नवदुर्गा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बनारसमा पुजाको लागि बनाइएका नवदुर्गा

नवदुर्गा भन्नाले दुर्गा भगवती, हिन्दु धर्मावलम्वीहरूकी एक शक्तिस्वरूपा, देवीलाइ बुझिन्छ । महादुर्गा भवानीले सत्ययुगमा महिषाशुर (दानव) को कुकृत्यबाट मानव जगतलाइ मुक्ति दिलाएकोा शास्त्रहरूमा उल्लेख छ । नवदुर्गा हिन्दु धर्मकी देवी दुर्गाको नौ वटा रूप हो । नवदुर्गामा क्रमशः शैलपुत्री, व्रह्मचारणी, चन्द्रघण्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरीसिद्धिदात्री पर्दछन । नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाकाका दिनदेखी महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पुजा गर्ने गरिन्छ ।

नौ रूप[सम्पादन गर्नुहोस्]

निम्नलिखित श्लोकमा नवदुर्गाको नाम क्रमश: दिईएको छ--

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना:।।
[१]

शैलपुत्री[सम्पादन गर्नुहोस्]

Shailaputri Sanghasri 2010 Arnab Dutta.JPG

नवदुर्गा भगवतीको पहिलो स्वरूप शैलपुत्रीको आराधना गर्नाले धन, धान्य, सैभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारको मनोकामना पूर्ण हुने मानिन्छ । शैलपुत्रीलाई श्रद्धाभक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छ । शैलपुत्रीलाई सम्पूर्ण शक्तिको सम्भावनाको रूपमा मानिन्छ ।

  • व्युत्पत्ति: शैलपुत्री को शाव्दिक अर्थ पहाड (शिला) की छोरी भन्ने हुन्छ। शैलराज हिमालयको घरमा पैदा भएको कारणले नवदुर्गाको पहिलो अवतारलाई शैलपुत्री भनिएको हो।
  • आवरण: दाहिने हातमा त्रिशूल, देव्रे हातमा कमल, निधारमा अर्धचन्द्राकार चन्द्र।
  • अन्य नाम: सती, पार्वती, वृषारूढ़ा, हेमवती, भवानी।
  • मन्त्र: 'ॐ देवी शैलपुत्र्यै नमः।' अथवा 'ॐ ऐं ह्रीं क्लीं शैलपुत्र्यै नम:।'
  • पुजा: नवरात्रीको पहिलो दिन।
  • शासित ग्रह: चन्द्रमा।
  • बाहन: नन्दी (साँढे)।

व्रह्मचारणी[सम्पादन गर्नुहोस्]

Brahmacharini.jpg

देवी व्रह्मचारणीको पुजा उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार तथा संयमको वृद्धि हुने विश्वास लिइन्छ। जस्तोसुकै परिस्थितिमा पनि उसको मन कर्तव्य पथबाट बिचलित हुदैन र उसले देवीको कृपाले सदा सिद्दी तथा विजय प्राप्त गर्दछ।

  • व्युत्पत्ति: व्रह्मचारणी को शाव्दिक अर्थ व्रह्म (तपस्या) को आचरण गर्ने भन्ने हुन्छ। भगवान शंकरलाई पतिको रूपमा पाउन कठिन तपस्या गरेका कारणले नवदुर्गाको दोश्रो अवतारलाई व्रह्मचारणी भनिएको हो।
  • आवरण: दाहिने हातमा जप माला, देव्रे हातमा कमाण्डलु, खाली खुट्टा हिड्ने।
  • अन्य नाम: तपश्चारिणी।
  • मन्त्र: 'ॐ देवी ब्रह्मचारिण्यै नम:।' अथवा 'ॐ ऐं ह्रीं क्लीं ब्रह्मचारिण्यै नम:।'
  • पुजा: नवरात्रीको दोश्रो दिन।
  • शासित ग्रह: मङ्गल।
  • बाहन: पैदल सवारी गर्ने।

