बार्हस्पत्य अर्थशास्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

देवगुरु बृहस्पति[सम्पादन गर्नुहोस्]

चित्र:Guru Brihaspati
Guru Brihaspati

बृहस्पतिको पद भनेको देवगुरु हो । ऋग्वेदमा बृहस्पतिलाई सुन्दर तथा सुविधा सम्पन्न सुनको महलमा निवास गर्ने भनिएको छ । उनको क्षेत्रलाई प्रभास भनिन्छ । महाभारतमा बृहस्पतिलाई महर्षि अंगिराका पुत्र भनिएको छ । गुरु बृहस्पतिको रचनालाई बार्हस्पत्य अर्थशास्त्र भनिन्छ । काणेले बार्हस्पत्य अर्थशास्त्रको रचना काल वि.पू. ३०० देखि ५०० वि.पू.अनुमान गरेका छन् । तर हाल यो ग्रन्थ प्राप्त छैन बृहस्पति अर्थसूत्र नामको एक सानो सङ्कलन पाइन्छ । यसका सम्पादक र संकलक एफ डब्लु थोमसले छैठौं वा सातौँ शताब्दीको ग्रन्थ हुनपर्ने सम्भावना व्यक्त गरेका छन् । पं. जयदेवले बृहस्पति सूत्रको रचना कालिदासभन्दा पूर्व हुनुपर्ने तर्क सारेका छन् । पं. भागवतदत्तले यी सूत्रहरूको सम्बन्ध प्राचीन बार्हस्पत्य अर्थशास्त्रसंग भएकोले यसको अनुमान गर्न नसकिने भनेका छन् । बृहस्पतिलाई भोजको युक्तिकल्पतरु, सोमदत्तको नीतिवाक्यामृत, अश्वघोषको बुद्धचरित र भाषको प्रतिमा नाटकमा ससम्मान उल्लेख गरिएको छ । वात्स्यायनको कामसूत्रमा यस प्रकार लेखिएको छ– बृहस्पतिरर्थाधिकारिकम् ।।कामसूत्र ७।। कामन्दकीय नीतिशास्त्र, नीतिवाक्यामृत, र निर्णयसागर ग्रन्थहरूमा बृहस्पति सूत्रसग जस्ताको तस्तै मिल्ने वाक्यांशहरूको प्रयोगले बृहस्पति सूत्रको महत्त्व र प्रभावका साथै प्राचीनतालाई व्यक्त गर्छ । बार्हस्पत्य सूत्र वा बृहस्पति अर्थशास्त्रको एक सानो संकलित पुस्तिका पाइन्छ । यसको रचना शैलीका आधारमा विद्वान्हरूले यसलाई प्राचीनतम रचना मान्दछन् । तर मूल बार्हस्पत्य अर्थशास्त्रको यो एक ज्यादै सानो भाग मात्र हुनसक्छ ।

बृहस्पति अर्थसूत्र संक्षेपमा[सम्पादन गर्नुहोस्]

उपलब्ध बृहस्पति सूत्रमा प्रारम्भमा नै स्पष्ट रूपमा के लेखिएको छ– बृहस्पतिरथाचार्य इन्द्राय नीतिसर्वस्वमुपदिशति ।।

यसबाट बार्हस्पत्य अर्थशास्त्रको नीति इन्द्रका लागि रचना गरिएको भने स्पष्ट हुन्छ । तर यो अत्यन्त संक्षिप्त छ । अहिले उपलब्ध बृहस्पति अर्थसूत्रमा छवटा अध्याय र ४४५ सूत्रहरु छन् । प्रत्येक अध्यायको विषय र सूत्रको संख्या निम्नलिखित छ–

  • अध्याय एकमा राजाको व्यक्तिगत व्यवहार र अनुशासनसंग सम्बन्धित छ । यसमा ११२ सूत्र छन् ।
  • अध्याय दुईमा राज्य सञ्चालनका नियम र कर्तव्यहरूको विवरण सूत्रबद्ध छ । यसमा ७५ सूत्र छन् ।
  • अध्याय तीनमा ज्ञान प्राप्त गर्ने तरीकाको विवरण छ । यसमा १४८ सूत्र छन् ।
  • अध्याय चार संकटकालीन सरसल्लाहका सूत्र भएको अध्याय हो । यसमा ५० सूत्र छन् ।
  • अध्याय पांच उपायहरूसँग सम्बन्धित छ । अध्याय छ नीतिअनीति निरुपणमा केन्द्रित छ । यी दुवै अध्यायमा क्रमशः ३०–३० सूत्र छन् ।

समानान्तर सूत्र[सम्पादन गर्नुहोस्]

बृहस्पति सूत्रसंग मिल्दा जुल्दा सूत्र विविध ग्रन्थमा पाइन्छन् । तल कोष्ठमा बृहस्पति अर्थसूत्र र संगै त्यसको समानान्तर सूत्रहरु प्रस्तुत गरिएको छ–

(आत्मवान् राजा ।।१.१।।) आत्मवान् नृप : ।। कामन्दकी नीतिसार ।।२.३६।।

(अर्थमर्थेन।२.४६।। ) अर्थेनार्थोपार्जनम् ।।नीतिवाक्यामृत पृ. ११६।।

(धनमूलं जगत् ।६.१०।।) धनमार्जय काकुत्स्थ धन मूलं जगत्।। नीतिशतक ।।३१।।

जीवनको व्यावहारिक नियम[सम्पादन गर्नुहोस्]

