सामग्रीमा जानुहोस्

जटायु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जटायु
जटायु
१८ औँ शताब्दीको एक चित्रकला जसमा जटायुले सीतालाई बचाउन रावणमाथि आक्रमण गरिरहेको र उसको रथ टुक्र्याएको देखाइएको छ।
धर्मग्रन्थहरूरामायणयसका अन्य संस्करणहरू
वंशावली
अभिभावकहरू
  • अरुण (पिता)
  • श्येनी (माता)
भाइबहिनीहरूसम्पाती

जटायु हिन्दु महाकाव्य रामायणमा गिद्धको रूप भएका एक देवता हुन्।[] उनी अरुण र उनकी पत्नी श्येनीका कान्छा छोरा, सम्पातीका भाइ र गरुडका भतिजा थिए। उनी रामका उनका पिता राजा दशरथका पुराना साथी पनि थिए।

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]
राम र लक्ष्मण मरणसन्न जटायुलाई भेट्दै।
सीताको अपहरण गर्दा रावणले जटायुको पखेटा काट्दै, राजा रवि वर्माको चित्रकला

सूर्यतर्फको उडान

[सम्पादन गर्नुहोस्]

आफ्नो युवावस्थामा, जटायु र उनका ठूला दाजु सम्पातीले एक बाजी लगाएर सूर्यदेव (सूर्य) तर्फ उड्छन्। जटायु आफ्नो युवा जोशका कारण असावधान भई दाजुभन्दा अगाडि उड्दै मध्यान्हको समयमा सूर्यमण्डलमा प्रवेश गर्छन्। सूर्यको प्रचण्ड तापका कारण उनका पखेटाहरू डढ्न थाल्छन्। आफ्नो भाइलाई बचाउने अन्तिम प्रयासमा, सम्पाती उनीभन्दा अगाडि उड्दै जटायुलाई जोगाउन आफ्ना पखेटाहरू फैलाउँछन्। फलस्वरूप, सम्पातीका पखेटाहरू जल्छन् र उनी विन्ध्याचल पर्वततर्फ खस्छन्। असक्त भएका उनले आफ्नो बाँकी जीवन निशकर नामका ऋषिको संरक्षणमा बिताउँछन्, जसले सो पर्वतमा तपस्या गरिरहेका थिए। जटायुले त्यसपछि आफ्ना दाजुलाई कहिल्यै भेट्न पाउँदेनन्।[]

रावण विरुद्धको युद्ध

[सम्पादन गर्नुहोस्]

रामायणको अरण्यकाण्ड मा जटायुलाई "गिद्धहरूका राजा" (गृध्रराज) भनिएको छ।[] महाकाव्यका अनुसार, राक्षस रावणले लक्ष्मीकी अवतार सीताको अपहरण गरिरहेको बेला जटायुले सीतालाई बचाउने प्रयास गरेका थिए। जटायुले रावणसँग वीरतापूर्वक युद्ध गर्छन्, तर जटायु धेरै वृद्ध भएकाले रावणले उनलाई चाँडै पराजित गर्दै उनका पखेटाहरू काटिदिन्छन्। त्यसपछि जटायु भुइँमा खस्छन्। सीताको खोजीमा रहेका रामलक्ष्मणले घाइते र मर्नासन्न अवस्थामा रहेका जटायुलाई भेटाउँछन्। जटायुले उनीहरूलाई रावणसँगको युद्धको बारेमा जानकारी दिँदै रावण दक्षिणतर्फ गएको बताउँछन्। त्यसपछि चोटका कारण जटायुको मृत्यु हुन्छ र रामले उनको अन्तिम संस्कार गर्छन्।[][]

साहित्य र लोककथामा प्रभाव ‍‍

[सम्पादन गर्नुहोस्]

जटायुको वृत्तान्त वाल्मीकि रामायणभन्दा बाहिर विभिन्न क्षेत्रीय संस्कर०हरूमा पनि फैलिएको छ, जहाँ एक वीर संरक्षकको रूपमा उनको भूमिकालाई स्थानीय सांस्कृतिक सन्दर्भहरूसँग मेल खाने गरी प्रस्तुत गरिएको छ। १२ औँ शताब्दीका कवि कम्बनद्वारा रचित तमिल महाकाव्य इरामावतारम मा, रावणसँगको जटायुको मुठभेडलाई उच्च काव्यिक तीव्रताका साथ प्रस्तुत गरिएको छ। यसमा उनको अन्तिम शब्दहरूलाई भक्ति र बलिदानको भावना झल्काउने मार्मिक विलापको रूपमा चित्रण गरिएको छ, जसले पछिल्ला तमिल साहित्यिक परम्पराहरूलाई पनि प्रभावित पारेको छ।

अन्य महाकाव्यहरूमा, जटायु एक कुलीन वंशका दैवी चराको रूपमा देखा पर्दछन्। महाभारत को आदि पर्व मा उनलाई सूर्यका सारथि अरुण र उनकी पत्नी श्येनीबाट जन्मेका दुई छोराहरूमध्ये एकको रूपमा संक्षिप्त रूपमा उल्लेख गरिएको छ। दक्षिण भारतीय मौखिक परम्परा र लोककथाहरूले जटायुलाई एक रक्षक आत्माको रूपमा चित्रण गर्छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Gopinath, Mohan (२०२३-११-२०), Tracing the Literary and Symbolic Significance of the Messenger through History (अङ्ग्रेजीमा), Cambridge Scholars Publishing, पृ: 46, आइएसबिएन 978-1-5275-5613-3
  2. Mani, Vettam (२०१५-०१-०१), Puranic Encyclopedia: A Comprehensive Work with Special Reference to the Epic crate and Puranic Literature (अङ्ग्रेजीमा), Motilal Banarsidass, पृ: 351, आइएसबिएन 978-81-208-0597-2
  3. daśagrīvasthito dharme purāṇe satyasaṃśrayaḥ jaṭāyur nāma nāmnāhaṃ gṛdhrarājo mahābalaḥ — Ramayana 3.048.003
  4. K.V., Raman; T., Padmaja (१९९५), Indian Epic Values: Rāmāyaṇa and Its Impact: Proceedings of the 8th International Rāmāyaạ Conference, Peeters Publishers, पृ: ८६, आइएसबिएन 9789068317015
  5. C., Chandramouli (२००३), Temples of Tamil Nadu Kancheepuram District, Directorate of Census Operations, Tamil Nadu।