चन्द्रघण्टा[सम्पादन गर्नुहोस्]

Chandraghanta Sanghasri 2010 Arnab Dutta.JPG

चन्द्रघण्टा भगवतीको कृपा प्राप्त भएमा साधकको कष्ट निवारण हुने, साधक सिंह जस्तै पराक्रमी तथा निर्भय हुने, तथा घण्टीको ध्वनिले साधकलाई प्रेतबाधाबाट रक्षा हुने पौराणिक मान्यता छ।

  • व्युत्पत्ति: चन्द्रघण्टा शव्द चन्द्र र घण्टा मिलेर बनेको छ। मस्तकमा घण्टीको जस्तै आकारको अर्धचन्द्र भएको कारणले नवदुर्गाको तेश्रो अवतारलाई चन्द्रघण्टा भनिएको हो।
  • आवरण: निधारमा अर्धचन्द्राकार चन्द्र, स्वर्ण समान चम्किलो शरीर, दश हात भएकी, युद्धको लागि सदैव तयार रहने, सौम्य तथा शान्तिदायक ।
  • मन्त्र: 'ॐ देवी चन्द्रघण्टायै नम:।' अथवा 'ॐ ऐं ह्रीं क्लीं चन्द्रघंटायै नम:।'
  • पुजा: नवरात्रीको तेश्रो दिन।
  • शासित ग्रह: शुक्र।
  • बाहन: सिंह।

कूष्माण्डा[सम्पादन गर्नुहोस्]

Kushmanda Sanghasri 2010 Arnab Dutta.JPG

सृष्टिको अस्तित्व नै नभएको समयमा ब्रह्माण्डको रचना गर्ने यी आदि-स्वरूपा, आदिशक्ति देवीको बासस्थान सूर्य मण्डल भित्रै रहेको छ। सुर्यको समान कान्ति तथा चमक भएकी कूष्माण्डा देवीको आराधना गर्नाले आयु, यश, बल तथा आरोग्य को वृद्धि हुने विश्वास रहिआएको छ।

  • व्युत्पत्ति: आफ्नो मन्द हल्का हाँसो द्वारा अण्ड (ब्रह्माण्ड) को रचना गरेको हुनाले देवीको यस स्वरूपलाई कूष्माण्डा नामबाट सम्बोधन गरिएको हो।
  • आवरण: आठ हात मध्ये एक हातमा अष्ट सिद्दी तथा नव निधि प्रदान गर्ने जपमाला, अन्य सात हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमलको फूल, अमृतपूर्ण कलश, चक्र, गदा।
  • अन्य नाम: अष्टभुजा देवी, आदि-स्वरूपा, आदिशक्ति।
  • मन्त्र: 'ॐ देवी कूष्माण्डायै नम:।' अथवा 'ॐ ऐं ह्रीं क्लीं कूष्माण्डायै नम:।'
  • पुजा: नवरात्रीको चौथो दिन।
  • बाहन: सिंह ।

स्कन्दमाता[सम्पादन गर्नुहोस्]

Skandamata Sanghasri 2010 Arnab Dutta.JPG

भक्तिभावले स्कन्दमाताको उपासना गर्नाले भक्तको सम्पूर्ण इच्छा पूर्ण हुने, यस मृत्युलोकमा नी परम शान्ति तथा सुख प्राप्त हुने र मोक्षको द्वार खुल्ने विश्वास लिइन्छ। स्कन्दमाताको आराधना गर्नाले बालरूप स्कन्द भगवानको समेत स्वमेव आराधना हुन्छ।

