डोलेश्वर महादेव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डोलेश्वर महादेव भक्तपुर सहरबाट दक्षिण-पूर्वी कुनोमा अवस्थित सिपाडोल गाउँमा रहेको महादेव मन्दिर हो । यसलाई केदारनाथको शिर पनि भनिन्छ ।

काठमाडौंबाट सूर्यविनायक गणेशमन्दिरतिर लाग्ने मोड भक्तपुरको पहिले ट्रलिबस रोकिने ठाउँसम्म पुगेर त्यहीँबाट सिपाडोल जान बस समाएर सूर्यविनायक गणेशमन्दिरको बायाँतिरबाट पन्ध्र मिनेट जत्तिकै बिमला नाम गरेको खोलावारी सिपाडोल बसपार्क पुगिन्छ। त्यहाँबाट पूर्वतर्फको कच्ची सडक हुँदै पैदल तल ओर्लेर बिमला खोलामाथिको पुल तरेर उकालो लगभग आधा घन्टा हिँडेपछि डोलेश्वर मन्दिर भेटिन्छ।

डोलेश्वर महादेव विशाल कालो पत्थरको शिवलिङ्ग साढेंको टाउको -शिर) झैँ माथि उठेर दायाँतर्फ कोल्टो परेर ढल्केको छ र चाँदीको नागले बेष्ठित भएर रहेको अति सुन्दर देखिन्छ। सुन्दर शिवलिङ्गको बायाँतर्फ त्रिशूल, डमरू र पित्तलको बञ्चरो गाडिएको छ। मन्दिरको पश्चिम मूलद्वारको दुवैतिर ठूला कलश राखिएका छन्। मन्दिरको चारैतिर ३-४ का द्वारहरू रहेका छन् र उत्तरतर्फको द्वार अगाडि जल बगिरहने हुनाले सधैँ बन्द रहने गरेको छ। ९० सालको भूकम्पमा तीन तल्ले झिँगटीको छाना भएको मन्दिर भत्किएपछि सोही ठाउँमा गुम्बज आकारको छाना भएको भुइँतले मन्दिर बनेको हो जसको शीर्ष भागमा पित्तलको गजुर र पहेँलो कपडाको पताका फहराई रहेको देख्न सकिन्छ। मन्दिरको छाना वरिपरिको पहेँलो चँदुवाको तल हरियो रङको फेर -बोर्डर) रहेको छ। मन्दिरको छानाको चार कुनामा त्रिशूल रहेका छन् भने मन्दिरको दायाँ ठूलो घन्टा र बायाँपट्ट िसानो घन्टा रहेका छन्। मन्दिरको दाहिनेतर्फ अर्थात् दक्षिणतर्फ एकसय बीस -१२०) धार्नीको पत्थरको त्रिशूल गाडिएको छ जसमा ८४९ नेपाल संवत् कुँदिएको छ। मन्दिरको पश्चिमतर्फको मूलद्वारको अगाडिको प्राङ्गणमा शिलाको बसाहा -नन्दी)को मूर्ति स्थापित छ। मन्दिरको दक्षिणपूर्व कुनो अर्थात् शिलाको त्रिशूल अगाडि दीप प्रज्ज्वलनका लागि वरिपरि दियोको स्थान रहेको छ भने रङ्गीचङ्गी टायल लगाइएको बिमलादेवीको सानो चिटिक्क परेको मन्दिर छ।

मूल मन्दिरको दक्षिण पश्चिम कुनोमा रहेको अर्को सानो मन्दिरमा पहिले नारायणको मूर्ति रहेकोमा २०३४ सालमा चोरी भएपछि हाल शिवलिङ्ग स्थापना गरिएको छ। मन्दिरको बायाँ अर्थात् उत्तरतर्फ अविरल जल प्रवाह भइरहने ढुङ्गेधारा छ भने दायाँतर्फ भजन कीर्तनका लागि पक्की सत्तल र अग्निकुण्ड छ। मूल पुजारी जङ्गम थरका मानिसहरूले सम्भवतः मल्ल राजाहरूको पालादेखिनै पूजाआजा गर्दै आएको बताइन्छ। अरू ढोका विशेष दिनमा मात्रै खोलिन्छ भने पश्चिमको मूलढोका सधैँ खोलिन्छ। मूल ढोकाको रूपमा प्रयोग भए पनि चारै ढोकाको चौकोसको आकार भने अलगभग एकैनासको छ। वर्षको ३ पटक वैशाख/जेठमा पर्ने अक्षय तृतीया, केदारनाथको शिर घोषणाको वाषिर्कोत्सव भदौ ६ गते र शिवरात्रीको दिनमा सर्वसाधारण भक्तजन आफँैले मन्दिरभित्र शिवलिङ्ग छोएरै पूजा र ढोग दर्शन गर्न पाउने चलन छ। अरू बेला भक्तहरूको फूलमाला पूजा सामान र भेटी आदि पुजारीहरूद्वारा मात्र चढाउने व्यवस्था छ ।

चित्र दिर्घा[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]