सर्प

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सर्प
Temporal range: Early CretaceousRecent,
112–0 Ma

वैज्ञानिक वर्गीकरण e
जगत: जन्तु जगत
Phylum: Chordata
Class: सरिसृप
Order: Squamata
Superfamily: Varanoidea
(unranked): Pythonomorpha
Suborder: सर्प
Linnaeus, 1758
Subgroups
World range of snakes
(rough range of sea snakes in blue)
ठूलो सर्प

सर्प एक घस्रने प्रजातीको मांसाहारी सरिसृप जीव हो। प्रकृतिको खाद्य श्रृंखलामा यो द्वितीय वा तृतीय उपभोक्ताका रूपमा रहेको हुन्छ। वैज्ञानिक अध्ययन–अनुसन्धान अनुसार सर्पका सबै प्रजातिहरू मांसहारी हुन्छन्। कोही कीरा–फट्याङ्ग्रा खान्छन् भने कोही भ्यागुता, मुसा जस्ता साना जनावरहरूको शिकार गर्दछन्। अजिंगरले त स–साना बनेल, हरिणका पाठालगायत मान्छेकै केटाकेटी पनि निलिदिन्छ। त्यसैले सर्प, साँप, नाग भन्नासाथ हामी डर, भय, त्रास, कौतुहल, रहस्ययुक्त मनस्थितिमा पुग्दछौँ, भ्रम र भ्रान्तिबोधका शिकार बन्दछौँ।

सर्प संबन्धि भ्रम हरू[सम्पादन गर्ने]

सपेराको साथमा सर्प्

नाग वा सर्पले दूध पिउँछ भन्ने एक भ्रम हो।

सर्पको बाहिरी कान हुँदैन। जमीनको कम्पनका आधारमा त्यसले आफ्नो बाटो पहिल्याउँछ। सपेराहरूको बिन पनि सर्पले सुन्दैन। बिनको नचाइमा सर्प झुल्ने मात्र हो। सपेराले बिन नघुमाउने हो भने गोमनले टाउको झुलाउँदैन। बिन सुनेर सर्प झुल्छ भन्ने पनि अर्को भ्रम हो। सर्पको जिब्रो देखेर हामी तर्सन्छौँ। हामीलाई विषवमन गर्ने, डस्ने अवयव नै त्यो फाटेको जिब्रो हो कि जस्तो लाग्छ तर त्यो अर्को भ्रम हो। सर्पको जिब्रो अति संवेदनशील ज्ञानेन्द्रीय हो। यसले आफ्नो शिकारको गन्ध पछ्याउन मद्दत गर्दछ। हाम्रो जिब्रो जस्तो खाद्य पदार्थको स्वादानन्द दिने अवयव पनि यो होइन।

सर्पले आँखा बन्द गर्न, झिम्क्याउन सक्दैन। सर्पको आँखाले क्यामराले जस्तो चित्र छायाङ्कन गर्ने र शत्रुको चित्र आफ्नो जोडी वा मित्रलाई उपलब्ध गराउने कुरा पनि मिथ्या हो। बरु कुनै कुनै सर्पले अँध्यारोमा देख्न सक्छन्। हिमाली क्षेत्रमा पाइने भाइपर सर्पको थुतुनोनिर केही थोप्लाहरू हुन्छन्। ती थोप्लाका सहायताले उसले न्यायो बस्तु ठम्याउन सक्छ। अँध्यारोमा तस्बिर खिच्ने इन्फ्रारेड क्यामरा यही सिद्धान्तमा निर्माण भएको हो।

कहिलेकाहीँ दुई सर्पले आपसमा बेरिएर टाउको उठाउँछन् र हेर्नेलाई अनौठो द्विविधामा पारिदिन्छन्। कसै कसैले यसलाई सर्पको सम्भोगका रूपमा अर्थ्याउँछन्। वास्तवमा यो दुई भालेको चाहिँ झगडा हो। निर्धो हारेर फर्केपछि बलियोले त्यस क्षेत्रको पोथीलाई आफ्नो बनाउँछ।

सबै सर्प विषालु हुँदैनन[सम्पादन गर्ने]

