लिङ्ग पुराण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिचय[सम्पादन गर्नुहोस्]

हिन्दूधर्मसम्बन्धी धार्मिक ग्रन्थहरूमध्येको एक ग्रन्थलाई पुराण भनिन्छ । कुल १८ पुराण र ३६ उपपुराण छन् । लिङ्गपुराण यिनै १८ पुराणमध्येको एक पुराण हो । सबै पुराणका लेखक वेदव्यास हुन् भनिएको छ । पूर्व र उत्तर गरी यस पुराणमा दुई भाग छन् ।  पूर्वभागमा १०८ र उत्तर भागमा ५५ अध्याय गरी  जम्मा १६३ अध्याय छन् । पुराणको दोश्रो अध्यायमा यस पुराणमा ११ हजार श्लोक छन् भनिएको छ ।

वर्णन भएका विषयवस्तुको सार संक्षेप[सम्पादन गर्नुहोस्]

(क) पूर्वविभाग[सम्पादन गर्नुहोस्]

पहिलो अध्यायमा नारद र सूत मुनि नैमिषारण्य क्षेत्रमा पुगेपछि त्यहाँ उपस्थित अन्य ऋषिहरूको अनुरोधमा सूतमुनिबाट लिङ्गपुराण बताउन प्रारम्भ गरिएको प्रसङ्ग तथा दोश्रो अध्यायमा लिङ्गपुराणको इतिहास र यसमा वर्णन भएका विषयवस्तुको चर्चा गरिएको छ । तेश्रो अध्यायमा ब्रह्माण्ड र समय गणनाका बारेमा (यो पनि पढ्नु होस् : https://archive.org/details/20220321_20220321_1322 ); चौथो अध्यायमा ब्रह्माण्डको सृष्टि, पालना र संहारका बारेमा; पाँचौँ अध्यायमा ब्रह्माबाट भएको ऋषि, देवता आदिको सृष्टिका बारेमा; छैटौँ अध्यायमा अग्नि, पितृ र रुद्रको सृष्टिका बारेमा तथा सातौँ अध्यायमा मनु, व्यास, योगेश्वर र तिनका शिष्यका बारेमा वर्णन गरिएको छ ।

यसैगरी आठौँ अध्यायमा अष्टांग योग अन्तर्गत भगवान् शिवको आराधना गर्ने विधिका बारेमा; नवौँ अध्यायमा योगमा आउने बाधा, अष्टसिद्धि आदिका बारेमा; दशौँ अध्यायमा भक्ति र श्रद्धाको महत्वका बारेमा; एघारौँ अध्यायमा सद्योजात र उनका शिष्यहरूका सम्बन्धमा; बाह्रौँ अध्यायमा वामदेव र उनका शिष्यहरूका बारेमा; तेह्रौँ अध्यायमा तत्पुरुष गायत्रीका सम्बन्धमा; चौधौँ अध्यायमा अघोरेशको उत्पत्ति प्रसङ्गका बारेमा; पन्ध्रौँ  अध्यायमा अघोरेशको मन्त्र; सोह्रौँ अध्यायमा ईशानको उत्पत्ति, पञ्चब्रह्मात्मक स्तोत्र, गायत्री महिमा आदिका बारेमा; सत्रौँ अध्यायमा लिङ्गको उत्पत्ति कथा; अठारौँ अध्यायमा  विष्णुद्वारा गरिएको शिवको आराधना (स्तोत्र); उन्नाइसौँ अध्यायमा शिवका कृपाले ब्रह्मा र विष्णुलाई वरदान प्राप्त भई मोहबाट छुटकारा पाएको कथा तथा बीसौँ अध्यायमा विष्णुको नाइटोबाट पलाएको कमलबाट ब्रह्माको उत्पत्ति भएको कथा उल्लेख भएको पाइन्छ ।

