शोभा भगवती

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

शोभा भगवती काठमाडौंंको पश्चिममा बिष्णुमति नदीको किनारमा रहेको पबित्र देवी पिठ हो |

परिचय[सम्पादन गर्ने]

"ऊँ ह्रीं स्वाहा भगवत्यैय नमः" भन्ने स्तोत्रले सबै भक्तजनलाई स्वागत गर्ने प्यागोडा शैलीमा रहेको यो मन्दिरमा श्रद्धालु भक्तजनहरूको प्रशस्त घुइँचो लाग्ने गर्दछ। एतिहासिक महत्व राख्ने भगवतीको मूर्ति साढे दुई फिट उचाइको प्रस्तर मूर्ति हो। मूर्तिमा भगवतीको बयान गर्दा विविध आयुधहरू समातेको, महिषासुरको दमनको रूपमा छ। यो शोभाभगवतीको मूर्ति तान्त्रिक आधारमा बनाएको छ। तन्त्रशास्त्रमा यिनीलाई 'वगला' पनि भन्ने गर्दछन्। नेपालीहरूको जनजीवनमा अत्यन्त शुभकारिणी भगवती भनेर मान्ने यी भगवतीलाई शुभाभगवती पनि भन्ने गरेको छ। नवौँ शताब्दीतिर मातृका देवीको अनेकौँ मूर्तिहरू बनाउने सिलसिलामा शोभाभगवतीको पनि स्थापना गरेको अनुमान छ। नेपालमा शक्तिपूजाको परम्परा निकै पुरानो छ। उसबेला भक्तजनहरू गाउँगाउँ, टोलटोल, पीठपीठमा, मूलबाटो, देवालय, मन्दिरमा शक्तिपूजाका लागि देवदेवीहरूको मूर्ति स्थापना गरेको हुन्छ। नेपालमा पनि शक्तिपूजाको सुरुवात निकै पुरानो भएकोले विभिन्न भगवतीहरूको स्थापनाको सिलसिलामा शोभाभगवतीको पनि स्थापना भएको हुनुपर्छ।

प्रतिमा स्वरूप[सम्पादन गर्ने]

पलाञ्चोक भगवती, नक्शाल भगवती र शोभा भगवतीको प्रतिमा एकै शिल्पकारले बनाएको किम्बदन्ति रहेको छ |मूर्तिकारहरूले यसमा आफ्नो कुशल कलाकारिता देखाएकोले पनि भगवतीको मूर्ति निकै प्रभावशाली भएको छ। नेपालमा प्राचीनकालदेखि नै प्रसिद्धि पाएका चार भगवतीहरूमा गुहृयकाली, दक्षिणकाली, बज्रयोगिनी र शोभागवती उल्लेख्य छन्।

तन्त्रशास्त्रमा शोभाभगवतीलाई बगला मानेकोले यसका प्रमुख तीन लक्षणहरू शास्त्रमा उल्लेख गरिएको ः

  • तातो सुनको जस्तो वर्णकी, चतुर्वाहु, त्रिनेत्र, कमलमाथि बसेकी, दायाँ बाहुमा मुद्गर र पास, बायाँ बाहुमा जिभ्रो र बज्र लिएकी पीताम्बरा हेमकुण्डला अर्धचन्द्र शेखरा पीतभूषणा स्वर्णसिंहासनस्थित वृत्त पीनधनस्तनी बगलाको ध्यान गर्नुभएको।
  • दुई बाहुकी, बायाँ हातमा शत्रुको जिभ्रो र दायाँ बाहुमा मुद्गर लिएकी, पीताम्बरा, क्षीरसमुद्रको माझको मणिमण्डपको रत्न सिंहासनमा विराजमान बगलाको दोस्रो रूप हो।
  • सुवणरासना त्रिनेत्रा पीताम्बरा, सुरर्णवणरा चन्द्रार्धमुकुटा चाँपको फूलको माला लाएकी, चतुर्बाहुमा मुद्गर, पाश, वन्धन र रशना धारण गरेकी बगला अर्को रूप हो।

