शुर्पणखा
लक्ष्मणले नाक काटिदिएको शूर्पणखाको चित्रण | |
| आबद्ध | राक्षसी |
|---|---|
| वासस्थान | लङ्का |
| धर्मग्रन्थहरू | रामायण र यसका विभिन्न संस्करणहरू |
| वंशावली | |
| अभिभावकहरू | |
| भाइबहिनीहरू | रावण (दाजु) विभीषण (दाजु) कुम्भकर्ण (दाजु) |
| जीवनसाथी | विद्युत्जिव्ह |
| सन्तानहरू | शम्भु कुमार (छोरा) |
शूर्पणखा हिन्दु महाकाव्यकी एक राक्षसी हुन्। उनको कथा मुख्यतया महाकाव्य रामायण र यसका अन्य संस्करणहरूमा वर्णन गरिएको छ। उनी लङ्काका राजा रावणकी बहिनी तथा ऋषि विश्रवा र राक्षसी कैकेसीकी छोरी थिइन्। मूल महाकाव्यमा शूर्पणखाको भूमिका सानो भएता तापनि निकै महत्वपूर्ण रहेको छ।[१]
रूप र स्वरूप
[सम्पादन गर्नुहोस्]
महाकाव्यका विभिन्न संस्करणहरूमा शूर्पणखाको रूपको वर्णनमा निकै भिन्नता पाइन्छ। वाल्मीकि रामायण लगायत अधिकांश संस्करणहरूले उनलाई एक कुरूप महिलाको रूपमा उल्लेख गरेका छन्। जब शूर्पणखाले पहिलो पटक वनमा रामलाई देख्छिन्, वाल्मीकिले उनलाई अप्रिय अनुहार भएकी, ठूलो भुँडी भएकी, टेडो आँखा भएकी, नराम्रो कपाल भएकी, कुरूप आकृति भएकी, धोद्रो स्वर भएकी, अत्यन्त वृद्ध देखिने, कुटिल कुरा गर्ने, अभद्र, असभ्य र घृणित पात्रको रूपमा वर्णन गरेका छन्।[२] यसको विपरित, कम्ब रामायणम्ले उनलाई प्रेमको प्यास भएकी एक सुन्दरी महिलाको रूपमा चित्रण गरेको छ, र उनको व्यवहारलाई एक्लोपनसँग जोड्दै मानवीय संवेदना प्रदान गरेको छ।[३]
विवाह र विधवा
[सम्पादन गर्नुहोस्]शूर्पणखा ठूलो भएपछि उनले कालकेय दानव कुलका दानव राजकुमार विद्युत्जिव्हसँग गोप्य रूपमा विवाह गर्छिन्।[४] दानवसँग विवाह गरेकोमा रावण शूर्पणखासँग क्रुद्ध हुन्छन्। दानवहरू राक्षस जातिका कट्टर शत्रु थिए। क्रोधित रावणले ती दुवैलाई मार्ने निर्णय गर्छन्। यसै क्रममा रावणले विद्युत्जिव्हको सेना विरुद्ध युद्धको आह्वान गर्छन् र लडाइँमा उनको वध गर्छन्। रावणले शूर्पणखालाई पनि मार्न लागेकाले रावणकी पत्नी मन्दोदरीले उनलाई बचाउँछिन्। रावणका भाइहरू कुम्भकर्ण र विभीषणले पनि शूर्पणखाको ज्यान बचाउन रावणसँग आग्रह गर्छन्।[५]
मन्दोदरीले शूर्पणखालाई अर्को पतिको खोजी गर्न सुझाव दिन्छन्। त्यसपछि शूर्पणखाले आफ्नो समय लङ्का र दक्षिण भारतका जङ्गलहरूमा बिताउन थाल्छिन्। कहिलेकाहीँ उनी रावणको आदेशमा जङ्गलमा बस्ने आफ्ना असुर नातेदारहरू खर र दूषणसँग बस्ने गर्छिन्।
राम, सीता र लक्ष्मणसँगको भेट
[सम्पादन गर्नुहोस्]
वाल्मीकिका अनुसार, पञ्चवटीको वनमा भ्रमण गर्ने क्रममा शूर्पणखाले अयोध्याका निर्वासित राजकुमार रामलाई भेटाउँछिन् र उनको युवावस्थाको सुन्दर रूप देखेर उनी तुरुन्तै मोहित हुन्छिन्। उनले रामलाई आकर्षित गर्न एक सुन्दरीको रूप धारण गर्छिन् तर रामले आफ्नो पत्नी सीताप्रति निष्ठावान रहेको र अर्को विवाह नगर्ने बताउँदै उनको प्रस्तावलाई विनम्रतापूर्वक अस्वीकार गरिदिन्छन्। रामबाट तिरस्कृत भएपछि शूर्पणखा उनका भाइ लक्ष्मणकहाँ पुग्छिन्, तर लक्ष्मणले आफू रामको सेवक मात्र भएकोले उनीका लागि योग्य नभएको बताउँछन्। बारम्बारको तिरस्कारबाट अपमानित र ईर्ष्यालु बनेकी शूर्पणखा आफ्नो राक्षसी रूपमा फर्किँदै र सीतामाथि आक्रमण गर्छिन्। त्यसपछि लक्ष्मणले उनलाई रोक्दै उनको नाक काटिदिन्छन्।[३]

अपमानित भएपछि शूर्पणखा सुरुमा आफ्ना भाइ खरकहाँ जान्छिन्। खरले राममाथि आक्रमण गर्न चौध जना राक्षस योद्धाहरू पठाउँछन्, जसलाई रामले सजिलै परास्त गरिदिन्छन्। त्यसपछि खर आफैँ १४,००० सैनिकहरू लिएर युद्धमा उत्रिन्छन्। सो युद्धमा सुमालीका छोरा र कैकेसीका भाइ अकम्पन बाहेक सबै मारिन्छन्। जीवित रहेका अकम्पन भागेर लङ्का पुग्छन्। त्यसपछि शूर्पणखा रावणको दरबारमा पुग्दै आफूले भोगेको अपमानको बारेमा दाजुलाई सुनाउँछिन्। सीताको सुन्दरताको वर्णन सुनेपछि रावणले उनलाई अपहरण गर्ने निर्णय गर्छन्। सीताको अपहरणका लागि रावणलाई उक्साउन अकम्पनले पनि महत्वपूर्ण भूमिका खेल्छन्। आफ्ना अर्का भाइ विभीषणको विरोधका बाबजुद रावणले सीताको अपहरण गर्छन् जसले गर्दा अन्ततः लङ्काको युद्ध सुरु हुन्छ।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Johnson, W.J. (२००९), A Dictionary of Hinduism (1st संस्करण), Oxford: Oxford University Press, आइएसबिएन 9780191726705, डिओआई:10.1093/acref/9780198610250.001.0001।
- ↑ "Valmiki Ramayana - Aranya Kanda - Sarga 17", www.valmikiramayan.net, मूलबाट २७ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०५-०७।
- 1 2 3 Richman 1991.
- ↑ Vālmīki (१८९३), The Ramayana: Translated Into English Prose from the Original Sanskrit (अङ्ग्रेजीमा), Dass।
- ↑ Cakrabartī, Bishṇupada (२००६), The Penguin Companion to the Ramayana (अङ्ग्रेजीमा), Penguin Books, आइएसबिएन 978-0-14-310046-1।