विश्वमा हालसम्म पन्ध्र परिवारअन्तर्गत करीब २ हजार ९ सय प्रजातिका सर्प पाइएका छन्। त्यसमध्ये नेपालमा करिब ८० देखि ८९ प्रजातिका सर्प पाइन्छ भन्ने जीवशास्त्री हरूको अनुमान छ। संसारमा पाइने करिब २ हजार ९ सय प्रजातिका सर्पमध्ये केवल ७ सय ५० मात्र विषालु छन्। अझ त्यसमा पनि केवल २ सय ५० प्रजातिका सर्प मानिसका लागि खतरनाक मानिन्छन्।नेपालमा पाईने सर्प मध्ये २० प्रजाति मात्र विषालु हुन्छन्। अझ त्यसमा पनि कोब्रा, करेत र दुई प्रजातिका भाइपर गरी केवल चार प्रजातिका सर्प मात्र मानिसका लागि खतरनाक मानिन्छन्। त्यसैले सर्प देख्नासाथ त्रसित हुनु आवश्यक छैन तर सतर्क भने हुनैपर्छ।

विषालु सर्पको टाउकोमा विषग्रन्थि हुन्छ। जुन एक प्रकारको र्‍याल हो। विषालु सर्पका मुखमा दाह्राजस्तै दाँत हुन्छ। जब सर्पले कसैलाई डस्छ उक्त विष विशेष दाँत मार्फत रक्तसञ्चारमा पुग्छ। सर्पको विषको प्रकृति हेरी यसले रक्तसञ्चार प्रणाली वा स्नायु प्रणालीमा आघात पुर्‍याउँछ। जसको उपचार बेलैमा हुन न सकेमा टोकेको जीव मर्न सक्छ। सर्पको प्रजाती अनुसार बिषको प्रभाव पनि फरक फरक हुन्छ।

संसार का सबै भाग हरूमा कुनै न कुनै प्रजाति का सर्प हरू पाइन्छ

सर्पको बानीबेहोरा[सम्पादन गर्ने]

सर्पको आँखा उतिसारो विकसित हुँदैन, न त यसको कान नै हुन्छ, तर पनि सर्पको घ्राणशक्ति र चिसो तातो थाहा पाउने क्षमता अति नै विकसित हुन्छ। जसका कारण उनीहरू आफ्नो सिकार पत्ता लगाउने, जाडो र गर्मीका बारेमा जानकारी पाउने, शत्रुबाट जोगिनेजस्ता क्रियाकलाप गर्न समर्थ हुन्छन्। सर्पको वातावरणमा भएको तापक्रम उतारचढाव थाहा पाउने क्षमता यति धेरै विकसित भएको हुन्छ कि उनीहरू केबल शून्य दशमलव ००३ डिग्री सेल्सियस तापक्रमको उतारचढावसमेत सहजै थाहा पाउन सक्छन्।

सर्पले खासगरी छेपारो, भ्यागुता, मुसा तथा साना स्तनधारी, अन्य सर्प तथा माछा, चरा, कीटपतंग आदिको सिकार गर्छन्। अजिंगर सर्पले ठूला मृगहरूको समेत सिकार गर्छ। सर्पले आफ्नो सिकारलाई नचपाई पूर्ण रूपमा निल्छ। सर्पले आफ्नो सिकारलाई डस्दैन, बल्कि प्रतिरक्षाका लागि मात्र शत्रुलाई डस्छ, तर केही सर्पले भने आफ्नो सिकारलाई बेहोस बनाउन वा मार्नसमेत डस्ने काम गर्छ। सामान्यतः सर्पले मानिसलाई डस्दैन। उसलाई घाइते बनाउने, चलाउने वा प्रत्यक्ष सम्पर्कमा आएपछि मात्र प्रतिरक्षाका लागि आक्रमण गर्छ।

कुखुरा निलिरहेको सर्प

धर्म-संस्कृतिमा सर्प[सम्पादन गर्ने]

