अहिल्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अहिल्या
अहिल्या
राजा रवि वर्माले बनाएकोअहिल्याको चित्र
संस्कृत उच्चारणAhalyā
संबद्धऋषि, पञ्चकन्या
पत्नीगौतम

अहिल्या अथवा अहल्या गौतम ऋषिकी पत्नी थिइन् । उनी चतुर्मुखी ब्रह्माजीकी मानस पुत्री थिइन् । ब्रह्माजीले संसारकै सबैभन्दा सुन्दर नारीको रूपमा अहिल्यालाई रचना गरेका थिए । अहिल्या यती सून्दर थिइन् की जसको रुपजालमा फँसेर स्वर्गका राजा देवराज इन्द्रले हजार योनीज हुनु परेको थियो । हिन्दू धर्मका सबै धार्मीक ग्रन्थहरू जस्तै :- वेद, पुराण, रामायण, महाभारत आदी प्रमुख ग्रन्थहरूमा अहिल्याको बारेमा चर्चा गरिएको छ ।

अहिल्या शब्दको अर्थ[सम्पादन गर्नुहोस्]

अहिल्याका बारेमा पौराणिक ग्रन्थहरूमा निकै बहस भएको पाइन्छ । अहिल्याको जिवनका धेरै पाटाहरूमा पौराणिक कालदेखि हालसम्म विभिन्न विद्वान अध्ययता तथा ऋषिमुनीहरूका बीचमा निरन्तर बहस छलफल हुँदै आएको देखिन्छ । [१] वास्तवमा अहिल्या नामकै विषयमा पनि प्रसस्त बहस भएको छ । अहिल्या शब्द संस्कृत शब्द हो । तर, संस्कृत भाषा स्वयं र संस्कृतबाट विकास भएका अन्य हालका भाषाहरूमा यो शब्द अन्य प्रयोजनकालागि कहिं कतै प्रयोग भएको पाईदैन । यस अहिल्या शब्दको वास्तविक अर्थ के थियो ? ब्रह्माजीले आफ्नी छोरीको नाम अहिल्या किन राखे ? भन्ने विषयमा पनि अलग अलग व्याख्या भएको पाईन्छ । वास्तवमा संस्कृत भाषाका डिक्सनरीहरूमा पनि अहिल्या शब्दको अर्थ पाईदैन । यो संस्कृत भाषामा सबैभन्दा कम प्रयोग भएको शब्द हो । यस शब्दका बारेमा पौराणिक कालदेखि पछिसम्म धेरै विवाद नै थियो । किनकी चतुर्मुखी ब्रह्माजीले सुन्दरी अहिल्याको रचना गरेपछि देवराज इन्द्रले स्वयं ब्रह्माजी कहाँ गई अहिल्या शब्दको अर्थ के हो र किन यही शब्द चयन गर्नु भयो भनी ब्रह्माजीसँग जिज्ञासा राखेका थिए । ब्रह्माजीले भनेका छन् अहिल्या शब्दको अर्थ "सृष्ठिकी सबैभन्दा सुन्दर नारी" भन्ने हो भनेका छन् । यो कुरा रामायणको उत्तरकाण्डमा उल्लेख अहिल्याको अर्थ बारे ब्रह्माजी र इन्द्र बीचको सवाल जवाफलाई भारतीय इन्साइक्लोपीडियाले यसरी उद्धृत गरेको छ ।[१]

"ब्रह्माजीले इन्द्रलाई अहिल्याको अर्थ एक यस्ती नारी जसमा नराम्रो र खराब भन्ने केही छैन वा सृष्ठी कै सुन्दर नारी हो भनेका छन् ।"

