दक्ष प्रजापति
| दक्ष प्रजापति | |
|---|---|
अनुष्ठान कौशलका देवता[१] | |
पौराणिक परम्परामा दक्षका दुई चित्रणहरू — एउटा सामान्य मानवीय स्वरूप (बायाँ) र अर्को बोकाको टाउको भएको स्वरूप (दायाँ) | |
| आबद्ध | वैदिक: आदित्य
इतिहास-पर्व: प्रजापति, मानसपुत्र |
| धर्मग्रन्थहरू | ऋग्वेद, ब्राह्मण, तैत्तिरीय संहिता, रामायण, महाभारत, पुराण |
| वंशावली | |
| अभिभावकहरू | वैदिक: अदिति
इतिहास-पौराणिक: ब्रह्मा[क] |
| रानी | 'इतिहास-पौराणिक: प्रसूति र असिक्नी |
| सन्तानहरू | |
दक्ष (संस्कृत: दक्ष, शाअ 'सक्षम, निपुण वा इमानदार') एक हिन्दु देवता हुन् जसको भूमिका वैदिक कालदेखि पौराणिक कालसम्ममा महत्त्वपूर्ण रूपमा परिवर्तन भएको छ। ऋग्वेदमा, दक्ष एक आदित्य हुन् र उनलाई पुरोहितको कौशलसँग जोडिएको छ।[२]
महाकाव्य र पौराणिक ग्रन्थहरूमा, उनी सृष्टिकर्ता-देवता ब्रह्माका मानसपुत्र र सृष्टिका कारक मानिने प्रजापति मध्ये एक हुन्। उनी एक दिव्य राजा ऋषि पनि हुन्। उनी धेरै सन्तानका पिता हुन्, जो पछि विभिन्न प्राणीहरूका पूर्वज बनेका छन्। एक पौराणिक कथा अनुसार, दक्षले एक यज्ञ आयोजना गरेका थिए, जहाँ उनले जानीजानी आफ्नी कान्छी छोरी सती र उनका पति शिवलाई निमन्त्रणा दिएनन्। लिङ्ग पुराणका अनुसार, यस घटनाको समयमा शिवको अपमान गरेको र त्यसकै कारण सतीले क्रोधमा आत्मदाह गरेको हुनाले, शिवको भयानक रूप वीरभद्रले दक्षको शिर काटिदिएका थिए। पछि उनलाई बोकाको टाउको राखेर पुनर्जीवित गरिएको थियो। धेरै पुराणहरूमा दक्षले अर्को मन्वन्तरमा प्रचेतसको पुत्रको रूपमा पुनर्जन्म लिएको उल्लेख गरिएको छ।
उनको प्रतिमामा उनलाई मोटो शरीर र सुन्दर अनुहार भएको व्यक्तिको रूपमा वा बोकाको टाउको भएको स्वरूपमा देखाइन्छ।
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]जन्म
[सम्पादन गर्नुहोस्]महाकाव्य महाभारतले दक्ष र उनकी पत्नी क्रमशः हिन्दु सृष्टिकर्ता देवता ब्रह्माको दायाँ र बायाँ बुढी औँलाबाट उत्पन्न भएको वर्णन गरेको छ।[३][४] मत्स्य पुराणका अनुसार दक्ष, धर्म, कामदेव र अग्नि क्रमशः ब्रह्माको दायाँ बुढीऔँला, छाती, हृदय र आँखीभौँबाट जन्मिएका थिए। भागवत पुराण सहित धेरै ग्रन्थहरूका अनुसार, दक्षको दुई पटक जन्म भएको छ—पहिलो पटक ब्रह्माको मानसपुत्र (मनबाट सिर्जित पुत्र) को रूपमा र पछि प्रचेतस र मारिषाको पुत्रको रूपमा।[३][५] पछिल्ला पौराणिक कथाहरूको विपरीत, ऋग्वेदले दक्ष र देवी अदिति एक अर्काबाट उत्पन्न भएको उल्लेख गरेको छ, त्यसैले उनी अदितिका छोरा र पिता दुवै हुन्।[६]