  • व्युत्पत्ति: भगवान स्कन्दप्रसिद्ध देवासुर संग्राममा देवताको सेनापति थिए। 'कुमार कार्तिकेय' पनि भनिने उनको महिमा वर्णन गर्दा पुराणहरूमा कुमार तथा शक्ति आदि भनिएको छ। यिनै भगवान स्कन्दको आमा भएको कारणले भगवती दुर्गाको यस अवतारलाई स्कन्दमाता भनिएको हो।
  • आवरण: दाहिने तर्फ माथिल्लो हातले स्कन्दलाई काखमा राखेको, माथि उठेको तल्लो हातमा कमलको फूल, देब्रे तर्फ माथिल्लो हात वर मुद्रामा, माथि उठेको तल्लो हातमा कमलको फूल, कमलको फूलको आसन।
  • अन्य नाम: पद्मासना देवी।
  • मन्त्र: 'ॐ देवी स्कन्दमातायै नम:।' अथवा 'ॐ ऐं ह्रीं क्लीं स्कन्दमातायै नम:।'
  • पुजा: नवरात्रीको पाँचौ दिन।
  • बाहन: सिंह।

कात्यायनी[सम्पादन गर्नुहोस्]

Katyayani Sanghasri 2010 Arnab Dutta.JPG

कात्यायनी भगवतीको भक्ति गर्नाले साधकलाई सरल तरिकाले अर्थ, धर्म, काम तथा मोक्ष प्राप्त हुने तथा यसै लोकमा अलौकिक तेज र प्रभावले युक्त हुने विश्वास गरिन्छ।

  • व्युत्पत्ति: विश्वप्रसिद्ध महर्षि कात्यायनले पुत्री प्राप्तिको लागि भगवती पराम्बाको कठिन तपस्या गरे। उपासना देखि प्रसन्न भएर माता भगवतीले महर्षिको घरमा पुत्रीको रूपमा जन्म लिइन् र कात्यायनीको नामले प्रसिद्ध भइन्।
  • आवरण: चम्किलो एवं ज्योतिर्मय स्वरूप, दाहिने तर्फ माथिल्लो हात अभय मुद्रामा, तल्लो हात वर मुद्रामा, देब्रे तर्फ माथिल्लो हातमा तरबार, तल्लो हातमा कमलको फूल ।
  • मन्त्र: 'ॐ देवी कात्यायनायै नम:।' अथवा 'ॐ ऐं ह्रीं क्लीं कात्यायनायै नम:।'
  • पुजा: नवरात्रीको छैठौं दिन।
  • बाहन: सिंह।

कालरात्री[सम्पादन गर्नुहोस्]

Kalaratri.jpg

कालरात्रीको स्वरूप भयानक भए पानी अत्यन्त शुभ फल दिने देवी हुन्। कालरात्रीको स्वरूपको प्रभावले सम्पूर्ण राक्षस, भूत, प्रेत, पिसाच तथा नकारात्मक उर्जा नाश हुने विश्वास लिइन्छ।

  • आवरण: ब्रह्मांड समान गोलाकार तीन नेत्र, स्वासबाट अग्नि निस्कने, दाहिने तर्फको माथिल्लो हात वर मुद्रामा, तल्लो हात अभय मुद्रामा तथा देब्रे तर्फको माथिल्लो हातमा फलामको हतियार, तल्लो हातमा खड्ग। घना अन्धकार समान भयानक कालो स्वरूप।
  • मन्त्र: 'ॐ देवी कालरात्र्यै नम:।' अथवा 'ॐ ऐं ह्रीं क्लीं कालरात्र्यै नम:।'
  • पुजा: नवरात्रीको सातौँ दिन।
  • शासित ग्रह: ।
  • बाहन: गधा।

महागौरी[सम्पादन गर्नुहोस्]

Mahagauri Sanghasri 2010 Arnab Dutta.JPG

महागौरीको उपासना गर्नाले उपासकको सबै खाले पाप तथा कुकर्म नाश भएर जाने विश्वास लिइन्छ। महागौरीको कृपाले भक्तले भविष्यमा सन्ताप, दु:ख भोग्नु पर्दैन, उ सबै प्रकारले पवित्र बन्छ र अक्षय पुण्यले युक्त हुन्छ भन्ने मानिन्छ।