वास्तवमा अहिल्याको अर्थ ब्रह्माजी जसले यो शब्दबाट आफ्नो छोरीको नाम राखेका थिए उनले भन्दा राम्रो परिभाषा र अर्थ अरु कसैले पनि दिन सक्दैन । ब्रह्माजीले अहिल्याको अर्थ जे बताएका छन् त्यो भन्दा आधिकारीक अरू केही हुन सक्दैन । तर, वैद्धिककाल पछिको पौराणिक कालदेखि हालसम्म आइपुग्दा अन्य धेरै ऋषिमुनीहरू तथा विद्वान अध्ययताहरूले अहिल्या शब्दको अर्थ अरू नै बताएका छन् । यस बिषयमा अध्यात्मिक वैद्धिक क्षेत्रमा तमाम बहस भएको देखिन्छ । अहिलेका लेखकहरूले यो अहिल्या शब्दलाई सुन्दरी अहिल्याको सुन्दरता भन्दापनि कामुकतासँग जोडेर व्याख्या गर्न खोजेका छन् । उनीहरूले यस्तो भनेका छन् - "अहिल्या शब्दको अर्थ कामुक कुमारी या कामुक महिला हो" ।[१] तर, नोबेल पुरस्कार विजेता भारतीय साहित्यकार रविन्द्रनाथ टेगोरले अहिल्या शब्दको अर्थ बाँझो अथव वन्जर हो र वन्जर अहिल्यालाई भगवान रामले छोएर उर्वर बनाए भनेका छन् ।[१] त्यस्तै अहिल्या शब्दको बहस अहिले हिन्दु दर्शनशास्त्र पढ्ने र पढाउने विद्यार्थी तथा अध्यापकहरूबीच पनि निकै चलेको देखिन्छ । जस अनुसार दिल्ली विश्वविद्यालयका प्रोफेसर भारती झावेरीले पनि रविन्द्रनाथ टैगोरलाई समर्थन गर्दै भनेका छन् [१]-

" गुजरातमा रहेको एक आदीवासी समाजको कहावत र गुजरातीमा अनुवादीत रामायण अनुसार अहिल्याको अर्थ वन्जर भूमी नै हो ।"

तर अहिल्यालाई सृष्टीकै सुन्दर नारीका रूपमा रचना गर्ने चतुर्मुखी ब्रह्मा स्वयंले अहिल्याको अर्थ "अति सुन्दर र कुनै पनि खोट नभएको भन्ने हो" भनि देवराज इन्द्रसँग भनेका छन् । यो कुरा रामायणको उत्तर काण्डमा उल्लेख छ । त्यस कारण अहिल्या शब्दको अर्थका बारेमा वैद्धिक, पौराणिक, प्राचिन हुँदै अहिलेका समयसम्म पनि निरन्तर बहस चल्दै आएको छ । वास्तवमा अहिलेसम्म गरिएको सन्दर्भ सामग्रीको अध्यायन अनुसार र अहिल्याको सुन्दरताको बिषयलाई आधार मान्ने हो भने अहिल्याको अर्थ ब्रह्माजीले भने अनुसार नै हो । हामीहरूले त्यही भनाइलाई विश्वास गर्नु पर्ने हुन्छ । किनकी ब्रह्माजीले सुन्दरी उर्वसीको सुन्दरताको घमण्ड चुर गर्न उनी भन्दा पनि महासुन्दरीको रूपमा मन्त्रद्वारा पुत्री अहिल्याको रचना गरेका थिए । यसबाट पनि प्रष्ट हुन्छ की अहिल्या शब्दको अर्थ अति सुन्दर भन्ने नै हुन्छ ।[१]

अहिल्याको विवाह[सम्पादन गर्नुहोस्]

