चाणक्य नीति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चाणक्य नीति
लेखकचाणक्य
भाषासंस्कृत पद्य
नीतिकार चाणक्य

चाणक्य नीति चाणक्यद्वारा नीति नियम सम्बन्धी अनेक कुराहरु लेखिएको ग्रन्थ हो । अरु कुनै ग्रन्थमा नपाइने विषयहरु रहेकाले यो पूरा विश्वभरमा पढ्ने गरिन्छ; यसमा आदर्श व्यवहार यथार्थको सुन्दर तरिकाले समन्वय गरिएको छ ।

अध्यायहरू[सम्पादन गर्नुहोस्]

चाणक्य नीति आचार्य विष्णुगुप्त चाणक्य वा कौटिल्य रचित नीति ग्रन्थ चाणक्य नीति दर्पण व्यावहारिक जीवनका लागि श्रेष्ठ मार्गदर्शक नीति मानिन्छ । यसमा बताइएका नीतिहरूको दैनिक जीवनमा कति व्यावहारिकता छ, त्यो कुरा सो ग्रन्थको अध्ययनले स्पष्ट गर्छ । यो ग्रन्थ नेपालका गुरुकुल पाठ्यक्रमको एक प्रमुख विषय हुने गर्थ्यो ।

केहि संस्कृतका पद्य र नेपाली अनुवाद[सम्पादन गर्नुहोस्]

  • पृथिव्यां त्रीणि रत्नानि जलमन्नं सुभाषितम् ।

मूढैः पाषाणखण्डेषु रत्नसंज्ञा प्रदीयते ।।

अर्थ - पृथ्वीका तीन रत्न हुन्छन्, जल, अन्न र सुभाषित । तर मूर्खहरूले पत्थरका टुक्राहरूलाई रत्नधन मानेका हुन्छन् ।

  • अग्निशेषमृणशेषं शत्रुशेषं तथैव च ।

पुनः पुनः प्रवर्धेत तस्माच्शेषं न कारयेत् ।।

नेपाली अनुवाद = अग्नि, ऋण, र शत्रुको अलिकति पनि शेष नराख्नु । यो शेष छिटै बढेर सताउन सक्छ ।

  • नाभिषेको न संस्कारः सिंहस्य क्रियते मृगैः ।

विक्रमार्जितराज्यस्य स्वयमेव मृगेंद्रता ।।

अर्थ -वनको राजा सिंहलारई न कुनै अभिषेक हुन्छ, न कुनै संस्कार हुन्छ । उसको आफ्नो पौरखले उ राजा भएको हो ।

  • दुर्बलस्य बलं राजा, बालानां रोदनं बलम् ।

बलं मूर्खस्य मौनित्वं चौराणामनृतं बलम् ।।

अर्थ -दुर्बलको बल राजा (सरकार) हो । बालकको बल रुनु हो । मूर्खको बल मौन हो र चोरको बल ढांट्नु हो ।

  • अभिवादन शीलस्य नित्यं वृद्धोपसेविनः ।

चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशोबलम् ।।

अर्थ -जसले नित्य आफ्ना मान्यजनलाई आदरपूर्वक अभिवादन गर्छ उसले यी चार कुराहरूमा निरन्तर वृद्धि प्राप्त गरिरहन्छ– १. आयु, २. विद्या, ३. यश र ४.बल । आफ्नो घर परिवारका मान्यजनको आशीर्वादले आयु र स्वास्थ्य, वृद्धहरूको संगत गर्नाले ज्ञान, इष्टमित्रहरूको सहयोगले धनसम्पत्ति, र साथ पाउंदा बल बढ्छ । आफुभन्दा उमेरमा जेठा सदस्यहरूलाई असम्मान गर्ने व्यक्तिले सफलता प्राप्त गर्न सक्दैन । यी गुण नभएको व्यक्ति जतिसुकै योग्य भए पनि उसको उन्नतिमा बाधाहरु आउंछन् । मान्य जनको शुभकामनाले यी बाधाहरूबाट सजिलै पार पाइन्छ ।