हिन्दँ धर्म चराचर जगत्लाई साक्षात् ईश्वर मान्ने सनातन धर्मका रूपमा रहिआएको छ। त्यसैले पनि हिन्दँ धर्मग्रन्थहरूमा प्रकृतिका अनेक जीव वनस्पतिलाई ईश्वरको प्रतीकका रूपमा व्याख्या गरिएको पाइन्छ। हिन्दू धर्ममा सर्पलाई नाग देवताका रूपमा पूजा गर्ने चलन छ। नागपञ्चमीमा अष्टनागको पूजा गर्ने, शिवको मुकुटका रूपमा नागको पूजा गर्ने चलन छ। शेषनागले सम्पूर्ण विश्व ब्रह्माण्ड थामेको धार्मिक मान्यता छ, तर इसाई धर्ममा सर्पलाई सैतानका रूपमा व्याख्या गरिएको पाइन्छ। चिनियाँ पात्रो अनुसार विभिन्न प्राणीको नाममा वर्षको नामकरण गर्ने क्रममा सर्प वर्षसमेत रहेको पाइन्छ। मिश्रको सभ्यताअन्तर्गत प्राचीन मिश्रवासीले समेत सर्पलाई ईश्वरका रूपमा पूजा गर्थे। प्राचीन ग्रीकवासीहरूले पनि सर्पको सामथ्र्यलाई लिएर धेरै किंवदन्ती तयार पारेका छन्।

सर्पको संरक्षण[सम्पादन गर्ने]

सर्पदंशका प्रमावहरू

सर्पहरूको प्रजाती अनुसार यीनीहरूको लम्बाई, मोटाई, आदि आकारमा पनि भिन्नता पाइएको छ। हाल सम्मको अनुशन्धान् अनुसार अजिंगर सबै भन्दा ठूलो सर्प हो।संसारको सर्वाधिक विषालु सर्प राजगोमन अनि ठूला सर्पमध्ये एक मानिने अजिंगर पनि हामीकहाँ पाइन्छन्। अजिङ्गर ६–७ मिटरसम्म लामो हुन्छ र यसको तौल झण्डै १०० किलोग्राम हुन्छ। हाम्रो तेलिया साँप पनि संसारको सबैभन्दा सानो सापको श्रेणीमा पर्छ। १५ सेन्टीमिटर जति लामो यो सर्प गड्यौला जस्तो देखिन्छ। विश्वमा १० सेन्टिमिटर लामो फित्ते सर्पदेखि लिएर २५ फिट लामो अजिंगरसम्म पाइन्छ। यसैगरी ४३ फिट लामो सर्पको जीवावशेष फेला परेको छ।

एकातिर अज्ञानतावश, डरका कारण र यसको टोकाइबाट जोगिन सर्पलाई देख्नासाथ मारिहाल्ने चलन छ भने अर्कातर्फ व्यापारिक प्रयोजनका लागि पनि सर्प मारिन्छ। खासगरी सर्पको छालाबाट धेरै प्रकारका उपयोगी सामाग्री निर्माण गरिने भएकाले पनि यसको चोरी-सिकारी हुने गरेको छ। सर्पको विषबाट एन्टिभेनोम औषधी बनाउन सकिन्छ, जुन सर्पलगायतका विषालु जीवको डसाइमा उपचारका लागि प्रयोग गरिन्छ। विश्वका केही भागमा मासुका लागि समेत सर्प मारिएको पाइन्छ। सर्पलाई मनोरञ्जनको साधनका रूपमा समेत उपयोग गरिन्छ।

उडने सर्प[सम्पादन गर्ने]

उड्ने सर्पहरू पनि हुन्छभन्दा अचम्म लाग्न सक्दछ। दक्षिण अफ्रिकाको घना जङ्गलमा पाइने युरोपेलटाइडी नामको सर्प ज्यादै प्रसिद्ध छ। यो सर्प झण्डै तीन फिट लामो हुन्छ। यो सर्प 'गोमन' सर्पभन्दा दसौँ गुणा विषालु पनि हुन्छ। जब यो सर्प भोकाउँछ, त्यतिखेर एकदम आक्रामक हुन्छ। त्यसपछि शिकार खोज्ने क्रममा ग्लाईण्डर उडेझैं आकाशमा उड्न थाल्दछ। आकाशमा यसरी उड्दा पनि यो सर्पमा आफ्नो मुखमा आहार च्याप्न सक्ने बलियो क्षमता हुन्छ। हावामा उड्न सक्ने यस प्रकारको सर्पको पखेटा नभए पनि चरा उडेझैं उड्न सक्दछ।