सृष्टीकी सबैभन्दा सुन्दर नारी तथा ब्रह्माजीकी मानस पुत्री अहल्याको विवाह महर्षि गौतमसँग भएको थियो । यो विवाह पौराणिक कालको अत्यन्त चर्चित विवाह हो । यो विवाह सम्बन्धका बारेमा प्रायः सबै पुराणहरूमा उल्लेख छ । गौतम ऋषिको विवाह अहल्यासँग हुँदा अहल्या निकै कम उमेर (लगभग १८ वर्ष) की थिइन् जबकी महर्षि गौतम वृद्ध भइ सकेका थिए । तर पनि त्यो विवाह ब्रह्माजीले आफै गराएका थिए । विवाहमा खुल्ला प्रतिस्पर्धाबाट वरको छनौट गरिएको थियो । ब्रह्माजीले त्यस समयका सबै ऋषिमुनीहरू तथा देवताहरूलाई भेला गराई एक युगान्तकारी समारोहको आयोजना गराए । र, भने तपाइँहरू मध्य जो तीनलोकको परिक्रमा गरेर पहिले यहाँ पुग्छ, म उसैलाई मेरी छोरी अहिल्याको हात सुम्पने छु । यो सुनेपछी सबै ऋषिमुनीहरू र देवताहरू मात्र हैन देवताका राजा इन्द्र समेत त्यो प्रतियोगितामा सामेल हुन तयार भए । किनकी अहल्या धर्तीकी सबैभन्दा सुन्दर नारी थिइन् । ब्रह्माजीले स्वर्गकी परी उर्वशीको सुन्दरताको शाख झार्नको लागि अहल्याको रचना गरेका थिए । अहल्या यति सुन्दर थिइन् कि उनको सुन्दरताले वृद्ध महर्षि गौतमदेखि देवताका राजा ईन्द्र स्वयं प्रतिस्पर्धाका लागि तयार भए । [१] यसरी प्रतियोगिताको तयारी भइसके पछि तीनै लोकको परिक्रमाकालागि सबै ऋषिमुनी तथा देवताहरू गए । तर, महर्षि गौतम प्रतिस्पर्धा स्थलमा नै बसिरहे । यो देखेर सबै छक्क परे । त्यसैबेला गौतमले आफ्ना सहयोगीलाई सुरभी नाम गरेकी गाईलाई ल्याउन सङ्केत गरे र गाई ल्याइयो । अनि गौतम ऋषिले ब्रह्माजीको ध्यान आकर्षित गर्दै भने- "ब्रह्माजी म एकै पटक तीनै लौकको परिक्रमा गर्छु हेर्नुहोस् । पवित्र गाई सुरभीको तिन पटक परिक्रमा गर्दै भने- "सुरभी भन्दा बढी तीन लोक अन्त कहाँ छ र ? त्यसैले मैले सोचें तीन लोक घुम्नु भन्दा गौमाता सुरभीको परिक्रमा गर्नु उत्तम हुन्छ ।" [१] यो देखेपछि चतुर्मुखी ब्रह्माजी खुसीले गद् गद् भए र भने- "हे महर्षि गौतम जी म तपाईँदेखी प्रसन्न भएँ । आज मलाई विश्वास लाग्यो कि तपाईँ वास्तवमा सिद्ध पुरुष हुनु भएछ । वास्तवमा तीन लोक र गौमातामा कुनै फरक छैन । मैले त देवताहरू र ऋषिमुनीहरूको परीक्षा लिएको हुँ, सबै अहल्याको सुन्तरता देखेर अन्धाभई तीन लोक तिर भागे तर तपाइँले वास्तविक कुरा बुझ्नु भएछ विचार पुर्याउनु भयो, म तपाईँदेखि धन्य भएँ ।" चतुर्मुखी ब्रह्माका मुखारविन्दुबाट यो सुनेपछि समारोहमा उपस्थित भिंड हर्षले गद्गद् भयो । ब्रह्माले घोषणा गरे मेरी सुन्दर छोरी अहल्याको विवाह महान ऋषि गौतमसँग हुनेछ । यसका लागि उनी नै उपयुक्त वर हुन् । [१] यतिभन्दै सुन्दरी अहल्या र महर्षि गौतमको विवाह सुरू भयो कैयौँ दिनसम्म चलेको विवाह नसिकिंदै देवताका राजा ईन्द्र आफ्नो दैविक शक्तिको प्रयोग गरी तीनै लोकको परिक्रमा सकेर आइपुगे । उनी आफू विजय भएको भन्दै हतार हतारमा ब्रह्माजी कहाँ गई सुन्दरी अहल्याको हात माग्न खोज्दा उता त अहल्या र महर्षि गौतमको विवाह हुँदै थियो । यो देखेर ईन्द्र अचम्भित हुँदै ब्रह्माजीका सामुन्य गएर भने- "हे ब्रह्माजी मैले तीन लोकको परिक्रमा गरेर तर प्रतिस्पर्धामा जाँदै नगएका वृद्ध गौतम ऋषिलाई छोरी दिएर किन आफ्नो वाचा तोडेको ?" उनको प्रश्न सुनेर ब्रह्माजीले हाँस्दै भने- "हे देवराज ईन्द्रजी मैले तपाईँ देवताहरू र धर्तिका महर्षि ऋषिहरूको शारीरिक बलको परीक्षा लिएको हैन । मैले त तपाईँहरूको दिव्यताको परीक्षा लिएको हुँ । तपाईँहरूको सिद्धताको परीक्षा लिएको हुँ । तर, तपाईँहरूले तीन लोक घुमेर आउनेले मेरी छोरी अहल्याको हात पाउने भन्ने वित्तिकै आँखा र विवेक बन्द गरेर मुर्खतापूर्वक परिक्रमा गर्न भाग्नु भयो जबकी सिद्ध महर्षि गौतमले आफ्नो सिद्ध वौद्धिकताको प्रयोग गरी मेरो चुनौतीको पहचान गरे, मैले भन्न खोजेको कुरा बुझे र उनले तीनै लोकभन्दा महान र पवित्र गौमाताको तीन पटक परिक्रमा गरेर यो चुनौतीको पूरा गरिदिए । जुनकुरा तपाईँ देवराजका दिमागमा पनि आएन । त्यसैले तपाईँले प्रत्यक्ष तीनलोक परिक्रमा गरेर आउँदा समेत यो प्रतिस्पर्धामा असफल हुनुभयो । महर्षि गौतम कतै नगए पनि आफ्नो तिक्ष्ण वौद्धिकताको प्रयोग गरेर यो प्रतिस्पर्धामा प्रथम भए । त्यसैले उनले मेरी सुन्दरी छोरी अहल्याको हात पाए ।" [१] यो भन्दै ब्रह्माजीले थप भने- "मैले यो प्रतिस्पर्धा आयोजना गर्नुका मुख्य तीन उद्देश्य थिए ।

