विवाह संस्कार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
विवाह सम्पन्न हुँदै

विवाहलाई एउटा सम्झौताका रूपमा लिइन्छ। एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका निम्ति आपसी सम्झौता गरेका हुन् भन्ने अर्थमा विवाहलाई हेरिन्छ। अहिले केही व्यक्तिलाई तोकिएअनुसार साक्षी राखेर दर्ता विवाह गर्न सकिने कानुनी व्यवस्था पनि छ। मनुस्मृतिले विवाहलाई दुई आत्माबीचको पवित्र मिलन भनेको छ। आफूले चाहेर मात्र नहुने, विवाहका लागि सूर्य भगवान्ले नै तोकिदिएको हुने कुरा उक्त स्मृतिमा चर्चा छ। स्कन्धपुराणको केदारखण्डको श्रीस्वस्थानीले पनि यही विचारलाई समर्थन गरेको छ। हाम्रो समाजमा विभिन्न जातजाति, धर्म र सम्प्रदायअनुसार विवाह कर्ममा केही फरकफरक संस्कारहरू पाइन्छन् तर सामान्यतया हिन्दूधर्म अन्तर्गत नेपाली विवाह प्रचलन सम्बन्धमा यहाँ केही चर्चा गर्ने प्रयत्न गरिएको छ।

प्रकार[सम्पादन गर्ने]

ब्रहृम विवाह, दैव विवाह, आर्य विवाह, प्रजापत्य विवाह, आसुर विवाह, गन्धर्व विवाह, राक्षस विवाह र पैशाच विवाह गरी शास्त्रीयरूपमा आठ प्रकारका विवाहहरू वणिर्त छन्। यी परम्परागत विवाहलाई नेपाली समाजले मागी विवाह, भागी विवाह, चोरी विवाह, जारी विवाह, प्रेम विवाह आदि नाम दिने गरेको पाइन्छ। परम्परागत रूपमा मागी विवाहको सर्वव्यापकता थियो। कतिपय जातजातिहरूमा चोरी विवाह र मागी विवाह पनि प्रचलित थिए। हाल सबै शिक्षित समाजमा प्रेम विवाह फस्टाउँदै गएको छ। एक प्रकारले यो मान्य भइसकेको छ। जारी विवाहको प्रचलन हराउँदै गएको छ। गाउँघरमा दुई-चारजना गएर सामान्य किसिमले विवाह सम्पन्न गरी केटी लिएर आउने विवाहलाई 'कुम्ले विवाह' र निकै ठूलो तयारी गरी बाजा र जन्ती लिएर गई केटी लिएर आउने विवाहलाई 'वरियाती' भन्ने चलन छ। विवाहमा पन्चे बाजा बजाउने पनि गरिन्छ।

विकसित परम्परा[सम्पादन गर्ने]

जङ्गली अवस्थाबाट घर व्यवहारमा आएपछि मान्छेले आफ्ना पासविक व्यवहारमा परिमार्जन गर्दै लगेको हो। एउटै केटीमा धेरैजना केटाको तानातान वा एउटै केटामा धेरैजना केटीको आशक्ति रहनुले समाज विकृत बन्छ। त्यसैले समाजलाई अराजक हुनबाट जोगाउन निश्चित पुरुष र स्त्रीका लागि निश्चित पुरुष र स्त्री तोक्नुपर्ने आवश्यकता पर्‍यो। यसरी तोक्ने कार्य नै पछि गएर एउटा संस्कारमा परिणत भयो र त्यसैलाई नै 'विवाह' भनियो। यसरी विकसित बन्न पुगेको विवाह संस्कारले निजी लोग्ने र निजी स्वास्नीको अवधारणा ल्यायो र समाजलाई विकृत हुनबाट जोगायो। सिद्धान्ततः विवाह यही रूपमा विकसित भयो। विवाहको प्राकृति यही हो, जसले यौनको अत्यावश्यकतालाई स्वीकारेको पाइन्छ। यसलाई व्यवस्थित गर्नका लागि भने अनेक प्रचनल र परम्पराहरू विकसित बन्न पुगे। यस्ता परम्पराहरू जाति, धर्म, क्षेत्र, स्थानअनुसार पनि फरकफरक ढङ्गले विकसित बन्न पुगेका छन्।

धर्मशास्त्रले सामान्यतया धर्म प्राप्ति पुत्र प्राप्ति र रतिसुखलाई विवाहको उद्देश्य बनाएको पाइन्छ। ब्रहृमचर्याश्रमको समाप्तिपछि गृहस्थानमा प्रवेश गर्ने द्वारका रूपमा विवाहलाई लिइन्छ। जीवनमा रतिसुख अति आवश्यक कुरा हुँदा त्यसलाई विधिवत गर्न विवाह आवश्यक परेको हो भनेर सन्तान प्राप्ति विवाहको अर्को महìवपूर्ण उद्देश्य हो। कसैले विवाह नगर्ने र सन्तानोत्पादन नगर्ने हो भने यो संसार क्रमशः मानवरहित बन्न जाला भनेर अग्रजहरूले सन्तान प्राप्तिलाई धार्मिक उपलब्धि मानेका हुन्।

