सामग्रीमा जानुहोस्

मातृका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मातृकाहरू

मातृका [] जसलाई मातृ पनि भनिन्छ, हिन्दु धर्ममा मातृ देवीहरूको एउटा समूह हो। मातृकाहरूलाई प्रायः सातको समूहमा चित्रण गरिन्छ, जसलाई सप्तमातृका भनिन्छ।[] यद्यपि, उनीहरूलाई आठको समूह अर्थात् अष्टमातृका को रूपमा पनि चित्रण गरिएको पाइन्छ।[] उनीहरूलाई विभिन्न देवताहरूको शक्तिको रूपमा उनीहरूको ऊर्जासँग जोडिएको छ।[] ब्रह्माबाट ब्रह्माणी, विष्णुबाट वैष्णवी, शिवबाट महेश्वरी, इन्द्रबाट इन्द्राणी, कार्तिकेयबाट कौमारी, वराहबाट वाराही, नरसिंहबाट नारसिंही, र चण्डीबाट चामुण्डाको उत्पत्ति भएको मानिन्छ।[] कहिलेकाहीँ गणेशबाट उत्पन्न भएकी मातृका विनायकीलाई पनि यसमा समावेश गरिन्छ।

सुरुवातमा कृतिका नक्षत्र समूहका सात ताराका सात देवीहरूको रूपमा रहेका यी मातृकाहरू सातौँ शताब्दीसम्ममा निकै लोकप्रिय भए र नवौँ शताब्दीदेखि हिन्दु देवीका मन्दिरहरूको एक मानक विशेषता बनेका थिए।[] दक्षिण भारतमा सप्तमातृकाको पूजा बढी प्रचलित छ भने नेपाल लगायतका स्थानहरूमा अष्टमातृकालाई विशेष श्रद्धाका साथ पूजा गरिन्छ।[]

हिन्दु धर्मको देवी-केन्द्रित सम्प्रदाय, तन्त्रवादमा मातृकाहरूको अत्यन्त महत्त्वपूर्ण स्थान छ।[] शाक्त धर्ममा, उनीहरूलाई दुर्गालाई राक्षस र राक्षसनीहरूसँगको युद्धमा सहयोग गर्ने र उनीहरूको संहार गर्ने शक्तिको रूपमा वर्णन गरिएको छ।[] अन्य विद्वानहरूका अनुसार उनीहरू शैव देवीहरू हुन्।[] उनीहरू योद्धा देवता कार्तिकेयको उपासनासँग पनि जोडिएका छन्।[१०] प्रारम्भिक सन्दर्भहरूमा मातृकाहरूलाई गर्भधारण, जन्म, रोग र बालबालिकाको सुरक्षासँग सम्बन्धित मानिएको छ।[११] सुरुमा उनीहरूलाई केही हदसम्म अशुभ वा डरलाग्दो रूपमा हेरिन्थ्यो,[१२] र वयस्क हुनुअघि नै बालबालिकाहरूको मृत्यु गराउने खालका सङ्कटहरू टार्नका लागि उनीहरूको उपासना गरिन्थ्यो।[११] पछिल्ला पौराणिक कथाहरूमा उनीहरूले सुरक्षात्मक भूमिका निर्वाह गर्न थालेपनि उनीहरूका केही प्रारम्भिक उग्र विशेषता ती कथाहरूमा कायमै छन्।[१२] यसरी, उनीहरूले प्रकृतिको अत्यन्त उर्वर पक्षका साथै यसको विनाशकारी संहारक पक्षको पनि प्रतिनिधित्व गर्दछन्।[]

नवौँ शताब्दीको मूर्तिकला जसमा शिव (बायाँ) र गणेश (दायाँ) को बीचमा सप्तमातृकालाई देखाइएको छ।

पौराणिक कथाहरू

[सम्पादन गर्नुहोस्]
९औँ-१०औँ शताब्दीको ग्रेनाइटबाट बनेको चोल कालीन मातृका माहेश्वरीको मूर्ति, जसमा उनको हातमा त्रिशूल, सर्पका गहनाहरू र आसनमा उनको वाहन नन्दीलाई (साँढे) देख्न सकिन्छ — गिमे सङ्ग्रहालय, पेरिस, फ्रान्स

