सामग्रीमा जानुहोस्

हिरण्यकशिपु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(हिरण्यकश्यपुबाट अनुप्रेषित)
हिरण्यकशिपु
१८औँ शताब्दीको चित्र जसमा सिंहासनमा बसेका हिरण्यकशिपुले आफ्ना छोरा प्रह्लाद (बायाँ) लाई मार्ने प्रयास गरिरहेको देखाइएको छ।
आबद्धअसुर, दैत्य
अस्त्रगदा
वंशावली
अभिभावकहरू
भाइबहिनीहरूहिरण्याक्ष (कान्छो भाइ), होलिका (कान्छी बहिनी)
रानीकयाधु / कमला
सन्तानहरू
  • छोराहरू: प्रह्लाद, संह्राद, अनुह्लाद, ह्लाद, शिबि, र बाष्कल (कयाधुबाट)
  • छोरीहरू: दिव्यदेवी र पौलोमी (ऋषि भृगुका पत्नीहरू) र सिंहिका (कयाधुबाट)

हिरण्यकशिपु पुराणहरूका अनुसार असुरहरूका एक दैत्य राजा थिए।[]

हिन्दु धर्ममा, हिरण्यकशिपुका कान्छा भाइ हिरण्याक्षलाई भगवान विष्णुको वराह अवतारले वध गरेका थिए। यसबाट क्रोधित भई हिरण्यकशिपुले ब्रह्मालाई प्रसन्न तुल्याउन तपस्या गरेर अमरत्व वा अजेय हुने वरदान प्राप्त गर्ने निर्णय गरेका थिए। त्रिलोकमा आफ्नो अधिपत्य जमाएपछि,[] उनलाई विष्णुको नृसिंह अवतारले वध गरेका थिए।[]

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]

भागवत पुराणका अनुसार, हिरण्यकशिपु र हिरण्याक्ष भगवान विष्णुका द्वारपालहरू जय-विजय हुन्, जो सनतकुमारको श्रापका कारण पृथ्वीमा जन्मिएका थिए। सत्य युगमा, हिरण्यकशिपु र हिरण्याक्ष – जसलाई संयुक्त रूपमा 'हिरण्य' भनिन्छ – दिति (दक्षकी छोरी) र ऋषि कश्यपबाट जन्मिएका थिए। साँझको समय मा उनीहरूको मिलन भएकाले असुरहरूको जन्म भएको थियो भनिन्छ जुन समय यस्तो कार्यका लागि अशुभ मानिन्थ्यो।[]

तपस्या र वरदान

[सम्पादन गर्नुहोस्]
भागवत पुराणको स्कन्ध ७, अध्याय ३ मा आधारित चित्र, जसमा हिरण्यकशिपुले ब्रह्मालाई प्रसन्न पार्न कठोर तपस्या गरिरहेको देखाइएको छ। उनको तपस्याबाट उत्पन्न आगो बायाँतिर देख्न सकिन्छ।
देवताहरू विष्णुको नजिक गएर हिरण्यकशिपुलाई नियन्त्रण गर्न अनुरोध गर्दै।

हिरण्यकशिपुका कान्छा भाइ हिरण्याक्षलाई भगवान विष्णुको वराह अवतारले वध गरेपछि, हिरण्यकशिपु विष्णुको घोर विरोधी बन्छन्। उनले ब्रह्माबाट अजेय हुने वरदान प्राप्त गरेर विष्णुलाई मार्ने निर्णय गर्छन्। हिरण्यकशिपु मन्दराचल पर्वतको उपत्यकामा गएर त्यहाँ कठोर तपस्या सुरु गर्छन्। उनी आफ्ना हातहरू माथि उठाएर र आकाशतर्फ दृष्टि स्थिर राखेर निश्चल उभिन्छन्। हरिवंश पुराणका अनुसार, हिरण्यकशिपुले पानीभित्र मौन व्रत बसेर ११,५०० वर्षसम्म घोर तपस्या गरेका थिए।[] हिरण्यकशिपु लामो समयसम्म स्थिर रहेकाले उनको शरीर घाँस, बाँस र कमिलाको गोलोले ढाकिएको थियो। कमिला र अन्य कीराहरूले उनको छाला, मासु, बोसो र रगत खाएका थिए र केवल कङ्काल मात्र बाँकी थियो। यति हुँदाहुँदै पनि उनको प्राण शक्ति उनको हड्डीभित्र सञ्चार भइरहेको थियो। समयसँगै उनको तपस्या यति तीव्र भयो कि उनको टाउकोबाट प्रज्वलित आगो निस्कन थाल्यो। यो ताप त्रिलोकभरि फैलियो, जसले गर्दा देवलोकसमेत काँप्न थाल्यो। यसले गर्दा देवताहरू आफ्नो वासस्थान छोडेर ब्रह्मासँग मद्दत माग्न बाध्य हुन्छन्।[][]