  • आदित्य चन्द्रानिलोद्रनलश्चद्यौर्भूमिरापो हृदयं यमश्च ।

अहश्च रात्रिश्च उभेश्च सन्ध्येश्च धर्मश्च जानाति नरस्य वित्तम् ।

अर्थ -मानिसले उचित तरीकाले धन आर्जन गरेको छ कि छैन भन्ने कुराको निरीक्षणका लागि निम्नलिखित शक्तिहरूले निरन्तर अनुगमन गरिरहन्छन् १. दिउसोमा सूर्य २. रातिमा चन्द्र ३.एकान्तस्थलमा पनि बग्ने हावा ४.आगो ५.आकाश ६.पृथ्वी ७.जल ८.हाम्रो आफ्नै आत्मा ९.यम १०.दिवाको शक्ति, उज्यालोपन ११.रात्रिको शक्ति, अन्धकार १२.उषा १३.सन्ध्या १४.धर्म जसले अनुचित तरीकाले धन आर्जन गर्छ उसले कहिल्यै पनि सुख प्राप्त गर्न सक्दैन । सधैं शंका र चिन्ता रहन्छ र एक दिन उसले आफ्नो गलतीको सजायं पाउंछ भन्ने नैतिक सन्देश यस श्लोकमा छ । एक दर्जन स्थानबाट निगरानी गरिएको अपराधी कहांबाट उम्कन सफल होला र ?

  • आचार्यात् पादमादत्ते पादं शिष्यः स्वमेधया ।

पादं सब्रह्मचारिभ्यः पादम् कालक्रमेण च ।।

अर्थ - कुनै व्यक्तिमा जेजति ज्ञान हुन्छ त्यसलाई शतप्रतिशत मान्दा १.पच्चीस प्रतिशत उसले आचार्यबाट प्राप्त गर्छ, २. पच्चीस प्रतिशत उसको आफ्नै मेधा (बुद्धि)ले आर्जन गर्छ, ३.पच्चीस प्रतिशत साथीहरूको संगतले प्राप्त गर्छ र ४.बांकी पच्चीस प्रतिशत उसको जीवनको अनुभवले प्राप्त गर्छ । आचार्यहरूले शिक्षकलाई जेजति ज्ञान हस्तान्तरण गर्छन् त्यो सबका सब विद्यार्थीहरूले प्राप्त गर्दैनन् । त्यसको केही अंश मात्र ग्रहण गर्छन् । केही बुझ्छन्, केही बुझ्दैनन् । न बुझेकोमध्ये उसले केही आफ्नो श्रमले र केही साथीहरूसँग विचार विमर्श गरेर ज्ञान आर्जन गर्छन् । जेजति ज्ञान आर्जन गरेको भए पनि केही सिक्नका लागि बांकी रहन्छ । जिन्दगी भरि सिक्दै जानु पर्छ । केही ज्ञान जिन्दगीबाट लिनै पर्छ । अर्थात् परेर सिक्ने अंश जिन्दगीबाट प्राप्त गरिन्छ । यो सतत चलिरहन्छ ।

  • आहारो द्विगुणः स्त्रीणां बुद्धिस्तासां चतुर्गुणाः ।

षट्गुणो व्यवसायश्च कामश्चाद्रष्टगुणाः स्मृतः ।।

अर्थ -प्रकृतिले नै स्त्री र पुरुषमा अलग अलग गुण दिएको छ । स्त्रीहरूमा पुरुषको तुलनामा पोषण र आहार, निर्णय गर्ने बौद्धिकता, व्यस्त रहिरहने क्षमता, र इच्छपूर्तिको क्षमता यस प्रकार हुन्छ, १. दोब्बर बढी पोषणको आवश्यकता २. चार दोब्बर बढी बौद्धिक निर्णय लिने क्षमता ३. छ दोब्बर बढी निरन्तर एकाग्रतापूर्वक काम गर्ने योग्यता ४.आठ दोब्बर बढी इच्छाहरु सन्तुष्ट गर्नसक्ने क्षमता स्त्री र पुरुषमा असमानता प्राकृतिक हो । तर यस असमानतामा चाणक्यले स्त्रीहरूलाई हरेक क्षेत्रमा विशिष्टता प्रदान गरेका छन् । यहा“ भनिएका मध्ये कतिपय विशेषताहरु आधुनिक चिकित्सा शास्त्री र मनोवैज्ञानिकहरूले पनि पुष्टि गरेका छन् । आचार्य रजनीशले एक स्थानमा के भनेका छन् भने स्त्रीको शरीरमा पौष्टिकता संचयको क्षमता नौ महिनाका लागि हुन्छ भने पुरुषको शरीरमा यो तीन महिनाका लागि हुन्छ । रोग प्रतिरोध क्षमता पुरुषभन्दा महिलामा हुन्छ तथा संवेगात्मक सन्तुलनमा महिलाहरू पुरुषभन्दा बढी सक्षम हुन्छन् भन्ने कुरा आधुनिक समयका अनुसन्धानहरूले सिद्ध गरेका छन् ।

