार्थ १७ दिन सम्म सञ्चालित भयो। दर्शकहरू मण्डल पत्नीको अगाध शास्त्र ज्ञान र असामान्य विचार शक्ति देखेर छक्क परे। उभय भारतीसँग गरिएको गम्भीर शास्त्रार्थले आचार्य ले के बुझे भने, यिनी साक्षात् सरस्वतीको अवतार हुन्। कठिन प्रयास पछि, शास्त्रार्थ गरेर उनले पनि पराजय स्वीकार गरिनन् । यसको विस्तृत वर्णन आचार्यका जीवनीहरूमा पाइन्छ। आचार्य शङ्करले भारतवर्षका विभिन्न राज्यहरूमा भ्रमण गर्दै गरेका शास्त्रार्थको विस्तृत विवरण शङ्कर दिग्विजय भन्ने ग्रन्थमा सविस्तार वर्णन गरिएको छ। [४]
पशुपतिनाथमा शङ्कराचार्य
[सम्पादन गर्नुहोस्]आफ्ना शिष्यहरूका साथ बङ्गाल देशका विभिन्न मन्दिर र तीर्थस्थलहरूको दर्शन गर्न व्यस्त रहेका शङ्करलाई कुनै शिष्यले के खबर ल्यायो भने, नेपालको पवित्र मन्दिर पशुपतिनाथको पूजा अर्चना गर्न त्यहाँका मानिसहरूले छोडे। बौद्ध प्रभावका कारण हिन्दू देवताको पूर्णतया अवहेलना भइरहेको छ। विरुद्ध मतावलम्बीहरूले रक्सी मासु इत्यादि अपवित्र वस्तुहरू मन्दिर भित्र फालेर मन्दिरलाई भ्रष्ट बनाइरहेका छन्। वर्णाश्रम धर्म त्यहाँ लोप भएको छ, ब्राह्मणहरूले दयनीय जीवन बिताइ रहेका छन् । त्यहाँका राजा पनि केही गर्न नसकी निष्क्रिय बसेका छन् । यस्ता कुराहरू सुनेर आचार्यका शिष्यहरूलाई पीर पर्यो। उनीहरूले आचार्यलाई नेपालमा जान अनुरोध गर्न थाले। सबैले बारम्बार अनुरोध गरे पछि, यसलाई दैव इच्छा भन्ठानेर आचार्य नेपाल तर्फ प्रस्थान गरे। शंकराचार्य नेपाल आउँदा उनको उमेर २८–३० वर्ष थियो। सन् ४७८ ई.पू.मा उनी नेपाल आउँदा संभवतः यहां लिच्छवी राजा शिवदेवले शासन गरिरहेका थिए। यस विषयमा इतिहासकारहरूमा केही मतभेद पाइन्छ। किनभने आचार्य शङ्करलाई कुनै राजशक्तिको आधार थिएन, अन्यथा उनको बारेमा तत्कालीन राजाका तर्फबाट इतिहासमा अवश्य अङ्कित गरिन्थ्यो। उनी जनमानसका आचार्य थिए र आज पनि जनजनमा उनको कामको गहिरो छाप परेको छ।
शंकराचार्य नेपाल आएका छन् भन्ने समाचारले, समस्त सनातन धर्मावलम्बीहरूको हृदयमा उत्साहको सञ्चार भयो। आचार्यको दर्शन गर्न पशुपतिनाथ क्षेत्रमा मानिसहरू ओइरिन थाले। मन्दिरमा पूजा अर्चनाको व्यवस्था लथालिङ्ग देखेर आचार्यले आफ्ना शिष्यहरूलाई मन्दिरको सरसफाई गर्न भने। तत्काल एक स्तोत्र रचना गरी शिवको भजन गर्न थाले। सम्पूर्ण शिष्यहरूले पनि आचार्यका साथ पशुपतिनाथको पूजा अर्चना गर्न थाले। महादेवको जय ध्वनिले काठमाडौंका चारै दिशाहरू गुञ्जायमान हुन थाल्यो। पशुपतिनाथमा पुनः पूजा अर्चना हुन थाल्यो भन्ने सुनेर टाढा टाढाबाट मानिसहरू आएर मन्दिर दर्शन गर्न थाले। आचार्य आफैंले पशुपतिनाथ मन्दिरको