अष्ट्रेलियाको जङ्गलमा पाइने ब्ल्याक डाइमण्ड जातिको सर्प चराले जस्तै रूखमा गुँड बनाएर बस्छ। यो जातिको सर्पहरू प्रतिघण्टा चालीस किलोमिटरसम्मको गतिमा उड्न सक्दछ। जङ्गलमा पाइने जुनसुकै प्रकारका चराहरू पनि यस्ता सर्पको आहार बन्न सक्छन्। झण्डै १० वर्ष अगाडि स्थानीय अमेरिकी शिकारीले वासिङ्टन पोस्ट पत्रिकाको रबिवारीय परिशिष्टमा प्रकाशित भएअनुसार "मिश्रको घना जङ्गलमा उड्नसक्ने अनौठो जातिका सर्प पाइन्छन्। त्यस प्रकारका सर्पहरू तीन/चारवटाको सङ्ख्या भएपछि जतिसुकै ठूलो जनावरलाई पनि आक्रमण गर्न तयार हुन्छन्। जबकि उनीहरूको जमात ठूलो भएमा कहिलेकाहीँ हात्तीलाई पनि आक्रमण गर्न सक्दछन् र आफ्नो शिकार बनाउँछन्।" त्यसैगरी साइवेरियाको जङ्गलमा रातो, हरियो, खैरो र पहेँलो रङका यी सर्पहरू एउटा रूखबाट अर्को रूखमा उडेर जाने आउने गर्दछन्। यस प्रकारका सर्पहरू जमीनबाट झण्डै तीन सय फिट उचाइसम्म उड्न सक्दछन्। यस्तो खेलेको बेलामा अन्य जनावरले जिस्काएमा डसेर पनि आक्रमण गर्दछन्।

एसियाका केही राष्ट्रमा पनि उड्ने सर्पहरू पाइन्छन्। एक प्रकारको उड्ने सर्प केबल एक फिट लामो हुन्छ। यो जातिको सर्प एकदम विस्तारै उड्छ। श्रीलंकामा पाइने यस्तो सर्प विषालु भने हुँदैन। यस कारण यस्तो सर्प घरमा नै पालेर मासुसमेत खाने गर्दछन्। स्पेनको घना जङ्गलमा पाइने उड्ने सर्प एकदम डरलाग्दो हुन्छ। १५ देखि २० फिटसम्म लम्बाई भएको यो सर्पको लम्बाईअनुसारको मोटाई हुनुका साथै दुवैतिर मुख पनि हुन्छ। यो सर्प जमीनमा घस्रँदाघस्रँदै कुनै पनि बेला कुनै पनि दिशामा सजिलै उड्नसक्छ। यस्तो सर्पदेखि जङ्गलमा पाइने ठूलो जनावर सिंहसमेत डराउने र आतङ्कति हुने गर्दछ किनभने यस्तो सर्पले सिंहलाई नजीक देखेमा सिंहलाई डसेर रगत पिउन मन पराउँछ।

त्यसैगरी दक्षिण एसियामा पनि प्रशस्त उड्ने सर्पहरू पाइन्छ तर यहाँका उड्ने सर्पहरू दिउँसो प्रायः लाटो कोसेरोझैँ सुत्ने गर्दछन्। जब राति हुन्छ, अनि आकाशमा उड्न थाल्दछन्। यसरी राति उड्दा यी सर्पहरूसँग चमेरो, लाटोकोसेरो, गौथलीसँग भिडन्त हुने गर्दछ। साथै यस प्रकारका सर्पहरूले लाटो कोसेरो, चमेरो आदिलाई आफ्नो आहार बनाउँछन्। नेपालमा पनि थुप्रै जातिको सर्पहरू पाइए पनि उड्ने सर्प भने छैन तर पनि कोब्रा र गोमन जातिका सर्पहरू उड्न नसके पनि झण्ठै ११/२ फिटसम्म ठाडो भएर घस्रन भने सक्दछन्।