मातृकाहरूको उत्पत्तिका सम्बन्धमा धेरै पौराणिक ग्रन्थहरूमा वर्णन गरिएको छ। मत्स्य पुराण, वामन पुराण, वराह पुराण, कूर्म पुराण र सुप्रभेदागममा मातृकाहरूका सन्दर्भहरू पाइन्छन्, जसले उनीहरूको प्राचीनतालाई पुष्टि गर्दछ।[१३]

चामुण्डा, ओडिसा राज्य सङ्ग्रहालय

देवी माहात्म्यको शुम्भ र निशुम्भको कथा अनुसार, मातृकाहरू विभिन्न देवी-देवताहरू – ब्रह्मा, शिव, स्कन्द, विष्णु, इन्द्र, वराहका रूपमा विष्णु, नरसिंहका रूपमा विष्णु र चण्डीका रूपमा पार्वतीको शरीरबाट शक्तिका रूपमा प्रकट हुन्छन्।[१४] ती देवताहरूको जस्तै रूप, आभूषण र वाहन धारण गरी उनीहरू देवीको समीप पुग्छन्। त्यसै स्वरूपमा, उनीहरूले दानव र दानवीहरूको सेनाको पूर्ण रूपमा संहार गर्छन्।[][१५] यसरी, मातृकाहरू युद्धभूमिकी देवीहरू हुन्। उनीहरूलाई दुर्गाका सहायकका रूपमा वर्णन गरिएको छ जसमा डरलाग्दो र कल्याणकारी दुवै विशेषताहरू हुन्छन्। युद्धपछि, मातृकाहरू नाच्छन् र आफ्ना शत्रुहरूको रगतले मात्तिन्छन्।[१६] यो विवरण देवी भागवत पुराण[१७]वामन पुराणमा[१८] थोरै भिन्नताका साथ दोहोर्‍याइएको छ। देवीभागवत पुराणमा सप्तमातृका बाहेक अन्य तीन देवताका शक्तिहरूको पनि उल्लेख गरिएको छ, जसले गर्दा मातृकाहरूको समूह १० पुगेको छ।[१९]

  1. ब्रह्माणी
  2. वैष्णवी
  3. महेश्वरी
  4. इन्द्राणी
  5. कौमारी
  6. वाराही
  7. चामुण्डा
  8. नारसिंही

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 Ahuja, Dr Sushma (२०२२-०७-१२), Satyam Shivam Sundaram: Female Figurine in Temple Art (अङ्ग्रेजीमा), Notion Press, आइएसबिएन 979-8-88667-505-4
  2. Berkson 1992, पृष्ठ 134.
  3. "Mantras to the Aṣṭamātṛkās", Cambridge Digital Library, अन्तिम पहुँच २ फेब्रुअरी २०१५
  4. 1 2 Jain & Handa 1995, p. 162
  5. Wangu 2003, पृष्ठ 187, Glossary.
  6. Van den Hoek 1993, पृष्ठ 362.
  7. Wangu 2003, p. 41
  8. Bhattacharyya 1974, पृष्ठ 126.
  9. 1 2 Wangu 2003, p. 75
  10. Collins 1988, पृष्ठ 143.
  11. 1 2 Wangu 2003, पृष्ठ. 58–59.
  12. 1 2 Kinsley 1998, पृष्ठ 151.
  13. यी कथाहरूलाई यहाँ उद्धृत गरिएको छ (Rao, T.A. Gopinatha, Elements of Hindu Iconography, Vol.I, Part-II, 2nd Edition, Indological Book House, Varanasi, 1971, pp.379–383)।
  14. Kinsley 1998, पृष्ठ 156, Devi Mahatmya verses 8.11–20.
  15. Lua error in मोड्युल:Footnotes at line 268: attempt to call field 'has_accept_as_written' (a nil value).
  16. Kinsley 1998, पृष्ठ 156, Devi Mahatmya verses 8.62.
  17. Kinsley 1998, पृष्ठ 156, verses 5.28–29.
  18. Kinsley 1998, पृष्ठ 156, verses 30.
  19. Kinsley 1998, पृष्ठ 242.