प्रांगणमा बसेर सबैलाई धर्मोपदेश गर्दथे। आचार्यद्वारा गरिएको मधुर शास्त्र व्याख्या सुनेर स्रोताहरूको हृदय आनन्दले गदगद हुन्थ्यो। यसरी नेपालमा हिन्दु धर्ममा नवजागरण देखिन थाल्यो। आचार्यका शिष्यहरूले शहरमा घुमि घुमि धर्म उपदेश गर्न थाले। त्यहाँका ब्राह्मणहरूलाई उनीहरूले नित्य नैमित्तिक कर्म– अग्निहोत्र, पञ्च देवताको पूजा र पञ्च महायज्ञको शिक्षा दिन थाले। साधारण जनताको अनुरोधमा वेद पारङ्गत ब्राह्मणहरूले विभिन्न स्थानमा गएर वर्णाश्रम धर्मको प्रचार र वैदिक धर्मको अनुष्ठान गर्न थाले। यस शुभ कर्मले राजा पनि विशेष उत्साही भए। राजाको खर्चले अनेक स्थानमा मन्दिर बनाइए। तिनीहरूमा देवदेवीहरूको मूर्ति स्थापना गरिए। आचार्यको विशेष इच्छा अनुरुप, पशुपतिनाथ मन्दिरको जीर्णोद्धार गरियो तथा शास्त्र सम्मत पूजा अर्चनादि नियमित रूपमा गर्नका लागि, विद्वान ब्राह्मण नियुक्त गरिए। जसको नेतृत्व दक्षिण भारतका विद्वान ब्राह्मण स्वामी सोमशेखर आनन्दले गरेका थिए।
केही दिन भित्रैमा नेपालमा वैदिक धर्म, सदाचार र वर्णाश्रम धर्मको पुनः प्रचार भयो। ठाउँ ठाउँमा वेद र अन्य शास्त्रहरूको अध्ययनका लागि पाठशालाहरू बनाइए। आचार्यका गृहस्थ शिष्यहरू मध्ये अनेक ब्राह्मणहरूले अध्यापन गराउने भार वहन गर्न तयार भए। शंकराचार्यको यसै परम्परालाई अनुगमन गर्दै पछि माधवाचार्य आएर, शैव मतको पुनः परिपुष्टि गरे। शङ्कराचार्यको नेपाल आगमन बारे इतिहासकारहरू एक मत छैनन्। प्राध्यापक गोपालनिधि तिवारीका अनुसार, बलदेव उपाध्यायकृत श्रीशंकराचार्य पुस्तकमा आचार्य नेपाल आएको कुराको विस्तृत वर्णन पाइन्छ भने, ज्ञानमणि नेपालद्वारा लिखित पशुपतिनाथ दर्शन, स्पर्शन र पूजन सम्बन्धमा समिक्षा भन्ने पुस्तकमा आदि शङ्कराचार्य नेपाल आएको प्रमाण नपाइएको कुरा उल्लेख छ [५] सिलभा“ लेभीले भने शंकराचार्य नाम गरेका सन्यासी दुईपटक नेपाल आएको उल्लेख गरेका छन्। शङ्कराचार्य नेपाल आएको कुरा अङ्ग्रेज इतिहासकाहरूले पनि उल्लेख गरेका छन्।[६]
आचार्य शङ्कर रचित ग्रन्थहरू
[सम्पादन गर्नुहोस्]आचार्य शङ्करको नामबाट २२ वटा भाष्य ग्रन्थ, ५४ वटा उपदेश र प्रकरण ग्रन्थ तथा ७५ वटा स्तोत्रहरू छन्। उनका कृतिहरू मध्ये शारीरक भाष्य भने, सार्वधिक महत्त्वपूर्ण कृति हो। श्रीमदभगवद्गीताको शाङ्कर भाष्य आजसम्मकै गीता ग्रन्थको व्याख्याका लागि आधार मानिन्छ। कसैकसैले सम्पूर्ण रचना शङ्कराचार्यको होइन भनेर शङ्का उठाएका छन्। केही रचनाहरू प्रक्षिप्त गरिएको बताउने विद्वानहरू पनि छन्। स्वामी विवेकानन्दले भने, शङ्कराचार्यलाई आजसम्मको सर्वाधिक उर्वर मस्तिष्क भनी व्याख्या गरेका छन्। उनले अमेरिकामा रहँदा अद्वैत दर्शनको व्याख्या सुन्न त्यहाँका वैज्ञानिकहरू घण्टौं ध्यानपूर्वक बसेको विवरण पनि उल्लेख गरेका छन्, यो कुरा विवेकानन्द साहित्यमा पत्रावली मा उल्लेख गरिएको छ।[७]