  • सबै देवता र ऋषि महर्षिहरूको सिद्धताको परीक्षण गर्नु ।
  • मेरी छोरी अहल्याको विवाह गर्नु ।
  • धर्तिमा गौमाताको महत्त्व र महिमा फैलाउनु ।

मेरा तीनै उद्देश्य पूरा भए र म सन्तुष्ट छु । " ब्रह्माजीको यो भनाइ सुनेर देवराज ईन्द्र छक्क परे । अनि उनले त्यही समारोहमा केही ऋषिहरूसँग भने- "म अहल्याको हात पाउन असफल भए पनि यिनसँग योनक्रिडा चाहीं कुनै पनि हालतमा गरीछाड्नेछु ।" यो प्रतिज्ञा गरेर देवराज ईन्द्र समारोहबाट बाहिरिए । [१] यसरी सृष्टिकै सुन्दरी नारी अहिल्याको विवाह वृद्ध महर्षि गौतमसँग भयो ।

अहिल्या एक पति भक्त स्त्रि थिईन्। ईन्द्रको छलले गर्दा उनलेे ढुु्ङ्ग्गा्गा बन्नने श्राप पाएकी थिईन्।

इन्द्र र अहिल्यालाई गौतमको सजाय[सम्पादन गर्नुहोस्]

ईन्द्र र अहिल्याबीचको सम्बन्धलाई विद्वान ऋषिमुनीहरू तथा अहिलेका अध्यता खोजकर्ता विश्लेषकहरूले जे जसरी व्याख्य गरेपनि सबैले स्विकारेको विषय चाहीं ईन्द्र र गौतम ऋषिकी पत्नी अहिल्याबीच अस्विकृत सम्बन्ध थियो भन्ने नै हो । उनीहरूबीचको सम्बन्धलाई महर्षि गौतमले आफ्नै आश्रममा यौनक्रिडाको अवस्थामा नै देखेका थिए । जब गौतम ऋषिले अहिल्या र ईन्द्रलाई नाजायज सम्बन्धको अवस्थामा नै समाते त्यही बेला महर्षि गौतम अत्यन्त क्रुद्ध हुँदै दुवैलाई श्राप दिए ।

अहिल्यालाई ढुङ्गामा परिणत[सम्पादन गर्नुहोस्]