पत्नी र सन्तानहरू
[सम्पादन गर्नुहोस्]धेरै पौराणिक धर्मग्रन्थहरूका अनुसार, दक्षले आफ्नो पहिलो जन्ममा प्रसूति र दोस्रो जन्ममा असिक्नीसँग विवाह गरेका थिए।[७] प्रसूतिलाई स्वायम्भुव मनुकी छोरीको रूपमा वर्णन गरिएको छ, जसबाट दक्षका १६, २४ वा ६० छोरीहरू थिए (शास्त्र अनुसार फरक-फरक उल्लेख छ)।[८][९][१०] असिक्नी (जसलाई पाञ्चजनी र वीरणी पनि भनिन्छ) वीरण (वा पाञ्चजन) नामका अर्का प्रजापतिकी छोरी हुन्। ब्रह्माले दक्षलाई संसारमा प्राणीहरूको सृष्टि गर्ने जिम्मेवारी दिएका थिए; उनले आफ्नो मनबाट देवता, ऋषि, असुर, यक्ष र राक्षसहरू सिर्जना गरेता पनि थप सफलता पाउन सकेनन्।[३] विन्ध्य पर्वतमा सफल तपस्या गरेपछि, भगवान विष्णुले असिक्नीलाई उनकी पत्नीको रूपमा प्रदान गर्दै उनलाई सन्तान वृद्धिको लागि प्रेरित गरेका थिए।[३]
छोराहरू
[सम्पादन गर्नुहोस्]
पुराणहरूका अनुसार, दक्ष र असिक्नीले सुरुमा पाँच हजार छोराहरू जन्मान्छन्, जो हर्यश्वका रूपमा चिनिन्थे। उनीहरू पृथ्वीमा जनसङ्ख्या बढाउन चाहन्थे तर नारदको सल्लाहमा उनीहरूले सांसारिक मामिलाहरू त्यागेर आध्यात्मिक खोजीमा लाग्छन् र कहिल्यै फर्किँदैनन्। यस हानि पछि ब्रह्माले शोकमा डुबेका दक्षलाई सान्त्वना दिन्छन्। दक्ष र असिक्नीले फेरि अर्का एक हजार छोराहरू (शबलाश्व) जन्माउँछन्, तर उनीहरूलाई पनि नारदले उस्तै मार्गमा लाग्न प्रेरित गर्छन्। यसबाट क्रोधित भएका दक्षले नारदलाई सधैँ भौँतारिइरहने भनि (घुमन्ते हुने) श्राप दिन्छन्।[३]
छोरीहरू
[सम्पादन गर्नुहोस्]पौराणिक ग्रन्थहरूमा दक्षका छोरीहरूको सङ्ख्या फरक-फरक छ। उनीहरूको विवाह विभिन्न देवता, ऋषि र राजाहरूसँग भएको थियो र उनीहरू नै विभिन्न प्राणीका पूर्वज बनेका थिए।[३]
महाभारत (हरिवंश), देवीभागवत पुराण, ब्रह्मवैवर्त पुराण र विष्णु पुराण अनुसार, दक्षका असिक्नीबाट ६० छोरीहरू थिए:[३]
- ती मध्ये १० छोरीहरू—मरुवती, वसु, जामी, लम्बा, भानु, ऊर्जा, सङ्कल्प, महुरथ, साध्या र विश्वा—को विवाह धर्मदेवसँग भएको थियो।
- १३ छोरीहरू—अदिति, दिति, दनु, कष्ठा, अरिष्टा, सुरसा, सुरभी, ताम्रा, क्रोधवशा, सरमा, तिमी, इरा र मुनी—को विवाह ऋषि कश्यपसँग भएको थियो।
- २७ छोरीहरू (नक्षत्रहरू)—अश्विनी, भरणी, कृत्तिका, रोहिणी, मृगशिरा, आर्द्रा, पुनर्वसु, पुष्य, अश्लेषा, मघा, पूर्वाफाल्गुनी, उत्तराफाल्गुनी, हस्त, चित्रा, स्वाती, विशाखा, अनुराधा, ज्येष्ठा, मूल, पूर्वाषाढा, उत्तराषाढा, श्रवण, धनिष्ठा, शतभिषा, पूर्वाभाद्रपदा, उत्तराभाद्रपदा र रेवती—को विवाह चन्द्रमाका देवता चन्द्रसँग भएको थियो।