सुरुमा हिरण्यकशिपुको योजना सफल भएको देखिन्छ र ब्रह्मा उनको तपस्याबाट प्रसन्न हुन्छन्।[] ब्रह्मा हिरण्यकशिपुको अगाडि प्रकट हुँदै उनलाई आफ्नो रोजाइको वरदान माग्न भन्छन्। हिरण्यकशिपुले अमरत्वको वरदान मागेकाले, ब्रह्माले अस्वीकार गर्छन्। त्यसपछि हिरण्यकशिपुले अर्को वरदान माग्छन्।

शिव पुराणमा वरदानको थोरै फरक वर्णन छ, जहाँ हिरण्यकशिपुले ब्रह्मासँग आफूलाई हतियार, वज्र, पहाड, रूख, क्षेप्यास्त्र, पानी, आगो वा उनले (ब्रह्माले) सृष्टि गरेका कुनै पनि प्राणीबाट मारिनु नपरोस् भन्ने वरदान मागेका थिए।[]

वरदान प्राप्त गरेपछि, हिरण्यकशिपुले आफूलाई अजेय महसुस गर्दै त्रिलोक जितेर इन्द्रको सिंहासन कब्जा गर्न सफल हुन्छन्।[१०] स्कन्द पुराणका अनुसार हिरण्यकशिपुले १० करोड ७२ लाख ८० हजार वर्ष वा २४.८ युगसम्म ब्रह्माण्डमा शासन गर्छन्।[११]

नृसिंह विरुद्ध गदा प्रहार गर्दै हिरण्यकशिपु

हिरण्यकशिपुले यी वरदानहरू प्राप्त गर्न तपस्या गरिरहेका बेला, उनको अनुपस्थितिको फाइदा उठाउँदै इन्द्र र अन्य देवताहरूले उनको घरमा आक्रमण गर्छन्।[१२] यसको जवाफमा देवर्षि नारदले हस्तक्षेप गरी हिरण्यकशिपुकी पत्नी कयाधुको रक्षा गर्छन्,[१३] जसलाई नारदले 'पापरहित' भनी वर्णन गर्छन्।[१४] नारदले उनलाई आफ्नो आश्रममा संरक्षण दिन्छन्। उनी नारदको मार्गनिर्देशनमा रहँदा, उनको गर्भमा रहेको बालक (प्रह्लाद) आमाको गर्भमै छँदा ऋषिको आध्यात्मिक उपदेशबाट प्रभावित हुन्छन्। पछि, बालकका रूपमा बढ्दै जाँदा, प्रह्लादले नारदको जन्मपूर्वको प्रशिक्षणको फल प्राप्त गर्न थाल्५न् र बिस्तारै विष्णुको अनन्य भक्तका रूपमा चिनिन थाल्छन् जसले गर्दा उनका पितालाई अत्यन्तै क्रोधित तुल्याउँछ।[१५]

आफ्नो कट्टर शत्रु मानिने विष्णुप्रति छोराको भक्ति देखेर हिरण्यकशिपु क्रुद्ध भएर प्रह्लादलाई मार्ने निर्णय गर्छन्।[१६] तर उनले बालकलाई मार्ने जति पटक प्रयास गरे, हरेक पटक प्रह्लाद विष्णुको रहस्यमय शक्तिद्वारा सुरक्षित रहिरहन्छन्। प्रह्लादले आफ्ना पितालाई ब्रह्माण्डको सर्वोच्च प्रभुको रूपमा स्वीकार गर्न इन्कार गर्छन् र विष्णु सर्वव्यापी छन् भन्ने दाबी गर्छन्। जसमा हिरण्यकशिपुले नजिकैको एउटा खम्बा (स्तम्भ) तर्फ इशारा गर्दै सोधे कि 'तिम्रो विष्णु' यसमा छ त:

"हे अभागी प्रह्लाद, तिमीले सधैं म बाहेक अरू नै कोही सर्वोच्च सत्ताको वर्णन गरेका छौ, जो सबैभन्दा माथि छ, जो सबैको नियन्त्रक हो र जो सर्वव्यापी छ। तर ऊ कहाँ छ? यदि ऊ जताततै छ भने, यो खम्बामा मेरो अगाडि किन उपस्थित छैन?"[१७]

कर्नाटकको हलेबिडुमा रहेको ढुङ्गे मूर्ति, जसमा विष्णुले नृसिंहको रूपमा हिरण्यकशिपुको वध गरिरहेको देखाइएको छ।

त्यसपछि प्रह्लादले जवाफ दिँदै, "उहाँ यो खम्बामा हुनुहुन्छ, जसरी उहाँ सानो धुलोको कणमा हुनुहुन्छ।" हिरण्यकशिपुले आफ्नो रिस नियन्त्रण गर्न नसकी गदाले खम्बा फुटाउँछन्। एउटा ठूलो आवाज सुनिन्छ र फुटेको खम्बाबाट नृसिंहको रूपमा विष्णु प्रकट हुन्छन् र प्रह्लादको रक्षाका लागि हिरण्यकशिपुमाथि आक्रमण गर्न अघि बढ्छन्।

नृसिंह यस्तो परिस्थितिमा प्रकटहुन्छन् जहाँ असुर राजाको वध गर्न सम्भव तुल्याउँछ। हिरण्यकशिपु मानिस, देव वा जनावरबाट मारिन सक्दैनथे, तर नृसिंह यीमध्ये कोही पनि थिएनन्, किनकि उनी आधा मानिस र आधा जनावरको अवतार थिए। उनले हिरण्यकशिपुलाई गोधूलि बेला (जब न दिन हुन्छ न रात) मा, बैठक हलको सङ्घार (ढोकाको चौकोस) मा (न घरभित्र न बाहिर), र असुरलाई आफ्नो काख (जाँघ) मा राखेर (न पृथ्वीमा न आकाशमा) आक्रमण गर्छन्। आफ्नो नङ्ग्रा (न जीवित न निर्जीव वस्तु) को प्रयोग गरेर उनले असुरको पेट चिरेर वध गर्छन्।[१८]

पुराणका अन्य वैकल्पिक विवरणहरू, जस्तै हरिवंश, ले ॐकार नामका एक अनुचरका साथ नृसिंह हिरण्यकशिपुको वध गर्न आएको वर्णन गर्दछ। यी संस्करणहरूमा नृसिंह खम्बाबाट नभई ॐकारका साथ हिरण्यकशिपुको सभा हलमा प्रवेश गर्छन्। प्रह्लादले नृसिंह विष्णु नै हुन् भनी पितालाई सम्झाउने प्रयास गरे तापनि हिरण्यकशिपुले त्यो चेतावनीलाई बेवास्ता गर्छन्, जसले गर्दा नृसिंह र असुर राजाबीच भीषण युद्ध हुन्छ। कूर्म पुराणमा अर्को एउटा भिन्नता छ जसमा प्रह्लादले सुरुमा पिताको आज्ञा अनुसार नृसिंहसँग युद्ध गर्छन् तर पछि उनको दिव्यता बुझेर स्वीकार गर्छन्। दुवै संस्करणमा प्रह्लादको प्रयास असफल हुन्छ र हिरण्यकशिपु युद्धमा नृसिंहद्वारा मारिन्छन्।[१९]

हिरण्यकशिपुले आफ्ना छोरा प्रह्लादलाई मार्ने प्रयासहरूमध्ये एउटा प्रयास उनलाई आफ्नी फुपू होलिकासँग बलिरहेको चितामा बसाउनु थियो। होलिकासँग आगोले हानि पुऱ्याउन नसक्ने एक विशेष वरदान थियो। प्रह्लादले विष्णुको नाम जप गरिरहे र असल र खराबको लडाइँमा होलिका जलेर भष्म भइन् तर प्रह्लादलाई केही भएन। प्रह्लाद जीवितै बँचेको खुसीयालीमा हिन्दु धर्ममा होली पर्व मनाइन्छ।[२०][२१]

