सामग्रीमा जानुहोस्

बडिमालिका मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बडिमालिकाबाट अनुप्रेषित)

बडीमालिका विश्वका प्रमुख हिन्दु मन्दिरहरूमध्येको एक प्रशिद्ध मन्दिर हो । यो मन्दिर नेपालको सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा वडा नं. ६ पन्धारामा पर्दछ । यहाँ प्रत्येक वर्ष साउन शुक्ल त्रयोदशी देखि चतुर्दशीका दिन मुख्य पूजा तथा हवन गरिन्छ । गंगा दशहरामा यहाँको पाती प्रसाद खप्तडमा ल्याएर चढाउने गरिन्छ । बडीमालिकामा २ जिल्लाका पुजारीहरुले पूजा गर्छन् । यी मध्ये १ बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ९ पैमाका हुन् भने अर्को कालिकोटका हुन् । हाल बाजुराबाट मुख्य पुजारीको रुपमा नेत्र पाध्याय रहेका छन् भने कालिकोटबाट हरी धमाला रहेका छन् ।

बडीमालिका मन्दिर

सम्वत् २०८२ सालमा यहाँको पुरानो मन्दिरको जिर्णोद्वार गरी नेपाली सेनाद्वारा नयाँ मन्दिर निर्माण गरिएको छ । बडीमालिका मन्दिर समुन्द्री सतहबाट ४,२२० मीटर उचाईमा अवस्थित छ । जुन विश्वमा रहेका हिन्दु मन्दिरहरुमध्ये सबैभन्दा अग्लो स्थानमा रहेको हिन्दु मन्दिर हो ।

बडीमालिका दर्शनका लागि जाने भक्तजनहरुले त्रिवेणी हुँदै जानु पर्ने हुन्छ । त्रिवेणी बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका र कालिकोटको रास्कोट नगरपालिकाको सिमाना हो । यसको मुख्य भाग बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ५ किम्नीमा पर्दछ । बडीमालिका, त्रिवेणी बहुमूल्य जडिबुटीको भण्डार पनि हो ।

पौराणिक कथा अनुसार महादेवकी पत्नी सतिदेवीका पिता दक्ष प्रजापतिले यज्ञ गर्दा महादेव र सतिदेवीलाई बोलाएनन् । आफ्ना पति र आफूलाई यज्ञमा नबोलाएपछि सतिदेविले आफ्ना पिता दक्ष प्रजापतीले सञ्चालन गरेको यज्ञ स्थलमा गएर पितासँग आफ्ना पति महादेव र आफूलाई यज्ञमा नबोलाउनुको कारण सोधिन् । दक्ष प्रजापतीले महादेव भाङ, धतुरो सेवन गर्ने, शमसान घाटमा वास गर्ने, गलामा सर्पको माला लगाउने, जटाधारी भेषमा रहने, शरीरभरी खरानी घस्ने, बाघको छालाको पहिरने हुनाले यस यज्ञमा बस्दा शोभा नदिने भएकाले नबोलाएको बताए । पिताको जवाफ सुनेपछि सतिदेवीलाई आफ्ना पतिको अपमान गरिएको महशुस भयो र अपमान सहन गर्न नसकेर यज्ञकुण्डको अग्नीमा हाम फालेर प्राण त्याग गरिन् ।