यिनै उद्देश्य परिपूर्तिका परम्परा फरकफरक रूपमा विकसित भए। नेपाली पहाडी हिन्दूधर्म मान्ने समाजमा केटी माग्न जाने चलन चल्यो। पहिले पहिले साटो प्रथा र फाँचो प्रथा पूर्वी पहाडी समाजमा निकै चलेका चलन हुन्। साटो प्रथा भन्नाले आफ्नी चेली दिने र आ्फ्ना केटाका लागि उनीहरूकी चेली साट्ने चलन हो। यो चलनले गर्दा एकै घरका दाजुभाइ, दिदीबहिनीमध्ये पनि फरकफरक नाता सम्बोधन गर्नुपर्ने अप्ठ्यारो अहिलेसम्म पनि विद्यमान छँदैछ। फाँचो प्रथा भनेको चाहिँ छोरा मात्र हुनेले आफ्ना छोराका लागि पैसा दिएर केटी लिने चलन हो। यी दुवै चलन अहिले हटिसकेका छन्। नयाँ मुलुकी ऐन, २०२० सालदेखि लागू भए पनि गाउँघरमा बालविवाहको प्रचलन पछिसम्म पनि विद्यमान रहृयो। सानी केटीलाई अन्माएर पठाइने हुँदा १६ दिन घरमा राखी दुलन फर्काउने र विवाह भएको एक वर्षसम्म माइतमै बस्ने अनि एक वर्षपछि भाँडाकुडा, चामल, चिउरा, रोटी, कुराउनी, सन्दुस आदिसहित भरिया लगाएर मैतालु पठाउने गरिन्थ्यो।

वैवाहिक प्रथा र कर्महरू[सम्पादन गर्ने]

विधिवत विवाहमा मगनी पछि टीकोटालो गरिन्छ। यसलाई पहिलेपहिले 'अठोट लाउने' भनिन्थ्यो। टुङ्गोटाङ्गी गरेपछि केटाका पक्षबाट केटीका घरमा पत्र लाने काम गरिन्छ। यसमा लग्न समयको उल्लेख हुन्छ। वरियाती केटीका घरमा पुग्न लाग्दा जन्तको सङ्ख्या आदिको पूर्व सूचना गर्न जन्तीका तर्फबाट भतखराउ पठाइन्छ। केटी पक्षका घरगाउँलेहरूले भतखराउलाई जिस्क्याउने अनेक तरिका अपनाउने पुरानो चलनमा आजकाल विधि पुर्‍याउने कार्यका रूपमा यसमा सुधार आएको छ। कसारभित्र पैसा राख्ने, दहीमा नून, अचारमा चिनी हालेर खान दिने, ओछ्याउन दिएको राडी-गलैँचामुनी तोरीका दाना, मकैका खोया, अमला आदि राख्ने, केराका गानाको हुक्का बनाएर राखिदिने गरिन्थ्यो। यस्ता कार्यलाई हाँस्ने-हसाउने मनोरञ्जक कार्यका रूपमा लिइन्थ्यो। यदाकदा यस्ता कार्यले अपि्रय रूप पनि लिन्थ्यो।

विवाहमा सिलोकबाट सवाल-जवाफ गर्ने कार्य गाउँघरमा यदाकदा अझै विद्यमान छन्। जन्ती र घरगाउँले पक्षबीच रातभरि नै सवाल-जवाफ गरी छर्लङ्ग रात काट्न सक्छन् यस्ता शिलोकेहरू। केटाका घरबाट बेहुलो अन्माएपछि त्यो रात केटाका घरमा गाउँले आइमाईहरू जम्मा भएर रत्यौली खेल्ने गर्छन्। रातमा खेलिने र रतिरागात्मक गीत गाइने हुँदा यस्तो राम रमाइलोलाई रत्यौली भन्ने गरिएको हो। रत्यौलीको छुट्टै भोज खाने र खसी काट्ने पनि गरिने हुँदा रत्यौली विवाहको एउटा पक्षका रूपमा रहेको पाइन्छ। नारी जातिको मात्र उपस्थिति हुनेहुँदा रत्यौलीका गीतमा केही अश्लीलताको समाविष्ट पाइन्छ तर आजकाल त्यस्ता गीत र नृत्यमा सुधार आएको छ। नारी-पुरुष दुवै मिलेर नाचगान गरी रत्यौली मनाउने चलन पनि आजकाल बढेको छ। केराका दाम्चाको घोडामा परालको पुच्छर गाँसेर नारीहरू माथिमाथि सारी सारेर अभिनय गरी रत्यौली मनाउँदा पुरुषलाई प्रवेश निषेध गर्थे र पुरुषको भेषमा पनि महिला नै हुन्थे।

रत्यौली गीत[सम्पादन गर्ने]

रत्यौलीको बोको छ, खाउँला भन्ने धोको छ।

दिदी पनि आऊ यता, बैनी पनि आऊ यता

दुलाहाकी आमालाई तानेर ल्याऊ यता

यसैगरी विवाहमा गाइने सिलोकका केही नमुना यस्ता छन्-[सम्पादन गर्ने]

सवाल- कहाँबाट आयौ तिमी जन्ती कहाँ बस्यौ बास ?

