बडिमालिका
बडिमालिका मन्दिर | |
---|---|
बडिमालिका मन्दिरमा रहेको मुर्ति | |
प्राथमिक विवरण | |
स्थान: | कैलाशमाण्डौ गाविस[१] |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | बाजुरा |
देश | नेपाल |
वास्तुकला प्रकार | हिन्दू |
बडिमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो यो स्थान सेती अञ्चलको बाजुरा जिल्लामा पर्दछ । यहाँ प्रति वर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ । बडिमालिकामा २ वटा पूजारीहरूले पूजा गर्छन् । यि मध्य १ जना कालिकोटबाट आउँछन् भने अर्को १ जना बाजुराका पूजारी छन् ।
किंवदन्ती[सम्पादन गर्ने]
पौराणिक कथा अनुसार महादेवकी पत्नी सतिदेवीका पिता दक्ष प्रजापतिले यज्ञा गर्दा महादेव र सतिलाई बोलाएनन् । सतिदेवि दक्ष प्रजापतीको यज्ञा स्थलमा गएर पितासँग आफ्ना पति महादेवलाई नबोलाउनाको कारण सोधिन् । दक्ष प्रजापतीले महादेव भाङ, धतुरो सेवन गर्ने, श्मसानमा वास गर्ने, गलामा सर्पको माला लगाउने, जटाधारी भेषमा रहने, शरिरभरी खरानी घस्ने, बाघको छालाको पहिरन गर्ने हुनाले यो यज्ञामा बस्दा शोभा भएकाले नबोलाएको भनि उत्तर दिए । आफ्ना पतिको यस्तो अपमान सहन गर्न नसकेर सतिदेविले यज्ञाकुण्डको अग्नीमा हाम फालेर प्राण त्याग गरिन् । त्यसपछी महादेव रिशाएर विरभद्रादी शिवगणलाई पठाएर दक्षलाई मारी दक्षको यज्ञा तहस नहस पार्न लगाए । त्यसपछी महादेव पत्नी वियोगमा पागल भएर सतिदेवीको मृत शरिर बोकेर पुरा विश्व घुम्न थाले । यसै बेला भगवान बिष्णुले आफ्नो चक्र सुदर्शण प्रहार गरी किरा पारेर सतिदेविको मृत शरिर कुहाए । यसरी ठाउँ ठाउँमा सतिका अङ्गहरू पतन हुँदै (झर्दै) खस्न थाले । यसरी ठाउँ ठाउँमा सतिका अङ्गहरू पतन हुँदै (झर्दै) खस्न थालेपछी जहाँ जहाँ सतिका अङ्ग पतन भए त्यहाँ त्यहाँ एक एकवटा सिद्ध पिठ बन्दै गए । यसै क्रममा मल्लागिरी प्रवतमा सतिको बायाँ कुम पतन भयो । त्यसै मल्लागीरीलाई अहिले मालिका भनिन थालियो । र यहाँ मल्लिका अथवा मालिका देवी शक्ति स्वरूपले रहन थालिन् ।[२] तसर्थ यस स्थानमा बडिमालिका मन्दिर स्थापना गरेर पूजा गर्न थालियो ।
भनिन्छ प्राचिन कालमा भगवतिले महिषासुर नामको दैत्यको बध गरी सके पछि कालिकोटको "द्वारेढुंगा" भन्ने ठाउँमा विश्राम गरेकी थिईन् । पछि गएर द्वारेढुंगामा एक जना दाउरा खोज्न गएको दलित भोकले व्याकुल भई देविसँग बहरको मासु र हिया गहुँको रोटी माग्यो । देविले त्यो दलितको मनोरथ पुरा गरी दिइन् दलितले पुरै बहरलाई एक्लै खान न सकिने भएकाले उसले आफ्नो घरका मान्छेलाई बोलाएछ । उसको घरको मानिसहरूले टाढा भएका कारण सुन्न सकेनन् । तब त्यो दलितलाई रिस उठ्यो उसले