अन्तिम उपदेश
[सम्पादन गर्नुहोस्]नेपालमा धर्म संस्थापन पछि आचार्य प्रायः ध्यान मग्न रहन थालेका थिए। तथापि शिष्यहरूको आग्रहले आचार्य सोही कार्यका लागि उत्तराखण्ड पुगे। आचार्यको अन्तर्मुखता बढ्दै गएको देखेर शिष्यहरूले के बुझिहाले भने, गुरुदेवको ब्रह्म स्वरूपमा लीन हुने समय आइपुगेको छ। उनका जीवनका ३२ वर्ष पूरा भइसकेको थियो। यसबाट सम्पूर्ण शिष्यहरू निराश हुन पुगे। एक दिन आचार्यले सबै शिष्यहरूलाई आफ्नो नजिक बोलाएर भने– बाबु हो, मेरो शरीरको जुन प्रयोजन थियो, त्यो सकिएको छ। मेरो प्रस्थान पछि तिमीहरूले वेदान्तमय जीवन यापन गरेर वेदान्तको महिमाको प्रचार गर्नू। “अहं ब्रह्मास्मि” "गोविन्दं भज" यस ज्ञानलाई अनुभव गर्नू अनि मात्र ठीक ठीक धर्म प्रचार हुने छ। ठुलो पीठमा आसन भएर कुनै व्यक्ति महान बन्दैन। आचरणले मात्र महानता प्राप्त हुन्छ।[८]
उपसंहार
[सम्पादन गर्नुहोस्]हिन्दु धर्म वेदबाट उत्पत्ति भएको छ, भन्ने कुरा त्यस बखत हिन्दुहरूले बिर्सिसकेका थिए । यस्तोमा निरन्तर, नथाकीकन एसियाका सम्पूर्ण स–साना देश र राज्यहरू घुमेर हिन्दु धर्मका स–साना शाखाहरू वेदरुपी विशाल वृक्षका अङ्गहरू हुन् भन्ने कुरा उनले प्रमाणित गरे। सबै मतवादहरू सनातन महाधर्मबाट उत्पत्ति भएका हुन् भन्ने कुरा उनले प्रतिष्ठित गरे। आचार्य शङ्करसँग त्यसबेला हिन्दु धर्मबाट उत्पत्ति भएका ७५ स-साना मतावलम्बीका प्रमुखहरूसँग शास्त्रार्थ भएको थियो। जैन र बौद्ध मतावलम्बीहरूलाई पनि समावेश गर्दा उनले लगभग ८० मतावलम्बीहरूसँग विभिन्न स्थानमा शास्त्रार्थ गरेका थिए। यी सबै मत वेदमूलक हुन् भनेर परिश्रमपूर्वक उनले सबैको चित्त बुझाई एक विराट वैदिक धर्मको रचना गरे। उनको प्रयासले गर्दा नै हिन्दु, बौद्ध, जैन आदि सबै मत सम्प्रदायहरू विशाल सनातन वैदिक वृक्षका शाखाहरू भन्ने कुरा उनले प्रमाणित भयो । शङ्कराचार्यको जीवनी र वाणीले आज सम्म पनि हिन्दु धर्मको गति नियन्त्रित र नियमित भइरहेको छ। त्यसैले उनलाई भगवान शङ्करको अवतार मानिन्छ। उनले गरेका धर्मोपदेश र मोक्ष प्राप्तिको अवधारणाको आधारमा उनलाई प्रच्छन्न बुद्ध पनि भनिन्छ। आचार्यले बुद्धलाई विष्णुको नवौँ अवतारको रूपमा ग्रहण गरेका थिए। उनको योगदान कारणले नै आज समस्त हिन्दूहरू बौद्ध, जैन आदि 'ॐ'कार परिवारका सम्प्रदायलाई आफुले मानिआएको सम्प्रदाय सरह श्रद्धा र आदर गर्छन्।
आचार्य शङ्करको वाणी