जन्तीका मुखमा फुरौला अड्के कहाँबाट फेर्छौ सास ?

जवाफ- घरबाट आयौँ हामी जन्ती यहीँ बस्यौँ बास

जन्तीका मुखमा फुरौला अड्के नाकबाट फेर्छौं सास।

सवाल- कति बाट्यौ दाम्लानाम्ला कति बाट्यौ कुचा ?

कति आयौ बूढापाका कति आयौ फुचा ?

जवाफ- चाहिँदो बाट्यौँ दाम्लानाम्ला चाहिँदो बाट्यौँ कुचा चाहिँदो आयौँ बूढापाका चाहिँदो आयौँ फुचा।

सवाल- कसकी छोरी श्रीसीता रानी कसका छोरा राम ?

कसका छोरा वीर हनुमान कसका छोरा जूनघाम ?

जवाफ -जनककी छोरी श्रीसीता रानी दशरथका छोरा राम पवन -वायु) का छोरा वीर हनुमान कश्यपका छोरा जूनघाम।

सवाल- कहाँ पलायो कर्कलो निगुरो कहाँ पलायो तामा कसका हौ तिमी नातिपनातिको हुन् तिम्रा मामा ?

जवाफ- खोलाखाली पलायो कर्कलो निगुरो बाँसमा पलायो तामा जिजुबाजेका हौँ नातिपनाति आमाका दाजुभाइ हुन मामा।

सवाल- तुलसीको लिङ्गो नौठाउँ बाङ्गो नवौँ ठाउँ लायो चरीले गुँड

ईन ईन चरीका के के नाम लाउँछौ अर्थ कि छोड्छौ ठाम ?

जवाफ- तुलसीको लिङ्गो नौठाउँ बाङ्गो नवौँ ठाउँ लायो चरीले गुँड ईन ईन चरीका हीरामोती नाम लायौँ अर्थ छोड्दैनौ ठाम।

विवाहमा दमाई गीत र नाच अर्को रमाइलो पक्ष हो।[सम्पादन गर्ने]

दमाई गीत र नाच विवाहको जुन समयमा पनि समावेश हुनसक्छ तर दुलही भित्र्याएपछिको बिदाई समारोहमा भने सम्पन्न परिवारमा नाचगान गराई दमाईको पारिश्रमिक सहित बिदा गर्ने गरिन्छ। मद्यपान गर्ने समाजमा मद्यपान गरी नाचगान बजान गरेर दुलाहादुलही राखी देउसीभैलाको आशीषजस्तै आशीष लिने दिने पनि गरिन्छ।दमाई गीतहरूको एउटा भाका-

'वारि साल नि पारि साल' बीचैमा सती साल नि हजुर

'जेठी नाच नि माइली गीत गाऊ' कान्छीले बत्ती बाल नि हजुर

'पानी पर्‍यो नि रिम्मझिम्म' गैरखेतको सिम्मा नि हजुर

'बालकैमा बिहे भयो' थैली रुमाल जिम्मा नि हजुर

'वल्ला खोलो नि पल्लो खोलो' कमिलाको गोलो नि हजुर

'चट्टै पारी सिदेऊ दमाई' कान्छी ल्याउने चोलो नि हजुर

'गाई त चरो नि रनवन' भैँसीलाई वन छैन नि हजुर

'उडिजाऊँ भने नि म पङ्खी होइन' बस्नलाई मन छैन नि हजुर।

विवाह संस्कारमा पछि जोडिएको अर्को प्रथा 'खाँडो जगाउने' प्रथा हो ।[सम्पादन गर्ने]

खड्ग पूजन प्रथा विवाह विधिभित्रै पर्छ। यही प्रथा पछि 'खाँडो जगाउने प्रथा' का रूपमा विकसित बनेको हो। 'खड्ग' शब्दबाटै 'खाँडो' बनेको हो। खाँडोमा जङ्गबहादुरको प्रशस्ति गाइन्छ र कुहिरेलाई गाली गरिन्छ। जसबाट नेपाल-अङ्ग्रेज युद्ध र जङ्गबहादुर शासक भएपछि यो खड्ग पुजन प्रथाले खाँडोको रूपमा लिएको हो भनेर अनुमान गर्न सकिन्छ। विवाहमा बेहुली बनेकी केटीलाई अपहरण गर्न आउने सम्भावनाबाट सचेत भई हतियार तयार पारेर बस्ने कार्य हो।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य कडी[सम्पादन गर्ने]