- ४ छोरीहरूको विवाह ऋषि अरिष्टनेमी (तार्क्ष्य कश्यप) सँग भएको थियो—विनता, कद्रु, पतङ्गी र यामिनी।
- अन्य छोरीहरूको विवाह बहुपुत्र, ऋषि अङ्गिरा र कृशाश्वसँग भएको थियो।
प्रसूतिबाट भएका छोरीहरूको सङ्ख्या पनि फरक छ—विष्णु पुराणमा २४ छोरीहरूको उल्लेख छ भने लिङ्ग पुराण र पद्म पुराण मा ६० छोरीहरूको सूची छ।[११] विष्णु पुराण अनुसार केही प्रमुख छोरीहरू र उनीहरूका पतिहरू यस प्रकार छन्:
- श्रद्धा, लक्ष्मी, धृति, तुष्टि, पुष्टि, मेधा, क्रिया, बुद्धि, लज्जा, वपु, शान्ति, सिद्धि र कीर्तिले धर्मदेवसँग विवाह गरे।
- ख्यातिको विवाह ऋषि भृगुसँग हुन्छ।
- सम्भूतिको विवाह ऋषि मरिचीसँग हुन्छ।
- स्मृतिको विवाह ऋषि अङ्गिरससँग हुन्छ।
- प्रीतिको विवाह ऋषि पुलस्त्यसँग हुन्छ।
- क्षमाको विवाह ऋषि पुलहासँग हुन्छ।
- सन्नतिका विवाह ऋषि क्रतुसँग हुन्छ।
- अनसूयाको विवाह ऋषि अत्रिसँग हुन्छ।
- ऊर्जाको विवाह ऋषि वशिष्ठसँग हुन्छ।
- स्वाहाको विवाह अग्निदेव अग्निसँग हुन्छ।
- स्वधाको विवाह पितृहरूसँग हुन्छ।
- सतीको विवाह भगवान शिवसँग हुन्छ।
यी छोरीहरूका साथै प्रेमकी देवी रतिलाई पनि दक्षकी सन्तान मानिन्छ। शिव पुराण र कालिका पुराण का अनुसार, ब्रह्माले प्रेमका देवता कामका लागि पत्नी प्रस्तुत गर्न भनेपछि दक्षको पसिनाबाट रतिको जन्म भएको थियो।[१२]
चन्द्रमालाई श्राप
[सम्पादन गर्नुहोस्]पुराणहरूले दक्षलाई चन्द्रमाको घट्दो र बढ्दो अवस्था (क्षय र वृद्धि) को लागि जिम्मेवार पात्रको रूपमा प्रस्तुत गरेका छन्। चन्द्रदेव चन्द्रले दक्षका २७ छोरीहरूसँग विवाह गरेका थिए, जसले २७ नक्षत्र (तारापुञ्ज) को प्रतिनिधित्व गर्छन्। ती मध्ये चन्द्रमाले रोहिणीलाई बढी मन पराउँथे र आफ्नो अधिकांश समय उनैसँग बिताउँथे। अन्य २६ दिदीबहिनीहरू ईर्ष्यालु हुँदै आफ्ना पितासँग गुनासो गर्छन्। दक्षले सुरुमा चन्द्रमालाई फकाउने प्रयास गर्छन्, तर आफ्नो प्रयास निरर्थक देखेपछि उनले चन्द्रमालाई रोगी हुने र आफ्नो चमक गुमाउने श्राप दिन्छन्। चन्द्रमा वनस्पतिका देवता पनि भएकाले पृथ्वीमा वनस्पतिहरू मर्न थाल्छन्। त्यसपछि देवताहरूले दक्षलाई शान्त पार्छन् र उनीहरूको अनुरोधमा दक्षले चन्द्रमालाई प्रत्येक १५ दिन (पक्ष) मा रोगले सताउने र बिस्तारै त्यसबाट निको हुने उपाय बताउँछन्। यसले गर्दा प्रत्येक महिना चन्द्रमा घट्ने (कृष्ण पक्ष) र बढ्ने (शुक्ल पक्ष) प्रक्रिया सुरु हुन्छ।[३] अर्को संस्करण अनुसार, भगवान शिवले चन्द्रमाको रोगलाई आंशिक रूपमा निको पारेका थिए, जसको बदलामा चन्द्रमाले सोमनाथ मन्दिर निर्माण गरेका थिए।[१३]
