कैकेयी
| कैकेयी | |
|---|---|
| कोसलकी रानी | |
मन्थराले रानी कैकेयीलाई राजकुमार रामलाई वनवास पठाउन उक्साउँदै | |
| जीवनसाथी | दशरथ |
| सन्तान | भरत (छोरा) |
| घराना | अयोध्या |
| वंश | केकय (जन्मद्वारा) रघुवंश-सूर्यवंश (विवाहद्वारा) |
| बाबु | अश्वपति |
| धर्म | हिन्दू धर्म |
कैकेयी हिन्दु महाकाव्य रामायण का अनुसार केकय राज्यकी राजकुमारी र कोसलकी रानी हुन्। उनी राजा दशरथकी तेस्री र सबैभन्दा प्रिय रानी थिइन्, जसले अयोध्याबाट कोसलको शासन गर्दथे। उनी भरतकी माता हुन्।[१]
दशरथका तीन पत्नीहरूमध्ये कैकेयीको प्रभाव सबैभन्दा बढी थियो। केकयकी राजकुमारीको रूपमा उनले युद्धका समयमा आफ्ना पतिलाई एक सक्षम सल्लाहकारको रूपमा सहयोग गरेको वर्णन गरिएको छ। सुरुमा आफ्ना सौतेनी छोरा राजकुमार राम प्रति अत्यन्तै मायालु र मातृभाव राख्ने कैकेयीको मन उनकी दासी मन्थराले दूषित पारिदिएकी थिइन्। मन्थराको प्रभावमा परेर उनले रामलाई चौध वर्षको लागि वनवास पठाउन माग गरेकी थिइन्।
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]जन्म र प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]कैकेयीको जन्म उनको आमा निर्वासित हुनुभन्दा केही समय अघि केकयका राजा अश्वपतिको छोरीको रूपमा भएको थियो। उनको हेरचाह र पालनपोषण धाईआमा मन्थराले गरेकी थिइन्। उनी आफ्ना जुम्ल्याहा दाजु युधाजित सहित सात दाजुभाइहरूसँग हुर्किएकी थिइन्।
विवाह र सन्तान
[सम्पादन गर्नुहोस्]कैकेयीको विवाह कोसलका राजा दशरथसँग भएको थियो। दशरथले सन्तान प्राप्तिको आशामा आफ्ना तीन पत्नीहरूसँग पुत्रकामेष्टि यज्ञ गर्छन्। सन्तानहीन दशरथका लागि छोराहरू प्राप्त गर्न ऋष्यशृङ्गद्वारा गरिएको यज्ञमा, आगोको ज्वालाबाट एक दिव्य पुरुष हातमा देवताहरूले तयार पारेको दिव्य खीरले भरिएको सुनको भाँडो लिएर प्रकट हुन्छन्। दशरथले यस दिव्य खीरको आधा भाग कौशल्यालाई, एक चौथाइ सुमित्रालाई, र आठौँ भाग कैकेयीलाई दिन्छन्। त्यसपछि पुन: विचार गरी बाँकी रहेको अन्तिम आठौँ भाग फेरि सुमित्रालाई दिन्छन्।[२] परिणामस्वरूप, कौशल्याबाट राम, सुमित्राबाट जुम्ल्याहा लक्ष्मण र शत्रुघ्न, र कैकेयीबाट भरतको जन्म हुन्छ।[३]
दशरथद्वारा वरदान
[सम्पादन गर्नुहोस्]देवता र असुरहरू बीचको युद्धमा, दशरथ इन्द्रलाई असुरहरू विरुद्ध लड्न मद्दत गर्न कैकेयीका साथ देवलोक जान्छन्। शम्बर र उनको असुर सेनाले प्रयोग गरेको मायावी शक्तिका कारण देवताहरू कमजोर अवस्थामा रहन्छन्। रथमा सवार दशरथले एकैसाथ दशै दिशाबाट असुरहरूको सामना गर्छन्। यस युद्धका क्रममा उनको रथको पाङ्ग्राको एक किला फुस्किन्छ र पाङ्ग्रा निस्कनै लाग्छ। त्यसै बेला कैकेयीले किलाको प्वालमा आफ्नो औँला घुसारेर रथलाई स्थिर राख्छिन्। राजाले यो कुरा थाहा पाएपछि उनी अत्यन्तै प्रसन्न हुँदै उनलाई दुईवटा वरदान मागे अनुरोध गर्छन्। रानीले त्यस समयमा केही पनि नचाहिएको भन्दै भविष्यमा ती दुई वरदान माग्ने बताउँछिन्।[४]
मन्थराको प्रभाव र रामको वनवास