भगवतीलाई भन्यो हे! प्रमेश्वरी मेरा घरका सबै मान्छे मरुन् । देविले पनि इछ्छा अनुसार वरदान दिईन् । त्यसपछी बहरको मासु लिएर दलित घर गएछ । घरमा हेर्दा त सबै जहानहरू मरेका देख्यो । फेरी दलित रिसायर द्वारेढुंगा पुग्यो । देवि उसलाई देखेर ढोका बन्द गरी त्यहाँबाट भागिन् । दलिदले बहरको फिलाले देविको घरमा हानेको छाप अँझै द्वारे ढुङ्गामा देखिन्छ । यसो भएका कारण देवि हमेशाकालागी त्यो ठाउँ छोडेर त्रिवेणि, पंचपुरी पाटन, मल्ल पुरी पाटन हुँदै बडिमालिकामा गएर बसिन् । त्यसैले दलिदहरू बडिमालिका जाँदैनन् । अन्य भक्तजनहरू जो बाटो देवि गएकी हुन् त्यही बाटो भएर जान्छन् । [३]
सरकारी पूजा[सम्पादन गर्ने]
यो मन्दिरमा सरकारका तर्फबाट एक जना पूजारी बनाइएका छन् । हाल कालिकोट जिल्ला फुकोट गा.वि.स.का श्री शिवराज उपाध्याय तथा उनका भाईहरू, छोराहरू कुनै एकले सरकारी पूजा गराउछन् । डोटी, अछाम, बाजुरा, कालिकोट र जुम्लाका प्रमुख जिल्ला अधिकारी तथा अन्य कर्मचारीहरूको हातबाट देविको सरकारी पूजा सम्पन्न हुन्छ।
प्राकृतिक सौन्दर्यता[सम्पादन गर्ने]
बडिमालिका धार्मिक मात्र नभएर पर्यटकिय हिसावले पनि महत्त्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन् बडीमालीकाको सौन्दर्य भनेकै विशाल फाँटहरू हुन् । तर अचेल यी फाँटहरू बिस्तारै मासिँदै छन् । यी फाँटमा अनावश्यक चरन र जडीबुडी चोरी निकासीका कारण यसको सौन्दर्य मासिएको जिल्लाबासीको गुनासो छ । स्थानीय समाजसेवी गोपीराज पाध्याय बडीमालिका क्षेत्रलाई राष्ट्रिय निकुञ्ज घोषणा गरेर यसलाई संरक्षण गर्नुपर्ने बताउँछन् । बडीमालीका मन्दिर तथा फाँटसम्म जाने बाटो निकै अप्ठ्यारो छ । बाटोको सुविधा नभएका कारण जति पर्यटकको आगमन हुनुपर्ने हो, त्यति हुन सकेको छैन । बडिमालिकामा प्रत्येक वर्ष जनै पूर्णीमाका दिन ठूलो मेला लाग्छ । त्यो समयमा केही स्थानीय व्यापारीहरूले पसल राख्ने गर्छन् । अन्य समयमा त्यहाँ पसलहरू खासै भेटिँदैनन् । बडिमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ । मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ । बडीमालीका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफै गर्नुपर्छ । मन्दिर व्यवस्थापनले भक्तजनहरूलाई बास बस्नका लागि एउटा धर्मशाला बनाइदिएकाले भक्तजनहरू त्यहीँ बास बस्ने गर्छन् । मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष भन्छन् बडिमालीकामा सरकारको पहुँच नभएका कारण त्यहाँबाट जडीबुडीको चोरी निकासी हुने गरेको छ । सरकारले बडीमालीका जाने स्थानमा चेकपोष्ट राख्नुपर्ने उनको माग छ ।