शत्रुघ्न
| शत्रुघ्न | |
|---|---|
| आबद्ध | विष्णुको सुदर्शन चक्रको अवतार |
| धर्मग्रन्थहरू | रामायण र यसका अन्य संस्करणहरू |
| वंशावली | |
| अवतारको जन्म | अयोध्या, कोसल (हालको उत्तर प्रदेश, भारत) |
| अवतारको अन्त्य | सरयू नदी, अयोध्या, कोसल (हालको उत्तर प्रदेश, भारत) |
| अभिभावकहरू | |
| भाइबहिनीहरू | लक्ष्मण (दाजु) राम (सौतेनी दाजु) भरत (सौतेनी दाजु) |
| जीवनसाथी | श्रुतिकीर्ति |
| सन्तानहरू | सुबाहु शत्रुघाती |
| वंश | रघुवंश - सूर्यवंश |
शत्रुघ्न (शाब्दिक अर्थ "शत्रुहरूको विनाश गर्ने"), जसलाई रिपुदमन पनि भनिन्छ, हिन्दु महाकाव्य रामायण मा रामका कान्छा भाइ र मधुपुरी तथा विदिशाका राजा हुन्। उनलाई भगवान् विष्णुको सुदर्शन चक्रको अवतार मानिन्छ र उनको विवाह श्रुतिकीर्तिसँग भएको थियो।[१]
शत्रुघ्न लक्ष्मणका जुम्ल्याहा भाइ हुन्। जसरी लक्ष्मण रामप्रति समर्पित थिए, त्यसरी नै शत्रुघ्न भरत प्रति वफादार थिए।[२] महाभारतको विष्णुसहस्रनाममा शत्रुघ्न विष्णुको ४१२औँ नामको रूपमा आउँछ।[३] रामका सबै भाइहरूमध्ये शत्रुघ्नलाई प्रायः कम चर्चा गरिएको र सबैभन्दा कम चिनिएको पात्रको रूपमा लिइन्छ।
नामको व्युत्पत्ति
[सम्पादन]शत्रुघ्न नाम संस्कृत मूलको हो। शत्रुको अर्थ 'दुश्मन' र 'घ्न' को अर्थ 'हन्' धातुबाट बनेको 'मार्ने' वा 'विनाश गर्ने' हुन्छ। त्यसैले, उनको नामको अर्थ 'शत्रुहरूको विनाश गर्ने' वा 'शत्रुहन्ता' भन्ने लाग्छ।[४]
पौराणिक कथा
[सम्पादन]जन्म र प्रारम्भिक जीवन
[सम्पादन]अयोध्याका राजा दशरथका कौशल्या, कैकेयी र सुमित्रा गरी तीन पत्नीहरू थिए। शत्रुघ्न र उनका दाजु लक्ष्मण सुमित्राबाट जन्मिएका थिए भने राम र भरत क्रमशः कौशल्या र कैकेयीबाट जन्मिएका थिए।[५] रामायणमा उनलाई सुदर्शन चक्रको अवतारको रूपमा वर्णन गरिएको छ।[६]
श्रुतिकीर्तिसँग विवाह
[सम्पादन]
रामले सीताको स्वयम्भर जितेपछि उनीहरूको विवाह पक्का हुन्छ। राजा दशरथ छोराको विवाहका लागि मिथिला पुग्छन् र उनले लक्ष्मणको उर्मिलाप्रति आकर्षण रहेको देख्छन्। तर परम्परा अनुसार, पहिले भरत र माण्डवीको विवाह हुनुपर्ने थियो।[७] त्यसपछि राजा दशरथले भरतको माण्डवीसँग र शत्रुघ्नको श्रुतिकीर्तिसँग विवाहको व्यवस्था मिलाउाछन्, जसले गर्दा लक्ष्मणले उर्मिलासँग विवाह गर्न पाउँछन्। अन्ततः, चारै दिदीबहिनीको विवाह चारै दाजुभाइसँग हुन्छ, जसले दुई राज्यहरूबीचको सम्बन्धलाई अझ मजबुत बनाउँछ।[८] शत्रुघ्न र श्रुतिकीर्तिका सुबाहु र शत्रुघाती नामक दुई छोराहरू थिए।[९]
रामको वनवास
[सम्पादन]
जब राम वनवास जान्छन्, शत्रुघ्नले कैकेयीकी वृद्धा धाईआमा मन्थरा (जो रानीको मनमा रामविरुद्ध विष भर्न जिम्मेवार थिइन्) लाई लतारेर मार्न खोज्छन्। तर भरतले उनलाई रोक्छन्। भरत रामलाई अयोध्या फर्काउन वनमा जान्छन्, तर रामले अस्वीकार गर्छन्। त्यसपछि भरतले नन्दिग्रामबाट अयोध्याको शासन सम्हाल्छन् र धर्मको मूर्त रूप बनेर उत्कृष्ट नेतृत्व गर्छन्। रामको वनवासका क्रममा भरत अयोध्याका शासक तोकिए तापनि, रामको अनुपस्थितिमा सम्पूर्ण राज्यको प्रशासनको वास्तविक कार्यभार शत्रुघ्नले नै सम्हालेका थिए। राम, लक्ष्मण र भरत अयोध्यामा नभएको बेला तीनैजना आमाहरूको एकमात्र सहारा शत्रुघ्न नै थिए।[१०]
मन्थरामाथिको क्रोध
[सम्पादन]रामको वनवासपछि रामायणमा मन्थरा एक पटक मात्र देखा पर्छिन्। कैकेयीबाट महँगो लुगा र गहना पुरस्कार पाएपछि उनी दरबारको बगैँचामा टहलिरहेकी थिइन्, त्यही बेला भरत र शत्रुघ्नले उनलाई देख्छन्। उनलाई देख्नेबित्तिकै रामको वनवासका कारण शत्रुघ्न प्रचण्ड क्रोधमा आउँदै उनलाई आक्रमण गर्ने निर्णय गर्छन्। कैकेयीले मन्थरालाई बचाउन भरतसँग बिन्ती गर्छिन्। भरतले शत्रुघ्नलाई 'स्त्रीको हत्या गर्नु पाप हुने' र 'यस्तो गरेमा राम दुवैसँग क्रुद्ध हुने' भन्दै सम्झाएर मन्थराको ज्यान बचाउँछन्। त्यसपछि शत्रुघ्न शान्त हुन्छन् र दाजुभाइ त्यहाँबाट निस्किन्छन् भने कैकेयीले मन्थरालाई सान्त्वना दिने प्रयास गर्छिन्।[११]