  • अयं निजः परः वा इति गणना लघुचेतसाम् ।

उदारचरितानां तु वसुधैव कुटुम्बकम् ।।

अर्थ - यो मेरो यो तेरो, यो आफ्नो यो पराई, (यो मेरो नजीकको यो टाढाको, यो मेरो समूहको, यो अर्का समूहको, यो मेरो सम्प्रदायको त्यो अर्को सम्प्रदायको) यसरी गणना गर्ने लघु चेत भएका हुन् । यसरी मेरो र तेरो भनी विभाजन गराउनेहरु क्षुद्र बुद्धिका हुन्छन् । महाभारत युद्धको बारेमा जसले जानकारी राख्छन् उनीहरूलाई के थाहा छ भने त्यसको एक मात्र कारण मामकाः पाण्डवाश्चैव भन्ने धृतराष्ट्रको भावना नै प्रमुख हो । आफैंले जिम्मेवारी लिएर एउटै कुटुम्बमा पालन पोषण गरिरहेका सन्तानहरूलाई पनि धृतराष्ट्रले विभाजन गरेर यिनी मेरा र यिनी भाईका गराई दिए । यसको तुस महाभारत युद्धको कारण बन्यो । जो उदार हुन्छन उनीहरूका लागि संसार भरिका मानिस आफ्नै कुटुम्ब हुन् । उनका लागि यो संसार घर परिवारको अर्को रुप हो । उसका लागि सबै मेरा हुन्छन् ।

सन्देश[सम्पादन गर्नुहोस्]