आफ्नी पत्नि सतिदेवीले दक्ष प्रजापतिले सञ्चालन गरेको यज्ञमा हाम फालेर प्राण त्याग गरेपछि महादेव रिसाएर विरभद्रादी शिवगणलाई पठाएर दक्ष प्रजापतिलाई मारी दक्ष प्रजापतिले सञ्चालन गरेको यज्ञ तहस नहस पार्न लगाए । आफू भने पत्नी वियोगमा पागल भएर सतिदेवीको मृत शरिर बोकेर पुरा विश्व घुम्न थाले । यसै बेला भगवान बिष्णुले आफ्नो चक्र सुदर्शन प्रहार गरी सतिदेवीको मृत शरीरमा किरा पारेर कुहाए । सतिदेवीको मृत शरीर कुहिए पछि महादेव जहाँ जहाँ गए त्यहाँ त्यहाँ सतिदेवीको मृत शरीरको कुहिएको अङ्ग खस्दै (पतन हुँदै) गए । यसरी ठाउँ ठाउँमा सतिदेवीको शरीरका अङ्गहरू पतन हुँदै जान थालेपछि जहाँ जहाँ सतिदवीका अङ्ग पतन भए त्यहाँ त्यहाँ एक एकवटा सिद्ध पिठ (प्रसिद्ध धार्मिक स्थल) बन्दै गए । यसै क्रममा हालको बाजुरा जिल्लाको मल्लागिरी पर्वतमा सतिदेवीको बायाँ कुम पतन भयो । पछि गएर सतिदेवीको बायाँ कुम पतन भएको त्यही पर्वतलाई मालिका र हाल आएर बडीमालिका भनिन थालियो ।

मल्लागिरी पर्वतमा मल्लिका अथवा मालिका देवी शक्ति स्वरूपले रहन थालिन् ।[] तसर्थ यस स्थानमा बडिमालिका मन्दिर स्थापना गरेर पूजा गर्न थालियो ।

भनिन्छ पौराणिक कालमा भगवतीले महिषासुर नामको दैत्यको वध गरिसकेपछि कालिकोटको "द्वारेढुंगा" भन्ने ठाउँमा विश्राम गरेकी थिइन् । पछि गएर द्वारेढुंगामा एकजना दाउरा खोज्न गएको दलित भोकले व्याकुल भई देवीसँग बहरको मासु र हिया गहुँको रोटी माग्यो । देवीले त्यो दलितको मनोरथ पूरा गरिदिइन् । दलितले पूरै बहरलाई एक्लै खान नसकिने भएकाले आफ्नो घरका मान्छेलाई बोलाएछ । उसको घरको मानिसहरूले टाढा भएका कारण सुन्न सकेनन् । तब त्यो दलितलाई रिस उठ्यो। उसले भगवतीलाई भन्यो हे! प्रमेश्वरी मेरा घरका सबै मान्छे मरुन् । देवीले पनि इच्छाअनुसार वरदान दिइन् । त्यसपछि बहरको मासु लिएर दलित घर गएछ । घरमा हेर्दा त सबै जहानहरू मरेका देख्यो । फेरि दलित रिसायर द्वारेढुंगा पुग्यो । देवी उसलाई देखेर ढोका बन्द गरी त्यहाँबाट भागिन् । दलितले बहरको फिलाले देवीको घरमा हानेको छाप अझै द्वारे ढुङ्गामा देखिन्छ । यसो भएका कारण देवी सधैँका लागि त्यो ठाउँ छोडेर त्रिवेणी, पञ्चपुरी पाटन, मल्लपुरी पाटन हुँदै बडीमालिकामा गएर बसिन् । त्यसैले दलितहरू बडिमालिका जाँदैनन् भन्ने विश्वास गरिन्छ। अन्य भक्तजनहरू जो बाटो देवी गएकी हुन् त्यही बाटो भएर जान्छन् । []

सरकारी पूजा

[सम्पादन गर्नुहोस्]

बडीमालिका मन्दिरमा सरकारका तर्फबाट एकजना मुख्य पूजारी बनाइएका छन् । हाल बाजुरा जिल्ला त्रिवेणी नगरपालिका वडा नं. ९ पैमाका नेत्र पाध्याय मुख्य पुजारीका रुपमा रहेका छन् । पैमाका पुजारी नेत्र पाध्याय र उनका दाजुभाइहरू छोराहरूले सरकारी पूजा गराउँछन् । सरकारी पुजा गर्दा सबैभन्दा पहिले डोटी जिल्लाबाट पठाईएको गोरखनाथको टोलीको तर्फबाट सरकारी पुजा हुने गर्दछ भने त्यसपछि जुम्ला जिल्लाबाट चन्दननाथको टोलीको तर्फबाट सरकारी पुजा हुने गर्दछ । त्यसपछि क्रमश: अछाम, बाजुराकालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा निजका प्रतिनिधिहरु लगायत अन्य कर्मचारीहरूको हातबाट देवीको सरकारी पूजा सम्पन्न हुन्छ।

