सूत्र (हिन्दु धर्म)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

हिन्दू धर्ममा ग्रोत्र प्रणालीमा शाखा र प्रवर सरह नै सुत्रको पनि स्थान छ । सुत्र भन्नाले कुनै खास गोत्र अन्तर्गत खास शाखा अन्तर्गतको समाजले आफ्नो थरविशेषका सामाजिक संस्कारहरूमा अपनाउने खास सुत्र अथवा कर्म विधि भन्ने बुझिन्छ । यस अन्तर्गत घर कसरी संचालन गर्ने, सांस्कृतिक संस्कारहरू कसरी सम्पन्न गर्ने, आफ्नो जातीय धर्म के हुने भन्ने कुरा वा त्यस सम्बन्धी सुत्र पर्दछन् । वेद धर्मको मुल स्रोत हो सुत्रहरू धर्मका सहायक स्रोतहरू हुन्, वैद्विक समयमा विभिन्न ऋषिहरूले आ-आफ्ना वैद्विक आश्रम वा स्कुलमा सहायक धर्म सुत्रको रुपमा कल्प सुत्रहरूको विकास गरे र यसको प्रयोग सामाजिक तथा सांस्कृतिक रिवाजको रुपमा विकास हुँदै गयो । [१] जुन ऋषिले जुन कल्प सुत्रको विकास गरे उनका सन्ततीहरूले त्यही कल्पसुत्रलाई आफ्नो वंशको सुत्र मान्दै आए । यसप्रकारको शुत्र, प्रायः मौखिक कथामा आधारित रहेको देखिन्छ । तर सुत्रको महत्व शाखा जत्तिकै छ । विना सुत्र कुनै पनि हिन्दू थरमा विवाह, व्रतवन्ध, मृत्यु संस्कार, पूजा आदि गरिदैन । हिन्दू समाजमा पूजा, व्रतवन्ध, मृत्यु संस्कार विवाह आदि वेदमा आधारित भएर गरिने भएता पनि विभिन्न ऋषिहरूद्वारा धर्म संस्कारका विभिन्न उपशाखाहरू वा शुत्रहरू विकास गरेको हुनाले हिन्दू समाज भित्रका थरहरू पनि आफ्नो मुल ऋषिले विकास गरेको कर्म शुत्र अन्तर्गत विभक्त भएको देखिन्छ । यस प्रकार सुत्रहरू गोत्र अनुशार फरक फरक छन् । [२]

कल्प शुत्रका प्रकारहरू

वैद्विक कालमा विभिन्न ऋषिहरूद्वारा विभिन्न कल्प शुत्रहरूलाई मुख्य तिन भागमा विभाजित गरेर हेर्न सकिन्छ । [२]

  • श्राउतसुत्र
  • गृहसुत्र
  • धर्मसुत्र

माथी उल्लेखित तिन प्रकारका कल्पसुत्रहरू विद्यमान रहेका पाइन्छन् । यी सबैसुत्रहरू वैद्विक कालमा विभिन्न ऋषिहरूद्वारा विकास गरिएका सुत्र हुन् । यी तिन प्रकारका सुत्रहरू प्रत्यक गोत्रमा हुन्छन् । गोतियार पहिचान गर्दा केवल गोत्रको नामले मात्र पहिचान हुन सक्दैन त्यसका लागि गोत्र, शाखा, सुत्र र प्रवरलाई आधार मानिन्छ । अन्यथा गोत्र पहिचान गलत हुन जान्छ ।

श्राउतसुत्र

श्राउतसुत्र भन्नाले कुनै खास थर वा वंशमा धार्मिक कर्म गर्दा अपनाउने परम्परागत विधि जो अन्य थर वा वंशको भन्दा केही फरक हुन्छ त्यसलाई नै श्राउतसुत्र भनेर बुझिन्छ । श्राउतसुत्रले धार्मिक कर्मको नियमलाई सहि ढंगले अपनाउने बिषयसँग सरोकार राख्दछ र यसलाई श्राउत भन्नाको कारण यो श्रुतिमा आधारित हुने हुनाले हो । यो श्रुतिमा आधारित भएता पनि यसलाई धार्मिक कर्म गर्दा अत्यन्त प्राविधिक ढंगले अपनाइन्छ । यसमा जस्तो भनिएको छ ठिक त्यस्तै प्रकारले गरिनु पर्छ । यस सुत्रअनुसार किरिया कर्म जसरी गर्नु भनिएको छ, ठिक त्यसैगरी गरिनु पर्छ । यही कारणले गर्दा वा श्राउत सुत्र फरक भएकै कारणले गर्दा एउटै हिन्दू समाज भित्रका जात/थरहरूमा विवाह, व्रतवन्ध, किरिया, अन्त्यष्टी आदिमा केही आधारभूत कुरा फरक हुने गरेको देखिन्छ । [२] अहिलेसम्म प्रचलनमा रहेका श्राउतसुत्रहरू यस प्रकार छन्।

  • अपस्तम्व श्राउतसुत्र
  • आस्मल्यायन श्राउतसुत्र
  • वौद्ययान श्राउतसूत्र
  • हिरया केशिन श्राउतसुत्र
  • जैमिन्य श्राउतसुत्र
  • कत्यायन श्राउतसुत्र
  • मानव श्राउतसुत्र
  • संखयान श्राउतसुत्र
  • वैतान श्राउतसुत्र

माथि उल्लेखित १० प्रकारका श्राउतसुत्र हालसम्म प्रचलनमा रहेका सबै गोत्रहरूमा प्रचलित रहेको पाइन्छ । माथिका १० सुत्रमा कुनै एक सुत्र प्रत्यक गोत्रले मान्ने गरेको देखिन्छ । तर हाल आएर प्राय जसो सबै गोत्रमा सुत्रलाई खासै महत्व दिएको देखिदैन । कतिपय गोत्रमा त सुत्र के हो भन्ने अन्यौल रहेको देखिन्छ । वास्तवमा सुत्र हरेक गोत्रको एक अभिन्न अङ्ग हो । [२]

