अर्थ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

संस्कृत भाषाको कोश, अमरकोशमा अर्थ शब्दका पर्याय यस प्रकार दिइएका छन्- द्रव्यं वित्तं स्वपातेयं रिक्थमृक्थं धनं वसु । हिरण्यं द्रविणं द्युम्नमर्थरैविभवाऽपि अर्थात् द्रव्य, वित्त, स्वापतेय, रिक्थ, धन, वसु, हिरण्य, द्रविण, द्युम्न, अर्थ, रा, विभव आदि ।[१]
यी मध्ये प्रत्येक शब्दको एउटा अभिधेय अर्थ धन हो यस बाहेकका तात्पर्य कोष्ठमा उल्लेख गरिएको छ– द्रव्य (बहुमूल्य पदार्थ), वित्त (आय स्रोत), स्वापतेय (व्यक्तिगत धन), रिक्थ (उत्तराधिकारमा पाएको धन), ऋक्थ (प्रभाव), धन, वसु (मूल्यवान्, असल), हिरण्य (सुन र सुनले बनेको), द्रविण (बल, सार), द्युम्न (आभा, कीर्ति, उत्साह), अर्थ (तात्पर्य), रा (शान, शौकत), विभव (सम्पन्नता) । यीमध्ये १० वटा नपुंसकलिंगी र तीनवटा पुल्लिंगी छन् ।
संक्षेपमा अर्थका पर्यायलाई तीन भागमा विभाजन गर्न सकिन्छ– १. धन, २. भावार्थ, र ३. शक्ति ।
अमरकोशको नामार्थ वर्गमा भने स्व र सत्व यी धनवाची बताइएका छन् । अर्थ शब्दको शब्दार्थ भने यस प्रकार उल्लेख छ– अर्थोSभिधेयरैवस्तुप्रयोजन निवृत्तिषु, अर्थात् कुनै पद वाक्यको अभिप्राय जस्तै, घट भनेको घडा, धन, कुनै वस्तु, लक्ष्य, प्रयोजन, उद्देश्य, निवृत्ति, कार्य सम्पन्न हुनु ।
स्व शब्दको सन्दर्भमा अमरकोशको पंक्ति यस्तो छ– स्वो ज्ञातावात्मनि स्वं त्रिष्वात्मीये स्वोद्sस्त्रियां धने (अर्थात् स्व भनेको दाजुभाई, आफू, धन, र आत्मीय गरी चार नाम हुन्)। स्व शब्दको सन्दर्भमा पाणिनीय सूत्र यस प्रकार छ – स्वमज्ञातिधनाख्यायाम् ।

नेपाली वृहत् शब्द कोश[सम्पादन गर्ने]

नेपाली वृहत् शब्द कोशमा अर्थ शब्दका ११ वटा अर्थ यसरी उल्लेख छ[२]

  • १. माने, मतलब, तात्पर्य, अभिप्राय ।
  • २. शब्दबाट प्रकट हुने मानव हृदयको आशय, शब्दशक्ति ।
  • ३. अभिधा, लक्षणा, व्यञ्जनाबाट बोध हुने तात्पर्य ।
  • ४. हेतु, निमित्त, प्रयोजन ।
  • ५. काम, इष्ट ।
  • ६. इन्द्रियको विषय ।
  • ७. अर्थ, काम, धर्म, मोक्ष चार पुरुषार्थमध्ये एक ।
  • ८. धन, सम्पत्ति, ऐश्वर्य ।
  • ९. विनिमयको माध्यम ।
  • १०. मूल्यका रूपमा दिइने मुद्रा वा सुन, चादी आदि ।
  • ११. मूल्य निर्धारित द्रव्य ।

तर आधुनिक समयमा अर्थशास्त्र (इकानोमिक्स) र अर्थ विज्ञान (साइन्स अफ् मीनिंग) दुई भिन्न विषय हुन् । बढी प्रचलित विषय अर्थशास्त्र भने यति विस्तृत छैन । यो निम्नलिखित चार कुरामा आधारित छ–

  • १. धन, सम्पत्ति, ऐश्वर्य ।
  • २. विनिमयको माध्यम ।
  • ३. मूल्यका रूपमा दिइने मुद्रा (जस्तै रुपैया“, डलर, पौण्ड, युरो इत्यादि) वा सुन, चादी आदि ।
  • ४. मूल्य निर्धारित द्रव्य ।