सर्पको टोकाइबाट कसरी बच्न सकिन्छ[सम्पादन गर्ने]

बर्सेनि गर्मीयाममा तराईमा सर्पको टोकाईबाट थुप्रै मानिसको ज्यान जाने गरेको छ । तराईको उष्ण मनसुनी हावानी सर्पका लागि अतिउपयुक्त मानिन्छ । यसैकारण तराईमा प्रशस्त सर्प पाईन्छन् । पहाडको समशितोष्ण र हिमाली प्रदेशको शीतयुक्त हावापानीमा भने सर्पको त्यति धेरै प्रकोप छैन । तर केही जातका सर्प भने अवश्य पाइन्छ । विश्वभर करिब ३५ सय प्रजातिका सर्प पाईन्छन् जसमध्ये ७७ प्रजातिका सर्प विषालु हुन्छन् । नेपालमा भने ३ सय ७५ प्रजातिका सर्प पाईन्छन् जसमध्ये २२ प्रजातिका सर्प विषालु छन् । नेपालमा विषालु सर्पहरू तराई प्रदेशको समुन्द्री सतहबाट १०० मिटरदेखि ४८०० मिटरसम्मको उचाईमा पाईन्छन् । तराई तथा भित्री तराईका करिब २६ जिल्लामा गोमन (कोब्रा) करेंत, हरेऊ, बाघे (भाईपर) जातका विषालु सर्प पाईन्छन् । वर्षायाममा देखिने धामन, ढोडिया, हरहरे जातका सर्पको विष लाग्दैन । मध्य पहाडी तथा हिमाली प्रदेशमा पीट भाईपर जातको विषालु सर्प पाईन्छ ।[१]

कति पीडित हुन्छ सर्पको टोकाईबाट[सम्पादन गर्ने]

नेपालमा बर्सेनि १० हजार मानिस सर्पको टोकाईबाट पीडित हुने गरेको तथ्यांक छ । तीमध्ये १५ सयदेखि २ हजार व्यक्तिलाई विषालु सर्पले टोक्ने गर्छ । तथ्यांकअनुसार सर्पले युवा (१५देखि२० वर्षसम्मका) लाई प्रायः रातीको समयमा टोक्ने गरेको छ । वैशाखदेखि भदौसम्म (गर्मी तथा मनसुन याममा) सर्पको प्रकोप बढी हुने गर्दछ ।[१]

किन टोक्छ सर्पले[सम्पादन गर्ने]

जाडो समयमा सर्पहरू कुनै न्यानो ठाउँमा हलचल नगरी केही नखाई बसिरहन्छन् जसलाई बैज्ञानिक भाषमा हाइवरनेसन भनिन्छ । तर गर्मीयाममा सर्पहरू बाहिर निस्कन्छन् । प्रायजसो सा“झ परेपछि सर्पहरू आहार (मुसा, भ्यागुतो, किरा फट्यांग्रा) को खोजीमा खेतबारी, बच्चा खेल्ने ठाउँ तथा मानिसको घरसमेतमा आउने गर्छन् । मुख्यतः करेँत सर्प मानिसको घरमा समेत पस्छन् । सर्पको आहारा मानिसको बालीनालीलाई बिगार्ने मुसा र किराफट्यांग्रा हुने भएकाले धेरैले यसलाई राम्रो मान्छन् र मार्दैनन् पनि । सर्पको आहार मानिस होईनन् । बरू मानिसदेखि सर्प डराउछन् । त्यसैले सर्पले मानिसलाई हत्तपत्त टोक्दैन । यदि कसैले जान अन्जानमा सर्पलाई चलाएमा प्रत्याक्रमणस्वरुप वा आफ्नो बचाउका लागि सर्पले टोक्ने गर्छ । घरभित्र पसेको करेँत सर्पलाई निदाएको व्यक्तिले हातखुट्टा चलाउँदा वा घच्चा लागेमा सर्पले आफ्नो बचाउस्वरूप निदाएको मानिसलाई टोकिदिन्छ [१]

कसरी छुट्याउने बिषालु सर्प[सम्पादन गर्ने]