[सम्पादन गर्नुहोस्]जेठो छोरा उत्तराधिकारी हुने परम्परा अनुसार, दशरथले राजसभाको स्वीकृतिमा रामलाई आफ्नो उत्तराधिकारी चयन गर्छन्। कैकेयी यस निर्णयबाट धेरै खुसी हुन्छिन्। कैकेयीलाई मन्थराबाट यदि राम राजा बने भने कौशल्या 'राजमाता' बन्ने र दरबारमा कैकेयीको मुख्य रानीको दर्जा गुम्ने डर पलाउन थाल्छ। मन्थराले कैकेयीको मनमा ईर्ष्या जगाउने प्रयास गर्दै रामको राज्याभिषेकले भरतको उत्तराधिकार सधैँका लागि समाप्त गरिदिने बताउँछिन्। सुरुमा कैकेयीमा यसको कुनै प्रभाव पर्दैन।[५]
पछि मन्थराले कैकेयीलाई वर्षौँ पहिले दशरथले दिएका दुई वरदानहरू माग्न अनुरोध गर्छिन्। राजा दशरथ ती वरदान पूरा गर्न बाध्य हुन्छन्। कैकेयीले पहिलो वरदानमा भरतलाई राजा बनाउने र दोस्रोमा रामलाई चौध वर्षका लागि वनवास पठाउन माग गर्छिन्। यो सुनेर दशरथ मूर्छित हुन्छन् र कैकेयीको महलमा दयनीय अवस्थामा रात बिताउँछन्।[५][६]
विधवा र पछिल्लो जीवन
[सम्पादन गर्नुहोस्]राम अयोध्याबाट वनवास गएको छ दिनपछि पुत्रशोक र हृदयघातका कारण दशरथको मृत्यु हुन्छ। कैकेयीले यस मृत्युको लागि आफैँलाई दोषी ठान्छिन्। यसबाहेक, भरतले जेठो दाजुको जन्मसिद्ध अधिकार भएकाले राजगद्दीमा कहिल्यै नबस्ने कसम खान्छन्। उनले आफ्नी आमालाई पिताको मृत्युको कारक ठानेर उनलाई कहिल्यै "आमा" भनेर सम्बोधन नगर्ने प्रण गर्छन्। आफ्नो गल्ती महसुस गरेपछि कैकेयीले आफ्ना प्यारा सौतेनी छोरालाई चौध वर्षका लागि पठाएकोमा पश्चात्ताप गर्छिन्।[७][८]
राम वनवासबाट फर्किएपछि, कैकेयीले आफ्ना पापहरूका लागि उनीसँग माफी माग्छिन्। रामले उनको खुट्टा ढोग्दै माफी माग्नु आवश्यक नभएको र जे भयो त्यसमा आफूलाई नराम्रो नलागेको बताउँछन्। उनले भरतलाई पनि आफ्नी आमालाई क्षमा गर्न आग्रह गर्छन्। रामले कैकेयीको बचाउ गर्दै भरतलाई आमाले जे गरे पनि आफ्ना छोराछोरीको भलाइका लागि गरेको र त्यसैले उनीप्रति क्रोधित हुनु उचित नहुने बताउँछन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Rosen, Steven (२००६-१०-३०), Essential Hinduism (अङ्ग्रेजीमा), Bloomsbury Publishing USA, पृ: 73, आइएसबिएन 978-0-313-07155-3।
- ↑ "The Ramayana in Sanskrit: Book 1: Chapter 15"।
- ↑ www.wisdomlib.org (२०१९-११-१०), "Ramayana: Chapter I", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०१।
- ↑ Mani 2015, पृष्ठ 364.
- 1 2 Sivaraman, Krishna (१९८९), Hindu Spirituality: Vedas Through Vedanta (अङ्ग्रेजीमा), Motilal Banarsidass Publishers, आइएसबिएन 978-81-208-1254-3।
- ↑ Lochtefeld, James G. (२००२), The Illustrated Encyclopedia of Hinduism: A-M (अङ्ग्रेजीमा), Rosen, पृ: 330, आइएसबिएन 978-0-8239-3179-8।
- ↑ Keshavadas, Sadguru Sant (१९८८), Ramayana at a Glance (अङ्ग्रेजीमा), Motilal Banarsidass Publ., पृ: 90, आइएसबिएन 978-81-208-0545-3।
- ↑ Dharma, Krishna (२०२०-०८-१८), Ramayana: India's Immortal Tale of Adventure, Love, and Wisdom (अङ्ग्रेजीमा), Simon and Schuster, पृ: 173, आइएसबिएन 978-1-68383-919-4।