परापूर्वकालदेखि नै दुःख, दरिद्र, युद्धमा विजय, शत्रुको संहार, कामकाजमा सफलता, पदोन्नति, साहसिक कार्यका लागि भगवतीको आराधना गर्ने नेपालीको धार्मिक आस्था हो। समय-समयमा पौराणिक देवदेवीहरूले विभिन्न रूप धारण गरेका हुन्छन्। धार्मिक क्षेत्रमा स्त्रीशक्तिको निकै महत्वपूर्ण स्थान छ। सर्वोत्तम शक्तिको उपासना स्त्रीको रूपमा हुन्छ। यसैले हरेक भगवती मन्दिरमा हिन्दू र बौद्ध धर्मावलम्बीहरूको घुइँचो लाग्ने गर्दछ। यो नेपाली समाजको धार्मिक समन्वय, सहिष्णुता र सहअस्तित्वको पहिचान हो।

किम्बदन्ती[सम्पादन गर्ने]

शोभाभगवती मन्दिरको एउटा विशेषता के छ भने यस मन्दिरभित्र भगवतीको मूर्तिका पछाडि सँगै जोडिएको एउटा बौद्ध चैत्य छ। यो बौद्ध चैत्य रहनुमा किंवदन्ती नै छ। कुनै समयमा गर्जु बज्रबाद आˆना शिष्यहरूले हैरान गरिरहँदा दिक्क भएर भचाखुसी (निर्मल तीर्थ) नजीकैको कर्णदीपमा ध्यान बस्दाबस्दै त्यहाँ बालुवाको विशाल चैत्य निर्माण गरियो तर त्यस चैत्यलाई कोही विध्वंसकारीहरूले भत्काइदिँदा सोही चैत्यबाट शोभाभगवती प्रकट भई यस्तो चैत्य भत्काइनुहुन्न भन्ने आज्ञा दिइयो। सो चैत्य यथास्थितिमा राखियो। आजसम्म पनि सो चैत्य शोभाभगवती मन्दिरसँगै जोडिएर रहेको देख्न सकिन्छ। यस्तै यस शोभाभगवती मन्दिरको दक्षिण भागको माथिल्लो स्थानमा प्रसिद्ध विजयश्वरी देवीको मन्दिर छ। यो शोभाभगवतीस्थित चैत्य र यहाँ रहेको विजयश्वरी देवी -विद्याधारी) सँग पनि प्रगाढ सम्बन्ध रहेको छ। बाला चतुर्दशीका दिन विजयश्वरी देवीको गरगहना मात्र बाहिर ल्याई जात्रा गर्ने चलन छ। यस्तै, बाह्र वर्षे मेलाको अवसरमा भित्र आगम् (बही) बाट मूर्ति नै बाहिर ल्याई निर्मल तीर्थ -भचाखुसी)मा ल्याई महास्नान गराई शोभाभगवतीसँगै भित्र रहेको बौद्ध चैत्यमा पूजाआजा गरी जागा गर्ने चलन यद्यपि छँदैछ।

पूजाआजा[सम्पादन गर्ने]