लोक व्यवहारका लागि बृहस्पतिले अनेक नियमहरु बनाएका छन् । उदाहरणका लागि उनले भनेका छन्– विनम्र व्यवहार प्रिय व्यवहारको आधार हो । जो व्यक्ति अरुको प्रिय हुन चाहन्छ, उसले अरुलाई प्रसन्नतापूर्वक भेटोस् र उसले सोध्नु अघि नै उसको कुशल क्षेमका कुराकानी गरोस् । बृहस्पतिको सर्वाधिक प्रसिद्ध व्यवहार नियम निम्नलिखित छ –

  • न तत् परस्य संदध्यात् प्रतिकूलं यदात्मनः ।
  • एषद् संक्षेपतो धर्म : कामादन्यः प्रवर्तते ।।महा. शा.प.११३.८।।


जुन कुरा आफुलाई मन पर्दैन, त्यो अरुका प्रति पनि गर्नु हुंदैन । यो नै धर्मको संक्षिप्त लक्षण बताए । यस बाहेकका अन्य व्यवहार कामनामूलक हुन्छन् ।


ठीक यस्तै विचार विदुरले पनि व्यक्त गरेका छन्– सबै प्राणीसँग त्यो व्यवहार गर्नु पर्छ जुन तिमीले आफू प्रति गर्छौ ।।महा. शा.प.१६७.९।।


बाइबिल ओल्ड टेस्टामेन्टन्यू टेस्टामेन्ट यी विचारहरूलाई गोल्डेन रुल अफ् लाइफ् भन्ने गरिन्छ । यस उपदेशलाई सकारात्मक र नकारात्मक दुवै तरीकाले व्यक्त गर्ने एक जना मात्र विचारक मानिन्छन्– कन्फ्युसियस । उनले यस नियमलाई निम्नलिखित प्रकारले व्यक्त गरेका छन्–

  • १. अरुसंग त्यो व्यवहार गर्नु पर्छ जुन अरुले तिमीलाई गरीदिए हुन्छ जस्तो लाग्छ ।
  • २. अरुसंग तिमीले त्यो व्यवहार नगर जुन अरुले तिमी प्रति नगरुन् भन्ने चाहन्छौ ।

राज्य र अर्थव्यवस्था[सम्पादन गर्नुहोस्]

कृषिगोरक्षवाणिज्यानि ।।२.४।।

(आर्थिक उन्नतिका तीन आधार छन्– कृषि, गाईपालन, र वाणिज्य ।)

भौतिक सुखको प्राप्ति[सम्पादन गर्नुहोस्]

भौतिक सुखसर्वथा लौकायतिकमेव शासत्रमर्थसाधनकाले ।।२.५।।

(भौतिक सुख प्राप्त गर्नु छ भने लोकायत शास्त्रका नियमहरु उपयोगी हुन्छन् ।)

उद्यमशीलता र आर्थिक चिन्तन[सम्पादन गर्नुहोस्]

बृहस्पति अर्थसूत्रमा आर्थिक र भौतिक चिन्तन छ । तर यो चिन्तन राजकाजको दृष्टिले गरिएको छ । यो समष्टि आर्थिक दृष्टिकोण हो व्यष्टि आर्थिक दृष्टिकोण होइन । पहिलो अध्यायको पहिलो सूत्र आत्मवान् राजा भनेर सुरु गरिएको छ । यसको अर्थ के हो भने राज्य सञ्चालक अनुशासित, उद्यमी, र संयमी हुनुपर्छ । किनभने राज्य सञ्चालक जति उद्यमी हुन्छ उसका सहायक त्यति नै संयमी हुने छन् । राज्यका सञ्चालक र सहायक उद्यमी, परिश्रमी, संयमी इत्यादि गुणयुक्त भएको देखेपछि प्रजाले त्यो गुण अनुसरण गर्छ । यसरी राज्यको आर्थिक उन्नति सम्भव हुन्छ ।

कुनै व्यक्तिको अनुशासन, संयम र उद्यमका लागि चाहिने प्राथमिक कुरालई बृहस्पति सूत्रमा यस प्रकार बताइएको छ–

ब्राह्मे मुहुर्त उत्थानम् ।।४.१।।

धर्ममर्थञ्च चिन्तयेत् ।।४.२।।

प्रातः कालमा उठ्नु पर्छ ।

धर्मअर्थको चिन्तन गर्नु पर्छ ।

बृहस्पति अर्थसूत्रमा नेपाल सम्बन्धी विवरण[सम्पादन गर्नुहोस्]

बृहस्पति अर्थसूत्र अध्याय तीनमा नेपाल सम्बन्धी विवरण यस प्रकार दिइएको छ–

तत्रोत्तरे हिमवान् ।।३.७०।।

नेपालचतुःशतम् ।।३.८७।।

किरातसौवीरचोलपण्ड्या उत्तरे दक्षिणे स्थिताः शतात् परं षष्टिमात्रा ।।३.१०४।। बदरिका शालग्राम पुरुषोत्तम द्वारका बिल्वाचल अनन्तसिंह श्रीरंगा ।।३.१२०।।

अविमुक्त गङ्गाद्वार शिवक्षेत्र रामेयमुना शिवसरस्वती माया शार्दुल गजक्षेत्र ।।३.१२३।।

अष्टो शैवाः ।।३.१८१।।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  • बृहस्पति सूत्र, (सन् १९२६), एफ डब्लु थोमस (सम्पा.), लाहौर : द पञ्जाब संस्कृत बुक डिपो, लाहौर संस्कृत सिरीज ।
  • Gewali, Babu Ram, (2013), Economics of Kautilya, Shukra and Brihaspati, GyanJhyoti Prakashan Rupandehi, 978-9937-2-7363,

बाहय लिङ्क[सम्पादन गर्नुहोस्]