पछिल्लो समयमा कालिकोट, जुम्ला, मुगु, अछाम, बाजुरा, कैलाली जिल्लाका स्थानीय सरकारका तर्फबाट समेत बडीमालिका मन्दिरमा सरकारी पुजा गर्ने प्रचलन रहेको छ । कैलाली जिल्लामा रहेको सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको तर्फबाट सम्वत् २०८२ साल साउन २३ गतेका दिन पहिलो पटक सरकारी पुजा गरिएको छ । धनगढी उपमहानगरपालिका नगर प्रमुख श्री गोपाल हमालको पहलमा २०८२ सालदेखि बडीमालिका मन्दिरमा सरकारी पुजाको थालनी गरिएको हो ।

प्राकृतिक सौन्दर्य

[सम्पादन गर्नुहोस्]

बडीमालिका धार्मिक मात्र नभएर पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडीमालिकाका गहना हुन् । बडीमालिकाको सौन्दर्य भनेकै विशाल फाँटहरू हुन् । बडमालिका क्षेत्रका ती विशाल फाँटहरुलाई स्थानीय भाषामा पाटन भनिन्छ । तर अचेल यी फाँटहरू बिस्तारै मासिँदै छन् । यी फाँटमा अनावश्यक चरन र जडीबुडी चोरी निकासीका कारण यसको सौन्दर्य मासिएको जिल्लाबासीको गुनासो छ ।

बडीमालिकामा प्रत्येक वर्ष जनै पूर्णिमाको अघिल्ला दिनहरु साउन त्रयोदशी देखि चतुर्दशीका दिन ठूलो मेला लाग्दछ । त्यो समयमा केही स्थानीय व्यापारीले खाजा नास्ताका पसल राख्ने गर्छन् । अन्य समयमा त्यहाँ खाजा नास्ताका कुनै पसलहरू खासै भेटिँदैनन् ।

बडीमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ । मन्दिर परिसरबाट आँखै अगाडी देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ । बडीमालीका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफै गर्नुपर्छ । यद्दपि साउन महिनामा लाग्ने मेलाको अवसरका बाटोमा त्रिपाल टाँगेर खान बस्नका लागि अस्थायी पसलहरु भने राखिएका भेटिन्छन् । तर ती पसलहरुले भक्तजनहरुको घुईंचोलाई धान्न भने सकेका हुँदैनन् ।

नेपालको विभिन्न जिल्लाका साथै भारतबाट पनि तीर्थालुहरू यहाँ मेला भर्न आउँछन् । भक्तजनहरूले आफूले मागेको वरदान पूरा हुन्छ भन्ने विश्वास गर्छन् । हालसम्म गंगा दशहरा र साउन त्रयोदशी देखि चतुर्शीसम्म गरी वर्षको दुईपटक मात्र लाग्दै आएको औपचारिक मेलाका कारण बडीमालिकाको महत्त्व सीमित छ । भक्तजनहरुको घुईंचो गंगा दशहरा भन्दा साउन चतुर्दशीमा बढी हुने गर्दछ ।

