सामग्रीमा जानुहोस्

कल्प

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हिन्दु धर्म

[सम्पादन गर्नुहोस्]

'कल्प' शब्दले समयको लामो मापन एकाइको द्योतन गर्दछ।[] ऋग्वेदमा ‘कल्प’ शब्दको प्रयोग भएको पाइन्छ। उक्त ग्रन्थमा यसलाई सिर्जना वा रचना भन्ने अर्थमा लिएको छ, त्यहाँ बताइएबमोजिम - ‘सृष्टिकर्ताले सूर्य, चन्द्र, दिन, पृथ्वी र अन्तरिक्षको पूर्ववत् सृष्टि गरे। [] बौद्ध धर्मग्रन्थमा पनि यस शब्दको प्रयोग हुन्थ्यो,[] त्यहाँ पनि यस शब्दले समयकै एकाइलाई द्योतन गर्दथ्यो।

सृष्टिक्रम र विकासको गणनाका लागि 'कल्प' वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूका निमित्त एउटा प्रसिद्ध मापदण्ड हो। जसरी सामान्य मानव जीवनको साधारण आयु सय वर्ष मान्ने गरिन्छ, त्यसरी नै सृष्टिकर्ता ब्रह्माको आयु पनि सय वर्ष मान्ने गरिन्छ, तर मानव र ब्रह्माको आयुको गणनामा भिन्नता छ। ब्रह्माको एक दिनबराबरको समयलाई 'कल्प' भनिन्छ र ब्रह्माको प्रत्येक दिनको समाप्तिमा प्रलय हुन्छ, यसको अर्थ हो सृष्टिकर्ता ब्रह्माको रात्रीकाल प्रलय हो, रात बितेपछि ब्रह्माले पुनः सिर्जना गर्दछन् वा फेरि नयाँ सृष्टि हुन्छ।

मनुष्यलोकमा आजको सूर्योदयदेखि भोलि बिहानको सूर्योदयसम्मको अवधिलाई एक दिन(२४ घण्टा वा ६० घडी) भनिन्छ। ३६५ दिनको एकवर्ष हुन्छ। ४३२००० वर्ष वर्तमान कलि युगको समय सीमा हो। कलि युगभन्दा दोब्बर ठूलो द्वापर युग, तीनगुणा ठूलो त्रेता युग र चारगुणा ठूलो सत्य युगको समय मानिन्छ। त्यसैले द्वापर युगको समय ८६४००० वर्ष, त्रेता युगको समय १२९६००० वर्ष र सत्ययुगको समय १७२८००० वर्ष हुन्छ। यी चारै युगको संयुक्त अवधि अर्थात् ४३२०००० वर्षको एकाइलाई एक चतुर्युगी भनिन्छ। यस्ता १‚००० वटा चतुर्युगीको समयावधिलाई एउटा कल्पको समय मानिन्छ। त्यसैले ब्रह्माजीको एक दिन बराबर ४,३२,००,००,०००(चार अरब बत्तीस करोड) वर्ष हुन्छ । ब्रह्माको एक महिनामा तीस वटा कल्प हुन्छन्, तिनलाई श्वेतवाराह कल्प, नीललोहित कल्प आदि भिन्नभिन्न नामद्वारा सङ्केत गरिएको हुन्छ। प्रत्येक कल्पलाई १४ वटा बराबर भागमा विभाजन गरिएको हुन्छ, त्यस विभक्त खण्डको नाम हो- मन्वन्तर। एक मन्वन्तरमा एक कल्प (४,३२,००,००,००० वर्ष)को १४ भागको एक भागमा पर्ने समयावधि (लगभग ३०८५७१४२९ वर्ष) हुन्छ। प्रत्येक मन्वन्तरमा एक एकजना मनुले सृष्टिस्थितिको जिम्मा पाएका हुन्छन्, यही मनु शब्दबाट मानिसलाई सङ्केत गर्ने मनुष्य, मनुवा, मान्छे, मानिस आदि शब्द बनेका हुन्। ती चौधजना मनुको नाम यस प्रकार छ - स्वायम्भु, स्वरोचिष, औत्तमी, तामस, रैवत, चाक्षुष, वैवस्वत, सावर्णि, दक्षसावर्णि, ब्रह्म सावर्णि, धर्म सावर्णि, रुद्र सावर्णि, रौच्य या देव सावर्णि र भौत अथवा इन्द्र सावर्णि। अहिलेको समय वैवस्वत मनुको हो। प्रत्येक मन्वन्तरमा बेग्लाबेग्लै सप्तर्षि, इन्द्र/इन्द्राणी आदि हुने गर्छन्। अहिले ब्रह्माको ५० वर्ष व्यतीत भएको कल्पना गरिएको छ। उनको ५१औं वर्षको पहिलो कल्प अर्थात्‌ श्वेतवाराह कल्प चल्दैछ र यस कल्पका २७ वटा चतुर्युगी बितेर २८औं चतुर्युगीको तीन युग पनि समाप्त भैसकेका छन्, हामी अहिले कलियुगको पहिलो चरणमा छौं। []