लवणासुरको वध
[सम्पादन]
रामायणमा तुलनात्मक रूपमा सानो भूमिका भए तापनि शत्रुघ्न महाकाव्यको मुख्य कथा र उद्देश्यका लागि महत्त्वपूर्ण थिए। उनको मुख्य उपलब्धि मधुपुरा (मथुरा) का राक्षस राजा लवणासुरको वध गर्नु थियो।[१२] लवणसुर लङ्काका राजा रावणका भान्जा थिए।
लवणसुर धर्मी राक्षस राजा मधुका छोरा थिए, जसको नामबाट मधुपुरा सहरको नाम राखिएको थियो। मधुकी पत्नी र लवणासुरकी आमा कुम्भिनी रावणकी बहिनी थिइन्। लवणासुरसँग भगवान् शिवको दिव्य त्रिशूल थियो, जसका कारण कसैले पनि उनलाई मार्न वा उनको पापकर्म रोक्न सकेका थिएनन्।[१३]
शत्रुघ्नले राम र दाजुहरूसँग आफूलाई लवणासुर वध गरेर सेवा गर्ने अवसर दिन अनुरोध गर्छन्। शत्रुघ्नले भगवान् विष्णुको शक्ति निहित वाणले ती राक्षसको वध गर्छन्। लवणासुरको मृत्युपछि रामले शत्रुघ्नलाई मधुपुराको राजाका रूपमा अभिषेक गर्छन्।[१४]
मृत्यु
[सम्पादन]शत्रुघ्नले आफ्नो राज्य (मधुपुरा र विदिशा) आफ्ना छोराहरू सुबाहु र शत्रुघातीका बीचमा विभाजन गरिदिन्छन्।[१५] विष्णुका सातौँ अवतार रामले पृथ्वीमा ११,००० वर्षको धर्मपूर्ण शासन पूरा गरेपछि आफ्नो वास्तविक र शाश्वत महाविष्णु रूपमा फर्कनका लागि सरयू नदीमा प्रवेश गर्छन्। उनको सिको गर्दै भरत र शत्रुघ्नले पनि नदीमा प्रवेश गर्छन् र पछि महाविष्णुमा विलीन हुन्छन्।[१६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Dharma, Krishna (२०२०-०८-१८), Ramayana: India's Immortal Tale of Adventure, Love, and Wisdom (अङ्ग्रेजीमा), Simon and Schuster, आइएसबिएन 978-1-68383-919-4।
- ↑ Books, Kausiki (२०२१-१२-२१), Valmiki Ramayana: Uttara Kanda: English translation only without Slokas (अङ्ग्रेजीमा), Kausiki Books।
- ↑ Naidu, S. Shankar Raju; Kampar, Tulasīdāsa (१९७१), "A comparative study of Kamba Ramayanam and Tulasi Ramayan", Shank (University of Madras), पृ: 44,148, अन्तिम पहुँच २००९-१२-२१।
- ↑ "रामायण | सारांश, पात्रहरू र तथ्यहरू", Encyclopedia Britannica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०२-१८।
- ↑ Mani, Vettam (१९७५), Puranic Encyclopaedia, Delhi: Motilal Banarsidass, पृ: 448–9, आइएसबिएन 978-0-8426-0822-0।
- ↑ Śrīgargasaṃhitā (संस्कृतमा), Vyāsa Bālābakṣa Śodhasaṃsthāna, २०००।
- ↑ Praśānta Guptā (१९९८), Vālmīkī Rāmāyaṇa, आइएसबिएन 9788173012549।
- ↑ Debroy, Bibek (२००५), The History of Puranas, Bharatiya Kala Prakashan, आइएसबिएन 978-81-8090-062-4।
- ↑ "The Ramayana and Mahabharata: Conclusion", www.sacred-texts.com।
- ↑ "A tail's travel from Treta Yuga to DwaparaYuga", shabdbooks.com।
- ↑ Ohri, Vishwa Chander (१९८३), The exile in forest, Lalit Kalā Akademi, India।
- ↑ Pargiter, F.E. (1972). Ancient Indian Historical Tradition, Delhi: Motilal Banarsidass, p.170.
- ↑ Kumar, Maltinandan, Chalein Such Ki Aur (हिन्दीमा), Notion Press, आइएसबिएन 978-93-5206-582-0।
- ↑ Agarwal, Meena (२०१६-०९-२२), Tales From The Ramayan, Diamond Pocket Books Pvt Ltd।
- ↑ Frederic Salmon Growse (१८७४), Mathura: A District Memoir, Government Press।
- ↑ MacFie, J. M. (१ मे २००४), The Ramayan Of Tulsidas, Kessinger Publishing, आइएसबिएन 978-1-4179-1498-2।