[४] हरेक वर्ष भदौमा यहाँ मेला लाग्छ । मुलुकका विभिन्न जिल्लाका साथै भारतबाट पनि तीर्थालुहरू यहाँ मेला भर्न आउँछन् । भक्तजनहरूले आफूले मागेको वरदान पूरा हुन्छ भन्ने विश्वास गर्छन् । हालसम्म गंगा दशहरा र जनैपूणिर्मा गरी वर्षको दुईपटक मात्र चल्दै आएको औपचारकि मेलाका कारण बडीमालिकाको महत्त्व सीमित छ । गाडीबाट बडीमालिका जान धनगढी वा नेपालगन्जबाट अछामको साँफेबगर पुग्नुपर्छ । त्यहाँबाट ब्रह्मतोलाको शेराबजारसम्म गाडीको सुविधा छ । बर्खायाममा भने सम्भव छैन । साँफेबगरबाटै हिँड्नुको विकल्प छैन । हवाईमार्गको प्रयोग गर्ने हो भने नेपालगन्जबाट बाजुरा विमानस्थल कोल्टी पुगिन्छ । कोल्टीबाट एक दिनको बाटो हिँडेर सदरमुकाम मार्तडी पुगिन्छ । सुदुर पश्चिमका पयर्टकीय स्थानहरूमा अति महत्त्वपूर्ण स्थलको रूपमा चिनिने बडिमालिका धार्मीक तथा ऐतिहासिक दृष्टीले महत्त्वपुर्ण मानिन्छ । मन्दिरमा पुग्न बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजारबाट पैदल हिंडेर जाँदा २ -३ दिनमा पुग्न सकिन्छ । यहाँ पुग्न जो कोहीलाई हम्मे हम्मे पर्दछ । आफुलाई आवश्यक पर्ने चामल पिठो, ओढ्ने ओछाउने र लगाउने कपडा, पकाउने र खाने भाँडाका साथै अन्य सरसमानहरू बोकेर दुर्गम बाटो, उकाली ओराली, भिर पहरा र भञ्ज्याङहरू पार गरेर यहाँ पुग्न कम चुनौती पूर्ण छैन । अग्लो चुचुरोमा रहेको बडिमाईको मन्दिर वरपर विभिन्न प्रकारका सुन्दर फूलहरूले र २२ पाटन (हरिया फाँट)हरूमा चर्दै गरेका भेडा, बाख्रा, भैंसी आदी जनावरहरूले यहाँको शोभा बढाएको हुन्छ । त्यस्तै गोठालाहरू र यात्रीहरूको मुखबाट गुन्जिने सुरिला देउडा भाकाले झनै यस ठाउँको सौन्दर्यता बढाउछ । यती हुँदा हुँदै पनि यो ठाउँ पर्यटकिय केन्द्र विन्दु बन्न सकिरहेको छैन । यसको थप प्रचार प्रसार गरेर नेपालको पर्यटकिय स्थलको रूपमा चिनाउन आवश्यक छ ।
तस्विर ग्यालरी[सम्पादन गर्ने]
श्रोत[सम्पादन गर्ने]
- ↑ "धार्मिक स्थलहरु" (नेपालीमा), www.fwdc.gov.np।
- ↑ श्री स्वस्थानी ब्रतकथा
- ↑ जन जिब्रोमा प्रचलित कथा
- ↑ बडिमालिका फोटो कथा
बाह्य कडीहरू[सम्पादन गर्ने]
- पर्यटक पर्खदै बाजुराको बडिमालिका
- सुरु भएन बडिमालिका संरक्षण योजना
- बडिमालिका यात्रा
- बडिमालिका फोटो फिचर
- स्वर्गको टुक्रा बडिमालिका
यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]
- सुदूर पश्चिमकी प्रख्यात नौ भगवतीका मन्दिरहरू
क्र.सं. | मन्दिर नाम | स्थान |
---|---|---|
१ | बडिमालिका | बाजुरा |
२ | बरदादेबी | अछाम |
३ | शैलेश्वरी | डोटी |
४ | उग्रतारा | डडेलधुरा |
५ | त्रिपुरा सुन्दरी | बैतडी |
६ | मेलौली | बैतडी |
७ | निगालासैनी | बैतडी |
८ | सुरमा | बझाङ |
९ | गोदावरी | कैलाली |