शुक्रनीति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आचार्य शुक्र[सम्पादन गर्नुहोस्]

शुक्रको अर्थ हुन्छ– उज्यालो, चमकदार । पौराणिक विवरणहरूमा शुक्रका पिताको नाम भृगु र माताको नाम उशन उल्लेख पाइन्छ । भृगुका सन्तान भएकोले यिनको भार्गव नाम प्रसिद्ध छ । महादेवका लागि शुक्र ज्यादै प्रिय थिए भन्ने उल्लेख पाइन्छ । शुक्रले राजा प्रियव्रतकी छोरी स्वाति र इन्द्रकी छोरी जयन्तीसंग बिहे गरेका थिए । जसबाट उनका चार छोरा र एक छोरी थिए । शुक्रकी छोरीको नाम देवयानी हो । उनका नातिको नाम और्व थियो । शुक्रले गौतम ऋषिसग शिक्षा ग्रहण गरेका थिए । शुक्रले भीष्मलाई राजनीति शास्त्रको शिक्षा दिएको भनिएको छ । कौटिलीय अर्थशास्त्रमा पहिले शुक्रलाई अनि बृहस्पतिलाई सम्मान व्यक्त गरिएको छ ।[१][२] देवताहरूले उनकी माताको हत्या गरीदिएकोले उनी देवताहरूसँग रिसाए र त्यसपछि असुरहरूको गुरुको पदवी धारण गरेका हुन् ।[३] असुरहरूको राजधानी इलावर्तमा उनले पछिल्लो समय बिताएको बताइन्छ । यो स्थान अरब देशको वरिपरि कतै छ भन्ने मानिन्छ । आचार्य शुक्रको प्रभावलाई पञ्चतन्त्र, र युक्तिकल्पतरू ग्रन्थहरूमा समेत आदरसाथ व्यक्त गरिएको छ । सप्ताहको एउटा दिनलाई शुक्रवार भनी नामकरण गरिएकोले पनि उनको प्रभाव हुन्छ ।

काल निर्धारण[सम्पादन गर्नुहोस्]

शुक्रनीतिको रचना मानव, वशिष्ठ, तथा पराशर स्मृतिग्रन्थ– धर्मशास्त्रभन्दा पछि र बौद्धकालभन्दा अगाडि भएको हो ।[४][५] जायसवालले यसको रचना समय ४००–५०० वि.पू. अनुमान गरेका छन् । शुक्रनीतिको नामले वर्तमानमा उपलब्ध ग्रन्थ र पुराणमा वर्णित ग्रन्थ एउटै हो कि फरक फरक हो यस विषयमा विद्वान्हरूमा मतभिन्नता पाइन्छ । जायसवालका अनुसार शुक्रनीति पुरानो ग्रन्थ हो । यसको मूलस्वरूपमा परिवर्तन हु“दै गई वि.सं. १७५७ मा यसको वर्तमान स्वरूप निर्धारित भएको हो ।[६]

शुक्रनीति[सम्पादन गर्नुहोस्]

शुक्रद्वारा रचित औशनस स्मृति ग्रन्थमा नौ अध्याय र ६०० श्लोकहरू छन् । अर्को ग्रन्थ औशनस संहितामा ५१ श्लोकहरू मात्र छन् ।[७] स्वामी जगदीश्वरानन्दले शुक्रनीति सारमा तीनवटा ग्रन्थको उल्लेख गरेका छन् । उनका अनुसार, जीवानन्द विद्यासागरद्वारा संस्कृत भाष्य सहितको, गयाप्रसाद शास्त्रीद्वारा अनूदित, तथा गुस्टाभ औपर्टको सङ्कलन । गुस्टाभ औपर्टले वि. सं. १९३८ मा शुक्रनीतिका छ वटा हस्तलिखित ग्रन्थहरू जम्मा गरी तिनीहरूबाट शुक्रनीतिका श्लोकहरू सङ्कलन गरे । यस संस्करणलाई अन्य संस्करणभन्दा प्रामाणिक र पूर्ण मानिन्छ ।[८] शुक्रनीतिको नेपाली संस्करण यसै संकलनमा आधारित छ ।[९] महाभारतमा एक हजार अध्यायको औशनस तन्त्र भनिए तापनि शुक्रनीतिसारमा यसको श्लोक संख्या २२०० बताइएको छ । तर उपलब्ध संस्करणहरूमा श्लोक संख्या फरक फरक पाइन्छ ।

शुक्रनीतिको विषय वस्तु[सम्पादन गर्नुहोस्]

शुक्रनीतिको विषय वस्तु तल उल्लेख गरिए अनुसार छ–

राज्यको उत्पत्ति[सम्पादन गर्नुहोस्]