ढुङ्गामा परिणत अहिल्यालाई मानव चोलामा परिणत गर्दै भगवान श्रीराम

गौतम ऋषिले पत्नी अहिल्यालाई परपुरुष गमन गरेको भन्दै श्राप दिए । "पञ्चकन्या" नामक ग्रन्थका लेखक भारतीय विद्वान प्रदिप भट्टाचार्यले यस विषयमा लेखेका छन् । उनका अनुसार सामाजिक अपमानबाट बच्न गौतमले आफ्नी पत्नीलाई श्राप दिनु परेको थियो । त्यस्तै ब्रह्मवैवर्त पुराणले पनि अहिल्यालाई श्राप दिएर कुरुप ढुङ्गामा परिणत गरेको कथा उल्लेख गरेको छ । महर्षि गौतमले सुन्दरता र जवानीको घमण्ड गर्ने र परपुरुष गमन गर्ने आफ्नी पत्नी अहिल्यालाई साठी हजार वर्षसम्मकालागि ढुङ्गा बनोस् भनि श्राप दिएका थिए । यद्यपी पछि अरुको अनुरोधमा गौतमले श्राप फिर्ता लिएर उनलाई मनुष्य बनाएका थिए ।[१] ढुङ्गामा परिणत भएकी सुन्दरी अहिल्याले महर्षि गौतमसँग पटक पटक आफू निर्दोष रहेको र ईन्द्रले छल गरेर आफूसँग शारीरिक सम्बन्ध राखेको भन्दै आफूलाई माफ गर्न आग्रह गरेकी थिइन् । ढुङ्गामा परिणत भएकी सुन्दरीको अवस्था देखेर त्यस समयमा देवता तथा ऋषिहरूले महर्षि गौतमसँग उनीमाथिको श्राप फिर्ता लिन आग्रह गरे । साथै महर्षि गौतम स्वयंले पनि अहिल्याको अवस्थादेखि दया मानेर उनको श्राप फिर्ता लिने निर्णय गरे ।[१] ढुङ्गामा परिणत अहिल्यालाई पुनः मानवीय चोलामा ल्याउन उनको ढुङ्गारुपी स्वरूपलाई अयोध्या राज्यका राजकुमार भगवान रामले आफ्नो पाउले छुनु पर्ने भयो । त्यसकालागि विश्वामित्रका साथमा आएका रामलाई गौतम स्वयंले भेटी आफ्नी पत्नीको ढुङ्गारूपलाई मानव रूपमा परिणत गरिदिन आग्रह गरे । उनको आग्रहलाई स्विकार्दै भगवान राम अहिल्याको ढुङ्गारुप भएको ठाउँमा आई आफ्नो पैतलाले छोएर फेरी मानव चोलामा परिणत गरेको भनी ब्रह्मवैवर्त पुराण, ब्रह्माण्ड पुराण, पद्म पुराण, स्कन्द पुराण, रामायण, प्रदिप भट्टाचार्यको पञ्चकन्या, भेनकाता कृष्णप्पा नायकको तेलगु भाषाको राम चरित्र नामक पूस्तक तथा ग्रन्थहरूमा स्पष्टरूपमा उल्लेख छ । यि सबै ग्रन्थमा उल्लेख यस प्रसंगलाई भारतीय इन्साइक्लोपीडियाले सटिक र सश्लिषित रूपमा उल्लेख गरेको छ ।[१] त्यसपछि अहिल्याबाट महर्षि गौतमका एक छोरा जन्मेकै थिए । महर्षि गौतमका अहिल्याबाट जन्मेका छोराको नाम सतानन्द राखिएको थियो । पछि गएर सतानन्द निकै विद्वान ब्राह्मण भए । सतानन्दलाई मिथिला राज्यका राजा जनकले आफ्नो राज्यका राज पुरिहीत बनाएका थिए ।

इन्द्रलाई कारवाही[सम्पादन गर्नुहोस्]