हुन त सर्पलाई हेरेर विषालु वा विष नलाग्ने भनेर छुट्याउन गाह्रो हुन्छ । विषालु सर्पको मुखमा दुईवटा फ्याक (भाँचिएको भए एउटा, त्यो पनि नहुन सक्छ) तथा कत्ला पेटको एक छेऊदेखि अर्को छेऊसम्म हुन्छ । टाउकोको कत्ला सानो तर धेरै हुन्छ । तर सर्प हेरेरै भने ढुक्क हुनुुहुदैन । विषालु सर्पको विष तीन प्रकारको हुन्छ ।

  • १. हिमोटक्सिन (रगतमा असर गर्ने )
  • २. न्यूरोटक्सिन (स्नायू तन्तुमा असर गर्ने)
  • ३. मायोटक्सिन (मांसपेशीमा असर गर्ने ) ।

यिनै विषको आधारमा बिरामीमा लक्षण देखिन्छ । [१]

सर्पको टोकाईबाट कसरी बच्ने[सम्पादन गर्ने]

सर्पको टोकाईपछि उपचार गर्नुभन्दा सर्पको टोकाईबाट बच्नु नै उत्तम हो । यस्ता व्यवहारिक उपाय अपनाएर सर्पको टोकाईबाट बच्न सकिन्छ ।

  • १. सर्प प्राय राती निस्कने गर्छ । त्यसकारण प्रकाश दिने वस्तु टर्च, लाल्टीन आदि बोकेर मात्र तथा खुट्टामा जुत्ता र शरीर ढाक्ने कपडा लगाएर मात्र बाहिर हिडडुल गर्नुपर्छ ।
  • २. घर वरपर वा बच्चाहरूले खेल्ने ठाउँमा झार, जंगल वा झ्यास भए हटाउने वा जमिनमा रहेका दुलाहरू पुर्नुपर्छ ।
  • ३. सर्प बस्ने ठाउँहरू जस्तै परालको थुप्रो, दाउराको चाङ ढुंगा वा ईटाको थुप्रो कुनाकाप्चा वा प्वालमा चलाउनुपरेमा पहिला लामो लठ्ठीले चलाएरमात्र हातले चलाउनु पर्छ । त्यस्ता सर्प बस्ने ठाउँहरु घर वरपर कदापि हुनुहुन्न ।
  • ४. सर्पलाई जिस्क्याउनु वा चलाउँनु हुँदैन, कतिपय सर्प निकै नै रिसाहा हुन्छन् र सामान्य रूपमा चलाए पनि टोकिहाल्छ ।
  • ५. सर्पले मरेको जस्तो स्वाङ पार्न सक्छ, त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनुहुँदैन । बरू अलि लामो लठ्ठीले चलाएर मरे–नमरेको यकिन गर्नुपर्छ ।
  • ६. साना–साना नानीले खेल्दा सर्प बस्न सक्ने ठाउँलाई हातले चलाउने, दुलोमा हात घुसार्नेजस्ता काम गर्न सक्छन् र सर्पले टोकी सकेपछि डरका कारण अभिभावकलाई नबताउने हुनसक्छन् । त्यसकारण सर्पका बारेमा केटाकेटीलाई पूर्ण जानकारी गराउनुपर्छ र टोकी हालेमा तुरुन्त खबर गर्नु भनी सिकाउनु पर्छ । यसका साथै अभिभावकले आफ्नो बच्चामाथि विषेश निगरानी राख्नु पर्छ ।
  • ७. राती सुत्दा झूलको प्रयोग गर्नु पर्छ ।
  • ८. सर्पको बढी प्रकोप भएको ठाउमा सकभर एक्लै हिड्नु हुँदैन ।
  • ९. ताल—तलाऊ, नदी—नालामा पनि विषालु सर्प हुने भएकाले विशेष सावधानी अपनाउनु पर्छ ।