बडिमालिका मन्दिरसम्म पुग्नका लागि कालिकोट र बाजुरा जिल्लाका विभिन्न बाटोहरु प्रयोग गर्न सकिन्छ । कर्णाली प्रदेश र बाजुरा जिल्लाको नजिकको क्षेत्र बाहेक अन्य स्थानबाट बडीमालिका मन्दिर सम्म पुग्नका लागि सबै भन्दा सजिलो बाटो मार्तडी हुँदै जाने बाटो हो । नेपालको राजधानी काठमाण्डौं लगायतका क्षेत्रबाट यो बाटो हुँदै बडीमालिका जानका लागि सुदूरपश्चिम प्रदेशको धनगढीबाट बाजुरा जिल्लाको मार्तडीसम्म सडक यातायातको सुविधा छ । धनगढीबाट दिवा तथा रात्री सेवाका बसहरु वा आफ्नै निजी सवारी साधनको प्रयोग गरेर एक दिनमा पुग्न सकिन्छ । मार्तडीबाट पैदल हिडेर अर्को दिन फुल चढाउने ठाउँमा पुगेर बास बस्नु पर्ने हुन्छ । फुल चढाउने ठाउँमा एउटा सानो धर्मशाला त छ तर त्यो यात्रुका लागि पर्याप्त हुँदैन । तसर्थ आफैले टेण्ट बोकेर लैजानु बुद्धिमानी हुन्छ । त्यसको भोलीपल्ट भितीचिर्ना बास बस्न सकिन्छ भने पर्सि पल्ट त्रिवेणी पाटनमा बास बस्न सकिन्छ । त्रयोदशीको दिन बिहानै त्रिवेणीमा स्नान गरि बडीमालिका तर्फ लाग्ने हो भने बडीमालिका पुगिन्छ । त्यसैदिन वा भोली पल्ट बडिमालिका देवीकझ दर्शन तथा पुजा गरेर नाटेश्वरी तर्फ हिड्न सकिन्छ । नाटेश्वरी तर्फको बाटो साह्रै भिरालो र अत्यधिक चिप्लो भएकोले विहान र दिउँसोको समयम पारेर हिड्नु पर्छ । विहानै हिड्ने हो भने सोही दिन नाटेश्वरी पुगिन्छ भने दिउँसो हिड्दा ठूलागडासम्म बास बस्ने गरी पुग्न सकिन्छ । नाटेश्वरी तर्फ जाँदा विष्णुपानीका अस्थायी होटलमा खाना खान पाईन्छ । ठूलागडा बस्ने हो भने भोलीपल्ट १० बजेसम्म नाटेश्वरी पुगिन्छ । नाटेश्वरीमा जनैपूर्णिका दिन नाटेश्वरी माईंको दर्शन गरी नजिकै रहेको कालिका मन्दिरमा बलि पुजा गर्ने प्रचलन छ । नाटेश्वरीमा जनै फेर्ने र रक्षा बन्धनको काम पनि गरिन्छ । बलि पुजा गर्नेहरुले भातसँग बोकाको मासु प्रसादको रुपमा खाएर सोही दिन बुढीगंगा नगरपालिकाको बाम्का बजार तर्फ लाग्दछन् । बाम्का बजारबाट धनगढीका लागि बसहरु भेटिन्छन् । त्यही बस वा आफ्नै सवारी साधनबाट धनगढीको यात्रा गर्न सकिन्छ । यसरी यो रुटबाट यात्रा गर्दा कम्तिमा ६ दिन लाग्दछ । तर त्रिवेणी र बडीमालिकाका सुन्दर दृश्यहरु हेर्नका लागि २ दिन थप गरेर ८ दिन लगाउने हो भने १ दिन त्रिवेणी र १ दिन बडीमालिकामा रहेर थप आनन्द लिन सकिन्छ ।

हवाई मार्गको प्रयोग गर्ने हो भने नेपालगञ्जबाट बाजुराको बुढीगंगा नगरपालिकाको कोल्टी एअरपोर्टसम्म गएर त्यहाँबाट १ दिनमा बाजुराको सदरमुकाम मार्तडी पुग्न सकिन्छ । मार्तडीबाट माथि भनिए झैं यात्रा गर्न सकिन्छ । कोल्टीबाटै फर्कने हो भने फर्कदा बडीमालिका-त्रिवेणी-भितिचिर्ना-फुल चढाउने-मार्तडी- कोल्टी हुँदै फर्कन सकिन्छ ।