अध्याय एक्काईसमा ब्रह्मा र विष्णुले गरेको शिवको आराधना; अध्याय बाईसमा शिवबाट ब्रह्मा र विष्णुलाई वरदान प्राप्त, रुद्रको उत्पत्ति, ब्रह्माले गरेको तपस्या र सर्पको उत्पत्तिको प्रसङ्ग; अध्याय तेईसमा अनेक थरी सृष्टि र गायत्रीको महिमा; अध्याय चौबीसमा शिवका अवतारहरू; अध्याय पच्चीसमा शिवलिङ्गलाई स्नान गराउने विधि; अध्याय छब्बीसमा नित्यकर्म र पञ्चयज्ञ; अध्याय सत्ताईसमा शिवलिङ्गलाई पूजा गर्ने विधि; अध्याय अठ्ठाईसमा  शिवपूजा, महिमा आदि; अध्याय उनन्तीसमा  शिव र दारुवनको प्रसङ्ग तथा अध्याय तीसमा श्वेतमुनिको कथा प्रसङ्ग वर्णन भएको पाइन्छ ।

एकतीसौँ अध्यायमा ब्रह्माले बताएको विधि अनुसार मुनिजनले गरेको शिवको आराधना र त्यो आराधनाबाट प्रसन्न भई शिवले दिएको दर्शनको; बत्तीसौँ अध्यायमा दारुवनका मुनिजनले गरेको शिवस्तुति; तेत्तीसौँ अध्यायमा शिवस्तोत्रको माहात्म्य; चौतीसौँ अध्यायमा भस्मस्नानका प्रकार र योगीको प्रशंसा; पैँतीसौँ अध्यायमा ब्राह्मण र क्षत्रियको महत्वलाई लिएर भएको विवाद एवं क्षुप–दधीचको कथा; छत्तीसौँ अध्यायमा क्षुपले गरेको विष्णुको आराधना, देवगण र दधीचिको युद्ध आदि; सैँतीसौँ अध्यायमा ब्रह्मा र विष्णुका बीचको विवाद; अठतीसौँ अध्यायमा विष्णुलाई बताइएको शिव–माहात्म्य; उनन्चालीसौँ अध्यायमा सत्य आदि चार युगका धर्म र मानिसले गर्ने पेसा आदि तथा चालीसौँ अध्यायमा कलियुग, कल्कि अवतार, सत्ययुगको प्रारम्भ आदि विषय वर्णन भएको पाइन्छ ।

एकचालीसौँ अध्यायमा शिवको योगमायाले ब्रह्मा, विष्णु र रुद्रको उत्पत्ति आदिको; बयालीसौँ अध्यायमा शिलादको तपस्या, महेश्वरबाट प्राप्त वरदान र नन्दिकेश्वरको उत्पत्तिको; त्रिचालीसौँ अध्यायमा शिलादका पुत्र नन्दिकेश्वरले गरेको शिव आराधना र पाएको वरदानको; चौवालीसौँ अध्यायमा नन्दिलाई गणपति पद दिइएको; पैँतालीसौँ अध्यायमा शिवको विराटरूप र पाताललोकको; छयालीसौँ अध्यायमा द्वीप र सागर आदिको; सतचालीसौँ अध्यायमा भारतवर्षको; अठचालीसौँ अध्यायमा पृथ्वीको बीचमा रहेको मेरुपर्वतको; उनन्चालीसौँ अध्यायमा जम्बु द्वीपको तथा पचासौँ अध्यायमा पृथ्वीका पर्वतहरूको बारेमा वर्णन भएको पाइन्छ ।

एक्काउन्नौ अध्यायमा कैलासमा रहेका शिवका आवास भवनहरूको; बाउन्नौ अध्यायमा गंगाको उत्पत्ति आदिको; त्रिपन्नौ अध्यायमा विभिन्न लोकको; चौउन्नौ अध्यायमा सुर्यको गति, ध्रुव आदिको; पचपन्नौ अध्यायमा सूर्यको रथको; छपन्नौ अध्यायमा चन्द्रमाको; सन्ताउन्नौ अध्यायमा अन्य ग्रहहरूको; अन्ठाउन्नौ अध्यायमा सूर्य–अभिषेक आदिको; उनन्साठीयौँ अध्यायमा सूर्यकिरणको तथा साठीयौँ अध्यायमा ग्रहका स्वभाव आदिको बारेमा चर्चा भएको पाइन्छ ।