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Handbook of Hindu Mythology, Oup USA, २७ मार्च २००८, आइएसबिएन 978-0-19-533261-2।
- ↑ Williams, George M. (२००८-०३-२७), Handbook of Hindu Mythology (अङ्ग्रेजीमा), OUP USA, पृ: 261, आइएसबिएन 978-0-19-533261-2।
- 1 2 3 4 5 6 7 8 Mani, Vettam (१९७५), "Daksha", Puranic Encyclopedia: a comprehensive dictionary with special reference to the epic and Puranic literature, Delhi, India: Motilal Banarsidass, Delhi, पृ: 193–194।
- ↑ Coulter, Charles Russell; Turner, Patricia (२०१३-०७-०४), Encyclopedia of Ancient Deities (अङ्ग्रेजीमा), Routledge, आइएसबिएन 978-1-135-96390-3।
- ↑ Prabhupada, His Divine Grace A. C. Bhaktivedanta Swami (१९७४-१२-३१), Srimad-Bhagavatam, Fourth Canto: The Creation of the Fourth Order (अङ्ग्रेजीमा), The Bhaktivedanta Book Trust, आइएसबिएन 978-91-7149-637-9।
- ↑ Stephanie Jamison (२०१५), The Rigveda –– Earliest Religious Poetry of India, Oxford University Press, पृ: ४४, आइएसबिएन 978-0190633394।
- ↑ Purāṇam (अङ्ग्रेजीमा), All-India Kasiraja Trust., २००१।
- ↑ Coulter, Charles Russell; Turner, Patricia (२०१३-०७-०४), Encyclopedia of Ancient Deities (अङ्ग्रेजीमा), Routledge, आइएसबिएन 978-1-135-96390-3।
- ↑ Vishnu Purana, Vol-I, H.H. Willson. Book-I,Ch-#7, Page 109
- ↑ Wilkins, W.J. (२००३), Hindu Mythology, New Delhi: D.K. Printworld (P) Limited, पृ: ३७३, आइएसबिएन 81-246-0234-4।
- ↑ Chawla, Janet (२००६), Birth and Birthgivers: The Power Behind the Shame (अङ्ग्रेजीमा), Har-Anand Publications, आइएसबिएन 978-81-241-0938-0।
- ↑ Mani, Vettam, Purāṇic Encyclopaedia (अङ्ग्रेजीमा), पृ: ६४५, आइएसबिएन 978-0-8426-0822-0।
- ↑ Roshen Dalal (२०१०), Hinduism: An Alphabetical Guide, Penguin Books India, पृ: 393–394, आइएसबिएन 978-0-14-341421-6।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
दक्षसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।