निक्कै प्रसिद्धी पाएको शोभाभगवती मन्दिर भित्र श्रीदुर्गा सप्तशती, श्रीअर्गलस्त्रोत्र प्रथम श्लोक "मार्कण्डेय उवाच : जयन्ती महाकाली, भद्रकाली कपालिनी दुर्गाक्षमा शिवाधात्रि स्वाहा स्वधानमोस्तुते" जस्ता मन्त्रोचारण भित्तामा कोरिएको छ। मन्दिर वरिपरि अष्टमातृका-ब्राम्ही, वैष्णवी, माहेश्वरी, बाराही, इन्द्राणी, कौमारी, चामुण्डा र महालक्ष्मीका मूर्तिहरू कुँदिएका छन्। यस्तै, नवदुर्गा ब्रम्हचारिणी, एक स्कन्ध माता, कृष्माण्डा, चन्द्रघण्टा, कात्यायिनी, कालरात्रि, महागौरी, सिद्धिदात्री र अन्य मूर्तिहरू ठाउँठाउँको भित्तामा कुँदिएका छन्। कलाकारिता पूर्णरूपमा सजिएको तोरण र अन्य महाकाल मूर्तिले शोभा दिएको छ। जसरी नेपालका बौद्ध बज्राचार्यहरू, काल भैरव, स्वेत भैरव, महाकाल भैरव, सङ्कटा, पलाञ्चोक भगवती, नुवाकोट भगवती, मनकामना भगवतीको पूजारी भएझैँ यहाँ शोभाभगवतीको नित्य पूजा गर्ने पूजारीमा मखनबहालका एक बज्राचार्य परिवारले गर्दै आएका छन्। बौद्ध भइकन पनि हिन्दू देवदेवीहरूको पूजारी हुनु यहाँको आफ्नै विशेषता छ।

बर्सेनि विजयादशमी, नवरात्रिको अवसरमा द्वितीयापूर्वका दिन निर्मल तीर्थ भचाखुसीमा नवरात्रि मेला लाग्दछ। दसैँको अवसरमा सबै दिन भक्तजनहरू पूजापाठका लागि शोभाभगवती दर्शन गर्न आउँछन्। बर्सेनि मङ्सिर कृष्णपक्षको चतुर्दशी 'बालाचतुर्दशी'को दिन छवटा देवदेवीका जात्रामा शोभाभगवतीको मूर्ति पनि रथमा राखी विधिपूर्वक जागा गरी नगर परिक्रमा गराइन्छ।

शोभाभगवती वरिपरि विभिन्न मसानघाटहरूमा नजीकै कर्णदीप छ भने पूर्वतिर खोलापारि इन्द्रायणीघाट छ। साथै यहाँ विशाल इन्द्रायणी मन्दिर छ, जसलाई लुती अजिमा भन्ने गर्दछन्। यसैले यो ठाउँको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व रहेको छ। यस शोभाभगवतीको संरक्षणार्थ धेरै वर्ष अघिदेखि नै प्रयास हुँदै आएको छ। सबैको कल्याण भई शुभकार्य गरिदिने, शोभाभगवती मन्दिरको जीर्णोद्धार पहिलेदेखि नै हुँदै आएको छ। हाल शोभाभगवतीको संरक्षणको लागि व्यवस्था गर्न विभिन्न समितिमा 'शोभाभगवती देवस्थल संरक्षण समिति २०३८' शोभाभगवती विजेश्वरी तथा इन्द्रायणी विकास समिति गठन गरिएको पाइन्छ। यहाँ धेरै अघिदखि दैनिकरूपमा विभिन्न देवदेवीहरूको स्त्रोत्रको भजन गर्दै आएका छन्। निकै प्रसिद्धि पाएको शोभाभगवती मन्दिरमा आ-आफ्नो मनोकामना पूरा गर्न विभिन्न पूजा र बलि चढाउन आउनेहरूको घुइँचो हुने गर्छ। अझ विशेष गरेर कर्मचारी वर्ग पदोन्नतिका लागि श्रद्धापूर्वक भगवतीको दर्शन गर्न आउँछन्। धार्मिक विश्वासका कारण धर्मप्रति आस्था राख्ने नेपालीहरूको शुभकार्य गरिदिने शोभाभगवती देवीले सबैको कल्याण गरेकीले दर्शनार्थीहरू झन्झन् बढ्दै गएका छन्। कोही शुभविवाह गर्न, कुनै पूजा गरी भोजभतेर गर्न पनि अचेल यहाँ आउने गर्छन्।

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]