  • व्युत्पत्ति: भगवान शिवलाई पतिको रूपमा प्राप्त गर्नको लागि महागौरीले कठोर तपस्या (त्यस्तो महान तथा उग्र तप न कसैले आजसम्म गरेको थियो न कसैले गर्न सक्छ भनी स्वयं ब्रह्माजीले देवीलाई भन्नुभएको थियो) गरेकी थिइन्। सोही कारणले उनको शरीर कालो भयो। तर तपस्या देखि प्रसन्न भएर भगवान शिवले उनको शरीर गङ्गाको पवित्र जलले धोएर कान्तिमय बनाई दिनु भयो भने वर्ण पानी गोरो भयो।
  • आवरण: दाहिने तर्फ तल्लो हातमा त्रिशुल, माथिल्लो हात अभय मुद्रामा तथा देब्रे तर्फ तल्लो हात वर मुद्रामा, माथिल्लो हातमा डमरु।
  • अन्य नाम: अन्नपूर्णा, श्वेताम्बरधरा, वृषारूढ़ा, ऐश्वर्य प्रदायिनी, चैतन्यमयी।
  • मन्त्र: 'ॐ देवी महागौर्ये नम:।' अथवा 'ॐ ऐं ह्रीं क्लीं महागौर्ये नम:।'
  • पुजा: नवरात्रीको आठौँ दिन।
  • बाहन: वृषभ।

सिद्धिदात्री[सम्पादन गर्नुहोस्]

Siddhidatri Sanghasri 2010 Arnab Dutta.JPG

सिद्धिदात्री सम्पूर्ण सिद्दी प्रदान गर्ने देवी हुन्। यी देवीको पूजा गर्नाले बाँकी देवीको पनि स्वयं उपासना हुने मान्यता छ। भगवान शिवले पनी यिनै देवीको कृपाले आठ सिद्दी प्राप्त गरेको मान्यता छ। सिद्धिदात्रीको कृपाले शिवजी ले अर्धनारेश्वर (आधा शरीर देवीको) रुप धारण गरेको मानिन्छ।

  • आवरण: दाहिने तर्फ तल्लो हातमा चक्र, माथिल्लो हातमा गदा तथा देब्रे तर्फ तल्लो हातमा शंख, माथिल्लो हातमा कमलको फूल।
  • मन्त्र: 'ॐ देवी सिद्धिदात्यै नम:।' अथवा 'ॐ ऐं ह्रीं क्लीं सिद्धिदात्यै नम:।'
  • पुजा: नवरात्रीको नवौँ दिन।
  • आसन: कमलको फूल।

नवदुर्गा महिमा[सम्पादन गर्नुहोस्]

  • शैलपुत्री: सम्पूर्ण जड़ पदार्थ (पत्थर, माटो, जल, वायु, अग्नि, आकाश) भगवतीको पहिलो स्वरूप हो। शैलपुत्रीको पुजा अर्चना गर्नाले सम्पूर्ण जड़ पदार्थमा परमात्मा रहेको अनुभव गर्न सकिन्छ।
  • व्रह्मचारणी:- भगवतीको दोश्रो अवतारको प्रादुर्भाव जड़ पदार्थमा ज्ञानको प्रस्फुटन, चेतनाको सञ्चार हुनु हो। प्रत्येक अंकुरणमा जड़ पदार्थ जीवन्त भएको देख्न सकिन्छ।
  • चन्द्रघण्टा: देवीको तेश्रो रूपले जीवमा वाणी (आवाज) को प्रतिनिधित्व गर्दछ।
  • कूष्माण्डा: समस्त जीवमा हुने गर्भाधान शक्तिको स्वरूप कूष्माण्डा देवी हुन्।
  • स्कन्दमाता: प्रत्येक पुत्रवान मातापिता स्कन्दमाताको रुप हो।
  • कात्यायनी: प्रत्येक पुत्री वा कन्याका मातापिता कात्यायनी माताको रुप हो।
  • कालरात्री: देवीको यस अवतारले सम्पूर्ण जड़ तथा जीवको मृत्युलाई सङ्केत गर्दछ। सबै प्राणीलाई मृत्युको समयमा यस स्वरूपको अनुभव हुन्छ।