सर्पले टोकेमा देखिने संकेत टोक्ने सम्पूर्ण सर्प विषालु हुँदैनन् । ८० प्रतिशत सर्पहरूको टोकाई विष नलाग्ने खालको हुने गरेको एक तथ्यांकले देखाएको छ । तर सर्पले टोकेमा मान्छे आत्तिने गर्छन् । यसले उनीहरूमा तनाव सृजना भई हृदयाघात हुन्छ र त्यसैकारणले पनि मृत्यु हुने गरेको छ । विषालु सर्पले टोकेमा विषको प्रकारको आधारमा लक्षण देखापर्न थाल्छ :-

सामान्यतया सर्पले टोकेको ठाउँमा यस्ता लक्षण देखिन्छन्:-
  • क) दुईवटा फ्याक (डसेको चिन्ह) हुन्छ ।
  • ख) सुन्निन्छ
  • ग) दुख्छ
  • घ) रगत बग्न सक्छ
  • ङ) फोका आउन सक्छ
  • च) टोकेको क्षेत्रका लिम्फनोड बढ्न सक्छ ।
  • छ) ढिलो भएमा पाक्ने, संक्रमित हुने र तन्तुहरू मरेर जाने हुनसक्छ ।


टोकेको भागभन्दा शरीरका अन्य भागमा देखिने लक्षण:-


  • चक्कर लाग्ने तथा बान्ता आउने
  • अल्छी लाग्ने
  • पेट दुख्ने
  • सम्पूर्ण शरीर दुख्ने
  • तनाव सृजना हुने
  • बिरामी निदाउने
  • रक्तचाप कम हुने
  • नडीको चाल बढ्ने
  • ढिलो देखिने लक्षण
  • बान्ता आउने
  • बिरामी शकमा गई बेहोस हुनसक्ने
  • फोक्सो सुनिन गई श्वास फेर्न गाह्रो हुन्छ ।
  • रगतमा असर पार्ने विष लागेमा अत्याधिक रक्तश्राव हुने तथा नाक, कान, आ“खा, गिजा, मुख, पिसाबमार्ग तथा योनिमार्गबाट समेत रक्तश्राव भई बिरामीमा पानीको मात्रा कम हुने र बेहोससमेत हुने गर्छ ।
  • स्नायुतन्तुमा असर गर्ने विष भएमा ¥याल बढी बग्ने, आँखाका ढकनी तल झर्ने, मुटुको चाल बढ्ने । श्वास फेर्न गाह्रो हुने गर्दछ ।[१]

सर्पले टोकी हालेमा के गर्ने[सम्पादन गर्ने]

सबै सर्प विषालु हु“दैनन् र टोक्नासाथ व्यक्तिको मृत्यु पनि हु“दैन । तुरुन्त मृत्यु भएमा बिरामी डराएर मुटुघात भई मृत्यु भएको बुझ्नु पर्दछ । विष सर्न केही समय लाग्ने भएकाले विषकै कारणचाहिँ अलि समय पछि मृत्यु हुने गर्दछ । सर्पले टोकी हालेमा बिरामीले यस्ता उपाय अपनाउनुपर्छ

  • १. तनाव कम गर्न बिरामीलाई सान्त्वना दिने
  • २. टोकेको ठाउको तल्लो जोर्नीदेखि माथिल्लो जोर्नीसम्मको भागमा २ औंला छिर्ने गरी खुकुलो व्यान्डेज वा १० सेन्टिमिटर चौडा कपडाले बेर्ने (प्रेसर व्यान्डेज)
  • ३. टोकेको भागलाई हल्लिन नदिन स्प्लिन्ट (काम्रो) को प्रयोग गर्ने र सक्दोचा“डो बिरामीलाई अस्पताल वा सर्पदंश केन्द्रमा पुर्याउने ।
  • ४. सर्प मरेको भए पहिचानका निमित्त अस्पताल लैजाने, तर हरेक सर्पलाई चिकित्सकले चिनेकै हुनुपर्छ भन्ने हुन्न
  • ५. उपचार नहुन्जेलसम्म बिरामीलाई पानीसमेत नखुवाउने[१]

सर्पले टोकेमा के गर्नु हुदैन[सम्पादन गर्ने]