मत्स्य पुराणमा (२९०.३-१२) ३० वोटा कल्पहरूको वर्णन गरिएको छ, जुन हरेक कल्पको नामकरण ब्रह्माजीले गर्नुभएको छ। यी कल्पहरुको नाम अत्यन्तै महत्वपूर्ण तिथि र कल्पको सुरुवातमा उज्ज्वल व्यक्तित्वको आधारमा गरिएको छ। यी ३० कल्प अथवा दिन (३० प्रलय वा रात सहित) ब्रम्हाका ३० दिन (१ महिना) हुन्।

  1. स्वेत (वर्तमान)
  2. निललोहित
  3. वामदेव
  4. रथनतारा
  5. रौरव
  6. देव
  7. वृहत
  8. कन्दर्प
  9. सद्य
  10. इशन
  11. तमः
  12. सरस्वत
  13. उडान
  14. गरुढ़
  15. कौर्म
  16. नर्शिंह
  17. सामना
  18. अघ्नेय
  19. सोम
  20. मानव
  21. तत्पुमान
  22. वैकुण्ठ
  23. लक्ष्मी
  24. सावित्री
  25. अघोरा
  26. वराह
  27. वैराजा
  28. गौरी
  29. महेश्वर
  30. पितृ

कल्प तालिका

[सम्पादन गर्नुहोस्]
मन्वन्तर तालिका
अवधि दिव्य वर्ष सौर्य वर्ष
कल्प १,२०,००,००० ४,३२,००,००,०००
आधि सन्ध्या ४,८०० १७,२८,०००
स्वयम्भू मन्वन्तर ८,५२,००० ३०,६७,२०,०००
मन्वन्तर सन्ध्या ४,८०० १७,२८,०००
स्वरोचिष मन्वन्तर ८,५२,००० ३०,६७,२०,०००
मन्वन्तर सन्ध्या ४,८०० १७,२८,०००
औत्तमी मन्वन्तर ८,५२,००० ३०,६७,२०,०००
मन्वन्तर सन्ध्या ४,८०० १७,२८,०००
तपस/तामस मन्वन्तर ८,५२,००० ३०,६७,२०,०००
मन्वन्तर सन्ध्या ४,८०० १७,२८,०००
रैवत मन्वन्तर ८,५२,००० ३०,६७,२०,०००
मन्वन्तर सन्ध्या ४,८०० १७,२८,०००
चाक्षुष मन्वन्तर ८,५२,००० ३०,६७,२०,०००
मन्वन्तर सन्ध्या ४,८०० १७,२८,०००
वैवस्वत मन्वन्तर ८,५२,००० ३०,६७,२०,०००
चतुर्युग १ देखि २७ ३,२४,००० ११,६६,४०,०००
चतुर्युग २८ (वर्तमान) ३,२४,००० ४३,२०,०००
सत्य युग ४,८०० १७,२८,०००
त्रेता युग ३,६०० १२,९६,०००
द्वापर युग २,४०० ८,६४,०००
कलि युग १,२०० ४,३२,०००
चतुर्युग २९ देखि ७१ ५,१६,००० १८,५७,६०,०००
मन्वन्तर सन्ध्या ४,८०० १७,२८,०००
सावार्णि मन्वन्तर ८,५२,००० ३०,६७,२०,०००
मन्वन्तर सन्ध्या ४,८०० १७,२८,०००
दक्ष सावार्णि मन्वन्तर ८,५२,००० ३०,६७,२०,०००
मन्वन्तर सन्ध्या ४,८०० १७,२८,०००
१० ब्रह्म सावार्णि मन्वन्तर ८,५२,००० ३०,६७,२०,०००
मन्वन्तर सन्ध्या ४,८०० १७,२८,०००
११ धर्म सावार्णि मन्वन्तर ८,५२,००० ३०,६७,२०,०००
मन्वन्तर सन्ध्या ४,८०० १७,२८,०००
१२ रुद्र सावार्णि मन्वन्तर ८,५२,००० ३०,६७,२०,०००
मन्वन्तर सन्ध्या ४,८०० १७,२८,०००
१३ रौच्य वा देव सावार्णि मन्वन् ८,५२,००० ३०,६७,२०,०००
मन्वन्तर सन्ध्या ४,८०० १७,२८,०००
१४ भौत वा इन्द्र सावार्णि मन्व ८,५२,००० ३०,६७,२०,०००
मन्वन्तर सन्ध्या ४,८०० १७,२८,०००


हिन्दू समय इकाइ


  1. McWhirter, Norris (November 1980). गिनियस बुक आफ वर्ल्ड रिकार्ड्स 1981. New York: Sterling Publishing Co. Inc.. ISBN 0-8069-0196-9.
  2. सूर्याचन्द्रामसौ धाता यवापूर्वमकल्पयत् .......... ऋग्वेद (१०।१९०।०३)
  3. हे भगवन्, कृपा गरेर हाम्रो कल्पमा निवास गर्नुहोस्, हे महाभाग, असंख्य मान्छेको कल्याण र सुखका निम्ति कल्पभरि निवास गर्नुहोस् -'महापरिनिब्बानसुत' ३।५३
  4. कृष्णप्रसाद कोइराला, उपप्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान-१४, सुनसरी, कोशी अञ्चल, नेपाल, सम्पर्क +९७७ ९८१४३४८११११