एकसट्ठीयौँ अध्यायमा ग्रह र नक्षत्रका बारेमा; बैसट्ठीयौँ अध्यायमा ध्रुवको कथा; त्रिसठ्ठीयौँ अध्यायमा देवता आदिको सृष्टि; चौसठ्ठीयौँ अध्यायमा वसिष्ठ पुत्र शक्ति मुनिको कथा र पराशरको उत्पत्ति प्रसंग; पैँसठ्ठीयौँ अध्यायमा रुद्रका हजार नामको स्तोत्र; छैसठ्ठीयौँ अध्यायमा राजा ययाति र उनका वंशका कुरा; सतसठ्ठीऔँ अध्यायमा सुखावह राजाको कथा; अठसठ्ठीयौँ अध्यायमा युदवंशका कुरा; उनन्सत्तरीऔँ अध्यायमा कृष्ण जन्म र चरित्र तथा सत्तरीऔँ अध्यायमा सृष्टि विस्तारका कुरा उल्लेख भएका छन् ।

यसैगरी पूर्वभागको एकहत्तरौँ अध्यायमा त्रिपुरासुरको कथा; अध्याय बहत्तरमा त्रिपुर विनाशको कथा; अध्याय त्रिहत्तरमा ब्रह्माले बताएको लिङ्गपूजाको विधि; अध्याय चौहत्तरमा अनेक किसिमका शिवलिङ्ग; अध्याय पचहत्तरमा शिवको अद्वैतता सम्बन्धी प्रसङ्ग; अध्याय छयहत्तरमा शिवमूर्ति स्थापनाका फल; अध्याय सतहत्तरमा शिवको दरवार वा मन्दिर निर्माणका कुरा; अध्याय अठडहत्तरमा मन्दिर लेपन, अहिंसा आदिको फल; अध्याय उनन्असीमा  शिवको पूजा विधि तथा अध्याय असीमा पाशुपत व्रतका बारेमा वर्णन भएको पाइन्छ ।

अध्याय एकासीमा पशुपाशबाट मुक्ति र लिङ्गपूजा; अध्याय बयासीमा शिवस्तुति विशेष (व्यपोहनस्तव); अध्याय त्रियासीमा शिवव्रत; अध्याय चौरासीमा उमा–महेश्वर व्रत; अध्याय पचासीमा शिव पञ्चाक्षर मन्त्रको महत्व; अध्याय छयासीमा शिव ज्ञानको महत्व; अध्याय सतासीमा मुनिहरुको मोह नाशको प्रसङ्ग; अध्याय अठासीमा अष्टसिद्धि आदिका कुरा; अध्याय उनान्नब्बेमा सदाचार र शौचका कुरा तथा अध्याय नब्बेमा यति (सन्यासी)ले गर्ने प्रायश्चितका कुरा वर्णन भएका छन् ।

यसैगरी एकान्नब्बेऔं अध्यायमा आसन्न मृत्युका लक्षण आदि; बयान्नब्बेऔँ अध्यायमा वनारस र श्रीशैलको माहात्म्य; त्रियान्नब्बेऔँ अध्यायमा अन्धक राक्षसको कथा; चौरान्नब्बेऔँ अध्यायमा वराह रूपको कथा; पञ्चान्नब्बेऔँ अध्यायमा शिवबाट शरभ रूप लिई नृसिंह दमन गरिएको कथा; छयान्नब्बेऔँ अध्यायमा नृसिंहले गरेको शरभस्तुति; सन्तान्नब्बेऔँ अध्यायमा जालन्धर वधका कुरा; अन्ठान्नब्बेऔँ अध्यायमा शिवका हजार नाम र यी नाप जपको महत्व; उनान्सयौँ अध्यायमा दक्ष यज्ञ र देवी उत्पत्तिको प्रसंग तथा सयौँ अध्यायमा दक्षको यज्ञ विनाशसम्बन्धी प्रसङ्ग उल्लेख भएका छन् ।

अध्याय एक सय एकमा कामदेव भष्मको कथा; अध्याय एक सय दुईमा उमाको स्वयम्वर प्रसङ्ग; अध्याय एक सय तीनमा पार्वतीको विवाहका कुरा; अध्याय एक सय चारमा गणेशको उत्पत्ति र शिवस्तवराज; अध्याय एक सय पाँचमा विनायकको कथा अध्याय एक सय छमा सशवको ताण्डव नाचको प्रसङ्ग; अध्याय एक सय सातमा उपमन्युको चरित्र तथा अध्याय एक सय आठमा पाशुव्रतको महत्व सम्बन्धी कुराको वर्णन भएको पाइन्छ ।