चार पुरुषार्थ[सम्पादन गर्ने]

चार पुरुषार्थलाई पनि अर्थ भनिन्छ । यी पुरुषार्थहरू हुन्– अर्थ, काम, धर्म र मोक्ष । पुरुषार्थ शब्दमा समेत अर्थ जोडिनाले चारवटा पुरुषार्थमा अर्थ सर्वाधिक महत्वपूर्ण रहेछ भन्ने बुझिन्छ । त्यसैले अर्थार्थ, कामार्थ, धर्मार्थ, र मोक्षार्थ भन्ने प्रचलन छ ।[३]

गीताका अनुसार[सम्पादन गर्ने]

श्रीमद्भगवद्गीतामा इन्द्रियाणीन्द्रियार्थेभ्यः भनेर अर्थको एक विशेष प्रयोग गरिएको छ इन्द्रियार्थ । ज्ञानेन्द्रिय पांचवटा छन्– आंखा, कान, नाक, जिब्रो, र छाला । पांच ज्ञानेन्द्रियका पांच विषय हुन्छन्– रुप, शब्द, गन्ध, रस, स्पर्श । यी दुवैको सम्बन्धलाई इन्द्रियार्थ भनिन्छ । इन्द्रियका यी विषयहरु देखिने, सुनिने वा अनुभव गरिने हुन्छन् । जसलाई लौकिक सुख वा भौतिक सुख भन्न सकिन्छ । त्यसैले इन्द्रियार्थ क्रियालकलापको अर्थ हो लौकिक सुख वा सांसारिक कल्याणका लागि सम्पन्न गरिने क्रियाकलाप ।[४]

कौटिल्यका अनुसार[सम्पादन गर्ने]

कौटिल्यले तन्त्रयुक्ति अध्यायमा अर्थशास्त्रलाई यसप्रकार परिभाषित गरेका छन्– मनुष्याणां वृत्तिरर्थः। मनुष्यवती भूमिरित्यर्थः । तस्याः लाभपालनोपायः शास्त्रमर्थशास्त्रमिति ।
तात्पर्य– मानिसहरूको वृत्ति–जीविकालाई अर्थ भनिन्छ । मानिसहरू भएको भूमि पनि अर्थ हो । यस्तो वृत्तिको आधार भूमिलाई प्राप्त गर्ने र त्यसको पालनका उपायहरू निरुपण गर्ने शास्त्र नै अर्थशास्त्र हो । [५] कौटिलीय अर्थशास्त्रमा उपर्युक्त अर्थमध्ये एक नया अर्थ प्रयोग गरी मानिसहरूको जीविकालाई पनि अर्थ भनिएको छ । यो अवधारणा आधुनिक अर्थशास्त्रको आधार हो । यस ग्रन्थमा वार्ताशास्त्रलाई जसरी परिभाषित गरिएको छ त्यसले के स्पष्ट हुन्छ भने अर्थशास्त्रको विषय वस्तु वार्ताशास्त्र हो । वृत्ति अर्थात् जीवन निर्वाहको साधनस्वरुप भएका कृषि, पशुपालन, वाणिज्य, खानी, तथा निजी र सरकारी व्यापार सम्बन्धी शास्त्रको व्याख्या गर्ने विषयलाई कौटिलीय अर्थशास्त्र र शुक्रनीतिमा वार्ता भनिएको छ ।
शुक्रले अर्थलाई यसरी व्यक्त गरेका छन्– अर्थानर्थो तु वार्तायां दण्डनीत्यां नयानयौ[६] अर्थात् वार्ता शास्त्रमा अर्थोपार्जन र खर्च गर्ने तरीकाहरू बताइएको हुन्छ । यस दृष्टिले वर्तमान समयका अर्थशास्त्र Economicsको विषय वस्तु वार्ता शास्त्रसंग मिल्छ ।

मार्शलका अनुसार[सम्पादन गर्ने]