महर्षि गौतमकी पत्नी अहिल्यासँग नाजायज सम्बन्ध राख्ने देवराज ईन्द्रलाई पनि गौतमले भयानक सजाय दिएका थिए । वास्तवमा सबैभन्दा आधिकारीक धारणा अनुसार इन्द्र र अहिल्याबीचको नाजायज सम्बन्धका मुलदोषी ईन्द्र नै थिए । उनले महर्षि गौतम र अहिल्याको विवाह मण्डपमा नै भनेका थिए, एक दिन कुनै पनि हालतमा अहिल्याको चिरहरण गर्ने छु भनेर किनकी उनले अहिल्यालाई पाउन हर सम्भव कोशिस गरेका थिए । उनले अहिल्याको लागि तीन लोकको सबैभन्दा पहिले परिक्रमा गरेका थिए । तीनलोकको परिक्रमा गर्ने प्रतिस्पर्धामा प्रथम भए ता पनि ब्रह्माजीले अहिल्याको विवाह महर्षि गौतमसँग गरिदिंदा ईन्द्र अत्यन्त क्रुद्ध भएका थिए । त्यही रिस मेट्न वा आफ्नो अठोट अनुरुप यौन तृप्ती मेट्न भए पनि ईन्द्र अहिल्याको पछि लागेका थिए । उनले अनेक ट्रिक गरेर अहिल्यालाई आफ्नो चंगुलमा फसाएका थिए । [१] यस विषयमा रामायणले सबैभन्दा राम्रो व्याख्य गरेको देखिन्छ । रामायणका अनुसार महर्षि गौतम प्रातः स्नान गर्न गंगा नदीमा गएको मौका छोपी ईन्द्र महर्षि गौतमको भेषमा आश्रमा आएर गौतमकी पत्नी अहिल्यालाई यौन सम्बन्धकालागि बाध्य पारेका थिए । अहिलेसम्म यही भनाईलाई आधिकारीक र मुख्य मानिएको छ । यस भनाईका अनुसार ईन्द्र अहिल्याबीचको नाजायज सम्बन्धका दोषी नै ईन्द्र थिए । उनले छल गरेर अहिल्याको चिरहरण गरेका थिए ।[१] अर्को तर्फ ईन्द्र देवताहरूका राजा थिए । उनी सुन्दरीहरूसँग योन क्रिडा गर्न तीनै लोकमा धाइरहन्थे । चतुर्मुखी ब्रह्माजीले सृष्टीकै सबैभन्दा सुन्दरी नारीका रूपमा अहिल्याको रचना गरेको सुन्नासाथ देवराज ईन्द्र अहिल्यासँग यौन क्रिडा गर्न लालायीत भइ सकेका थिए । आखिर उनले त्यो गरिछाडे । अर्थात ईन्द्र इस्त्रीको मामलामा निकै लोभी थिए । यो महर्षि गौतमलाई राम्ररी थाहा थियो र ईन्द्रको यो आचरण गौतमलाई मन पर्दैनथ्यो । त्यसैले आफ्नी पत्नीसँग ईन्द्रलाई यौनक्रिडा गर्दै गरेको देख्नासाथ गौतम रिसले क्रुद्ध भइ हे ईन्द्र तिमीलाई स्त्री मोह धेरै छ भने तिम्रो शरीरमा एक हजार स्त्री यौनाङ्ग हउन् भनेर श्राप दिए ।[१] गौतम ऋषिले यस्तो श्राप दिनासाथ ईन्द्रको शरीर भरी एक हजार स्त्री यौनाङ्ग उब्जिए र उनी कुरुप भए । शरीर भरी योनी नै योनी भए र उनको पुरुष यौनाङ्ग लुप्त भयो । यसरी योनी नै योनी भएको शरिर लिएर कसैको सामु जान ईन्द्रका लागि असम्भव भयो । उनी स्वर्गको आफ्नो दरबार भित्र लुकी बसे । यो देखेर तीनै लोकका ऋषि, महर्षि र देवताहरू अचम्भित भए । आफ्ना राजाको शरीरमा १००० योनीहरू भएको देखेर देवताहरू महर्षि गौतमाको आश्रममा आए र उनीसँग विन्ती गर्न थाले:- "हे महर्षि देव ! हाम्रा राजा ईन्द्रको यो हालत नगराइ दिनुहोस् । हामी बर्बाद हुन्छौं स्वर्गको व्यवस्था समाप्त हुन्छ । तपाइँ ईन्द्रलाई माफ गरिदिनुहोस् ।" साथै ईन्द्र स्वयंले पनि गौतम ऋषिका अघि पश्चाताप गर्दै आफूलाई त्यस हालतबाट मुक्त गरिदिन आग्रह गरे । सबैको विन्ती सुनेर तथा देवराज ईन्द्रको दयनिय हालत देखेर गौतमलाई पनि दया जागेर आयो । महाभारतमा उल्लेख भए अनुसार गौतम ऋषि सबैको अनुरोधमा ईन्द्रलाई माफ गर्न तयार भए र उनले ईन्द्रलाई दिएको श्राप फिर्ता लिए । उनले श्राप फिर्ता लिनासाथ ईन्द्रको शरीरमा भएका एक हजार योनीहरू आँखामा परिणत भए । ब्रह्म पुराणले यस विषयमा यस्तो भनेको छ :-[१] "गौतम ऋषिले श्राप दिएपछि ईन्द्रको शरीरमा एक हजार योनी भए र अन्तमा महर्षि गौतमले माफ गर्दै भने जाउ गौतमी नदी (गोदावरी नदी) मा स्नान गरेर आउ । ईन्द्रले गौतमी नदीमा नुहाएपछि उनको शरीरका एक हजार योनीहरू आँखामा परिणत भए र उनलाई माफी भयो ।

सन्दर्भ सूचीहरू[सम्पादन गर्नुहोस्]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ १.१२ १.१३ १.१४ १.१५ १.१६ १.१७ गौतम गोत्र एकता समाज नेपाल द्वारा प्रकाशित पुस्तक गौतम गोत्र वंश परिचय लेखक राजेश कुमार बटाला

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]