(ख) उत्तरविभाग[सम्पादन गर्नुहोस्]

उत्तरविभागको पहिलो अध्यायमा कौशिकको कथा; दोश्रो अध्यायमा विष्णुको माहात्म्य; तेश्रो अध्यायमा वैष्णव गीत; चौथो अध्यायमा विष्णुभक्तका कुरा; पाँचौँ अध्यायमा भगवान् विष्णुले राम अवतार लिनुपर्ने कारणको कथा; छैटौँ अध्यायमा अलक्ष्मीका कथा; सातौँ अध्यायमा विष्णुका विभिन्न मन्त्रको महत्व; आठौँ अध्यायमा शिवमन्त्रको महिमा; नवौँ अध्यायमा पशुपतिको प्रसङ्ग तथा दशौँ अध्यायमा शिवको माहात्म्यको बारेमा वर्णन भएको छ ।

अध्याय एघारमा शिवका विभूति अध्याय बाह्रमा शिवका आठ मूर्ति; अध्याय तेह्रमा शिवको आठ मूर्तिको महत्व; अध्याय चौधमा पञ्चब्रह्मका कुरा; अध्याय पन्ध्रमा शिवको महत्व; अध्याय सोह्रमा शिवका रूप; अध्याय सत्रमा पनि शिवको महत्व; अध्याय अठारमा पाशुपत्र व्रत; अध्याय उन्नाइसमा शिवलाई पूजा गर्ने विधि तथा अध्याय बीसमा शिवपूजाका साधनका बारेमा वर्णन भएको छ ।

अध्याय एक्काइसमा शिव–दीक्षा विधि; अध्याय बाइसमा सूर्य अर्चना विधि; अध्याय तेईस र चौबीसमा शिवपूजाको विधि; अध्याय पच्चीसमा शिवसम्बन्धी अग्निहोत्र; अध्याय छब्बीसमा अघोर पूजा विधि; अध्याय सत्ताईसमा जया अभिषेक; अध्याय अठ्ठाईसमा तुलापुरुषदान विधि; अध्याय उनन्तीसमा हिरण्यगर्भ दानको विधि तथा अध्याय तीसमा तील पर्वतको दान विधि उल्लेख भएको पाइन्छ ।

यसैगरी एकतीसौँ अध्यायमा सूक्ष्मपर्वत दानविधि; बत्तीसौँ अध्यायमा सुवर्णमेदिनीको दानविधि; तेत्तीसौँ अध्यायमा कल्पपादप दानविधि; चौतीसौँ अध्यायमा गणेशेश दानविधि; पैँतीसौँ अध्यायमा सुवर्णधुनु दानविधि; छत्तीसौँ अध्यायमा लक्ष्मीदान विधि; सैँतीसौँ अध्यायमा तिलधेनु दानविधि; अठतीसौँ अध्यायमा सहस्रधेनु दानविधि; उनन्चालीसौँ अध्यायमा स्वर्णअश्व दानविधि तथा अध्याय चालीसमा कन्यादान विधि बताइएको छ ।

अध्याय एकचालीसमा स्वर्णवृषभ दानविधि; बयालीसमा गज दानविधि; त्रिचालीसमा आठ लोकपाल दानविधि; चौवालीसमा विष्णु दानविधि; पैँतालीसमा जीवत्श्राद्ध विधि; छयालीस र सतचालीसमा लिङ्ग स्थापना विधि; अठचालीसमा गायत्रीका प्रकार; उनन्चासमा अघोरेश स्थापना विधि तथा पचासमा अघोर मन्त्रको महत्व बताइएको छ ।

यसैगरी उत्तरविभागको एकाउन्नौ अध्यायमा वज्रेश्वरी विद्या; बाउन्नौ अध्यायमा वज्रवाहनिका विद्या; त्रिपन्नौ अध्यायमा मृत्युञ्जय अनुष्ठान विधि; चवन्नौ अध्यायमा त्रिअम्बक मन्त्र तथा पचपनन्नौ अध्यायमा शिवध्यानका विधि र लिङ्गपुराणको महत्व बताइएको छ ।

श्रोत ग्रन्थ :[सम्पादन गर्नुहोस्]

श्री लिङ्गमहापुराण (https://archive.org/details/20220309_20220309 )

स्रोत[सम्पादन गर्नुहोस्]