पहिलो अध्यायमा राज्यको उत्पत्तिका सिद्धान्त, राजाको देवांश र राक्षशांश रूपको वर्णन, राजाका लागि आवश्यक योग्यता र राज्य सञ्चालकको रूपमा राजाका कर्तव्य र दिनचर्या, राज्यलाई अखण्ड र अविभाज्य राख्ने कुराहरू तथा राज्यको उत्तराधिकारका नियमहरू व्याख्या गरिएको छ । राज्यका सात अङ्ग, राजाको आदेश र राजाले निर्णय लिने तरीका, विषालु अन्नको परीक्षा, स्त्री आकर्षणको प्रभाव, राजधानी शहर, भवन, र दुर्ग बनाउने वास्तुशास्त्रीय विधिहरू पनि वर्णित छन् । राजकीय विभाग र राज्य सहायक– दोस्रो अध्यायमा राज्यका प्रमुख सहायकहरूको रूपमा मन्त्री परिषदको गठन, सञ्चालन कार्यविधि, शासकीय नियम, सुशासन, मन्त्री परिषदका सदस्यहरूको आवश्यक योग्यता, पण्डित, अमात्य, सेनापति, कोषाध्यक्ष, देवताध्यक्ष, कर विभाग प्रमुख, शास्त्रविज्ञ, वैद्य, तान्त्रिक, तथा गुप्तचरको काम, कर्तव्य र अधिकार वर्णन छ । यसका साथै राजपत्र (गजेट) र साखपत्र (तमसुक) लेख्ने तरीका, कर्मचारीहरूको पारिश्रमिक तथा निवृत्तिभरणका नियमहरू वर्णित छन् ।

नागरिक कर्तव्य[सम्पादन गर्नुहोस्]

तेस्रो अध्यायमा नागरिकहरूले पालन गर्नु पर्ने सामान्य आचरण र गर्न नहुने निषिद्ध आचरणको व्याख्या गर्दै नियमहरू उल्लङ्घन गर्नेलाई दण्ड सजाय“को वर्णन छ । जीवन निर्वाहका तरीकाहरू, धनार्जन र त्यसको उपयोग, जीवनमा सफलताका लागि पालन गर्नु पर्ने नियम, कुन देशमा आजीविका गर्नु श्रेष्ठ हुन्छ यी कुराहरूको तथ्यपूर्ण विवरण दिइएको छ । विविध नीति– चौथो अध्यायका सात प्रकरण छन् ।

  • (क) पहिलोमा सुहृदादिको निरूपण,
  • (ख) दोस्रोमा राजकीय कोषको संचय, अर्थदण्ड, शुल्कका नियमहरू, सुरक्षा, र लेखाङ्कन,
  • (ग) तेस्रोमा शैक्षिक व्यवस्था र पाठ्यक्रम,
  • (घ) चौथोमा सामाजिक व्यवस्था,
  • (ङ) पाचौमा न्याय प्रणाली,
  • (च) छैठौमा दुर्ग सम्बन्धी व्यवस्था, तथा
  • (छ) सातौमा सेना, त्यसको परिचालन, युद्ध र सन्धिको वर्णन गरिएको छ ।

शेष नीति[सम्पादन गर्नुहोस्]

पाचौ अध्यायमा शेष नीतिहरू वर्णन गरिएको छ । यसमा शत्रुराज्य हरण गर्ने तरीका, असल व्यक्तिका गुण, कूटनीतिज्ञको पहिचान, र संकटकाल व्यवस्थापनको व्याख्या गरिएको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. कौटिल्यको अर्थशास्त्र (कौटिलीये अर्थशास्त्रे), वि.सं.२०२४,अनु. केशवराज अर्याल, सं.पं.सोमनाथ शर्मा, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
  2. कौटिलीय अर्थशास्त्रम्, अनु.वाचस्पति गैरोला, वाराणसी : चौखम्बा विद्याभवन, सन् २००९ ।
  3. महाभारत खण्ड १–६, अनु. रामनारायण दत्त शास्त्री, गोरखपुर : गीताप्रेस, वि.सं. २०६० ।
  4. काणे, पी वी, धर्मशास्त्रका इतिहास (पाच खण्ड) उत्तर प्रंदेश हिन्दी संस्थान, लखनऊ, सन् १९६३ ।
  5. पन्थी, डा. टीकाराम, सांस्कृतिक संवीक्षण, रूपन्देही : विश्व हिन्दु महासङ्घ, वि.सं. २०६५ ।
  6. जायसवाल, के पी, हिन्दु पोलिटी, (फिफ्थ एडिशन), बेंगलोर : द बेंगलोर प्रिटिंग एन्ड पब्लिशिंग कम्पनी लि. सन् १९७८ ।
  7. औशनस स्मृति, कल्याण, धर्मशास्त्राङ्क, अङ्क ७०, संशोधित अङ्क वि.सं. २०६४ ।
  8. शुक्रनीति सार (शोधपूर्ण संस्करण), अनु. जगदीश्वरानन्द सरस्वती, सोनीपत, हरियाणा : रामलाल कपूर ट्रष्ट, वि.सं. २०६५ ।
  9. शुक्र नीति, अनु. डमरूवल्लभ पौड्याल, काठमाडौँ : नेराप्रप्र, वि.सं.२०२९ ।