बाजुराबाट कोर्ध-बुढाकोर्ध-भितिचिर्ना-त्रिवेणी-बडीमालिकाको बाटो पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै बल्दे-पैमा पुजारीको घर हुँदै बडीमालिका जान पनि सकिन्छ । बाम्का बजार-मौरे-नाटेश्वरी हुँदै पनि बडीमालिका जान मिल्दछ । त्यस्तै बाम्का बजार-तोली-छतारा-पञ्चपुरी हुँदै पनि बडीमालिका जान सकिन्छ । बल्दे, बाम्का, पञ्चपुरीको बाटो प्रयोग गर्दा बडीमालिका पुगेर त्रिवेणी जानु पर्ने हुन्छ, त्रिवेणीमा नुहाएर फेरी बडीमालिका आउनु पर्ने हुन्छ ।

बडीमालिका ४,२२० मिटर उचाईंमा रहेको, बाटोहरु भिरालो रहेको, लेकाली विशालु जडिबुटीहरु फुलेर विश लाग्ने, लेक लाग्ने जस्ता कारणले बडीमालिका पुग्न जो कोहीलाई हम्मे हम्मे पर्दछ । तर पनि देवीको अनुकम्पाले अधिकाँश भक्तजनहरुले यात्रा पुरा गरेका हुन्छन् ।

बडीमालिकाको यात्रा गर्दा आजकाल ठाउँमा त्रिपाल राखेर खानाका लागि अस्थायी होटेलहरु राखिएका हुनाले खानाका लागि त्यति समस्या हुँदैन । तैपनि बाटोमा भोक लागेको बेला खानका लागि र बास बस्ने ठाउँमा खानेकुरा नपाएको अवस्थामा खानका लागि सातु वा आफुलाई मन पर्ने शुद्ध शाकाहारी ड्राई फुड बोकेर लैजान सकिन्छ । यसरी बोक्ने सामान भारी (गह्रौं) भने हुनु हुँदैन । भारी भयो भने बोकेर हिड्नलाई धेरै गाह्रो हुन सक्छ । लेक लाग्दा सुँघ्नका लागि पुजा गर्ने कपुर बोकिराख्नु भयो भने फाईदाजनक हुन्छ । पोलेको अदुवा, नुन खुर्शानी र टिम्मुर मिश्रित धुलो साथमा राखेर बेला बेलामा खानाले पनि लेक लाग्नबाट बच्न सकिन्छ । धेरै जसो ठाउँमा पानी नपाउने हुँदा पानीमा लागि बोटल साथमा राखेर हमेशा त्यसमा पानी भरिराख्नु पर्दछ । शौच सफा गर्न, मुख पुछ्न ट्वाइलेट पेपर, वेट टिस्यु पेपर साथमा लैजाँदा राम्रो हुन्छ । चिसोबाट जोगिन भिक्स, लिप गार्ड, इन्हेलर, कोल्ड क्रिम साथमा राखेर बेला बेला प्रयोग गर्नु बुद्धिमानी हुन्छ । जीउको दुखाई कम गर्न मुभ, सिटामोल जस्ता औषधी साथमा राखिराख्नु पर्दछ । रात्री सुत्नका लागि सिलिपिङ व्याग, टेण्ट, ज्याकेट, थर्मकोल लिनु भयो भने राम्रो हुन्छ ।

बडीमालिका क्षेत्रका सुन्दर दृश्यहरु कैद गर्नका लागि मोबाईल वा क्यामेराको साथमा पावर व्याकअप लैजानु पर्ने हुन्छ । पावर व्याकअप लिंदा कम्तिमा ६ दिनसम्म चार्ज गर्न मिल्ने क्षमता भएको पावर व्याकअप लैजानु पर्दछ ।

तस्विर ग्यालरी

[सम्पादन गर्नुहोस्]
  1. श्री स्वस्थानी ब्रतकथा
  2. जन जिब्रोमा प्रचलित कथा

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
सुदूर पश्चिमकी प्रख्यात नौ भगवतीका मन्दिरहरू
क्र.सं. मन्दिर नाम स्थान
बडिमालिका बाजुरा
बरदादेबी अछाम
शैलेश्वरी डोटी
उग्रतारा डडेलधुरा
त्रिपुरा सुन्दरी बैतडी
मेलौली बैतडी
निगालासैनी बैतडी
सुरमा बझाङ
गोदावरी कैलाली