[सम्पादन गर्नुहोस्]- जसरी अन्धकारमा डोरीमा सर्पको कल्पना गरिन्छ तथा सीपिलाई चाँदीको टुक्रा बुझिन्छ, त्यसै गरी अज्ञानीले देहलाई नै आत्मा बुझ्छन् ।
- एकमेवाद्वितीय ब्रह्मको अनुभूतिबाट माया वा अविद्यालाई नष्ट गर्न सकिन्छ। यो ठीक त्यस्तो ज्ञान हो जस्तो रस्सीको ज्ञान भए पछि, फेरि त्यसमा सर्प हुने भ्रम हराउँछ।
- जसरी घडा माटैमाटोले बनेको हुन्छ, त्यसै गरी देह पूरै चेतना मात्र हो। अतः आत्म अनात्ममा अज्ञानी व्यर्थको भेद गर्दछन्।
- जसरी कमलपित्तका रोगीलाई केवल पहेँलो मात्र देखिन्छ, त्यसै गरी अज्ञानले गर्दा मानिस आत्मालाई देहरूप देख्छ। वस्तुतः तिमी परमात्मा हो तर यो अज्ञानको कारण नै तिमीले आफूलाई देहका बन्धनमा ग्रस्त पाउँछौ। र त्यहीँबाट जन्म मरणको चक्र सुरु हुन जान्छ।
- माता, पिता, पुत्र, बन्धु अथवा अन्य कसैबाट मेरो त्राण छैन। मेरो मस्तकमा स्थित श्रीगुरुदेवका चरणकमलमा नै मेरो परम पुण्य तथा कल्याण छ।
- यस संसारमा तीन कुरा अत्यन्त दुर्लभ छन्। र ती केवल ईश्वरका अनुकम्पाले मात्र प्राप्त हुनसक्छन्। ती हुन्– मनुष्य जन्म, मुक्तिको इच्छा र महापुरुषको शरण।
- मुक्तितर्फ अग्रसर गराउने साधनमा सर्वश्रेष्ठ स्थान केवल भक्ति हो। स्वस्वरूपको अनुसन्धानको नाम भक्ति हो।
- हे माता, मलाई मुक्ति चाहिएन। धन–सम्पत्ति, सुख वा ज्ञान पनि चाहिँदैन। मेरो केवल यही प्रर्थाना छ, जबसम्म शरीरमा प्राण रहन्छ मैले तिम्रो नाम लिइरहूँ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ तिवारी, गोपालनिधि (वि.सं.२०४५), जगद्गुरु श्रीआद्यशंकराचार्य।
- ↑ आचार्य, श्रीराम शर्मा (सन् २००३), आदि शंकराचार्य, मथुरा: युग निर्माण योजना।
- ↑ अपूर्वानन्द, अनु. बाबु राम ज्ञवाली, शङ्कराचार्यको जीवनी,वि.सं.२०७१,विद्यार्थी पुस्तक भण्डार,काठमाडौँ, ISBN 978-99946-1-p.४८
- ↑ माधवाचार्य, शंकर दिग्विजय।
- ↑ तिवारी, गोपालनिधि (वि.सं.२०४५), जगद्गुरु श्रीआद्यशंकराचार्य, काठमाडौँ।
- ↑ लेभी, सिल्भां अनुवादक– डिल्लीराज उप्रेती (सन् २००७), नेपाल– हिन्दु अधिराज्यको इतिहास भाग १ र भाग २, हिमाल किताब।
- ↑ अपूर्वानन्द,अनु. बाबु राम ज्ञवाली,शङ्कराचार्यको जीवनी, वि.सं.२०७१, विद्यार्थी पुस्तक भण्डार, काठमाडौँ, ISBN 978-99946-1-,पृ. १७०
- ↑ अपूर्वानन्द,अनु. बाबु राम ज्ञवाली,शङ्कराचार्यको जीवनी, वि.सं.२०७१, विद्यार्थी पुस्तक भण्डार, काठमाडौँ, ISBN 978-99946-1-


यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]
उद्दरण त्रुटी: <ref>
tags exist for a group named "note", but no corresponding <references group="note"/>
tag was found