सन्दर्भ सामग्रीहरु

[सम्पादन गर्नुहोस्]
  1. Nurturing Child and Adolescent Spirituality: Perspectives from the World's Religious Traditions, p. 20, Karen-Marie Yust, Aostre N. Johnson, Sandy Eisenberg Sasso, Rowman & Littlefield
  2. Hudson, D. Dennis (२००८-०९-२५), The Body of God: An Emperor's Palace for Krishna in Eighth-Century Kanchipuram (अङ्ग्रेजीमा), Oxford University Press, USA, पृ: 185, आइएसबिएन 978-0-19-536922-9
  3. Gopal, Madan (१९९०), K.S. Gautam, सम्पादक, India through the ages, Publication Division, Ministry of Information and Broadcasting, Government of India, पृ: ७३४।
  4. Mani, Vettam (१९७५), Puranic Encyclopaedia: A Comprehensive Dictionary With Special Reference to the Epic and Puranic Literature, Delhi: Motilal Banarsidass, पृ: ३१४, आइएसबिएन 0-8426-0822-2
  5. Vyasa, Veda, "A Prose English Translation of Harivamsha", file:///htdocs/ebookmaker/cache/20200425205750/harivamsa.rst (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-१२-१४
  6. "Srimad Bhagavatam: Canto 7 - Chapter 3", www.srimadbhagavatam.org, अन्तिम पहुँच २०२५-१२-१४
  7. "CHAPTER THREE", vedabase.io (अङ्ग्रेजीमा), मूलबाट १९ नोभेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२५-१२-१४
  8. Bhag-P 7.4.1 अभिलेखिकरण २६ सेप्टेम्बर २००७ वेब्याक मेसिन "Lord Brahma was very much satisfied by Hiranyakasipu's austerities, which were difficult to perform"
  9. "The Siva Purana: 4 Parts in Set (AITM Vols. 1 to 4)", Motilal Banarsidass (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-१२-१४
  10. www.wisdomlib.org (२०१२-०६-२९), "Hiranyakashipu, Hiraṇyakaśipu, Hiranya-kashipu: 14 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-२२
  11. Leviton, Richard (२०२५-०६-०८), Mythopoieic Planet: Notes from a Project for Designing the Earth (अङ्ग्रेजीमा), iUniverse, आइएसबिएन 978-1-6632-7347-5
  12. Bhag-P 7.7.6 अभिलेखिकरण २६ सेप्टेम्बर २००७ वेब्याक मेसिन
  13. "Srimad Bhagavatam Canto 7 Chapter 7", मूलबाट १२ अक्टोबर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०८-१३ अभिलेखिकरण २००७-१०-१२ वेब्याक मेसिन
  14. Bhag-P 7.7.8 अभिलेखिकरण २६ सेप्टेम्बर २००७ वेब्याक मेसिन
  15. Bhag-P 7.8.6 अभिलेखिकरण ८ डिसेम्बर २०१२ वेब्याक मेसिन
  16. Bhag-P 7.8.3–4 अभिलेखिकरण २६ सेप्टेम्बर २००७ वेब्याक मेसिन
  17. Bhag-P 7.8.12 अभिलेखिकरण २६ सेप्टेम्बर २०१३ वेब्याक मेसिन
  18. Bhag-P 7.8.29 अभिलेखिकरण २६ सेप्टेम्बर २००७ वेब्याक मेसिन
  19. Jaiswal, Suvira (१९७३), "Evolution of the Narasimha Legend and Its Possible Sources", Proceedings of the Indian History Congress 34: 140–151, आइएसएसएन 2249-1937, जेएसटिओआर 44138607
  20. "Holika Dahan 2019 - Information, Muhurat and Prahlad Story", Fastread, २१ डिसेम्बर २०१६।[स्थायी मृत कडी]
  21. "The Legend of Holika & Prahlad, True Story Behind Holika & Prahlad"
पूर्वाधिकारी दैत्य राजा
-
उतराधिकारी