देवी भगवतीको उपरोक्त सात स्वरूपको दर्शन प्रत्यक्ष तथा सुलभ हुन्छ। तर आठौँ तथा नवौँ स्वरूप दुर्लभ छन्।

  • महागौरी: कठोर साधनाबाट प्रकाशको स्वरूप मानिने महागौरी देवीको दर्शन हुने र देवीबाट असम्भव जस्ता कार्यहरूलाई सम्भव बनाउने शक्ति प्राप्त हुन्छ।
  • सिद्धिदात्री: जन्म जन्मान्तर सम्म कठोर साधना गरेर मात्र देवीको सिद्धिदात्री स्वरूपको दर्शन गर्न सम्भव छ जसबाट साधकलाई परम ज्ञान वा बोध प्राप्त हुन्छ।

नवदुर्गा आयुर्वेद[सम्पादन गर्नुहोस्]

दुर्गा कवचमा नवदुर्गालाई नौ विशिष्ट औषधिको रूपमा वर्णन गरिएको छ।[२]

  • शैलपुत्री (हर्रो): कैयौँ रोगको उपचारमा प्रयोग हुने हर्रोलाई दुर्गा कवचमा शैलपुत्री कै एक रुप मानिएको छ। हर्रो सात प्रकारका हुन्छन्। 
  • व्रह्मचारणी (ब्राह्मी): आयु तथा स्मरण शक्ति बढाउने, रक्त विकार शुद्ध गर्ने, स्वर मधुर बनाउने ब्राह्मीलाई व्रह्मचारणीको रूपमा बर्णन गरिएको छ।
  • चन्द्रघण्टा (चम्सुर): धनिया जस्तो देखिने र मोटोपन, हृदयरोग आदिमा काम आउने चम्सुरलाई समेत देवीको एक रुप मानिएको छ। 
  • कूष्माण्डा (कुभिन्डो): मानसिक रोगीका लागि कुभिन्डो अमृत समान हुन्छ भने रक्त विकार, पेटको रोग आदि समाधानमा सहयोगी मानिएको छ। 
  • स्कन्दमाता (आलस): आलस वात, पित्त र कफ रोगनाशक औषधि हो। 
  • कात्यायनी (मोइया): आयुर्वेदमा अम्बा, अम्बालिका, अम्बिका आदि नामले समेत चिनिने यस औषधिले कफ, पित्त र गलाका रोगहरु नाश गर्दछ।
  • कालरात्री (तितेपाती): यो वनस्पति सबै प्रकारको रोगहरूमा लाभदयाक हुन्छ, साथै मन एवं मस्तिष्कको विकारलाई नाश गर्न औषधिको रूपमा काम गर्छ।
  • महागौरी (तुलसी): रगत सफा गर्ने तथा हृदय रोग नाश गर्ने देवी भगवती स्वरूप तुलसी सात प्रकारका हुन्छन। 
  • सिद्धिदात्री (कुरिलो): दुर्गाको नवौँ स्वरूप सिद्धिदात्रीको रुप मानिने कुरिलो (शतावरी) बल, बुद्धि एवं विवेकको लागि उपयोगी मानिन्छ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. वराह पुराण, मार्कण्डेय तथा ब्रह्मा संवाद।
  2. "इन औषधियों में विराजमान हैं नवदुर्गा, रोग दूर कर बनाती है युवा", www.patrika.com (hindiमा), अन्तिम पहुँच २०१९-१०-०५