हाम्रो समाजमा अन्धविश्वास व्याप्त भएकाले सर्पले टोकेमा यस्ता कार्य गर्नुहुँदैन

  • १. सर्प मार्ने प्रयास नगर्ने बरू विरामीलाई प्राथमिक उपचार दिने र सक्दो चाँडो अस्पताल पुर्याउने
  • २. टोकेको ठाउलाई नचलाउने, चलाएमा शरीरमा विष चाँडै पस्न सक्छ
  • ३. बिरामीलाई सन्चो नभएसम्म वा अस्पतालमा उपचार नगर्दासम्म प्रेसर व्यान्डेज नहटाउने ।
  • ४. ब्यान्डेज धेरै कसेर बाँध्नुहुदैन तथा डोरीले टोकेको भागभन्दा माथि बाँध्नु हुदैन यसो गरेमा रक्त सञ्चार रोकिन गई त्यस भागका तन्तु मर्न सक्छन् र ती भाग÷अंग नै नष्ट हुन सक्छन् ।
  • ५. धामीझाँक्री, तन्त्रमन्त्र तथा झारपातको प्रयोग गरेर बिष लागेको वा नलागेको छुट्याउन सकिंदैन । बरू बिरामीको ज्यान जान सक्छ तसर्थ सक्दो चाँडो बिरामीलाई अस्पताल पु¥याउनुपर्छ ।
  • ७. पुराना विधि जस्तै ः धारिलो हतियारले चिर्ने, अंग नै काट्ने, डढाउने गर्नुहुँदैन यसो गर्नाले अत्यधिक रक्तश्राव भई मृत्युसमेत हुन सक्छ ।
  • ८. टोकेको ठाउमा रसायनको प्रयोग पनि गर्नु हुदैन ।
  • ९. मुखले चुस्ने वा सक्सनले विष तान्ने जस्ता कार्य पनि गर्नुहुँदैन ।[१]

हाम्रो समाजमा व्याप्त केही अन्धविश्वास[सम्पादन गर्ने]

हाम्रो समाजमा केही अन्धविश्वासहरू अझै पनि व्याप्त छन । आधारहीन यस्ता अन्धविश्वासका कारण सर्पको टोकाईबाट कयौंको ज्यानसमेत जाने गरेको छ । हाम्रो समाजमा यस्ता केही अन्धविश्वास अझैं पनि व्याप्त छन् ।

  • १. खुर्सानी खाएर सर्पले टोके–नटोकेको थाहा हुन्छ ।
  • २. धामीझाँक्रीले फूकेको भरमा सर्पको विष हराएर जान्छ ।
  • ३ कुखुराको मल टोकेको भागमा लगाउँदा विष हराएर जान्छ ।
  • ४. टोकेको भागभन्दा माथि कसेर बाँधेमा सर्पको विष माथि सर्दैन ।[१]

के गर्नुपर्छ अब[सम्पादन गर्ने]

सर्पको प्रकोप भएको तराईका जिल्लामा सरकारले सर्पसम्बन्धी जानकारीमुलक कार्यक्रम ल्याउनु अति आवश्यक छ साथै उपचारका लागि उचित व्यबस्था मिलाउनु पनि उत्तिकै आवश्यक छ । हुन त सरकारले विराटनगर, जनकपुर, चितवन तथा नेपालगञ्जमा यससम्बन्धी तालिम दिएर सर्प उपचारसम्बन्धी जानकारी राख्ने करिब पाँचसय जनशक्ति उत्पादन गरिसकेको छ । अस्पतालमा सर्प विष प्रतिरोधात्मक सेरम को प्रयोगबाट सर्पको विषलाई समाप्त पार्ने गरिन्छ । नेपालमा पाईने एएसभी धेरै विषहरूको विरूद्धमा हुन्छ त्यसैले यसलाई पोलीभेलेन्ट एएसभी भनिन्छ । विदेशमा भने कुनै खास विषविरुद्ध लड्ने खालको एएसभी पनि पाईन्छ र त्यस्ता एएसभीलाई मोनोभ्यालेन्ट एएसभी भनिन्छ । तर उपचार पद्दति भए पनि उपचार पाएर सबै बिरामी बा“च्छन् भन्ने ग्यारेन्टी हुन्न त्यसैले सर्पको टोकाईबाट बच्ने उपाय जानिराख्नु पर्दछ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

के सर्पले दूध पिउँछ?