मार्शलका अनुसार– राजनैतिक अर्थव्यवस्था वा अर्थशास्त्र सामान्य जीवनका व्यावसायिक क्रियाकलापको अध्ययन हो । यसले व्यक्ति र मानव समाजका क्रियाकलापको त्यस भागको विश्लेषण गर्दछ, जुन भौतिक कल्याणका साधनको प्राप्ति र त्यसको उपयोगसग घनिष्ठरूपमा सम्बद्ध हुन्छ ।
यस अनुसार अर्थ भनेको भौतिक कल्याणको साधन हो ।

रबिन्सका अनुसार[सम्पादन गर्ने]

यस अनुसार– अर्थशास्त्र त्यो विज्ञान हो जसमा अनन्त आवश्यकता र वैकल्पिक प्रयोग हुने दुर्लभ साधन बीच मानवीय व्यवहारको अध्ययन गरिन्छ ।
यस अनुसार अर्थ भनेको वैकल्पिक प्रयोग हुने दुर्लभ साधन हो ।

अर्थशास्त्र र इकोनोमिक्स[सम्पादन गर्ने]

कौटिलीय अर्थशास्त्रमा प्रयोग गरिएको ‘अर्थशास्त्र’ शब्दलाई अंग्रेजी अनुवादकहरूले फरक फरक अनुवाद गरेको पाइन्छ । संस्कृतिविद् डी डी कोशाम्बीले साइन्स अफ् मेटेरियल गेन (Science of Material Gain), हिन्दु संस्कृतिका विद्वान् ए एल बशमले अ ट्रीटाइज अन् पोलिटी (A L Basham), राजनीतिशास्त्रका विद्वान् जी पी सिंहले अ साइन्स अफ् पोलिटि (A science of Polity), अर्थशास्त्रका विद्वान रङ्गराजनले साइन्स अफ् वेल्थ एन्ड वेलफेयर (Science of Wealth and Welfare), पाश्चाŒय इतिहासका विशेषज्ञ प्रो. रोजर बोशेले साइन्स अफ् पोलिटिकल इकोनोमी (Science of Political Economy), र दर्शनशास्त्रका विद्वान् हेनरिक जिमरले यूनिवर्सल लज् अन् पोलिटिक्स, इकोनोमिक्स, डिप्लोमेसी एन्ड वार (Universal Laws on Politics, Diplomacy and War), संस्कृतका विद्वान् आर पी काङ्लेले साइन्स अफ् पोलिटिक्स (Science of Politics) भनी अनुवाद गरेका छन् ।
यस सम्बन्धमा अर्थशास्त्री सेन र बसुले के भनेका छन् भने अंग्रेजी इकोनोमिक्सको संस्कृत रुपान्तर अर्थशास्त्र हुनसक्छ तर संस्कृत अर्थशास्त्रको रुपान्तर इकोनोमिक्स हुन सक्दैन किनभने संस्कृत अर्थशास्त्र शब्दको क्षेत्र, विषय वस्तु र इतिहास यूरोपियन अर्थशास्त्रीहरूको परिकल्पना भन्दा निकै विस्तृत र प्राचीन छ ।[७]

हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. अमरसिंह. अमरकोश. वाराणसी: यशोदा पुस्तकालय. p. द्वितीय काण्ड, पंक्ति १८८६–८७. 
  2. नेपाली वृहत् शब्दकोश, काठमाडौः नेप्रप्र, वि.सं.२०६७ ।
  3. ज्ञवाली, बाबु राम,वि.सं.२०६७, पूर्वीय अर्थशास्त्र, प्राचीनतम तथ्य, नवीनतम जानकारी, ज्ञानज्योति प्रकाशन
  4. ज्ञवाली, बाबु राम, सन् २०१२, पूर्वीय अर्थशास्त्र–प्राचीनतम तथ्य, नवीनतम जानकारी, रुपन्देही ः ज्ञानज्योति प्रकाशन ।
  5. अर्याल,, केशवराज,अनु., सं.पं.सोमनाथ शर्मा. कौटिल्यको अर्थशास्त्र (वि.सं.२०२४),. काठमाडौ: नेराप्रप्र. p. १.२.१. 
  6. शुक्रनीति सार. p. १.१५३. 
  7. ज्ञवाली, बाबु राम, सन् २०१४, कौटिल्य र शुक्रको राजनैतिक अर्थशास्त्र, रुपन्देही ः ज्ञानज्योति प्रकाशन ।