  • अन्नका अलावा कुनै पनि धनको कुनै मूल्य हुँदैन । भोकभन्दा ठूलो शत्रु अरू केही हुँदैन ।
  • अरूको धनको लालच गर्नु व्यक्तिको नासको कारण बन्ने गर्छ ।
  • आफ्नो जीवन वा परिवारको गहिरो राज कसैलाई पनि बताउनुहुन्न किनकि व्यक्ति समय आएपछि त्यही कमजोरीलाई आफ्नो हतियार बनाउने गर्छ र त्यो राज अर्कोको सामु खोलिदिन सक्छ ।
  • आलसी मनुष्यलाई न त वर्तमानको केही जानकारी हुन्छ न त भविष्यको कुनै लक्ष्य नै ।
  • ऋण, शत्रु र रोगलाई कहिलै पनि सानो सम्झिनु हुँदैन । सकिन्छ भने त यी सबैलाई सधैंको लागि समाप्त गरिदिनु उत्तम हुन्छ ।
  • कुनै पनि कार्य गर्नुपूर्व यी तीन प्रश्न आफैँले आफैँलाई सोध्ने गरौं । यो काम म किन गरिरहेको छु । यसको परिणाम के हुन सक्छ । के यो काममा म सफल हुन सक्छु ? यदि यो सोच्दा हामीले यसको उत्तर पाउन सकेनौं भने यसलाई छाड्दिुनु नै ठीक । यदी यसको उत्तर पाइन्छ भने तपाईं सही दिशामा हुनुहुन्छ ।
  • जो मेहनती छ,  ऊ कहिलै पनि गरिब हुँदैन । जसले भगवानलाई सधैं याद राख्छ उसको मनमा कुनै पापी भावना नै आउँदैन । किनकि दिमागबाट नै सचेत व्यक्ति सधैंभरि निडर हुने गर्छ ।
  • ज्ञानी त्यही हो जो मान तथा अपमानलाई सदैव समान रूपमा लिन्छ । तर, यस्तै गर्न सक्नु एकदमै कठिन मानिन्छ । जीवनमा मिलेको अपमानलाई कहिल्यै पनि अरुको सामुन्ने चर्चाको विषय बनाउनु हुँदैंन । हुन सक्छ तपाई अरुलाई भनेर मनको भावना पोख्न चाहनुहुन्छ परन्तु सुन्ने मानिसले यो कुरा दोस्रो मानिसलाई बतायो भने अपमान झन वृद्धि हुन्छ । यसकारण अपमानसँग जोडिएका घटना कहिल्यै कसैसँग पनि बताउनु हुँदैंन ।
  • त्यस्तो मान्छेलाई मद्दत गर्नु व्यर्थ कुरा हो जो सधैंभरि नकारात्मक भावबाट युक्त हुन्छ । किनकि यस्ता मान्छेहरू प्रयास गर्न छाडेर अरूलाई या परिस्थितिलाई दोष दिएर उदास भएर बस्छ र लक्ष्यबाट भड्किएर हिँड्छ ।
  • त्यो ठाउँमा एक पल पनि बस्नु उपयुक्त हुँदैन जहाँ आफ्नो इज्जत हुँदैन, आफ्नो जीविका चलाउन सकिँदैन, जहाँ कोही पनि साथीहरू छैनन् र जहाँ व्यावहारिक ज्ञानको कुरा गर्ने कोही छैन ।
  • धनको क्षति भयो भने त्यसको बारेमा कसैलाई पनि भन्नु हुँदैंन । यसको कारण मानिसको प्रतिष्ठा नष्ट हुन्छ र मानिसहरूको उसको सम्मान गर्न छाड्छन । मानिसहरु उसलाई मद्धत गर्नुको साटो उसको अवस्थालाई हाँसोको विषय बनाउँदछन् ।
  • पुरुषले आफ्नो घरको भित्री कुरा कसैलाई पनि बताउनु हुन्न । विशेष गरी आफ्नी पत्नीको चरित्रका विषयमा अर्कोसँग कुनै पनि टिप्पणी गर्नु हुँदैंन । यसो गर्नालले पुरुषको प्रतिष्ठा र सम्मानको नाश हुन्छ । भविष्यमा उसले विभिन्न समस्याहरु सामना गर्नुपर्ने हुन सक्छ ।
  • बुद्धिमान व्यक्ति यदि कुनै मुर्ख व्यक्तिलाई सम्झाउने प्रयास गर्छ भने यसको मतलब हो ऊ स्वयं‌ले समस्या खडा गरिराको छ ।
  • मनले सोचेको काम कुनै अरू व्यक्तिलाई सुनाउनु आफैँमा हाँसोको पात्र बन्नु बराबर हो । मनमा लागेको कुरा आफ्नै मनमा सीमित राख्नु र काम फत्ते भएपछि मात्रै अरूलाई सुनाउनु नै उपयुक्त हुन्छ ।
  • यदि मनमा केही दुःख छ भने त्यो पनि कसैसँग अभिब्यक्त गर्नु हुँदैंन । किनभने संसारमा सच्चा हितैषी एकदमैं कम हुन्छन् । हुन सक्छ जुन मानिससँग दुःख अभिब्यक्त गरिन्छ उसैले पिठ्युपछि यसको मजाक उडाउन सक्छ । जसका कारण यसले झन दुःखी बनाउँछ ।
  • राम्रो आचरणले दु:खहरूबाट मुक्ति मिल्छ ।  विवेकले अज्ञानतालाई मेटाउने क्षमता राख्छ र जानकारीले भयलाई दुर गर्न सहयोग गर्छ । त्यसैले यी ३ विषय जानकारीमा राख्नुपर्छ ।
  • विद्या नै निर्धनको धन हो । यो यस्तो किसिमको धन हो जसलाई कहिलै पनि चोर्न सकिँदैन । यो अरूलाई बाँड्दा आफैँमा थपिँदै जान्छ ।
  • व्यक्ति सधैं राम्रो गुणद्वारा उच्च हुनुपर्छ । उच्च स्थानमा बसेर कुनै पनि व्यक्ति ठूलो हुँदैन ।
  • संकटको समयमा सधैंभरि बुद्धिको नै परीक्षा हुन्छ र बुद्धि नै हाम्रो काममा आउँछ ।
  • सधैं खुसी हुनु पनि दुस्मनको दु:खको कारण बन्ने गर्छ । त्यसैले सधैंभरि खुसी हुनु सबैको लागि सजाय दिनु बराबर हो ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]