गृहसुत्र

गृहसुत्र भन्नासाथ शाब्दिक रुपमा नै अनुमान लगाउन सकिन्छ की यो घरको सुत्र हो । अर्थात गृहसुत्र भन्नाले घर परिवार सञ्चालन गर्ने विधि भन्ने बुझिन्छ । यो सुत्र अन्तर्गत घर भित्रका नियमहरू पर्दछन् । जस्तै:- भात, भान्सा, नित्यपूजा, कामको बाँडफाँड लगायतका विधिहरू पर्दछन् । गृहसुत्र भन्नाले एक प्रकारको घरायसी सन्धी भन्ने बुझिन्छ, जसले घर अथवा परिवारभित्र गरिने विभिन्न प्रकारका धार्मिक कर्महरूको बारेमा व्याख्य गरेको हुन्छ । गृहसुत्रले विशुद्ध परिवार भित्र अपनाइने धार्मिक विधि विधानको व्याख्य गर्दछ, जुन विभिन्न गृहसुत्र अनुसार फरक फरक हुन्छ र गोत्रानुसार गृहसुत्र पनि फरक हुन्छ । जसरी श्राउदसुत्र फरक हुन्छ त्यस्तै गृहसुत्र पनि फरक हुने देखिन्छ । गृहसुत्र पनि गोत्रको एक अभिन्न अङ्ग हो । [२] शास्त्रानुसार निम्न लिखित गृहसुत्रहरू प्रचलनमा रहेको पाइन्छ ।

  • अपस्तम्व गृहसुत्र
  • अस्वलयन गृहसुत्र
  • वौद्ययान गृहसुत्र
  • गोभिल गृहसुत्र
  • हिरण्यकेसिन गृहसुत्र
  • जैमिन्य गृहसुत्र
  • कत्यायन गृहसुत्र
  • कौथुम गृहसुत्र
  • शंखयान गृहसुत्र

यस प्रकार नौवटा गृहसुत्रका आधारमा हरेक हिन्दू परिवार सञ्चालित हुन्छ । हरेक गोत्रको माथी उल्लेखित मध्य कुनै एक गृहसुत्र हुन्छ र त्यस गोत्र भित्रका सबै परिवारहरू सोही अनुरुप सञ्चालित हुन्छन् । तर कतिपय अवस्थामा एउटै गोत्र भित्र पनि शाखा, प्रवर र सुत्र फरक फरक रहेको देखिन्छ । [२]

धर्मसुत्र

धर्मसुत्र समाजको सामाजिक धर्मसँग सम्बन्धित रहेको देखिन्छ । वास्तवमा धर्मको स्रोत वेद हो भनिएको छ र सोही अनुरुप हिन्दू समाज स्वचालित हुन्छ । तर वैद्विक कालमा गोत्र पर्वर्तन गर्ने ऋषिहरूले गोत्रसँग आफ्ना सन्ततीहरूको सामाजिक चालचलनलाई अव्यस्थित गर्न एक निश्चित धर्मसुत्र पनि विकास गरेको देखिन्छ । त्यसैका आधारमा सम्बन्धित गोत्रगण सञ्चालित हुने गरेको पाइन्छ । धर्मसुत्र सामाजिक कानुन, सामाजिक नैतिकता र सदाचार, विधिशास्त्र तथा जिवनका चार चरण र चार आश्रमका बारेमा सम्बन्धित छ । अर्थात धर्मसुत्रले गोत्रगणको सामाजिक कानुन कस्तो हुने, सामाजिक सदाचार र नैतिकता कस्तो हुने, सामाजिक विधिशास्र कस्तो हुने र वैद्विक कालमा जिवनशैलीलाई चार चरणमा व्याख्या गरेको देखिन्छ ति चार आश्रमका नियम के हुने आदि बिषयहरूका बारेमा उल्लेख हुन्छ । [२] समग्रमा भन्नुपर्दा धर्मसुत्र पनि हरेक गोत्रको फरक फरक हुने गरेको छ । आफ्नो धर्मशुत्रका अनुसार त्यो गोत्रका थरहरू सञ्चालित हुने गरेको पाइन्छ । धर्मसुत्र पनि गोत्रको एक अभिन्न अङ्ग हो । शास्त्रानुसार निम्न लिखित धर्मसुत्रहरू विद्यमान छन् ।

  • अपस्तम्व धर्मसुत्र
  • वौद्ययान धर्मसुत्र
  • गौतम धर्मसुत्र
  • हिरण्यकेसिन धर्मसुत्र
  • वशिष्ठ धर्मसुत्र
  • विष्णु धर्मसुत्र

माथि उल्लेखित छ प्रकारका धर्मसुत्रहरू अहिले विद्यमान छन् । यी सबै धर्मसुत्रहरू गोत्र प्रवर्तक ऋषिहरूले नै विकास गरेका हुन् । यिनै धर्मसुत्रको आधारमा गोत्रगणहरू सञ्चालित रहेको देखिन्छ ।

यी पनि हेर्नुहोस्

सन्दर्भ सूची

  1. विद्वान जोन गोडा द्वारा लिखित पूस्तक
  2. २.० २.१ २.२ २.३ २.४ २.५ २.६ गौतम गोत्र एकता समाज, नेपाल द्वारा प्रकाशित पूस्तक गौतम गोत्र वंश परिचय पृ.सं. २३-२७

बाह्य लिङ्कहरू